प्रकाशमान र रवीन्द्रबीच ७४ को मतान्तर, कुन उम्मेदवारको मत कति ?
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् । सोमबार विहान सार्वजनिक पछिल्लो मत परिणाम अनुसार सिंहले ७५४ र राप्रपाका रवीन्द्र मिश्रले ६८० मत पाएका छन् । उनीहरुबीच ७४ मतको फरक छ । यस्तै, नेकपा एमालेका किरण पौडेलले ४९६, नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बलमे १७५ मत पाएका छन् ।
सोमबार सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६ सय रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको हो । आज घटेकाे मूल्य अनुसार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र चाँदी १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
सोच भएकाहरुलाई उद्योगी बनाउँदै आइडिया स्टुडियो, बैंकबाट ऋण पाउन पनि सहज
काठमाडौं । नेपाली समाजमा धेरै प्रकारका संस्थाहरु सक्रिय छन् । ती संस्थाहरुले स्वास्थ्य, लैंगिक, वातावरण, सामाजिक, लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । पछिल्लो समयम आम युवाहरुमा लोकप्रिय हुँदै गएको यस्तो संस्था छ, जसले मानिसमा भएको सोचलाई आकार दिएर उद्यममा परिणत गर्नको लागि सहजीकरण र सहयोग गर्ने गर्छ । सन् २००६ देखि २०१३ मा इङ्ल्यान्डको नर्थुम्ब्रिया युनिभर्सिटीबाट टेलिमेडिसिन विषयमा पिएचडि सकेपछि डा. छिरिङ लामा नेपालमा केही नयाँ गर्नुपर्छ भनेर नेपाल फर्के । विभिन्न भूगोलमा छरिएर रहेका नेपालीहरुले नियमित रुपमा श्रम गर्ने गरेको तर सो श्रमलाई व्यवसायिक र उद्यमी नबनाउँदा जीवनस्तर सुधार हुन नसकेको देखेपछि डा. छिरिङले सो विषयलाई एउटा संस्थामार्फत् पैरवी गर्ने सोच बनाए । ‘हामीले देखिरहेका छौं, सबैले आ–आफ्नो काम गरिरहेका छन्, तर उनीहरुको काम व्यवसायिक वा उद्यमी प्रकारको छैन, मैले त्यहीँनेर कसरी उनीहरुको काममा भ्यालु एड गर्न सकिन्छ भनेर सोचेँ’, डा. छिरिङले आफ्नो तत्कालीन सोचलाई सम्झिन्छन् । त्यसको लागि सोच साझा भएकाहरुको एउटा समूह बन्यो र सोही समूहले सन् २०१४ मा ‘आइडिया स्टुडियो’ नामको गैरनाफामुलक कम्पनीको स्थापना गर्यो । अहिले डा. छिरिङको नेतृत्वमा ६ जनाको बोर्ड समूहले स्टुडियोलाई नेतृत्व प्रदान गरिरहेको छ । सोचहरुको इन्कुवेसन केन्द्र ‘आइडिया स्टुडियो’ आइडिया स्टुडियो ‘सोचदेखि उद्योगसम्म’ भन्ने विषयलाई मुलमन्त्र बनाएर स्थापना गरिएको थियो । सोही अनुरुपको उद्देश्यमा स्टुडियोले झण्डै १ दशकको यात्रा पूरा गर्न लागेको छ । स्टुडियोको तथ्यांकअनुसार अहिलेसम्म हजारौं नेपालीहरु आफ्नो आइडियालाई उद्यममा बदल्न र उद्यमलाई विस्तार गर्नको लागि स्टुडियोसम्म आउने गरेका छन् । जसलाई निश्चित प्रकृयामार्फत इन्कुवेशनमा प्रवेश गराएर संस्थाले नतिजामा उतार्ने गरेको छ । सबै मानिसहरुले कुनै न कुनै उद्यम वा व्यवसाय गर्ने सोच बोकेका हुन्छन् । तर, आफ्नो उद्यमी सोचलाई कसरी उद्यममा बदल्ने भन्ने विषयमा नीति र प्रकृया नबुझ्दा ती सोचहरु उद्यममा परिणत भइरहेका हुँदैनन् । सोचलाई उद्यममा बदल्नको लागि उनीहरुमा भएको अभावलाई