विकासन्युज

अछाम क्षेत्र नं १ मा मतगणना सुरु

अछाम । अछाम क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । चौरपाटी गाउँपालिका–१ र रामारोशन गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो । जम्मा मतदाता सङ्ख्या ७९ हजार ३६ रहेको क्षेत्र नं १ मा ४१ हजार छ सय ४३ मत खसेको थियो । लोकतान्त्रिक–वाम गठबन्धन दल नेकपा(एकीकृत समाजवादी) पार्टीको कलम चिह्नमा निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर उम्मेदवार छन् भने नेकपा (एमाले)को सूर्य चिह्नमा झपट रावल, नेपाली कांग्रेसका बागी उम्मेदवार राजन कुँवर पुतली चिह्न लिएर उम्मेदवार छन् ।

मोबाइलबाटै हेर्न सकिन्छ निःशुल्क रुपमा विश्वकप फुटबल

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता आइतबारबाट कतारमा सुरु भएको छ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियमबाट उद्घाटन भएको विश्वकप झण्डै आगामी २ महिनासम्म सञ्चालन हुनेछ । उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा भएको थियो । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेलमा कतार पराजय भएको छ । आज पहिलो खेल इरान र इङल्यान्डबीचमा हुनेछ भने दोस्रो खेल नेदरल्यान्ड र सेनेगलबीचमा हुनेछ । नेपालमा पनि फुटबल खेलका निकै ठूलो संख्यामा प्रशंसकहरु छन् । यसअघि घरघरमा टेलिभिजनमार्फत् सहजै रुपमा हेर्ने सुविधा भएकोमा यसपटक भने भिन्न प्याकेजमार्फत् खरिद गरेर मात्रै विश्वकप हेर्न पाइने व्यवस्था गरिएको छ । नेपालमा विश्वकप पदर्शनको अधिकार मिडिया हबले ४० करोड रुपैयाँ तिरेर लिएको छ । मिडिया हबले विश्वकप फुटबल महासंघसँग प्रसारण अधिकार लिँदा टेरिटरी लक हुने अधिकार पनि लिएको छ, जुन फिफाले यो वर्षदेखि अख्तियार गरेको नयाँ नीति हो । अर्थात् मिडिया हबले स्वीकृति दिएर प्रसारण हुने बाहेकका टिभी च्यानलमा विश्वकप प्रसारण हुँदैन । यसअघि भारतीय च्यानलहरुसँग सम्झौता गरी नेपालमा विश्वकप प्रसारण गरिएको थियो । जसले गर्दा नेपाली दर्शकहरुलाई विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सस्तो परेको थियो । तर, यसपटक भने मिडिया हबको प्रसारणमा व्यवसायिक एकाधिकार भएसँगै दर्शकहरुका लागि शःशुल्क र महँगो पर्न गएको छ । यसलाई एक्सक्लुसिभ अधिकार भनिन्छ, जुन नेपालमै पहिलोपटक प्रयोग भएको हो । मिडिया हबले ५०० रुपैयाँ तिरेर विश्वकप हेर्न सक्ने व्यवस्था गरेपनि कतिपय ग्राहकले पैसा र्तिदा पनि विश्वकप हेर्न नपाएको गुनासो सामाजिक सञ्जालमा व्याप्त छ । तर, पैसा तिरेर वा टिभी मार्फत विश्वकप हेर्ने सुविधा नभएका दर्शकहरुलाई पनि निःशुल्क रुपमा विश्वकप हेर्ने सुविधा भने छ । त्यसको लागि विभिन्न इन्टरनेट प्लेटफर्महरुले सुविधा उपलब्ध गराएका छन् । जसको प्रयोग गरेर मोबाइलबाट र स्मार्ट टेलिभिजनमार्फत् फिफा वर्ल्डकपको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ । मोबाइलबाट निःशुल्क रुपमा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्नको लागि तपाईंले वेब ब्राउजरबाट एचएनसी स्पोर्टस डट एक्सवाइजेड साइटमा गएर एचएनसी स्पोर्टस लाइभ टिभी एपीके एप डाउनलोड गर्नुपर्ने हुन्छ । सो एप डाउनलोड गरिसकेपछि त्यसलाई इन्स्टल गर्नुपर्ने हुन्छ । त्यसपछि सोही एप्लिकेसन खोलेर फिफा डब्लुसी २०२२ भन्ने लिंक खोल्नुपर्ने हुन्छ । सो लिंक खोल्दा विश्वकप हेर्ने ५ वटा विकल्प त्यहाँ राखिएका छन् । विश्वकप शुरु भएपछि ती ५ वटा विकल्पमध्ये कुनै एक विकल्पबाट विश्वकप लाइभ भइरहेको हुन्छ । तपाईंले सोही प्रकृयाबाट निःशुल्क रुपमा विश्वकप फुटवलको प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुन्छ । जुन पूर्ण रुपमा एचडी क्वालिटीमा प्रसारण भएको हुन्छ । तपाईंले मोबाइललाई टिभीमा जोडेर मोबाइलमा चलिरहेको विश्वकप फुटबल टिभीमा पनि सहजै हेर्न सक्नुहुन्छ । ५६५ तिर्नुपर्ने बाध्यता नेपाली ग्राहकले आइतबारदेखि कतारमा सुरु भएको वर्ल्डकप फुटबल खेल हेर्न करसहित ५६५ रुपैयाँ तिरेको बताइएको छ । आइतबार सुरु भएको खेल हिमालय प्रिमियर च्यानलले निःशुल्क रुपमा प्रसारण गरेतापनि शुल्क भुक्तानी गर्छु भन्ने ग्राहकले पेमेन्ट गेटवेमा समस्या आउँदा भुक्तानी गर्न नपाएको मिडिया हबले स्वीकारेको छ । मिडिया हबका कार्यकारी निर्देशक सोम धिताल पर्याप्त समय नहुँदा र धरैले एकै पटक रकम भुक्तानी गर्दा पेमेन्ट गेटवेमा समस्या देखिएको बताए । ‘हामीले छोटो समयमा धेरै तयारी गर्दा आइतबार भएको उद्घाटन शत्रको खेल देखाउन केही समस्या भयो, अहिले हामी सबै जनशक्ति प्रयोग गरेर समस्याको समाधान गर्न लागेका छौँ,’ उनले भने । उनले सबै जनशक्ति आवश्यक तयारीमा जुटेको भन्दै कति ग्राहकले शुल्क तिरे यकिन तथ्यांक आउन सकेको छैन ।

