विकासन्युज

रवीन्द्र मिश्रले प्रकाशमानलाई टपे, एमालेका पौडेल र पुकार बमले पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर एकमा रवीन्द्र मिश्रले अग्रता कायम गरेका छन् । उनले २ हजार ४ सय १३ मतसहित अग्रता कायम गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले २ हजार ३ सय २ मत पाएका छन् भने नेकपा एमालेका किरण पौडेलले १ हजार ४ सय ४१ मत पाएका छन् । यस्तै, स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका पुकार बलमे १ हजार ३ सय ६७ र रमेश खरेलले १ हजार ४६ मत पाएका छन् ।

चुनावको ह्याङ रिफ्रेस गर्न गगन थापा छिरे फिल्म हल, चुनाव जित्नेमा ढुक्क

काठमाडौं । मतगणना जारी रहेको बेला काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा फिल्म हेर्न पुगेका छन् । उनी चुनावको ह्याङलाई रिफ्रेस गर्न सिनेमा हेर्न पुगेका हुन् । सोमबार उनी श्रीमतीसहित हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ हेर्न सिनेमा हल पुगेका हुन् । उनी श्रीमतीसहित दरबारमार्गस्थित क्यूएफएक्स दरबार मलमा दिउँसो साढे २ बजेको शोमा फिल्म हेर्न पुगेका हुन् । उनले अहिलेसम्म अग्रता कायमै गरेका छन् । उनललाई नेकपा एमालेका उम्मेदवार राजन भट्टराई पछ्याइरहेका छन् ।

काठमाडौं–२ मा मतगणना थालियो

  काठमाडौ । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं २ मा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्ष र समानुपातिकको एकैपटक मतगणना गर्ने तयारीका लागि समय लागेकाले दुई बजेपछि मात्र मतगणना सुरु भएको निर्वाचन अधिकृत विमला रेग्मीले जानकारी दिए । अहिले यो क्षेत्रमा चार ठाउँमा मतगणना भइरहेको छ । सिन्धुपाल्चोकसँग सीमा जोडिएका काठमाडौंका विकट बस्ती पनि पर्ने यो क्षेत्रमा शङ्खरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं ४, ५, ६, ७, ८ र ९, काठमाडौं महानगरपालिकाका वडा नं ९ र ३२ पर्छन् । यो क्षेत्रमा पूर्वसभामुख ओनसरी घर्ती सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी छिन् । यसैगरी नेकपा एमालेका तर्फबाट मणिराम फुयाँल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट कुन्तीकुमारी पोखरेल उम्मेदवार छिन् ।

