म्याग्दीमा बिक्री गर्ने बेलाका सुन्तलामा रोगको प्रकोप
गलेश्वर । पाक्नै लागेका सुन्तलामा औँसा कीरा र स्केल रोगको प्रकोप देखिन थालेपछि म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् । बिक्री गर्ने बेलाका सुन्तला कुहिएर बोटमै झर्न थालेपछि यहाँका किसान चिन्तित बनेका हुन् । बजार पठाउने बेला सुन्तलामा औँसा कीरा र स्केल रोग भेटिएको म्याग्दीको वास्कुना र दोसल्लेका कृषकले बताएका छन् । बास्कुना र दोसल्लेमा बढी सुन्तला उत्पादन हुने ठाउँ हुन् । कृषकका अनुसार औँसा कीरा र स्केल रोगका कारण सुन्तलाका दाना कुहिएर बोटबाट झर्न थालेका छन् । जिल्लाभर करिब १७ प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए । म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तला हो । दानाको बोक्रामा थोप्ला–थोप्ला दाग लागेर स्वरुप बिगार्ने ‘स्केल’ रोग सुन्तला उत्पादक कृषकका लागि टाउको दुखाइ बनेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलले स्केलको दागले सुन्तलाका दानालाई विफर लागेको जस्तो स्वरुप बिगार्ने समस्या देखिएको बताए । ‘अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको बगैँचामा पुगेर स्थलगत निरीक्षण र नियन्त्रणका उपायका विषयमा कृषकलाई परामर्श दिएका छौँ’, उनले भने, ‘सुन्तलाको दानालाई कुरुप बनाउने स्केल रोग नियन्त्रणका लागि जिल्लाव्यापी अभियानको तयारीमा छौँ ।’ सिग्देलका अनुसार स्केलरोग म्याग्दीको सुन्तला बगैँचामा देखिएको नयाँ समस्या हो । फल टिपेपछि प्रति एक लिटर पानीमा १० मिलीलिटरका दरले सर्वो आयल मिसाएर सुन्तलाको बोटमा छर्केपछि यो समस्या समाधान गर्न सकिने उनले बताए । यसअघिका वर्षमा म्याग्दीको सुन्तला बगैँचामा फैलिएको फ्रुट फ्लाइका कारण दाना झर्ने समस्या यसपालि कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । झरेका दानालाई प्लास्टिकको थैलोमा राखेर व्यवस्थापन गरिएपछि यसपालि समस्या कम भएको हो । आगामी वर्ष पनि यस्तो समस्या आउन नदिनका लागि कृषकलाई प्लास्टिकको थैलो वितरण गर्न लागिएको छ । म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् । अन्नबाली छाडेर व्यावसायिक सुन्तला खेती उत्पादनमा लागेका कृषक बिक्री गरेर आम्दानी गर्ने बेलामा फल झर्ने र कुहिने भएपछि मर्कामा परेका हुन् । ‘बेच्ने बेलाका सुन्तला बोटैमा कुहिएर झर्न थालेका छन्, कीराको समस्याले हैरानी दिएको छ’, अन्नपूर्ण–७ दोसल्लेकी सुन्तला कृषक माया पुनले भने । आफ्नो सुन्तला बगैँचामा उत्पादन भएका फलमध्ये करिब १० प्रतिशत सुन्तला झरेको उनले बताए । सुन्तलालगायत अमिलो प्रजातिका फलफूलमा औँसा कीरा र स्केल रोगको प्रकोप देखिएपछि कृिष ज्ञान केन्द्रले अध्ययन तथा रोकथाम सुरु गरेको छ । सो ज्ञान केन्द्रबाट खटिएको प्राविधिक टोली औँसा कीरा र स्केल रोगको समस्याबारे बुझ्न हिस्तान र बेनी नगरपालिका–४ बास्कुनामा पुगेर झरेको एक दाना सुन्तला अध्ययन गर्दा ११ औँसा कीरा भेटिएको सिग्देलले जानकारी दिए । अमिलो जातका फलफूल सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायतका फलफूलमा यसको सङ्क्रमण फैलिएको छ । कृषि ज्ञान केन्द्रले कीराको सङ्क्रमण रोक्न प्लास्टिक झोला माग गरेका छन् । म्याग्दीमा सात सय छ हेक्टरमा सुन्तला जातका फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । गत वर्ष तीन सय ५५ हेक्टरमा लगाइएका बोटबाट दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
