गोरखा क्षेत्र नं १ को मतगणना सुरु
गोरखा । गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको निर्वाचनको मतगणना सुरु भएको छ । मतदान सम्पन्न भएको दुई दिनपछि मतगणना सुरु भएको हो । क्षेत्र नं १ मा सर्वदलीय सहमति गरी बिहान करिब ११ः१५ बजेदेखि मतगणना गर्न थालिएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए । विकट चुमनुब्री गाउँपालिकाबाट सोमबार सबै मतदान केन्द्रबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याइएको थियो । नेपाली सेनाको हेलिकप्टर मतपेटिका ल्याएको हो । क्षेत्र नं १ मा चुमनुब्री गाउँपालिकाका विभिन्न मतदान केन्द्रका ६ वटा मतपेटिका मिसाएर गणना सुरु गरिएको हो । यो क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका राजेन्द्र बजगाइँ चुनावी मैदान रहेका भने नेकपा एमाले बाट गण्डकी प्रदेशमा पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य रामशरण बस्नेत मुख्य प्रतिस्पर्धामा रहेका छन् । गोरखा क्षेत्र नं १ मा ५९ हजार ८९ मत खसेको छ । क्षेत्र नं १ मा एक लाख १५ हजार तीन सय ९७ मतदाता रहेका छन् ।
लम्बिनी विकास बैंकले साढे ३९ करोड रुपैयाँ लाभांश वितरण गर्ने
काठमाडौं । लम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ९ प्रतिशत नगद गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले चुक्ता पूँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार ५१० रुपैयाँको २९ करोड ५५ लाख ८६ हजार ३२५ रुपैयाँ नगद र ९ करोड ८५ लाख २८ हजार ७७५ रुपैयाँ बोनस सेयर गरी कूल ३९ करोड ४१ लाख १५ हजार १०१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
सप्तरी–२ मा सिके राउत दोब्बरभन्दा बढी मतले अगाडि
सप्तरी । सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले अग्रता कायम गरिरहेका छन् । पछिल्लो मतपरिणामअनुसार जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवभन्दा दोब्बर बढी मतले राउत अगाडि रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनामा उम्मेदवार राउतले १३ हजार सात सय ५९ मत प्राप्त गर्दा यादवले भने ६ हजार नौ सय ५१ मत प्राप्त गरेका छन् । राउतको छ हजार आठ सय आठ मत बढी छ । तेस्रो स्थानमा रहेका सत्तारूढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले भने दुई हजार आठ सय ५७ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
एनसेलले शुरु गर्यो नयाँ प्रिपेड प्लानहरु, यस्ता छन् विशेषता
काठमाडौं । एनसेल आजियाटाले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन् । नयाँ प्रिपेड प्लान अन्तर्गत एनसेलले तीन वटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरेकाे छ । कम्पनीकाे अनुसार यी प्याकहरु आइतबार (मसिर ४) देखि संचालनमा आएका छन् । ग्राहकले सजिलोको कर सहित ९७ रुपैयाँ, सहयात्री प्लानको ९८ रुपैयाँ र सही यो प्लान ९९ रुपैयाँमा लिन सक्नेछन् । स्टार्टर प्याक अन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः रुपमा सजिलो प्लान प्राप्त गर्नेछन् । यसमा १० रुपैयाँमा मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको २० वटा अन नेट एसएमएस रहेको छ । त्यस्तै, यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कल अन्तर्गत कर सहित १.६२ रुपैयाँ प्रति मिनेटमा कल, १ रुपैयाँमा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक १ रुपैयाँमा पठाउन सक्नेछन् । वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यहरुका लागि सहयात्री प्लान रहेको छ । यो प्लान अन्तर्गत ग्राहकले १० मेन ब्यालेन्स, १०० एमबी डेटा, ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्नेछन् । यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कल पछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्नेछन् । सहयात्री प्लान अन्तर्गत ग्राहकले बीप सेवाको पनि फाइदा लिन सक्छन् । यस सेवा अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स शून्य भए पनि आफुले सम्पर्क गर्न खोजेको नम्बरमा मिस्ड कल गर्न सक्नेछन् । यसका साथै यो सिम लिने ग्राहकले विभिन्न ८ राष्ट्रमा अन्तर्राष्ट्रिय कलमा पहिलो १ मिनेट पछि छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तैगरी अर्को स्टार्टर प्याक हो युवा वर्गलाई लक्षित सही यो प्लान । यो प्लान अन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसिमा रहेको १ जीबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबी डेटा, १० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्नेछन् । यसका साथै, यी सबै स्टार्टर प्याकहरुमा पहिलो रिचार्ज अफर पनि रहेको छ । यो योजना अन्तर्गत सिम कार्ड सुचारु भएको अर्को दिनको मध्य राति सम्म २०० र सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन् । प्राप्त बोनस पे एज यू गो अन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवाको लागि प्रयोग गर्न सकिन्छ । बोनस रकम ३ दिनको लागि मान्य रहनेछन् । नेपाल घुम्न आउने पर्यटकहरुका लागि पनि एनसेलले १००, ५०० र १००० का तीन प्लानहरु प्रदान गर्दै आएको छ । १०० रुपैयाँको प्लानमा ग्राहकले २०० एमबी डेटा, १० मिनेट (लोकल कल) प्राप्त गर्नेछन् । ५०० को प्लानमा पर्यटकले ५० मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र ७ दिनको समयसिमा रहेको १० जीबी डेटा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, १००० को प्लान अन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले ५० मेन ब्यालेन्स, १०० मिनेट लोकल कल र २८ दिनको समयसिमा रहेको २५ जीबी डेटाबाट फाइदा लिन सक्नेछन् ।
