विकासन्युज

गगन थापा र राजन भट्टराईबीच ‘नेक टु नेक’ प्रतिस्पर्धा, यस्तो छ पाँच उम्मेदवारको मत

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत काठमाडौं ४ मा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो मतको अग्रता कायम गरेका छन् । थापाले ६ सय ६८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका राजन भट्टराईले ६ सय ३३ मत प्राप्त गरेका छन् । हालसम्म १५ सय ११ मत गणना गरिएको छ । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ठाकुरमोहन श्रेष्ठले ६५, मत प्राप्त गरेका छन् । पहिलो चरणमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ बाट गणना सुरु गरिएको हो । त्यसैगरी क्रस खुकुरी चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार अर्जुनप्रसाद प्रसाईं २८ र हाम्रो नेपाली पार्टीका अर्जनकुमार राणाले १९ मत प्राप्त गरेका छन् ।

मोरङमा १ बजे देखि मतगणना सुरु हुने

  मोरङ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मोरङमा मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको अध्यक्षतामा आज बिहान बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिकको मतगणनासँगसँगै गर्ने निर्णय गरेको छ । मतगणनालाई सहज बनाउन उम्मेदवार र एक/एकजना दलकाप्रतिनिध मात्र बस्न पाउने निर्णय भएको छ भने भुलबस एकै खाले खसेका ५७ वटा मतपत्र बदर गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनले मतगणना निर्वाचन आयोगको निर्देशिका बमोजिम हुने भन्दै मतगणनास्थलमा सुरक्षाको कडा प्रबन्ध मिलाएको बताए । मोरङको निर्वाचन क्षेत्र नं ४, ५ र ६ को विराटनगर महानगरपालिकाको आदर्श उच्च मावि, निर्वाचन क्षेत्र नं १ को उर्लाबारी नगरपालिका भवनमा, २ को रतुवामाई नगरपालिको विश्वनाथ मन्दिरमा र ३ को बेलबारी नगरपालिकाको भगवती माविमा मतगणना हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेकनकास्यप अधिकारीले जानकारी दिए ।

पहिलो जित हासिल गर्ने २९ वर्षीय योगेश : पर्यटन व्यवसायीको छवि, भारतबाट बीबीएम पास

काठमाडौं । एउटा २९ वर्षिय युवकले प्रतिनिधिसभाको चुनाव जितेपछि अहिले सबैको चासोको रुपमा परेका छन् मुस्ताङका योगेश गौचन थकाली । नेपाली काँगेसबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका गौचनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारलाई हराउँदै ३ हजार ९९२ मतसहित विजयी भए । चुनावमा नेकपा एमालेका प्रेम प्रसाद तुलाचन तीन हजार ७८ मत मात्रै पाए । यहाँ सात हजार २३० मत खसेको थियो । अहिले देशभर युवाको लहर छ । त्यसैले पनि मुस्ताङ काँगेसले उनलाई टिकट दिएर उम्मेदवार बनायो र काँग्रेसलाई एक सासंद थप बनाउन सघाउ पुग्यो । योगेश गौचनलाई टिटक दिने पनि उनकै बुबा रोमी गौचन थकाली हुन् । जो मुस्ताङ काँग्रेस पार्टीका सभापपति पनि हुन् । आफ्नै छोरालाई टिकट दिएपछि रोमिको आलोचना नभएको पनि होइन । तर, देशभरको युवाहरु प्रतिको आकर्षण देखेर नै उनले आफ्नो छोरालाई टिकट दिएर जित्न सहयोग पुगेको अहिले धेरैको बुझाइ बनेको छ । को हुन् योगेश ? यसवर्ष कांग्रेसबाट प्रतिनिधि सभामा पुग्ने योगेश नै सबैभन्दा कम उमेरका सांसद भएको बुझिएको छ । पार्टी संरचनाको पदीय जिम्मेवारीमा योगेश तत्कालीन लेते गाविसको पार्टी सभापति थिए । हाल उनी गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि हुन् । भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका योगेश राजनीतिसँगै व्यवसायमा पनि संलग्न छन् । गौचनको लेतेमा कालोपानी गेस्ट हाउस होटल छ । साथै उनले ट्राभल्स कम्पनी पनि सञ्चालन गर्छन् । उनी मुस्ताङ र पोखरामा रहेको त्रिथुङ्गा ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक हुन् भने मुस्ताङमा किवी खेतीलगायत अर्गानिक कृषि फार्म पनि गर्दै आएका छन् । वि.स २०५० साल बैशाख २७ गते जन्मिएका उनीकी आमाको नाम लक्ष्मी गौचन हुन् । उनी अहिलेसम्म अविवाहित छन् ।