एनआईसी एशियाका ग्राहकले अनलाइनबाटै केवाइसी विवरण अपडेट गर्न सक्ने
काठमाडौं । एनआईसी एशिया बैंकले भिडियोबाटै ग्राहकहरूको केवाइसी विवरण अपडेट गर्न सकिने सेवा ल्याएको छ । बैंकको अनुसार घर वा अफिसबाटै आफ्नो खाताको केवाइसी विवरण अपडेट गर्न सकिने यस नयाँ सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैंकको वेबसाइटमा रहेको अनलाइन एप्लिकेसन ट्याब गरी इकेवाइसी छनौट गर्नुपर्नेछ । त्यसपछि, ग्राहकले त्यसमा आफ्नो खाता नम्बर तथा केवाइसी अपडेटको कारण उल्लेख गरी ओटिपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुवै विकल्प छनौट गरी सब्मिट गर्नुपर्नेछ । त्यसपछि ग्राहकहरूले आफ्नो व्यक्तिगत विवरणहरू भरी भिडियो कलमार्फत केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् वा बैंकिङ्ग समयमा भिडियो कलको लागि अपोइन्टमेन्ट बुक गरी सो समयमा केवाइसी विवरण अपडेटगर्न सक्नेछन् । बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहकको लागि अनलाईनबाट उक्त विवरण अपडेट गर्न सकिने भिडियो केवाइसी सेवाको सुरुवात गरिसकेको छ । ग्राहकहरूले भिकेवाइसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कल मार्फत देखाउनु पर्नेछ । यसरी भिकेवाइसी मार्फत केवाइसी विवरण अपडेट गरे पश्चात् ग्राहकले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् । एनआईसी एशिया बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जालमार्फत सेवा दिइरहेको छ ।
सबै निजी संस्थामा मंसिर ४ र ५ गते विदा दिन सरकारको निर्देशन
काठमाडौं । सरकारले सबै निजी संस्थालाई प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागि दुई दिन विदा दिने निर्देशन दिएको छ । गृह मन्त्रालयले बिहीबार सूचना जारी गर्दै सबै निजी संस्थालाई मंसिर ४ र ५ गते विदा दिन निर्देशन दिएको हो । ‘प्रस्तुत विषयमा मिति २०७९ मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मिति २०७९ मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक विदा दिने नेपाल सरकारबाट निर्णय भएको हुँदा तहाँ तथा तहाँ अन्तर्गतका निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूमा समेत मिति २०७९ मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने व्यवस्था हुन आदेशानुसार अनुरोध छ,’ सूचनामा भनिएको छ ।
भारतबाट स्वेदश फर्किने नेपाली भन्छन् : ‘रोजगारी सिर्जना गर्नेलाई मत’
महेन्द्रनगर । कैलालीको लम्कीका ७० वर्षीय गगन सिंह आज बिहान कञ्चनपुरको गड्डाचौकी नाकाबाट स्वदेश फर्किदै गर्दा नाकामा भेटिए । दुई महिनाअघि मात्रै मजदूरीका लागि भारतको सिमला पहाड पुगेका सिंहले परिवारका सदस्यसहित यही मङ्सिर ४ गतेको निर्वाचनमा मतदान गर्न आएको बताए । ‘गाउँघरबाट भोट हाल्न सबले आउनुर्छ भनेपछि काम छाडेर मतदान गर्न आएको हुँ’, वृद्ध सिंहले भने, ‘जीवनभर मतदात गरे पनि घरको खर्च चलाउन जहिल्यै भारतमा मजदूरी गर्नुको विकल्प भएन् ।’ उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने दल र तिनका उम्मेदवारलाई जिताउनुर्नेमा जोड दिए । ‘चुनावमा आयो फेरि भोट हालेर भारत जानुपर्ने हाम्रो नियती छ’, उनले भने, ‘देशको व्यवस्था फेरिए पनि मजदूरी गर्नेको अवस्थामा कुनै खालको सुधार आएन् ।’ उनले आफू लामो समयदेखि भारतमा मजदूरी गरेर जीविका चलाउँदै आएको बताए । त्यसैगरी भारत देहरादुनबाट घर फर्किन लागेका कोहलपुर सम्झना चोकका पानसरी रानाले आफू बीस वर्षदेखि भारतमा काम गरिरहेको सुनाए । ‘यहाँकाले केही गर्दैनन्, भोट हालेर फेरि जाने त होनी’, उनले भने, ‘हामी त समय मिलाएर जहिल्यै पनि मतदान गर्न आएका हुन्छौंँ ।’ उनले निर्वाचनका बेला मात्रै पार्टी र उम्मेदवारले जनताको घरदैलोमा पुगेर आश्वासन बाँडे अनुसारको काम नभएको बताए । ‘हामी महिला मान्छे देहरादुनमा काम गरेर बच्चा पढाइरहेका छौँं’, उनले भने, ‘यो हाम्रो रहर नभइ बाध्यता हो ।’ उनीसँगै देहरादुनबाटै मतदान गर्न १६ दिनको बिदामा आएका कोहलपुरका गगन रानाले जनप्रतिनिधिले जन भावनाअनुसार काम गर्न सुझाव दिए । ‘चुनाव जित्ने अनि लाभका पदका लागि आफन्त र नजिकालाई मात्रै हेर्नाले देशको विकास भएन्’, उनले भने, ‘प्रजातन्त्रदेखि गणतन्त्र आइसक्दासम्म मुलुकभित्र रोजगारीका सम्भावना खोजी नहुन दुखद् विषय हो ।’ उनले निर्वाचनको मुखमा पनि युवा भारतलगायत तेस्रो मुलुक गइरहेको समाचार सुन्दा मन खिन्न हुने गरेको बताए । ‘ठूलो श्रम गर्ने जनशक्ति विदेशमा पसिना बगाइरहेको छ’, उनले भने, ‘यहाँ नेताहरुले काम कम गफ बढी दिएर मात्रै बसेको देखियो ।’ सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा क्रमिक रुपमा विकास हुँदै गए पनि युवा स्वरोजगार एवं मुलुकभित्रै आयआर्जन गर्ने योजना ल्याउन आवश्यक रहेको उनले बताए ।’चुनावका बेला भोट माग्ने त्यसपछि जनताको पिर मर्का नबुझ्नेलाई यस पटक प्रतिनिधि चुन्दैनौंँ’, रानाले भने, ‘गरिब र विपन्न समुदायको स्तर माथि ल्याउने खालका योजना र विचार भएका नेतालाई मत दिन्छौंँ ।’ त्यसैगरी भारतको नयाँ दिल्लीबाट स्वदेश फर्किएका मदनराज पन्तले पनि नेताप्रति आक्रोस व्यक्त गरे । ‘जुनसुकै नेताले जिते पनि हामीले भारतमा कामका लागि निर्भर रहनुपर्ने बाध्यता छ’, उनले भने, ‘भारतमा मजदूरी गरेर घर खर्चका लागि मजदूरीदेखि बिरामी हुँदा उपचार गर्नसमेत भारत जानुपर्ने स्थिति छ ।’ त्यस्तै नारायणगढको देवघाटका मनिराम भुजेलले सिमलाबाट सात महिना गाउँबस्तीमै रोजगारी दिनेलाई मतदान गर्ने योजना सुनाए । सात महिनामा सिमलाबाट फर्किरहेका भुजेलले निर्वाचनपछि पुनः मजदूरीका लागि भारत फर्किने बताए । इलाका प्रहरी कार्यालय गड्डाचौकीले निर्वाचनका लागि मतदान गर्न तीन दिनयता स्वदेश फर्किनेको चाप बढेको जनाएको छ । इप्रका गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुरसिंह धामीले आज बिहानसम्म दैनिक अढाईदेखि तीन सयसम्म नेपाली घर फर्किरहेको बताए । उनले निर्वाचन सुरक्षाका लागि सीमानाकामा कडाई गर्नुका साथै प्रशासनले जारी गरेको नाका बन्दको काम पनि कार्यान्वयन प्रहरी प्रशासनबाट भइरहेको बताए । जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि पश्चिमी सीमानाका गड्डाचौकीबाट आवागमन रोक लगाउने निर्णय गरिसकेको छ । प्रशासनले सुचना जारी गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमानाका बन्द गरेको जनाएको छ ।
आजदेखि मदिरा ओसारपसार, बिक्री र सेवनमा रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मतदानकार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए । ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा उक्त सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ । यस्तै प्रशासन कार्यालय काठमाडौंले बुधबार पनि एक विज्ञप्तिमार्फत यही मङ्सिर ४ गते मतदानका दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र अनुमति प्राप्त सवारी साधनबाहेक आन्तरिक रुपमा सबै किसिमका सवारी साधन आवागमनमा रोक लगाइएको जानकारी गराएको छ । प्रशासनले आज र शुक्रबारका लागि शान्ति सुरक्षा, विपद, निर्वाचन कार्य र मुद्दासम्बन्धीका कार्यबाहेक अन्य सेवा प्रभावित हुने पनि सर्वसाधारणलाई जानकारी गराएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ल्याण्डफिल्ड निर्माण अझै अन्योलमा