सम्बोधन गरेर उद्यममा बदल्न सहयोग गर्छ आइडिया स्टुडियोले । कुनै सरकारी निकाय, कलेज वा संस्थाहरुले इन्क्युवेसन सञ्चालन गर्न चाह्यो भने त्यसलाई स्टुडियोले परामर्श सहयोग उपलब्ध गराउने काम गर्छ । अहिले स्टुडियोले काठमाडौं मोडेल कलेजमा आफ्नो कार्यालय स्थापना गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, अन्य कलेजहरुसँग पनि साझेदारी गरिरहेको छ । डा. छिरिङका अनुसार स्टुडियोले सयौं कलेजहरुसँग आइडिया इन्कुभेसनको निम्ति काम गरिरहेको छ । विश्वविद्यालयहरुसँग मिलेर स्टुडियोले विशेषगरी विभिन्न विधाका उद्यमहरुसँग जोडेर अनुसन्धानको काम पनि गरिरहेको छ । जसमार्फत् विभिन्न उद्यमहरुको सम्भावना खोज्ने, समस्याहरु निक्र्यौल गर्ने काममा उपलब्धी भइरहेको डा. छिरिङ बताउँछन् । त्यस्तै स्टुडियोले उद्योगीहरुको संस्था ‘नेपाल उद्योग परिसंघ सँग मिलेर इन्फ्रास्ट्रक्चर आइडिया हन्ट सञ्चालन गर्ने गरेको छ । डा. छिरिङका अनुसार स्टुडियोले सोचलाई उद्यममा बदल्नका लागि सहजीकरण र सहयोग गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, विश्वविद्यालय, कलेज, बैंक, मिडिया, विज्ञ लगायत धेरै क्षेत्रसँग साझेदारी गरेको छ । स्टुडियोले ‘सिजन’ र ‘कलेज हन्ट’ मार्फत् सार्वजनिक रुपमा आइडियाहरुको संकलन गर्ने काम गर्छ । स्टुडियोले मेड इन नेपाल, सोसल इम्प्याक्ट, हाई फ्लाइङ र ग्रिनोभेसनसँग जोडिएका उद्यमी आइडियाहरुलाई संकलन गर्छ । आइडियाहरुलाई प्रशोधन गर्नको लागि स्टुडियोसँग विभिन्न क्षेत्रका विज्ञहरु रहेका छन् । विशेष गरी कलेज हन्ट र आइडिया सिजनमा अनलाइनमार्फत् आइडियाहरुको संकलन गरेपछि स्टुडियोमा सम्बन्धित विज्ञहरुले ती आइडियाहरुको प्रशोधन गर्ने काम गर्छन र उद्यमसँग सम्भाव्यता रहेको आइडिएटरलाई छनोट गर्छन् । त्यसको लागि स्टुडियोले आइडियालाई प्रशोधन गर्न १ हप्ता भन्दा धेरै समय दिने गर्छ । छनोट भएका आइडिएटरहरुलाई उनीहरुले छनोट गरेको उद्यमसँग सम्बन्धित विज्ञहरुले स्टार्टअप वा व्यवसाय विस्तारको विषयमा तालिम प्रदान गर्छन् । त्यसको लागि आवास सहितको ल्याब बेसको तालिम प्रदान गरिन्छ । डा. छिरिङका अनुसार स्टुडियोले नलेजबेस तालिममार्फत् सोचलाई उद्यम गर्न सक्ने आकार प्रदान गर्छ, जसपश्चात् तालिमप्राप्त आइडिएटरले सहज ढंगले आफूलाई उद्यमीमा परिणत गर्न सक्छन् । स्टुडियोले तालिम प्राप्त गरिसकेका व्यक्तिहरुलाई उद्यमको शुरुवात गर्नको लागि आवश्यक ऋण समेत प्रदान गर्न सहजीकरण गर्ने काम गर्छ । त्यसकोलागि स्टुडियोले बैंकसँग कार्यक्रम साझेदारी गरेको छ । जसले गर्दा आफ्नै हिसाबले पूँजीको व्यवस्थापन गर्न नसक्ने आइडिएटरहरुले स्टुडियोको सहजीकरणबाट बैंकमार्फत उद्यम शुरुवातको लागि ऋण प्राप्त गर्न सक्छन् । सामान्यतया स्टुडियोमा ३ प्रकारका उद्यमी विचारका मानिसहरु जोडिन आउने गरेका छन् । एउटा बिजनेस सम्बन्धी आइडिया भएको तर त्यसलाई उद्यममा ढाल्नको लागि आवश्यक आइडिया, सहजीकरण र लगानी जुटाउन नसकेकाहरु आउने गर्दछन् । दोस्रो उद्यम गरिरहेका र त्यसलाई विस्तार र स्थापित गर्न