३०० मत गन्दा चितवन-२ मा रवि लामिछाने तेस्रो स्थानमा
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ । उक्त क्षेत्रमा ३०० मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेल १५० मत ल्याएर पहिलो स्थानमा रहेका छन् । यस्तै, ९७ मत ल्याएर दोस्रो स्थानमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ रहेका छन् भने तेस्रो स्थानमा २५ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका छन् । मतगणना जारी छ ।
सुरु भयो रवि लामिछानेको क्षेत्रमा मतगणना
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । उक्त क्षेत्रमा दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरे पनि प्राविधिक कारणले केही ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, लोकतान्त्रिक वाम गठबन्धनका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेलबीच प्रतिस्पर्धा छ ।
काठमाडौं १ मा सिंहको ८१८ मिश्रको ७३७ मत
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै छ । यो क्षेत्रका छ वटा मतदान केन्द्रको मतगणना सकिँदा सिंहले ८१८ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले राससलाई जानकारी दिए । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रविन्द्र मिश्रले ७३७ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पुकार बमले ५२८, नेकपा एमालेका किरण पौडेलले ४९६ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले ३५७ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसमध्ये १० जना महिला उम्मेद्वार छन् । यो क्षेत्रमा कुल ५२ मतदान केन्द्र रहेकामा अब ४६ केन्द्रको मतगणना बाँकी छ ।
दुर्गम क्षेत्रका मतपेटिका अझै बाटोमै
ताप्लेजुङ । दुर्गम तथा हिमाली गाउँका मतपेटिका सदरमुकाम आइनसकेकाले मतगणना सुरु हुनसकेको छैन । जिल्लाभर रहेका एक सय २५ मतदान केन्द्रमध्ये चार वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याईपुर्याउन बाँकी छ । उत्तरी हिमाली क्षेत्रमा पर्ने फक्क्ताङलुङ गाउँपालिकास्थित याङ्मा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका मतदान केन्द्रको मतपेटिका आइपुग्न बाँकी रहेको र आइसकेपछि मात्र गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिए । यसअघि यी चारवटै केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी भएको थियो । तर अन्तिम समयमा हेलिकप्टर नआउने भएपछि मतपेटिका बोकेर ल्याउनुपर्ने हुँदा समय लाग्ने देखिएको योङ्याको भनाइ छ । अन्य सबै केन्द्रका मतपेटिका सदरमुकाम फुलिङमा ल्याइसकिएको छ । दुर्गम मानिने याङ्मास्थित मतदान केन्द्र सदरमुकामदेखि सबैभन्दा टाढाको केन्द्र हो । झण्डै चार हजार दुई सय मिटरको उचाइमापर्ने याङ्मा पुग्न कम्तीमा तीन देखि चार दिनसम्म लाग्ने गरेको छ । यसअघि सो केन्द्रमा मतदान गराउन गएको कर्मचारी सहितको टोली चार दिनमा मात्र पुगेको थियो । यहाँ जम्मा ६१ मतदाता रहेकोमा आइतबार भएको निर्वाचनमा १२ मत खसेको छ । ताप्लेजुङमा ५४।६८ प्रतिशत मतदान भएको प्रारम्भिक नतिजा छ । यहाँ कूल ८८ हजार दुई सय ८५ मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच रहेका छन् । यहाँ दुई वटा अस्थायीसहित एक सय २५ वटा मतदान केन्द्र थिए । सङ्घ र प्रदेशमा गरी जिल्लामा २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस
डोनाल्ड ट्रम्पले ट्विटर प्रयोग नगर्ने
एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटरमा एकाउन्ट रिस्टोर भएपछि उनले यसलाई प्रयोग गर्न अस्वीकार गरेका छन् । उनले आफ्नो प्लेटफर्म ट्रुथ सोसललाई निरन्तरता दिने बताए । उनले आफ्नो प्लेटफर्मको प्रदर्शनलाई ट्विटरसँग पनि तुलना गरे। उनले ट्विटरभन्दा ट्रुथ सोसलको धेरै राम्रो भएको दाबी गरे । भेटका क्रममा उनले भने, ‘म यसको कुनै कारण देख्दिन ।’ रोयटर्सको रिपोर्ट अनुसार ट्रम्पले नेतृत्वको बैठकमा यो घोषणा गरेका हुन् । डोनाल्ड ट्रम्पको खातामा ८।७ करोड भन्दा बढी फलोअर्स छन् र उनले जनवरी ८, २०२१ मा अन्तिम ट्वीट गरेका थिए । मतदान पछि खाता पुनर्स्थापित गरिएको थियो ट्विटरका नयाँ मालिक एलोन मस्कले ट्रम्पको खाता पुनर्स्थापित गर्ने बारे ट्विटर पोल पोस्ट गरेका थिए । उनले राष्ट्रपति ट्रम्पको खाता रिस्टोर गर्नुपर्ने वा नपर्ने विषयमा हो वा होइन भनेर सोधेका थिए । मस्कले राखेको पोलमा १।५ करोड भन्दा धेरै मानिसहरुले सहभागिता जनाएका थिए । जसमा ५२ प्रतिशतले हुन्छ र ४८ प्रतिशतले हुन्न भनेका थिए । सो पोलमा मतदान सकिएपछि ट्विटरका मालिकले लेखेका थिए, ‘वोक्स पोपुली, वोक्स देई’ भन्ने ल्याटिन वाक्यांश लेखेका थिए । जसको अर्थ ‘जनताको आवाज ईश्वरको आवाज हो’, भन्ने हुन्छ । अन्य प्लेटफर्महरुले पनि ट्रम्पको एकाउन्ट निलम्बन गरेका छन् डोनाल्ड ट्रम्पलाई फेसबुक, इन्स्टाग्राम, युट्युब, स्न्यापच्याट, ट्विच र अन्य इन्टरनेट कम्पनीहरूले पनि निलम्बन गरेका थिए। मस्कको निर्णयले फेसबुक जस्ता अन्य प्रमुख सोशल मिडिया प्लेटफर्महरूलाई पनि ट्रम्पलाई पुनर्स्थापित गर्न सजिलो बनाउन सक्छ। फेसबुकको मूल कम्पनी मेटाले जनवरी २०२३ मा आफ्नो निर्णयमा पुनर्विचार गर्ने जनाएको छ।
बाजुरा त्रिवेणी क्षेत्रलाई शान्तिपूर्ण अवस्थामा फर्काउन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दुई जनाको मृत्यु र तीन जना घाइते भएपछि असहज भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई असहज परिस्थितिलाई सामान्यीकरण गरी शान्तिपूर्ण अवस्थामा फर्काउन निर्देशन दिएका हुन् । आइतबारको निर्वाचनमा मतदान भइरहेको समयमा त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि भएको अर्को घटनामा घाइते भएका स्थानीय चेतन ऐडीको बयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । केन्द्र र जिल्लाको पहलमा अहिले अवस्था बिहानको भन्दा सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले जानकारी दिए । गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव पोखरेलले केन्द्र र जिल्लाको पहलले बाजुराको त्रिवेणीको अवस्था सामान्य बन्दै गएको बताए । यसैबीच गृहमन्त्री खाणले बैतडीको पाटनमा मतपेटिका पुर्याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा चार प्रहरीको मृत्यु र केही घाइते भएको घटनाबारे जानकारी लिँदै घाइतेलाई उचित उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । बैतडीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा केन्द्रका सुरक्षा प्रमुखसँग यसबारे जानकारी लिँदै उचित उपचारको प्रबन्ध मिलाउन र जिल्लाको स्रोतले नपुग्ने भए मन्त्रालयमा लेखी पठाउन उनले आग्रह गरेका छन् । रासस
प्रतिनिधिसभा निर्वाचन विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार छन्, योगेश गौचन थकाली । उनले नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गरेका हुन् । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको छन् । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आकृष्ट भएको छ । निवर्तमान सांसद नेकपा एमालेका केन्द्रिय सदस्य तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै गौचन विजयी भएका हुन् । प्रतिनिधिसभा सदस्यमा एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा चार जना प्रतिस्पर्धामा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत पाए । कांग्रेसका गौचन पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका थिए । कांग्रेसको गण्डकी प्रदेश सदस्य योगेश कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा छन् । विसं २०५० वैशाख २७ गते मुस्ताङको थासाङ गाउँपालिका लेतेमा जन्मिएका योगेशले ब्याचलर अफ विजनेश म्यानेजमेन्टको अध्ययन गरेका छन् । होटेल कालोपानी लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा होल सञ्चालन गर्दै आएका उनी ट्राभल्स एण्ड टुर्स प्रालिको प्रबन्ध निर्देशकका साथै मुस्ताङमा किबीखेतीसँगै व्यावसायिक कृषिमा सहभागी बनेका छन् । जिल्लामा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका उनी नेविसङ्घको राजनीतिसँगै भूगोलमा पनि जोडिएका थिए । उनी पार्टीको जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा बनेका थिए । उनी पार्टीको साविक लेते गाउँसभापति पनि बनेका थिए । हाल पार्टीको महासमिति सदस्य रहेका उहाँ गण्डकी प्रदेश कार्यसमितिमा रहेका छन् । प्रेमले २०७४ को चुनावमा योगेशका बुबा रोमीलाई चार सय ८५ मतान्तरले पराजित गरेका थिए । विसं २०७० को चुनावमा कांग्रेसका रोमी कांग्रेसबाट बागी उठेका प्रेमलाई १३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र प्रेम साला भेना पर्छन् । रोमी योगेशका बुबा र प्रेम मामा–फूपूका छोरा हुन् । रोमीले आफूलाई आएको प्रतिनिधिसभा सदस्यको टिकट मनोनयन दर्ताका क्रममा छोरा योगेशलाई थमाएका थिए । विसं २०४७ पछि मुस्ताङमा नेपाली कांग्रेसले अहिलेसहित चार पटक र नेकपा एमालेले दुई पटक संसदीय निर्वाचन जितेका छन् । विसं २०७४ मा एमाले प्रवेश गरेका प्रेम रोमीलाई पछि पार्दै दोस्रो प्रयासमा संसद् छिरेका थिए । दोस्रो पटक सांसद छिर्ने प्रेमको योजना योगेशले असफल बनाए । रोमी २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । रोमी २०७३ मा वाणिज्यमन्त्री हुन् । विसं २०७४ को चुनावमा मुस्ताङको प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सदस्यमा एमालेले जितेको थियो । नयाँ र युवा उम्मेदवारप्रति मतदाताको आकर्षण, गठबन्धनमा आबद्ध दलको साथ र स्वतन्त्र मतदाता आफ्नो पक्षमा रहेकाले चुनाव जित्ने योगेशको दाबी थियो । योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक प्रयास र त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने निर्वाचनका क्रममा बताएका थिए । जोमसोम–कोरला सडक कालोपत्र गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिबद्धता जनाएका थिए । रासस
रवि लामिछानेलाई प्रश्न : सासंद बनेपछि कुन मन्त्रालय माग्नु हुन्छ ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दललाई उपेक्षा गरेर अगाडि बढ्न अन्य दललाई सकस हुने बताएका छन् । सोमबार सञ्चारकर्मीहरुसँग बोल्दै उनले संसदमा आफूहरुलाई उपेक्षा गरेर अगाडि बढ्न अरु दलहरुलाई कठिन हुने बताएका हुन् । ‘हामी धेरै महत्वपूर्ण अवस्थामा रहन्छौं, हामीलाई उपेक्षा गरेर, हामीलाई साथ नलिएर अगाडि बढ्न गाह्रो हुन्छ होला,’ उनले भने । यस्तै, सञ्चारकर्मीहरुले जितेपछि कुन मन्त्रालय माग्नुहुन्छ भन्ने प्रश्न गरेका थिए । सो प्रश्नको जवाफमा उनले भनेका छन्,‘‘म त्यो फेजमा पुगिसकेको छैन, मतगणनाको प्रारम्भिक अवस्थामा आएका रिपोर्ट राम्रो भए पनि यसैलाई आधार मानेर अहिले नै कुनै टिप्पणी गर्नु हतार हुन्छ, निर्वाचन नजितीकन जितेपछि के गर्ने भन्ने कुरा गर्नु उचित हुँदैन ।’