पोखरा । नागरिक उडड्यन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ बाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । विमानस्थलबाट बुध्द एयरले जनवरीदेखि भारतका विभिन्न गन्तव्यमा उडान गर्ने भन्दै विज्ञप्ति जारी गरिसकेको छ । यद्यपि विमानस्थलको मुख्य चुनौतीका रुपमा रहेको ल्याण्डफिल साइट कहाँ सार्ने भन्ने विषयमा महानगरले अझै टुङ्गो लगाउन सकेको छैन । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ल्याण्डफिल्ड साइट व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको र तत्काल कुनै पनि स्थानका बारेमा निर्णय गरिनसकेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जानमा ल्याण्डफिल साइडका स्थानका बारेमा विभिन्न धारणा सार्वजनिक भएपछि प्रमुख आचार्यले तत्काल कुनै निर्णय नभएको भनि स्पष्ट पारेका हुन् । “ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रा लागि चुनौतीको विषय हो यस विषयमा विभिन्न सात स्थानमा अध्ययन गरिसकेका छौँ, तर यही ठाउँ भन्ने कुराको निर्णय भइसकेको छैन’, आचार्यले भने,’हामी विभिन्नस्थानको खोजीमा रहँदा स्थानीयवासीले अनुमान गर्नुभएको हुनसक्छ र त्यही आधारमा सामाजिक सञ्जालमा चर्चा गरिएको हुनसक्छ, तर हामीले ल्याण्डफिल्ड साइट व्यवस्थापन गर्ने स्थानको यकिन गरिसकेका छैनौँ ।’ उनले ल्याण्डफिल्ड साइटको विषयमा महानगर निकै गम्भीर भएको र छिट्टै स्थानको टङ्गो लगाउने समेत बताए । उनले अब बन्ने ल्याण्डफिल्ड साइट व्यवस्थित तवरबाट प्रशोधन केन्द्रसहित राखिने त्यस विषयमा सार्वजनिक सुनुवाइ नै गरेर जानकारी दिए । पोखराको फोहर व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्मका महत्वपूर्ण कुरा सबै पोखरेलीको साझा विषय भएकाले सबैको साथ र समर्थन आवश्यकपर्ने उनको भनाइ छ । राजनीतिक दल, स्थानीय सामाजिक सङ्घ संस्था, नागरिक समाज सबैले यसको अपनत्व लिने गरी महानगरले काम गर्न उनको भनाइ छ । आचार्यले भौतिक निर्र्माण सम्पन्न भएको विमानस्थलमा क्यालिब्रेसन फ्लाइटको अन्तिम तयारीका लागि हाल रिठ्ठेपानीडाँडा कटानको काम भइरहेको बताए । डाँडाको माटोले ल्याण्डफिल साइट पुर्ने र तत्काल अल्पकालीन र केही दीर्घकालीन रुपबाट ल्याण्डफिल्ड साइटको व्यवस्थापन गरिने उनको भनाइ छ । विमानस्थल नजिक रहेको ल्याण्डफिल साइटका कारण गिद्धलगायत चराको आवागमन बाक्लो रहेको र यसले उडानलाई प्रभावित गर्ने विज्ञहरुले बताउँदै आएका छन् । केही दिन अघिमात्र उक्त विमानस्थलको रनवेमा गिद्ध बस्दै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