डिशहोममा वर्ल्ड कप हेर्न सकिने, ल्यायो उपहार योजना पनि

काठमाडाैं । डिश मिडिया नेटवर्कले फिफा विश्वकप २०२२ काे अवसरमा अभिय ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान शुरु गरेको छ । यसका डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्ने भएको छ । कम्पनीले वर्ल्डकपका सबै खेलहरु २के रिजोलुशनमा प्रत्यक्ष प्रशारण गर्ने जानकारी दिएको छ । हरेक चार/चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका भन्दै नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिविधीलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरु सहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी गरेको छ। त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गइ पोस्टमा #MagicalMomentsof (उनीहरुको मनपर्ने टिम, जस्तै:- MagicalMomentsofPortugal) प्रयोग गर्नुपर्नेछ । साथै,  सहभागीहरुले आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्ने कम्पनीले जनाएको छ ।

स्थगन भएकामध्ये दुई स्थलमा मतदान जारी, अन्य ११ मा सहमतिपछि हिजै सम्पन्न

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएकामध्ये दुई मतदानस्थलमा आज मतदान भइरहेको छ । स्थगित भएकामध्ये नवलपरासीपूर्व जिल्लाको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयमा आजै मतदान कार्य प्रारम्भ भएको छ भने सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पस र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकास्थित भगवती मावि अर्वेनीमा यही मङ्सिर ६ गते मतदान हुने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले प्रारम्भिक सूचनामा स्थगित भएका मतदानस्थलको सङ्ख्या १५ भनिएकामा आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र जेइओसीमा प्राप्त पछिल्लो अद्यावधिक जानकारीअनुसार चार वटा मतदानस्थलमा मात्र स्थगित देखिएको छ । स्थगित भएका १५ वटा मतदानस्थलमध्ये बाजुराका ११ वटा मतदान स्थलमा मङ्सिर ४ गते नै राजनीतिक सहमतिबाट पुनःमतदान प्रारम्भ भई मतदान सम्पन्न भएको छ । स्थगित भएकामध्ये बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा मात्रै पुनःमतदानको मिति तय हुन बाँकी रहेको छ ।

अलैँचीबाट आत्मनिर्भर बन्दै माछापुच्छ्रे गाउँपालिका, वार्षिक दुई करोड ५० लाख आम्दानी