सुनसरी– ४ मा कांग्रेसका कार्कीको सुरुआती अग्रता

इनरुवा । सुनसरी क्षेत्र नं ४ मा मतगणना सुरु भएको छ । इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । यहाँ तीन सय मतगणना गर्दा कार्कीले एक सय ३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका जगदीशप्रसाद कुशियैतले ९५ मत प्राप्त गरेका छन् । कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री छन् ।

डडेल्धुरामा देउवाको शुरुआती अग्रता

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले शुरुआती अग्रता लिएका छन् । अपरान्ह पाँचबजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस विपीका कर्णबहादुर मल्लले १४१ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ९७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । रासस

प्रारम्भिक मतगणनामा पूर्व अर्थमन्त्री विष्णु पौडेल दोस्रो स्थानमा

रुपन्देही । प्रारम्भिक मतगणनामा प्रतिनिधिसभाका उम्मेदवार पूर्वअर्थमन्त्री विष्णु पौडेलले दोस्रो स्थान प्राप्त गरेका छन् । पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । ३ सय मत गणना हुँदा गणेश पौडेलले १ सय २६ मत प्राप्त गरेका छन् भनवे विष्णु पौडेलले ८३ मत प्राप्त गरेका छन् । कांग्रेस नेतृत्वको गठबन्धनले समर्थन गरेका राष्ट्रिय जनमुक्ति पार्टीका केशब सूर्यवंशीले ७८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा यसअघिका तीनवटा संसदीय चुनावमा विष्णु पौडेलले लगातार जित्दै आएका थिए । सो क्षेत्रमा एक लाख ३९ हजार ५६० मतदाता मध्ये ८१ हजार २०२ मत खसेको छ ।