चार महिनामा बजेट खर्च साढे १९ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारी बजेट खर्च साढे १९ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म तीन खर्ब ५० अर्ब ९८ करोड ७३ लाख खर्च भएको हो । जुन वार्षिक विनियोजित बजेटको १९ दशमलव ५७ प्रतिशत बराबर हो । यस अवधिमा चालुतर्फ २३ दशमलव ७८ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेट बिनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा दुई खर्ब ८१ अर्ब ३८ करोड ६१ लाख खर्च भएको हो । त्यस्तै, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेट बिनियोजन भएकोमा हालसम्म छ दशमलव ९१ प्रतिशत अर्थात् २६ अर्ब २९ करोड ६१ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबरको वार्षिक बजेट रहेकोमा अहिलेसम्म १८ दशमलव ८१ प्रतिशत अर्थात् ४३ अर्ब ३० करोड ५१ लाख खर्च भएको छ । यही अवधिसम्म सरकारको राजस्व सङ्कलन १९ दशमलव ११ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने सरकारको लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा दुई खर्ब ६८ अर्ब सात करोड १७ लाख बराबर असूली भएको छ । जसमध्ये कर राजस्वतर्फ १८ दशमलव ९७ प्रतिशत अर्थात् दुई खर्ब ४५ अर्ब ७८ करोड ६८ लाख र गैरकर राजस्वतर्फ २० दशमलव ६८ प्रतिशत अर्थात् २२ अर्ब २८ करोड ४९ लाख उठेको छ । पहिलो चार महिनामा सरकारले तीन अर्ब ४१ करोड ५९ लाख वैदेशिक अनुदान लिएको छ । जुन वार्षिक लक्ष्यको छ दशमलव १६ प्रतिशत बराबर हो । चालु आवका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको छ । रासस
‘हामी बुढाहरुले पार्टी नहेरेर व्यक्ति हेरेको भए अहिले हाम्रा नाति-नातिनी सँगै त हुने थिए’
काठमाडौं । यति बेला देशभर चुनावी माहोल छ । चिया पसलदेखि मिडियासम्म चुनावको चर्चा चुलिएको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूलाई मत माग्न भ्याईनभ्याइ छ । यता मोरङ सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम सिटौलाको गुनासो भने फरक छ । उनले जीवन भर पार्टीको लागि काम गर्दा पार्टी जोगिएको तर आफ्ना छोरा नाति जोगाउन नसकेको गुनासो व्यक्त गरे । ‘आफूले सकेसम्म पार्टी-पार्टी भनेर कुदे, छोरो अझै पार्टी नै भनेर हिँड्दै छ तर, नातिहरूलाई देशमै बस्ने वातावरण सिर्जना गराउन सकिन, खै कसको लागि राजनीति भइरहेको छ ?,’ उनले भने । उनले नेताहरूले जितेपछि जनतालाई बेवास्ता गर्ने प्रवृत्तिप्रति खेद व्यक्त गरे । उनी भन्छन्, ‘चुनाव अगाडी नेतासँग हिँड्नु दौडनु बेकार रहेछ, जितेपछि फर्किएर हेर्दैनन्, हामी बुढाहरूको पुस्ताले पार्टी नहेरेर व्यक्ति हेरेको भए अहिले मेरा नाति÷नातिनी सँगै त हुने थिए, पार्टी बचाएर जीवनभर उपेक्षा बाहेक केही पाईएन बाबु, अब त नयाँ अनुहारलाई मौका दिने हो ।’ देशलाई नयाँ पुस्ताको आवश्यकता रहेको सिटौला बताउँछन् । ‘यो कुरा म बुढो मान्छेले त थाह पाइसके, अहिलेका युवा आफैं बौद्धिक छन्, अवस्था मात्रै परिवर्तन नभएको हो, व्यवस्था त धेरै परिवर्तन भयो, मेरो नेता पनि त्यै मान्छे, मेरो छोरोको नेता पनि त्यै, अब त हुँदा हुँदा मेरो नातिले पनि उसैलाई नेता मान्दिनुपर्ने ? यो त लाजमर्दो कुरो हैन र ?,’ उनले भने, ‘राणा शासन फालियो देश बन्छ भने खै के बन्यो ? पञ्चायत, लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र सबै देखियो तर देशको मुहार परिवर्तन भएको किन देख्न नपाइने ? हुन त देश त बेच्नेले युवा बेच्नु ठुलो कुरो हैन, अब यी ब्यपारीहरुलाई जनताले चेताउने छन् ।’ उनले हाँस्दै भने, ‘हुन त म आफै इतिहास हुन लागे तर यो देशको इतिहासमा अहिले जसरी युवा जागेको देखेको थिइन, अति भएपछि खती हुन्छ भन्थे हो रहेछ, यो अति भएपछि युवा जागेका हुन्, म त खुसी छु, यो मेरो लागि अन्तिम मतदान पनि हुनसक्छ तर अन्तिममा भए पनि राम्रो व्यक्तिलाई छान्न पाउने भए, मंसिर ४ कहिले आउला भनेर पर्खिरहेको छु ।’