चाहनेहरु आउने गर्दछन् । अहिलेसम्मको अनुभवमा २ देखि १० वर्षसम्म उद्यम सञ्चालन गरेका उद्यमीहरु आउने गरेका छन् । त्यस्तै, तेस्रो आफ्नो उद्यमलाई लिंकअप गर्न चाहने उद्यमीहरु आउने गर्दछन् । वातवरणमैत्री उद्यमको पैरवी, साझेदारहरुबाटै जुट्छ खर्च आइडिया स्टुडियोले विशेषगरी वातावरणमैत्री र दिगो विकाससँग सम्बन्धित उद्यम आइडियाहरुलाई प्राथमिकता दिएर काम गर्ने गरेको छ । सिजन र हन्टमा संकलन हुन आउने आइडियाहरु वातावरणमैत्री र दिगोपना बोकेको छ की छैन भन्ने विषयमा सो आइडियालाई प्रशोधन गर्ने साझेदारी विश्व बन्यजन्तु कोषले साझेदारी गरेको छ । डा. छिरिङले नेपाल भारत र चीनजस्ता विशाल ठूला मुलुकहरुको बीचमा भएकाले हाम्रो मुलुकमा सञ्चालन गरिने उद्यमहरु वातावरणमैत्री र सामाजिक चरित्रको हुनु पर्ने बताउँछन् । आइडिया स्टुडियोले आइडियालाई उद्यमसम्म सहजिकरण गर्ने काममा विभिन्न चरणमा आवश्यक पर्ने लगानी सम्बन्धित क्षेत्रबाट नै जुटाउने गर्छ । आइडिया स्टुडियोसँग जोडिएर तालिम प्राप्त गरेका ६० भन्दा धेरै व्यक्तिहरुले अहिले स्टार्टअप व्यवसाय गरेका छन् । ती मध्ये कसैले नेपाली वस्तुमा आधारित, वातावरणमैत्री, सामाजिक प्रभाव पार्ने लगायत विभिन्न प्रकारका उद्यम तथा व्यवसाय सञ्चालन गरिरहेका छन् । उनीहरुले झण्डै १ हजार भन्दा धेरै व्यक्तिहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी दिएका छन् । आइडिया स्टुडियोसँग जोडिएर व्यवसाय गरेका दर्जनौ व्यक्तिहरुको लोभलाग्दो सफलताको कथा पनि निर्माण भएका छन् । आइडिया स्टुडियोले उद्यमी सिर्जना गर्ने र व्यवसाय विस्तार गर्ने क्षेत्रमा नवीन हिसाबले पुर्याइरहेको योगदानलाई लिएर पछिल्लो समयमा सो संस्थाको लोकप्रियता बढ्न थालेको छ । जसलाई लिएर नेपाल सरकार, कतिपय निजी क्षेत्र, विश्वविद्यालय र कलेजहरुले साझेदारी गर्नको लागि आइडिया स्टुडियोसँग साझेदारी गर्न खोजिरहेको देखिन्छ । सिजन ७ शुरु, राष्ट्रिय ज्ञान केन्द्रको स्थापना आइडिया स्टुडियोले अहिलेसम्म आइडिया सिजन ६ सम्पन्न गरेर ७ को शुरुवात गरेको छ । सिजन ७ मा सहभागी हुन चाहने आइडिएटरहरुलाई आफ्नो आइडिया स्टुडियोमा पठाउन आग्रह गरेको छ । आगामी दिनमा स्टुडियोले आइडिया क्षेत्रमा थप काम गर्नको लागि ज्ञानका लागि राष्ट्रिय केन्द्रको स्थापना गर्ने जनाएको छ ।
कांग्रेसले खोल्यो खाता, मुस्ताङमा गौचन विजयी
काठमाडौं । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् । निवर्तमान सांसद नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले तीन हजार नौ सय ९२ र एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गरेका छन् । आइतबार भएको चुनावमा मुस्ताङमा १० हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो । योगेश सम्भवतः कान्छो प्रतिनिधिसभा सदस्य बन्नेछन् । गौचन मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुन् ।
ललितपुर क्षेत्र नंं २ मा नेकपा एमालेको अग्रता
ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा एमाले अघि देखिएको छ । आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार नौसय ८० र नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले एक हजार चारसय ७७ मत प्राप्त गरेका छन् । यसैगरी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार चारसय ९७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले एक हजार चारसय ९० र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले एक हजार चारसय २७ मत र अन्यले दुई सय अठार मत प्राप्त गरेको दुई नम्बर क्षेत्रका निर्वाचन अधिकृत दीपशिखा मुनकर्मीले जानकारी दिए । सो निर्वाचन क्षेत्रमा कूल ८१ हजार आठसय ९७ मतादाता रहेकोमा ५२ हजार आठसय ८२ मत खसेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको कार्यालयमा मतगणना भइरहेको छ ।
आजदेखि पोखरा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट
काठमाडौं । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्सिर ५ गते सोमबारदेखि यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन हुँदैछ । यान्त्रिक उडानका लागि सम्पूर्ण तयारी पूरा भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पोखरा विमानस्थलमा एक साता यान्त्रिक उडान हुनेछ । उक्त प्रयोजनका लागि एरोथाई कम्पनीको जहाज शनिबार नै पोखरा विमानस्थलमा पुगिसकेको छ । प्राधिकरणले मङ्सिर ५ देखि १२ गतेसम्मको यान्त्रिक उडानको तालिका बनाएको हो । यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे÷नगरेको परीक्षण गरिनेछ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिन्छ । प्राधिकरणले आगामी जनवरी १ (पुस १७ गते) देखि पोखरा विमानस्थल व्यावसायिक सञ्चालनको घोषणा गरिसकेको छ । यान्त्रिक उडानका क्रममा पोखरा विमानस्थलमा हुने आन्तरिक उडान सामान्य प्रभावित हुनेछ । उडान प्रभावित हुने भएकाले साबिकको उडान तालिका हेरफेर गर्न सरोकारवाला एयरलाइन्ससँगको छलफलपछि निर्णय भएको प्रवक्ता निरौलाले बताए । उडान तालिका परिवर्तन हुने भएपछि एयरलाइन्सले सूचना निकालेर यात्रुलाई जानकारी गराइसकेका छन् । “बिहान १० बजेसम्म उडान हुन्छ र उडान बन्द हुन्छ । १० देखि दिउँसो १ बजेसम्म यान्त्रिक परीक्षण उडान हुन्छ । पुनः १ देखि २ः३० बजेसम्म उडान हुन्छ र त्यसपछि पुनः यान्त्रिक उडान सञ्चालन गरिन्छ । यान्त्रिक उडानका बेला नियमित उडान सामान्य प्रभावित हुने भएकाले एयरलाइन्सलाई ‘रिसेड्युल’ गर्न आग्रह गरेका छौँ”, प्रवक्ता निरौलाले भने । पोखरा विमानस्थलमा बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले उडान गर्दै आएका छन् । पोखरालगायत देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गरिने प्राधिकरणले जनाएको छ । यान्त्रिक उडान सकेर आगामी डिसेम्बर ५ मा एरोथाईको जहाज फर्किने प्रवक्ता निरौलाले बताए । एरोथाईको जहाजले देशभरका आन्तरिक विमानस्थलको उपकरण जाँचमा नियमित परीक्षण उडान गर्नेछ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । यो विमानस्थलको लगानी करिब २२ अर्ब हुने प्राधिकरणले जनाएको छ । विमानस्थलको हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ । ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको पोखरा विमानस्थल नजिकै रिट्ठेपानी डाँडो पहिलो चरणमा १४ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । यान्त्रिक उडानका लागि सुरुमा १४ मिटर डाँडा कटान गरिएको हो ।