पार्टनरले समय नदिँदा झगडा नगर्नुहोस्, यी टिप्स अपनाउनुहोस्

एजेन्सी । सम्बन्धमा एकअर्कालाई समय दिनुपर्छ तर काममा व्यस्त हुँदा मानिससँग समयको कमि हुन्छ । यस्तो अवस्थामा जब जोडीले एकअर्कालाई समय दिँदैनन्, तब धेरै दूरी बढ्ने सम्भावना हुन्छ । यदि तपाइँको पार्टनर प्रायः व्यस्त हुन्छ, तपाइँको लागि समय दिँदैन भने तब एकआपसमा झगडा पर्ने सम्भावना रहन्छ । श्रीमान अथवा श्रीमतीले एक अर्कालाई समय नदिएमा दिनहुँजसो गुनासो गर्ने वातावरण बन्छ । जसले गर्दा दुवै वीचमा झगडा हुन्छ । बिस्तारै दम्पतीबीच झगडा बढ्दै गएर कुरा ब्रेकअपसम्म पुग्छ । धेरै पटक तपाईं आफ्नो पार्टनरलाई डिस्टर्ब गर्न चाहनुहुन्न समयको अपेक्षा गर्नुहुन्छ, यस्तो अवस्थामा यदि पार्टनर धेरै व्यस्त छ भने उसलाई चिन्तित पार्नु र झगडा गर्नुको सट्टा यी टिप्सहरू लिएर उहाँसँग समय बिताउनुहोस्। पार्टनरसँग कुरा गर्नुहोस् कुनै पनि समस्या छलफलबाट समाधान गर्न सकिन्छ। यदी तपाईंको पार्टनर अफिसको काममा धेरै व्यस्त छ र तपाईंलाई समय दिन सक्दैन भने उसँग गुनासो वा भावनालाई राम्रोसँग भन्नुहोस । तपाईंले पनि उसको कुरा राम्रोसँग सुन्नुहोस र समस्या अथवा समय अभावको बारेमा राम्रोसँग बुझ्ने प्रयत्न गर्नुहोस । पार्टनरको कामसँग सम्बन्धित कुराहरु बुझेपछि यसले स्पष्ट पार्छ कि पार्टनरले तपाईंलाई कामको कारणले समय दिँदैन वा उसले तपाईंलाई बेवास्ता गर्छ। यसो गर्दा पार्टनरले पनि तपाईको भावना बुझ्न सक्नेछन्। खुशी हुनुहोस सुखी सम्बन्धको लागि तपाई आफैं खुसी हुनु आवश्यक छ। यदि पार्टनरले समय दिइरहेको छैन भने दुखी नहुनुहोस् र खुसी हुने प्रयास गर्नुहोस्। जब तपाईं खुसी हुनुहुन्छ पार्टनरले व्यस्तताको बीचमा पनि राहत महसुस गर्नेछ। घरको भेटघाटलाई आनन्दित बनाउनुहोस धेरै कामका कारण पार्टनर तपाईसँग कतै जान नसकेको वा धेरै समय बिताउन नसक्ने हुनसक्छ । त्यस्तो अवस्थमा समयको सदुपयोग गर्न सकिन्छ । यदि तपाइँ आफ्नो पार्टनरसँग समय बिताउन चाहनुहुन्छ भने उनीहरूसँग बाहिर जाने बारेमा नसोच्नु राम्रो हुन्छ । बरु घरमा नै बस्ने रमाइलो गर्ने र खुसी हुने वातावरण बनाउँदा उत्तम हुन्छ । जब पार्टनर कामबाट घर फर्कन्छ, आफ्नो मनपर्ने डिनर तयार गरेर सँगै खाने, फिल्म हेर्ने, छलफल गर्ने, करेसाबारीमा काम गर्ने जस्ता कुराहरु गरेर आफ्नो पार्टनरसँग खुसी हुन सकिन्छ । सरप्राइज गिफ्ट दिनुहोस थोरै समयको प्रयोग गरेर पनि सम्बन्धमा खुसी राख्न सकिन्छ । तपाईं आफ्नो पार्टनरलाई समय समयमा सरप्राइज दिएर हरेक समयलाई विशेष बनाउन सक्नुहुन्छ। आफ्नो पार्टनरलाई उपहार दिएर तपाईं आफ्नो सम्बन्धको लागि व्यस्त क्षणहरूबाट केही समय निकाल्न सक्नुहुन्छ। जसले गर्दा दुबै पक्ष एकआपसमा खुसी हुन सकिन्छ ।

यसअघिका प्रदेश सांसदलाई हराउँदै मुस्ताङ-१ मा कांग्रेसका नाम्डु गुरुङ विजयी

काठमाडौं । मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । एक हजार ४८ मत ल्याउँदै गुरुङ विजयी भएका हुन् । उनले यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद रहेका एमालेका इन्द्रधारा ड्याडु विष्टलाई हराएका हुन् । विष्टले ७ सय ९३ मत पाएका थिए । उक्त क्षेत्रमा एक हजार ८५५ मत खसेकोमा १४ मत बदर भएका छन् ।