पोखरा । कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्रे गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन् । नगदेबाली अलैँचीखेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण बढेको हो । माछापुच्छ्रे–८ कोलेलीका कृषक नरेशराज लामिछानेले करिब ७० रोपनी जग्गामा व्यावसायिकरुपमा अलैँची खेती गर्न थालेका छन् । ज्योति अर्गानिक कृषि फर्मका सञ्चालकसमेत रहेका लामिछाने भन्छन्, ‘अन्य बालीभन्दा अलैँचीबाट राम्रो मुनाफा भएपछि यसतर्फ ध्यान जान थाल्यो ।’ उनले सेपिलो बाँझो जग्गामा अलैँचीखेती हुनेहुँदा खेर गएको जग्गाको उपयोग भएको बताए । स्थानीय किसानले २०५०/५१ सालतिर अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप मार्फत इलाम र ताप्लेजुङ भ्रमणमा गएको बेला त्यहाँबाट अलैँचीको रामसाइँ र गोलसाइँ जातका केही बेर्ना ल्याएर रोपेका थिए । यसले राम्रो उत्पादन दिएपछि स्थानीयवासी अलैँचीको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका हुन् । त्यतिबेला रोपेको अलैँचीको बेर्नाले अहिलेसम्म पनि फल दिइरहेको छ । एकचोटीको लगानी र मेहनतको प्रतिफल लामो समयसमम पाइने भएकाले पनि किसानको रोजाइमा पर्दै गएको उनी बताउँछन् । लामिछानका अनुसार पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अलैँची क्षेत्र कार्यक्रममार्फत अनुदान प्राप्त हुन थालेपछि यस क्षेत्रका किसानको रुची अझ बढेको हो । परियोजनाको अनुदानमा उक्त क्षेत्रमा ११ वटा अलैँची सुकाउने आधुनिक भट्टी पनि निर्माण गरिएको छ । त्यसैगरी पोखरा–२५ हेम्जाका भुवनेश्वर पौडेलले पनि अहिले माछापुच्छ्रे गाउँपालिका–६ धिताल गाउँमा व्यावसायिक अलैँची खेती सुरु गरेका छन् । सरकारी सेवाबाट अवकास लिएपछि कृषि कर्ममा लागेका पौडेल अहिले अलैँची खेतीबाट निकै उत्साहित छन् । माछापुच्छ्रे एग्रो सेन्टर प्रालिका अध्यक्षसमेत रहेका पौडेलले सुरुमा परीक्षणका लागि करिब सात रोपनी क्षेत्रफलमा मात्र अलैँची लगाएको र उत्पादन राम्रो भएपछि क्षेत्र विस्तार गरेर व्यावसायिक खेती गरेको बताउँछन् । उनी भन्छन्, ‘लगाएको दुई वर्षमा नै एक क्विन्टल बढी अलैँची उत्पादन भयो, यसले हामीलाई उत्साहित बनायो ।’ विसं २०७५ मा करिब एक सय ६० रोपनी जग्गा खरिद गरी कृषि कर्मको बाटोमा लागेका पौडेलले ६० रोपनी क्षेत्रफलमा अलैँची खेती गरेका छन् । उनले अहिले क्षेत्र विस्तार गरेर थप एक लाख अलैँचीका बेर्ना रोप्नु भएको छ । यसबाहेक कालिज, स्थानीय जातका कुखरा, एभोगाडो, जापानिज कडुस पनि उनको फर्ममा देख्न सकिन्छ । माछापुच्छे मर्दी खोला अलैँची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दिपक पौडेलले उत्पादित अलैँची ब्लकको समन्वयमा बिर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताए । उनका अनुसार गाउँपालिकाको वडा नं २, ६, ७, ८ र ९ का स्थानीयवासीले व्यावसायिकरुपमै अलैँची खेती गरेका छन् भने बाँकी वडाका किसानले पनि चासो राख्न थालेका छन् । यस्तै मादी गाउँपालिकाको वडाहरु १,२,३, ८, १० र ११, अन्नपूर्ण गाउँपालिकाको वडा १, ३,४, ७, १० र ११ तथा पोखरा महानगरपालिकाको वडा नं १६ र १९ मा अलैँची क्षेत्रसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । अहिले गाउँपालिकाबाट मात्रै करिब २५ हजार केजी उत्पादन भएको छ । गाउँपालिकाले अलैँचीबाट वार्षिक  दुई करोड ५० लाख रुपैयाँ भित्र्याएको पौडेलले बताए । गाउँपालिकाका केही वडा अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले वन क्षेत्रमा रुखका हाँगाबिँगा छिमल्दा पनि संरक्षण क्षेत्रबाट समस्या हुने गरेको किसानहरुको गुनासो छ । अलैँची क्षेत्रलाई ध्यान दिएर एक्यापले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । अलैँचीले रोपेको तीन वर्षबाट उत्पादन दिन थाल्छ । अघिल्लो वर्ष ११ सय रुपैयाँ प्रतिकेजीमा बिक्री भएको अलैँची अहिले केही मूल्य घटेकाले उचित मूल्यको पर्खाइमा किसान रहेका छन् । भारतीय व्यापारीले अलैँचीको मूल्य निर्धारण गर्ने र त्यसै आधारमा खरीद बिक्री हुने हुँदा मूल्य घटबढ भइरहने हुन्छ । पछिल्लो समय नेपालबाट निर्यात हुने वस्तुमा अलैंँची पनि पर्न थालेको छ । विदेशबाट ठूलो मात्रामा ल्वाङ, सुकमेलजस्ता मसलाजन्य सामग्री आयात गर्छ । यस भेगमा उत्पादन हुने अलैँचीलाई पनि निर्यात गर्न सके विदेशी मुद्रा आर्जन गर्न सहज हुने गाउँपालिका–८ का अध्यक्ष रामबहादुर गुरुङ बताउँछन् । गाउँलाई कृषिमै आत्मनिर्भर बनाउन ज्ञान केन्द्र र गाउँपालिकाको सहयोगमा वडाका किसानलाई आलुको विऊ पनि निःशुल्क वितरण गरेको उनले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख वरिष्ठ कृषि अधिकृत रोशन अधिकारी कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण र मादी गाउँपालिका विभिन्न वडामा अलैँची खेतीलाई अनुदान दिइएको र त्यसको प्रतिफल पनि राम्रो पाइएको बताउँछन् । उनी भन्छन्, ‘माछापुच्छ्रे गाउँपालिमा अलैँचीको व्यावसायिक खेती निकै राम्रो छ, किसानले उत्साहित रुपमा व्यक्तिगत र समूहमा गरेर अलैँची खेती गरेका छन् ।’ उनले क्रमशः अलैँची खेतीको क्षेत्र विस्तार भएकाले आगामी दिनमा उत्पादन बढ्ने र गाउँ अलैँचीबाटै आत्मनिर्भर हुने अवस्थामा रहेको उल्लेख गरे । उनका अनुसार अनुदानबाट सिँचाइ र अलैँची सुकाउने आधुनिक भट्टी निर्माणमा ८५ प्रतिशत अनुदान उपलब्ध गराइएको छ भने क्षेत्र विस्तार कार्यक्रम, चक्लाबन्दी, उपकरण, नर्सरी, अलैँचीको बेर्नालगायतमा ५० प्रतिशत अनुदान दिने गरिएको छ ।