बैतडी जिप दुर्घटना अपडेटः चार प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो
बैतडी । बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । दुर्घटनामा परेर आठ जना प्रहरी र एक चालक घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवान नरेश कठरिया, आशा धामी, भानु विष्ट, टीकेन्द्र ऐरी, चन्द्रसिंह ठगुन्ना र चालक देवराम महर रहेका छन् । घाइतेमध्ये गणेश र पुतलीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पन्थीले बताए । अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उपचाररत नरेश, आशा र देवरामको अवस्था पनि गम्भीर रहेकाले उनीहरूलाई पनि थप उपचारका लागि हेलिकप्टरमार्फत पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । प्रहरी बोकेको से१ज ८५४ नम्बरको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियोे । जिपमा १२ प्रहरी र एक चालक गरी १३ जना सवार थिए । जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर पाटन फर्कंदै गरेको प्रहरी टोली सवार जिप बिहान ७ बजे दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खोलामा खसेको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
विश्वकप फुटबलमा आज तीन खेलहरू हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हुँदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने छन् । त्यसैगरी समूह ‘बी’अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । त्यस्तै समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । उक्त खेल राति ९ः४५ बजे सुरु हुनेछ । विश्वकपमा विभिन्न ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । यस विश्वकपमा कूल ६४ खेल हुनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली नकआउट चरणमा पुग्नेछन् । फिफा विश्वकप फुटबल प्रतियोगिताको आइतबारको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कतारको अल बेयत रङ्गशालामा आइतबार राति सम्पन्न खेलमा इक्वेडरले कतारलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । इक्वेडरको जितमा एनर भ्यालेन्सिया नायक बने । उनले खेलको १७ औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दै खाता खोले । गोलरक्षक साद अलसिबले पेनाल्टी क्षेत्रभित्र लडाएपछि इक्वेडरले पेनाल्टी प्राप्त गरेको थियो । जसलाई एनरले गोल गर्न सफल भए । त्यस्तै खेलका ३१ औँ मिनेटमा एनरले व्यक्तिगत दोस्रो गोल गर्दा इक्वेडरको जित सुनिश्चत भयो । उनले एन्जेलो प्रेसियाडोको क्रस बललाई सदुपयोग गर्दै गोल गरे । यसपछि थप गोल हुन नसकेपछि खेल इक्वेडरले कतारमाथि २–० को सहज जित हात पारयो । यस खेलसँगै इक्वेडरले शीर्ष तीन अङ्क जोडेको छ । रासस