भक्तपुर क्षेत्र नं १ मा राप्रपा, क्षेत्र नंं २ मा कांग्रेस अगाडि, मतगणना जारी

  भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा १० हजार मतगणना हुँदा प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा एमालेका उम्मेदवारलाई पछाडि पार्दै अग्रता कायमै राखेको हो । गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दूर्लभ थापाले एमालेका महेश बस्नेतलाई चार सय ३२ मतान्तरले अग्रता लिँदै चार हजार एक सय १३ मत पाएका छन् । एमाले तीन हजार छ सय ८१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले आठ सय ७०, राष्ट्रियता प्रजातन्त्र पार्टीले चार सय ५० र नेपाल मजदुर किसान पार्टीले चार सय ५० मत प्राप्त गरेको छ । मतगणना जारी छ । प्रदेशसभा र समानुपातिकको मतगणना पनि सुरु भएको छ । त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुआती अग्रता लिएका छन् । चाँगुनारायण नगरपालिका वडा नं १ को मतगणनाका क्रममा उनले अग्रता लिएका हुन् । यस क्षेत्रमा एक हजार तीन सय ११ मतगणना हुँदा खड्काले तीन सय ५९, एमालेका नवराज गेलालले तीन सय ५६, नेमकिपाका प्रेम सुवालले दुई सय ९२ र माओवादी केन्द्रका सुनिल गोठेले दुई सय दुई मत प्राप्त गरेका छन् ।

म्यानचेस्टर युनाइटेडसँगको आफ्नो विवादले विश्वकपमा पोर्चुगलको टोलीमा कुनै प्रभाव पार्दैन : रोनाल्डोले

  पोर्चुगल । क्रिस्टियानो रोनाल्डोले सोमबार म्यानचेस्टर युनाइटेडसँगको आफ्नो विवादले विश्वकपमा पोर्चुगलको टोलीमा कुनै प्रतिकूल प्रभाव नपार्ने बताएका छन् । रोनाल्डोले पोर्चुगलको क्याम्पमा आयोजित पत्रकार सम्मेलनमा भने मलाई कुनै शङ्का छैन कि यो भर्खरको दृश्य हो । त्यो अन्तर्वार्ता र अन्य खेलाडीहरूसँगको अन्य एपिसोडहरूले कहिलेकाहीँ खेलाडीलाई हल्लाउन, आंशिक प्रभाव पार्न सक्छ तर टोलीलाई हल्लाउँदैन। आइतबारदेखि फिफा विश्वकप शुरु भएको छ। यस विश्वकपका प्रमुख चर्चित खेलाडी मध्येका रोनाल्डो एक हुन् । रासस

सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा राउत दाजुभाइको सुरुआती अग्रता

सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउत दाजुभाइले सुरुआती अग्रता लिएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सर्वोदय माविमा जारी क्षेत्र नं १ को मतगणनाअनुसार प्रतिनिधिसभातर्फ जनमत पार्टीका अध्यक्ष डा सीके राउतका दाजु जयकान्त राउतले दुई सय ३८ मतका साथ अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका रामदेव साहले दुई सय १४ मतका साथ पछ्याइ रहेका छन् भने नागरिक उन्मुक्ति पार्टीका टीकालक्ष्मी चौधरीले दुई सय एक मत ल्याएर तेस्रोमा छिन् । प्रदेशसभातर्फ क्षेत्र नं १ र २ मतगणना कार्यसमेत सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए । यस्तै सप्तरीको क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आफ्नो अग्रता कायमै राखेका छन् । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा बिहान ९ बजेदेखि जारी क्षेत्र नं २ को पछिल्लो मतगणना परिणामअनुसार डा राउतले एक हजार २० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चार सय ५२ मत प्राप्त गरेका छन् । यस्तै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले तीन सय आठ मत ल्याएर तेस्रोमा छन् । प्रदेशसभातर्फ सप्तरी क्षेत्र नं २ १ मा जनमत पार्टीका सतिश सिंहले एक हजार तीन सय २१ मत प्राप्त गर्दा जसपाका शैलेन्द्रप्रसाद साहले पाँच सय ६१ मत प्राप्त गरेका छन् भने वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लोसपाका सरोज मण्डलले चार सय ३३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा क्षेत्र नं २ मा जनमत पार्टीकै महेश यादवले पाँच सय ३७ मतका साथ अग्रता लिँदा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उमेशकुमार यादवले तीन सय आठ र जसपाका लक्ष्मण यादवले एक सय ८३ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।