विकासन्युज

एलन मस्कले ट्वीटरमा युट्युव जस्तै फिचर ल्याउने, तत्काल ब्लुटिकको रिलञ्च नहुने

एजेन्सी । ट्विटरका नयाँ मालिक एलन मस्कले युट्युब जस्तो सेवा सुरु गर्न सक्ने जनाइएको छ । मस्कले ट्वीटरमा राख्ने भनिएको ब्लुटिक फिचर पनि तत्काल लञ्च नहुने भएको छ, जसकारणले भेरिफाइड सदस्यताको नवीकरण तत्काल अगाडि नबढ्ने भएको छ । मस्कले यही नोभेम्बर २९ मा ब्लुटिक लञ्च गर्ने घोषणा गरेकोमा उनले नै सो कार्य तत्काल स्थगित भएको घोषणा गरेका छन् । मस्कले पछिल्लो समयमा ट्वीटर प्रयोगकर्ताहरुको संख्या बढेको बताएका छन् । उनका अनुसार ट्वीटर प्रयोगकर्ताहरुको संख्या अहिलेसम्मकै उच्च तहमा पुगेको छ । मस्कले व्यक्तिगत र संस्थागत रुपमा भिन्नभिन्न रंगका ब्लुस्टिक ल्याउने तयारी गरेका छन् ।

आइएमई समूहले लियो ‘होटल ले हिमालयन’, हस्पिटालिटी क्षेत्रमा तेस्रो पाइला

काठमाडौं । उदाउँदो व्यावसायिक घराना आइएमई समूहले ‘होटेल ले हिमालय’ लिएको छ । आइएमई समूहले समालेको यो तेस्रो होटेल हो । चन्द्रागिरी हिल्स रिसोर्टबाट हस्पिटालिटी विजनेशमा हात हालेको आइएमई समूहले ६ महिनाअघि मात्र पोखरामा लेकसाइड रिट्रिट रिसोर्ट सञ्चालनमा ल्याएको थियो । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कदैँ गर्दा आइएमई समूहले चलिरहेको होटल लिएर सञ्चालन गरेको हो । स्वदेशी र विदेशी सबै पर्यटकलाई लक्षित गरी यो होटल सञ्चालनमा ल्याएको बेस्ट रिजोर्ट नेपाल हस्पिटालिटिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक विक्रम शाहले जानकारी दिए । उनले ग्राहकहरुलाई सुलभ मूल्यमा फाइभ स्टार होटलको जस्तो सेवा दिइरहेको बताए । ‘आनन्दले घुम्ने योजनाका साथ काठमाडौं आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई होटल ले हिमालयले सस्तोमा फाइभ स्टार होटलको जस्तै उच्च स्तरको सेवा दिन्छ,’ सीईओ शाहले भने । सीईओ शाहले सहरी क्षेत्रमा तत्काल सेवा विस्तार गर्ने लक्ष्यका साथ काठमाडौंको केन्द्र विन्दु लाजिम्पाटमा रहेको होटेल लिएको बताए ।’लाजिम्पाट व्यवसायिक हिसावले निकै महत्वपूर्ण स्थान हो, धेरै देशका दूतावासहरु यस क्षेत्रमा छन् , ठूला कर्पोरेट हाउसहरु यसै क्षेत्रमा केन्द्रीत छन्, विदेशी पर्यटकको लागि पनि यो सजिलो गन्तव्य हो’ उनले भने । होटल ले हिमालय थ्री स्टार क्याटागोरीको होटल हो । होटल ले हिमालयमा ५० वटा कोठाहरु छन् । एउटा कन्फ्रेन्स (सभा) हल रहेको छ । सभा हलको क्षमता १५० जना भन्दा बढी रहेको छ । साथै, होटल भित्रै एउटा रेष्टुरेण्ट एण्ड बार छ । उक्त होटलमा कर्पोरेट हाउसहरुको लागि भनेर एउटा बोर्ड रुम बनाइएको छ । होटलमा रुफ टप रेष्टुरेन्ट थप्न लागिएको शाहले जानकारी दिए । होटल सहरको केन्द्रीय भागमा रहेकोले र प्रयाप्त पार्किङ व्यवस्था रहेको उनले बताए । व्यवसायिक भेटघाट, बैठक, सेमिनार, तालिम, गोष्ठि, पार्टी आयोजना गर्नको लागि होटल ले हिमालय असाध्यै उपयोगि रहेको उनले बताए । ‘घरमा पाहुना आयो भने खुसी हुने हाम्रो संस्कार हो, हामी ‘अथिति देवो भवः’ भन्छौं, यसलाई आत्मसात गरेका छौं,’ उनले भने, ‘हामी उत्कृष्ट स्वादका परिकारसहित उत्कृष्ट सेवा दिनेछौं ।’ ग्राहकले अफोर्डएवल मूल्यमा फाइभ स्टार होटलको जस्तो सुविधा उपभोग गर्न पाउने उनको दावी छ । आइएमई ग्रुपले सञ्चालनमा ल्याएका धेरै जस्तो सेवाहरु आईएमई ब्राण्डमा छन् । तर, होटल क्षेत्रमा भने आइएमई समूहको ब्राण्ड प्रयोग गरिएको छैन । आइएमई समूहको नामबाट नै होटलहरुको नामाकरण गर्नेबारे निर्णय हुन सक्ने शाहले बताए । ‘एउटा ब्राण्ड त बनाउनै पर्छ, एउटा स्ट्याण्डर्डमा चल्नै पर्छ, यसबारे हामीले गृहकार्य गरिरहेको छौं,’ उनले भने, ‘हामी होटल क्षेत्रमा नेपाली ब्राण्ड सिर्जना गर्न चाहान्छौं, तर नाम अहिले नै फाइनल भएको छैन ।’

