विकासन्युज

काठमाडौं १ मा मिश्रको अग्रता

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रबिन्द्र मिश्रले अग्रता लिएका छन् । राप्रपाका मिश्रले दुई हजार ४१७ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए । उनलाई पछ्याउँदै नेपाली कांग्रेसका प्रकाशमान सिंहले दुई हजार ३०३ मत पाएका छन् । नेकपा एमालेका किरण पौडेलले एक हजार ४४१, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पुकार बमले एक हजार ३६७ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले एक हजार ६६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ जना स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसमध्ये १० जना महिला उम्मेद्वार छन् । यो क्षेत्रमा कुल ५२ मतदान केन्द्रमा मतदान भएको थियो ।

कैलाली–४ मा पूर्व उद्योगमन्त्री समेत रहेका भट्ट पछाडि, बलाएरको अग्रता कायमै

धनगढी । कैलाली क्षेत्र नम्बर–४ मा सत्ता गठबन्धनका उम्मेदवार (नेपाली काँग्रेस) वीरबहादुर बलायर २०५ मतसहित अग्र स्थानमा छन्। ४ सय मत गन्दा वीरबहादुरलाई पछ्याइरहेका नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले १३० मत पाएका छन् ।  भट्ट पूर्व उद्योगमन्त्री हुन् ।

थालियो डडेल्धुरामा पनि मतगणना

  डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भइरहेको छ । जिल्लामा ५६।६४ प्रतिशत मत खसेको हो । जिल्लामा कूल मतदाता ९१ हजार दुई सय १ रहेकामा ५१ हजार छ सय ६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । जिल्लामा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको छ । प्रतिनिधिसभाको एक सिटका लागि नेपाली कांग्रेसका सभापति एव प्रधानमन्त्री देउवासहित आठ जना चुनावी मैदानमा छन् । रासस

सप्तरी– १ मा कांग्रेसको अग्रता

सप्तरी । सप्तरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा जारी रहेको मतगनणामा लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामदेव साहले छ सय ९२ मत प्राप्त गरेर सुरुआती अग्रता लिएका हुन् । उनलाई एमाले–जसपा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार नवलकिशोर साहले चार सय ७८ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै जनमत पार्टीका जयकान्त राउतले चार सय ४३ मत प्राप्त गरेका छन् ।

दाङ– २ मा लोकतान्त्रिक गठबन्धनका रेखाको सुरुआती अग्रता

दाङ । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका रेखा शर्माले सुरुआती अग्रता लिएकी छिन् । दुई हजार सात सय ८० मत गणना हुँदा उनले एक हजार चार सय ५० मत प्राप्त गरेका छन् । नेकपा एमालेका शङ्कर पोखरेलले आठ सय ४६ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । यस क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार चार सय ४६ मत खसेको थियो । यस क्षेत्रको मतगणना घोराहीस्थित जिल्ला समन्वय समितिको हलमा जारी छ ।

काँग्रेस १५, एमाले १४ र स्वतन्त्र पार्टीको ५ ठाउँमा अग्रता, कुन क्षेत्रमा कसको सम्भावना बढी ?

काठमाडाैं । अहिले देशभर मतगणना भइरहेको छ । हालसम्म भएको मतगणना अनुसार सबैभन्दा अगाडि नेपाली काँग्रेस, दोस्रोमा नेकपा एमाले र तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी देखिएको छ । नेपाली काँग्रेसले १४ ठाउँमा अग्रता कायम गरेको छ भने एक ठाउँमा जित हासिल गरेको छ । काँग्रेसले काठमाडौं क्षेत्र नम्बर–५, नवलपुर–२, इलाम–२, चितवन–१, कञ्चनपुर–३, भक्तपुर–२, काठमाडौं–१०, सुर्खेत–२ र तनहुँ–२ मा अग्रता कायम गरेको हो । यस्तै, काँग्रेसले अछाम–२, कपिलवस्तु–३, मोरङ–६, मकवानपुर–१ र काठमाडौं ४ मा पनि अग्रता कायम गरेको छ । यस्तै, नेकपा एमालेले हालसम्म १४ ठाउँमा अग्रता कायम गरेको छ । एमालेले मकवानपुर–२, झापा–२, चितवन–२, बाँके–३, काठमाडौं–९, धनुषा–३, भक्तपुर–१, मनाङ–१, ललितपुर–१, कास्की–३, दैलेख–१, ललितपुर–२, काठमाडौं–३ र दाङ–३ मा अग्रता कायम गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ६ क्षेत्रमा अग्रता कायम गरेको छ । यस पार्टीले काठमाडौं–६, काठमाडौं–७, झापा–४, कास्की–२, काठमाडौं–२ र ललितपुर–३ मा अग्रता कायम गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन ठाउँमा अग्रता कायम गरेको छ । राप्रपताले बाँके निर्वाचन क्षेत्र नम्बर २, झापा क्षेत्र नम्बर ३ र काठमाडौं क्षेत्र नम्बर १ मा अग्रता कायम गरेको छ । बाँकेमा धवलशम्शेर जंगबहादुर राणा, झापा ३ मा राजेन्द्र लिङ्देन र काठमाडौं क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्रले अग्रता कायम गरेका हुन् । क्रमश राणले १८ सय मत, लिङ्देनले १२७४ मत र मिश्रले २४१३ मत पाउँदै अग्रता कायम गरेका हुन् । नेकपा माओवादी केन्द्रले सर्लाही–३ र दाङ२ मा अग्रता कायम गरेको छ भने जनमत पार्टीले रुपन्देशी–३, सप्तरी–१ र सप्तरी–२ मा अग्रता कायम गरेको छ ।