कालीकोटमा दिउँसो १ बजेदेखि मतगणना हुने
कालीकोट । कालीकोटमा प्रतिधिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आज अपराह्न १ बजेदेखि गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ । जिल्लाका सबै मतदान केन्द्रको मतपत्र सङ्कलन भैसकेको र मतगणनाका लागि सर्वदलीय बैठकले अपराह्न १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए । कालीकोटमा प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपा एमालेका नगेन्द्र शाही स्वतन्त्रका काशिचन्द्र बराल, कांग्रेस विपीका पङ्खबहादुर विष्ट, नेमकिपाका खड्कराज शाही, राप्रपाका धनबहादुर बुढा र अर्का स्वतन्त्र धनप्रसाद पाण्डे उम्मेदवार रहेका छन् । कालीकोटको प्रदेशसभा क मा माओवादी केन्द्रबाट दुर्गबहादुर रावत, नेकपा एमालेबाट कुर्मराज शाही र नेपाल मजदुर किसान पार्टीबाट रवीन्द्र शाही र प्रदेशसभा ख मा कांग्रेसबाट हिक्मतबहादुर विष्ट, एमालेबाट वीरेन्द्रबहादुर बुढा, एकीकृत समाजवादीबाट विश्वराज बम, कांग्रेस विपीबाट कर्णबहादुर विष्ट र स्वतन्त्रबाट लक्ष्मणबहादुर बम उम्मेदवार रहेका छन् ।
सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ सय रुपैयाँले घटेको हो । आज घटेकाे मूल्य अनुसार छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । साथै आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रति तोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
तेस्रो पटक सांसद बने गगन, बन्लान् त प्रधानमन्त्री ?
काठमाडौं । काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् । उनले निवार्चन प्रचार प्रसारमा आफु प्रधानमन्त्री बन्ने बताएका थिए । उनले सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको पनि बताएका थिए । उसो त उनले आज निर्वाचत भइसकेपछि पनि संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन् । ‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रुपमा लिएको छु,’ उनले भने । को हुन् गगन ? थापा नेपाली काँग्रेसका महामन्त्री हुन् । युवा नेता गगन थापाको जन्म विसं. २०३३ साल साउन ४ मा सोलुखुम्बुमा भएको हो । बुवा महेन्द्रकुमार थापा र आमा रामेश्वरी थापाका छोरा थापाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनका दुई छोरी छन् । २०४६ सालको जनआन्दोलनदेखि विद्यार्थीकालमै राजनीति सुरु गरेका थापा नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य निर्वाचित भए । २०५३ मा स्ववियु सचिव र २०५५ मा स्ववियु सभापति बने । २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष बने । २०५९–२०६१ सम्म नेपाल विद्यार्थी संघको महामन्त्री भए । जनआन्दोलन २०६२–०६३ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनविरुद्धको आन्दोलनमा आक्रामक भाषण गरेर चर्चामा आएका थापा १२औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेर तेस्रो स्थान हासिल गरे पनि सम्मानजनक मत प्राप्त गरेका थापालाई महाधिवेशन सकिएलगत्तै केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो । उनी २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक र २०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट संविधानसभामा विजयी भए । २०७३ छोटो कार्यकालका लागि स्वास्थ्यमन्त्री भएका थापाले स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयास गरेका थिए । २०७१ मा उनी संसदको कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरेका थिए। दुईपटक राजद्रोहको मुद्दा खेपेका थापा पटक पटक जेल परेका छन् । संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थापा २०७४ सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । उनी सांसदका रुपमा विजयी भएकाे याे तेस्रो पटक हो ।
दार्चुलामा गठबन्धनको अग्रता
दार्चुला । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ । ब्यास गाउँपालिका १, २, ३, को मतगणना सम्पन्न हुँदा उनले तीन हजार चार सय ४७ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना तीन हजार एक सय ९५ मत ल्याएका छन् । प्रदेशसभा क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका विक्रमसिंह धामीले तीन हजार नौ सय १४ मत ल्याएर अग्रता कायमै रहेको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हरदेव जोशी दुई हजार छ सय ७६ मतले पछि परेका छन् । अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिका १, २, ३, ४, ५ र ६ वडा का मत गणना सम्पन्न हुँदा प्रदेशसभा २ मा गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामीले मत चार हजार पाँच सय ४७ ल्याएर अग्रता लिएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेबाट उम्मेदवार रामदत्त जोशीले चार हजार तीन सय ५३ मत ल्याएर पछि परेका छन् ।