कास्की–२ मा रवि लामिछानेकाे पार्टीको उम्मेदवार अगाडि, एमालेकी विद्याले पछ्याउँदै

काठमाडौं । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कँडेलले अग्रता कायमै गरेका छन् । उनले हालसम्म ५६१ मत पाएर अग्रता कायम गरेका हुन् । उनकी निकटम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ४९७ मत पाएकी छिन् । यस्तै, राप्रपाका सुवर्णराज पन्त ३६० मतसहित तेस्रो स्थानमा हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ३०२ मतसहित चौथो स्थानमा छन् ।

तनहुँमा दिउँसो १ बजेदेखि मतगणना हुने

तनहुँ । तनहुँमा मतगणना कार्य आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । राजनीतिक दल, उम्मेदवारसहितको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । आइतबार राति अबेरसम्म मतपेटिका व्यवस्थित गर्नुपरेकाले बिहानैदेखि मतगणना गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी राति अबेर सुतेका कारण मत गणना गर्न ढिलाइ हुन गएको हो । उनले भने, ‘बिहान १० बजे बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो ।’ तनहुँका दुई निर्वाचन क्षेत्रमा कूल दुई लाख ४८ हजार चार सय ९५ मतदाता रहेकामा ५४ प्रतिशत मत खसेको बताइएको छ ।