‘हामी बुढाहरुले पार्टी नहेरेर व्यक्ति हेरेको भए अहिले हाम्रा नाति-नातिनी सँगै त हुने थिए’

<p>काठमाडौं । यति बेला देशभर चुनावी माहोल छ । चिया पसलदेखि मिडियासम्म चुनावको चर्चा चुलिएको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूलाई मत माग्न भ्याईनभ्याइ छ । यता मोरङ सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम सिटौलाको गुनासो भने फरक छ । उनले जीवन भर पार्टीको लागि काम गर्दा पार्टी जोगिएको तर आफ्ना छोरा नाति जोगाउन नसकेको गुनासो व्यक्त [&hellip;]</p>

काठमाडौं । यति बेला देशभर चुनावी माहोल छ । चिया पसलदेखि मिडियासम्म चुनावको चर्चा चुलिएको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूलाई मत माग्न भ्याईनभ्याइ छ ।

यता मोरङ सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम सिटौलाको गुनासो भने फरक छ । उनले जीवन भर पार्टीको लागि काम गर्दा पार्टी जोगिएको तर आफ्ना छोरा नाति जोगाउन नसकेको गुनासो व्यक्त गरे । ‘आफूले सकेसम्म पार्टी-पार्टी भनेर कुदे, छोरो अझै पार्टी नै भनेर हिँड्दै छ तर, नातिहरूलाई देशमै बस्ने वातावरण सिर्जना गराउन सकिन, खै कसको लागि राजनीति भइरहेको छ ?,’ उनले भने ।

उनले नेताहरूले जितेपछि जनतालाई बेवास्ता गर्ने प्रवृत्तिप्रति खेद व्यक्त गरे । उनी भन्छन्, ‘चुनाव अगाडी नेतासँग हिँड्नु दौडनु बेकार रहेछ, जितेपछि फर्किएर हेर्दैनन्, हामी बुढाहरूको पुस्ताले पार्टी नहेरेर व्यक्ति हेरेको भए अहिले मेरा नाति÷नातिनी सँगै त हुने थिए, पार्टी बचाएर जीवनभर उपेक्षा बाहेक केही पाईएन बाबु, अब त नयाँ अनुहारलाई मौका दिने हो ।’

देशलाई नयाँ पुस्ताको आवश्यकता रहेको सिटौला बताउँछन् । ‘यो कुरा म बुढो मान्छेले त थाह पाइसके, अहिलेका युवा आफैं बौद्धिक छन्, अवस्था मात्रै परिवर्तन नभएको हो, व्यवस्था त धेरै परिवर्तन भयो, मेरो नेता पनि त्यै मान्छे, मेरो छोरोको नेता पनि त्यै, अब त हुँदा हुँदा मेरो नातिले पनि उसैलाई नेता मान्दिनुपर्ने ? यो त लाजमर्दो कुरो हैन र ?,’ उनले भने, ‘राणा शासन फालियो देश बन्छ भने खै के बन्यो ? पञ्चायत, लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र सबै देखियो तर देशको मुहार परिवर्तन भएको किन देख्न नपाइने ? हुन त देश त बेच्नेले युवा बेच्नु ठुलो कुरो हैन, अब यी ब्यपारीहरुलाई जनताले चेताउने छन् ।’

उनले हाँस्दै भने, ‘हुन त म आफै इतिहास हुन लागे तर यो देशको इतिहासमा अहिले जसरी युवा जागेको देखेको थिइन, अति भएपछि खती हुन्छ भन्थे हो रहेछ, यो अति भएपछि युवा जागेका हुन्, म त खुसी छु, यो मेरो लागि अन्तिम मतदान पनि हुनसक्छ तर अन्तिममा भए पनि राम्रो व्यक्तिलाई छान्न पाउने भए, मंसिर ४ कहिले आउला भनेर पर्खिरहेको छु ।’

Share News