महोत्तरी –३ मा स्वतन्त्र उम्मेदवार अगाडि

महोत्तरी । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार अहिलेसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा छन् । तीन हजार १० मतको गणनामा स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा छन् । गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आठ सय ४४ मत प्राप्त गरेका छन् भने जसपाका उम्मेदवार हरिनारायण यादवले पाँच सय २२ मत गरेका छन् । त्यसैगरी ३ मा जसपाका दीपेन्द्र झा एक हजार एक सय १५० मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् भने एक हजार ६७ मत प्राप्त गर्दै लोसपाका अभिराम शर्मा दोस्रो स्थानमा रहेका छन् । त्यसैगरी ३ मा स्वतन्त्र उम्मेदवार उज्ज्वल झाले एक हजार दुई मत प्राप्त गर्दै अग्रस्थानमा छन् भने नेकपा एमालेका रामदयाल मण्डलले सात सय ५१ मत प्राप्त गर्दै दोस्रो र लोसपाकी रानी शर्माले पाँच सय ५६ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।

आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छर्नेको भीड

काठमाडौं । आज मार्ग कृष्ण पक्षको चतुर्दशी । पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शतबीज छरेर मनाइएको छ । आज बिहानै पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा शतबीज छरिएको छ । शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरिएको थियो । यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ । श्रद्धालुहरु त्रयोदशीको दिन राती पितृका नाममा दीप बाली जाग्राम बसेका थिए । अघिल्लो दिन विधिपूर्वक संकल्प गरी दीप बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै नदीमा बत्ती बगाउने परम्परा छ । श्रद्धालुहरु चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्छन् । शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका र विभिन्न किसिमका फूल हुन्छन् । पशुपतिमा भक्तजनका लागि व्यवस्थित रुपमा बत्ती बाल्न र शतबीज छर्न व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा धानका शतबीज छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने कुरा हेमाद्रिले लेखेको चतुर्वर्ग चिन्तामणिमा व्याख्या गरिएको छ ।

गठबन्धनका साझा उम्मेदवार बिनोद चौधरीलाई स्वतन्त्र पार्टीका ठकुरीले उछिने

नवलपरासी । सत्ता गठबन्धनका साझा उम्मेदवार बिनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले उछिनेका छन् । नवलपरासी पश्चिम प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ को चुनावी प्रतिस्प्रर्धाको पछिल्लो मतगणनामा ठकुरीले चौधरीलाई ८९ मतले पछाडि छाडेका छन् । पछिल्लो मतपरिणाम अनुसार ठकुरीले ३ हजार ९ सय ५८ मत प्राप्त गरेका छन् भने चौधरीले ३ हजार ८ सय ६९ मत प्राप्त गरेका छन् । त्यसैगरी २ हजार १२ मत सहित जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी तेस्रो स्थानमा रहेका छन् ।

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता

लमजुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा मतगणना जारी रहेको छ । पछिल्लो सार्वजनिक मतगणना परिणाम अनुसार १७ हजार नौ सय २८ मतगणना गर्दा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले नौ हजार एक सय नौ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङले सात हजार दुई सय मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले भने,  ‘गणना भएका मध्ये हालसम्म चार सय ९७ मत बदर भएको छ ।’ जिल्लामा आठ पालिकामध्ये हालसम्म क्व्होलासोथर, दूधपोखरी, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको मतगणना सम्पन्न भएको छ । जिल्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ ।

सभापति देउवा दोब्बर मतले अगाडि

डडेल्धुरा । डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन् । अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उनले पाँच हजार छ सय २१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाएका छन् भने छ सय ५६ मत बदर भएका छन् ।

झापा १ : ४ हजार २९९ मतान्तर, शर्माले भने-‘विजयतर्फ लम्किरहेका छौं’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका झापा क्षेत्र नम्बर १ का उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर फराकिलो बनाएका छन् । झापा क्षेत्र नम्बर १ मामतगणना जारी रहँदा ४ हजार २९९ मतको अग्रता कायम गरेका छन् । हालसम्म २२ हजार १४२ मत गणना हँदा शर्माले ४ हजार २९९ मतले अगाडि रहेका छन । उनले विजय तर्फ लम्किरहेको बताएका छन् । ‘विजय भइसकेको होइन, हामी त्यसतर्फ क्रमशः लम्किरहेका छौ, स्वदेश र विदेशबाट व्यक्त गरिरहनु भएको शुभेच्छाप्रती हृदयले आभारी छौं,’ उनले भने । उनको निर्वाचन क्षेत्रमा ८१ हजार ३३१ मत खसेको थियो ।