काठमाडौं ९ मा एमालेको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णगोपाल श्रेष्ठ एक हजार एक सय ४४ मतसहित अगाडि छन् । नौ मतले पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल एक हजार एक सय ३५ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी कल्पना धमलाले पाँच सय ३५ प्राप्त गरेकी छिन् । दिउँसो ३ बजेसम्म यस क्षेत्रमा चार हजार मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिइन् । रासस  

स्वदेशी ओटिटीमा बढ्दैछन् दर्शक, वार्षिक पाँच सय डलर खर्च

काठमाडौं । ओटिटी ओभर द टप प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाइसकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा रहे । नेपालमा समेत विदेशी ओटिटीका प्लेटफर्मतर्फ बढ्दा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिकरुपमा खर्च गर्न मिल्नेगरी कार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढे्दै आएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाए पछि बन्द नै भए । नेपालमा सन् २०१५ देखि सुरू भएको एप सिनेमाघरका प्र्रमुख कार्यकारी अधिकृत सागर खरेलले नेपाली दर्शकलाई युट्युबमा निःशुल्क कन्टेन हेर्ने बानी लागेकाले डिजिटल प्लेटफर्मको विकास नहुन सकेको बताए । ‘हामीले सुरुआती समयमा चलचित्रको अधिकार लिएर निःशुल्करुपमै एपमा देखाउने गरेका थियौँ । दर्शकलाई फिल्म हेर्ने बानी बसेपछि न्यूनतम शुल्क लिन थालेका हौँ’, उनले भने, ‘अहिले यसको सुरक्षा प्रणाली चुस्त बनाउनाका साथै दर्शकले खोजिरहेको चलचित्र ल्याउने तयारीमा छौँ ।’ सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा फिल्म हेर्ने बानीको विकास भइरहेको बताए । ‘नयाँ फिल्म र ओर्जिनल कन्टेनको तयारी हामीले गरिरहेका छौँ । दर्शकको आकर्षण बढ्दै गएपछि हामीले पनि कन्टेन बढाउँन थालेका हौँ’, उनले भने । गत कात्तिक २४ मा एपमा रिलिज भएको ‘कबड्डी ४ : द फाइनल म्याच’ ले प्रयोगकर्ता बढाउनाका साथै एक्टिभ पनि गरिएको प्रमुख कार्यकारी अधिकृत खरेलले बताए । ‘हाम्रो ५० हजारभन्दा बढी प्रयोगकर्ता बढेको छ भने सक्रिय हुनेको सङ्ख्या धेरै भएर सर्भर नै क्याससमेत भएको थियो । यो फिल्मको आम्दानी कुनै युट्युबले दिनेभन्दा बढी छ । कुनै समय एक सय दर्शक नपाइने एपमा केही समययता दैनिक एक हजारको हाराहारीमा फिल्म हेरिरहेका छन्’, उनले भने । आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसकेका ओमप्रकाश अग्रवालले भने पाइरेसीको समस्याले ओटिटीमा जोखिम रहेको बताए । आफ्नै ओएसआर प्ले नामक एपको तयारी गरिरहेका अग्रवालले सुरक्षाको चुनौती रहेको उनको भनाइ थियो । ‘हामीले पाइरेसी रोक्ने अनेक सुरक्षा अपनाएका हुन्छौँ तर पाइरेसी गर्नेलाई कडा कारवाही नभएसम्म कन्टेन सुरक्षित हुदैनन’, सञ्चालक अग्रवालले भने । आइफ्लिक्स बन्द भएपछि उनीसहितको टोलीले ओएसआर डिजिटल टिम भिडियो पसलमार्फत फिल्म दर्शक माँझ पुर्याइरहेको छ । अभिनेता लामिछानेले आफ्नो एपमा चार तहको सुरक्षा रहेको र पाइरेसी गर्नेलाई सहजै पत्ता लगाउन सकिने बताए । ‘पाइरेसीसम्बन्धी शिक्षाको कमिले नै यस्तो भइरहेको छ । पक्राउ परेपछि ख्यालख्यालमै चलचित्र पाइरेसी गरिएको भन्ने सुनिन्छ । यससम्बन्धी चेतना फैल्याउनुपर्छ’, उनले भने । डिजिटल बजारलाई सघाउन चलचित्र विकास बोर्डले नियमन गर्ने र सञ्चालन गर्ने कार्यविधि तयार गरिरहेको सदस्य फडिन्द्र कटवालले बताए । ‘कबड्डी ४ : द फाइनल म्याच’ ले गरेको कमाइको विवरण र अन्य केही नयाँ फिल्म रिलिजबारे छिट्टै जानकारी गराउने सिनेमाघरका प्रमुख कार्यकारी अधिकृत खरेलले जानकारी दिए ।