गाडी किन्नेलाई बैंकले दिन थाले ऋण, कागजात बुझाएको तीन दिनभित्रै पाइने, यस्तो छ ब्याज

काठमाडौं । लामो समयदेखि अटो लोनमा कडाई गरेका वाणिज्य बैंकहरुले पछिल्लो समय सहज रुपमा ऋण दिन थालेका छन् । देशमा विदेशी मुद्रा सञ्चितिको कमीलाई देखाउँदै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार अटो लोनमा कडाइ गरेका बैंकहरुले पछिल्लो समय कर्जा उपलब्ध गराउन थालेका हुन् । केही बैंकले सूचना नै निकालेर विद्युतीय गाडी खरिद गर्न सहज रुपमा कर्जा उपलब्ध गराउने बताएका छन् भने केही बैंकले माग अनुसार कर्जा उपलब्ध गराउन थालेको गाडी व्यवसायीहरुले बताएका छन् । हुण्डाईको थापाथलिस्थीत स्वरुमका म्यानेजर दीवाकर रेग्मी विद्युतीय गाडी किन्नका लागि बैंकले सहज रुपमा लोन उपलब्ध गराउन थालेको बताउँछन् । ‘लामो समयदेखि अटो लोनमा बैंकले कडाइ गरेका थिए तर पछिल्लो केही दिन यता बैंकले सहज रुपमा लोन स्वीकृत गराउन थालेको छ,’ उनले भने । विद्युतीय गाडी किन्ने ग्राहकका लागि अटो लोनमा सहज बनाउन ग्लोबल आइएमई बैंकसँग एमओयू नै गरिएको बताए । ‘केही बैंकले अटो लोनमा सहजीकरण गरेतापनि अझै केही बैंकले कडाइ नै गरेका छन्, विद्युतीय गाडी किन्ने ग्राहकको सहजीकरणका लागि हामीले ग्लोबल आइएमई बैंकसँग एमओयू नै गरिसकेका छौँ’, उनले भने, ‘आवश्यक कागजपत्र पुर्याएका ग्राहकले तीन दिनभित्रै लोन पाउनेछन् ।’ तीन दिनभित्र ८० प्रतिशतसम्म लोन नबिल र ग्लोबल आइएमई बैंकले विद्युतीय गाडीमा कर्जा दिनका लागि गाडी कम्पनीसँग सम्झौता गरेका छन् । नबिल बैंकले टाटा मोटर्स अन्तर्गतका विद्युतीय सवारी खरिद गर्नको लागि ८० प्रतिशतसम्म ऋण दिने गरी एमओयू गरेको हो । नबिल बैंकबाट टाटा मोटर्सले बिक्री गर्ने नेक्सन र टिगोर विद्युतीय गाडी खरिद गर्ने ग्राहकले उक्त लोन पाउछन् । टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र सुलभ कर्जाको सुविधा पाउनेछन् । यस्तैगरी, हुण्डाईका गाडी खरिद गर्ने ग्राहकले आवश्यक कागजपत्र बुझाएको तीन दिनभित्रै लोन दिने गरी ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेको छ । आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र ग्राहकलाई बैंकले नियमानुसार सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेगरी एमओयू भएको हो ।

चितवन–१ मा विश्व पौडेलको अग्रता कायमै, हरि ढकालले पछ्याउँदा पाण्डे तेस्रोमा

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले अग्रता कायमै गरेका छन् । उनले ७०४ मत पाउँदै अग्रता कायम गरेका हुन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले ६२४ मत र नेकपा एमालेका सुरेन्द्र प्रसाद पाण्डले ४९८ मत पाएका छन् ।

चितवन क्षेत्र नं ३ को मतगणना सुरु

  चितवन । चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभाको मतगणना सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा गणना सुरु गरिएको हो । भरतपुर महानगरपालिका–६ को शहीद स्मृति मावि पारसनगर र दिवज्योति आधारभूत विद्यालय देवनगरको केन्द्रको मतगणना सुरु भएको हो । यस क्षेत्रमा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् । क्षेत्र नं १ र २ को मतगणना भइरहेको छ । जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता रहेका छन् । एक सय ६१ मतदानस्थलमा रहेका चार सय ६० मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन् । रासस