काठमाडौं । मर्जर तथा एक्विजिशनमा गएका वाणज्य बैंकहरुको डियू डेलिजेन्स (डीडीए) रिपोर्ट धमाधम आउन थालेको छ । हाल १० वटा वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा छन् । जसमध्ये ४ वटा वाणिज्य बैंकको डीडीए रिपोर्ट आइसकेको छ भने बाँकी बैंकले यसै साताभित्र ल्याउने तयारी गरिरहेका छन् । डीडीए रिपोर्ट ल्याइसकेका ४ वटा वाणिज्य बैंकले प्रारम्भिक मर्जर सम्झौता अनुसारको स्वाप रेसियो नै निर्धारण गरेका छन् ।
तर, डीडीए रिपोर्ट आउन बाँकी रहेका बैंकका सञ्चालकहरु भने स्वाप रेसियोमा जति नै घटबढ आएपनि प्रारम्भिक मर्जर सम्झौता अनुसार नै स्वाप रेसियो कायम हुने बताउँछन् । डीडीए रिपोर्टमा धेरै फरक नआउने र आएपनि प्रारम्भिक सम्झौता अनुसार नै कार्यान्वयन हुने उनीहरुको धारणा छ ।
कुमारी बैंक र एनसीसी बैंकको डीडीए रिपोर्ट आउन अझै एक साताभन्दा बढी समय लाग्ने भएको छ । एनसीसी बैंककी सञ्चालक सुमन जोशीले अबको एक साताभित्र डीडीए रिपोर्ट आउने बताइन् ।
‘डीडीए रिपोर्ट आउन बाँकी छ, अबको एक हप्ताभित्र डीडीए रिपोर्ट आउँछ, डीडीए रिपोर्ट आएपछि विशेष साधारण सभा बोलाएर मर्जर प्रस्ताव पारित गर्ने र एकीकृत कारोबारको मिति तय गरिनेछ,’ उनले भनिन् । डीडीए रिपोर्टमा प्रारम्भिक सम्झौता अनुसारको स्वाप रेसियो आउने उनले बताइन् । यदि डीडीए रिपोर्ट फरक आएपनि सम्झौता अनुसार नै मर्ज हुने उनको भनाइ छ ।
‘एनसीसी र कुमारी बैंक समान हैसियतका बैंक हुन्, स्वाप रेसियो पनि समान आउँछ,’ उनले भनिन् ।
कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जेबी राणाले कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेभित्र गर्ने तयारी रहेको बताए । अध्यक्ष राणाले अहिले ‘सुपर फास्ट’ किसिमले मर्जरको तयारी भइरहेको बताउँदै डीडीए रिपोर्ट पनि छिट्टै आउने बताए ।
‘अहिले मर्जरका लागि सुपर फाष्टमा काम भइरहेको छ, पुस १७ गतेअघि नै एनसीसी बैंकसँग एकिकृत कारोबार गर्ने गरी मर्जर प्रक्रिया अघि बढेको छ, केही दिन भित्र डीडीए रिपोर्ट आउँछ,’ उनले भने ।
दुवै बैंकबीच असोज १० गते मर्जर सम्झौता भएको थियो । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ ।
यस्तै, मर्जर कमिटि सदस्य समेत रहेका सेञ्चुरी बैंकका संचालक मन बहादुर राई प्रभु बैंक र सेञ्चुरी बैंकको डीडीए रिपोर्ट आउन बाँकी रहेको बताउँछन् । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत नगर्दा डीडीए रिपोर्ट आउन केही ढिलो भएको उनको धारणा छ । वित्तीय रिपोर्ट राष्ट्र बैंकमा पेश गरेको भएपनि स्वीकृत हुन बाँकी रहेकाले डीडीए रिपोर्ट आउन पनि ढिलाइ भएको उनको भनाइ छ ।
यस्तै, उनले प्रभु र सेञ्चुरी बैंक समान हैसियतमा मर्ज हुने बताए । ‘हामीले समान हैसियतमा मर्जर सम्झौता गरेका थियौं, अहिले डीडीए रिपोर्ट बनिरहेको छ, केही फरक आएपनि हामी समान हैसियतमा मर्ज हुन्छौं,’ उनले विकासन्युजसँग भने । स्रोतका अनुसार प्रभु र सेञ्चुरी बैंकको डीडीए रिपोर्टमा १० प्रतिशतभन्दा बढीको स्वाप रेसियो आएको छ ।
प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् ।
दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने सहमति भएको छ । तर बैंक स्रोतका अनुसार प्रभु र सेञ्चुरी बैंकको डीडीए रिपोर्टमा स्वाप रेसियो १० प्रतिशत भन्दा बढीको फरक आएको छ । दुवै बैंकको डीडीए रिपोर्टमा स्वाप रेसियोको अनुपात १ः१ नआएको बैंक स्रोतले बतायो । दुबै बैंकको सम्पति, दायित्व तथा कारोबारको मुल्याङकन र अन्य विविध पक्षहरुको मुल्याङकनमा दुवै बैंकबीच १० प्रतिशभन्दा बढीको फरक आएको स्रोतको भनाइ छ ।
यस्तै, सिभिल बैंकका सञ्चालक अम्बिर बोगटी डीडीए रिपोर्टमा स्वाप रेसियो फरक आएपनि प्रारम्भिक सम्झौता अनुसार नै हिमालयन र सिभिल बैंकबीच मर्ज हुने बताउँछन् । उनी डीडीए रिपोर्टमा धेरै फरक भएर नआउने र आएपनि हाल तोकिएको स्वाप रेसियो अनुसार नै मर्ज हुने बताउँछन् ।
‘डीडीए रिपोर्ट फाइनलमा पुगेको छ, कर्मचारी व्यवस्थापन अन्तिम चरणमा छ, एमओयूमा भए अनुसारको डीडीए रिपोर्ट आउँछ, फाइनल डीडीएमा २/४ प्रतिशत घटेर वा बढेर आएपनि हामी माग्दैनौं,’ उनले भने । कात्तिक २३ गते थप तीन महिनाको समय माग्दै राष्ट्र बैंकमा आवेदन दिएका छन् । तीन महिना समय मागेपनि पुस २५ गते भित्र एकीकृत कारोबार गर्ने उनले बताए ।
गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए ।
हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियोमा सिभिल बैंकलाई गाभ्ने भएको छ । सिभिल बैंकको १ सय कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर पाउनेछन् । मर्जरपश्चात् हिमालयन बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । हिमालयन बैंकका सीईओ अशोक राणा सीईओ बन्नेछन् भने वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल रहनेछन् ।
यस्तै, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको डीडीए भने आइसकेको छ । दुवै बैंकबीच समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा मर्ज हुने गरी डीडीए रिपोर्ट आएको हो । दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा दुवै बैंक समान हैसियतमा मर्ज हुने भएका हुन् । बैंक अफ काठमाण्डूमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने छन् ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । मर्जरपश्चात् ग्लोबल आइएमई बिओके बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकबाट अध्यक्ष चन्द्र प्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूबाट २ जना गरी ७ जनाको सञ्चालक समिति रहनेछ । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य बन्ने छन् भने अध्यक्ष ढकाल हुनेछन् ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले एक आपसमा गाभ्न/गाभिनको लागि अन्तिम सम्झौतामा हस्ताक्षर समेत गरिसकेका छन् । दुवै बैंकले मर्जर प्रस्ताव पारित गर्न मंसिर २३ गते आफ्नो वार्षिक साधारण सभा समेत बोएका छन् । साधारण सभाले मर्जर प्रस्ताव पारित गरेपछि एकीकृत कारोबारको मिति तोक्नेछन् ।
नेपाल इन्भेष्टमेन्ट-मेगा बैंकको पनि डीडीए रिपोर्ट आइसकेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने गरी डीडीए रिपोर्ट आएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता सेयर बराबर मेगा बैंकका सेयरधनीहरुले ९० कित्ता सेयर पाउने छन् ।
राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई पुस २२ गतेसम्म मर्ज गर्न समयसीमा तोकेको छ । राष्ट्र बैंकले तोकिएको समयभित्र नै एकीकृत कारोबार गर्ने तयारीमा दुवै बैंकले अभ्यास गरिरहेको मर्जर कमिटी सदस्य समेत रहेका मेगा बैंकका संचालक गोपाल खनालले बताए ।
‘पुस २२ गतेसम्म समय तोकेको छ, वार्षिक साधारण सभाबाट नाफा बाँड्ने र त्यही सभाबाट मर्जर प्रस्ताव पनि पारित गर्ने योजना छ, प्रस्ताव पारित भएपछि एकीकृत कारोबारको मिति तय गरिनेछ,’ उनले भने । वार्षिक साधारण सभा भने बोलाउन बाँकी रहेको छ । दुवै बैंकले एकदुई दिनभित्र नै वार्षिक साधारण सभा बोलाउने तयारी गरिरहेका छन् ।
वार्षिक साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेर एकीकृत कारोबार गर्ने तयारी रहेको उनले बताए । दुवै बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश प्रस्ताव समेत गरिसकेका छन् ।
गत जेठ २७ गते नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपश्चात् बैंकको अध्यक्ष पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे बन्ने छन् । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।
राष्ट्र बैंकको नीतिले बाध्यकारी
मर्जरको प्रारम्भिक सम्झौता गरेका बैंकहरु जसरी भएपनि मर्जर सम्पन्न गर्ने रणनीति बनाइरहेका छन् । मर्जर सम्झौता गरेपछि नभाड्न भन्दै राष्ट्र बैंकले कडा चेतावनी दिएपछि जसरी भएपनि मर्जर सम्पन्न गरेरै छाड्ने रणनीतिमा बैंकहरु छन् ।
यसअघि अन्तिम समयमा आएर मर्जर भाडिएको हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवृति नदोहोरिनका लागि राष्ट्र बैंकले मर्जर सम्झौता गरेका १० बैंकलाई पटक-पटक पत्र कडा चेतावनी दिइरहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) को विनियम १५ (४) मा रहेर विभिन्न निर्देशन तथा चेतावनी बैंकहरुलाई दिइरहेको छ ।
राष्ट्र बैंकले अन्य कनै संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभुत शेयरधनीहरुलाई सेयर खरिदबिक्री तथा हक हस्तान्तरणमा रोक लगाउने, दुवै संस्थाका सञ्चालक समितिलाई सचेत गराउने र दुवै संस्थालाई अन्य कुनै संस्थासंग गाभ्ने/गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभूत सेयरधनीहरुलाई दिने लाभांश वितरणमा प्रतिबन्ध लगाउने चेतावनी मर्जर सम्झौता गरेका बैंकहरुलाई दिएको छ ।
यस्तै, दुवै संस्थालाई अन्य कुनै संस्थासँग गाभ्ने/गाभिने वा प्राप्तिमा नगएसम्म तीन वर्षको लागि थप शाखा कार्यालय खोल्न रोक लगाउने र दुवै संस्थालाई यस बैंकले प्रदान गर्ने सुविधाहरु प्राप्त गर्न रोक लगाउने चेतावनी दिएपछि बैंकहरु जसरी पनि मर्जर सम्पन्न गरेरै छाड्ने रणनीतिमा लागेका हुन् ।