विकासन्युज

रवि भन्छन् : अब लिड गर्ने मेरो पालो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा अब आफुले लिड गर्ने बताएका छन् । उनले हालसम्म आइरहेको नतिजाबाट सन्तुष्टी जनाउँदै अब शहर क्षेत्रको मतगणना सुरु भएकोले आफुले लिड गर्ने बताएका हुन् । ‘भोट हामीले सोचेभन्दा धेरै आयो, अन्तर सोचे भन्दा कम भयो, विपक्षी दलका नेताहरूले पनि सोचेभन्दा कम अन्तर आयो भन्नुभएको छ,’ उनले भने । चितवन–२ को इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको छ। यहाँको १०४०५ मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेल ३६२३ मतका साथ सबैभन्दा अगाडि छन्। नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३२१६ मत प्राप्त गरेका छन्। लामिछानेले २९७८ मत ल्याएका छन्। अहिले कालिका नगरपालिकाको गणना सुरू भएको छ ।

अब नयाँ व्यवसाय सुरु गर्नेको लागि २५ लाखको कोष खडा गर्छु : रविन्द्र मिश्र

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं- १ बाट लगातार दोस्रोपल्ट पराजित भएका छन् । उनी पुरानै प्रतिद्वन्द्वी कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका हुन् । यसपल्ट मिश्र १ सय २९ मतले चुके । ०७४ सालको चुनावमा काठमाडौं- १ बाट उनी सिंहसितै चुनाव हारेका थिए । त्यो बेला मतान्तर ८ सय १९ थियो । मंगलबार नतिजा सार्वजनिक भएपछि उनले विज्ञप्ति जारी गर्दै यस्ताे लेखेका छन्: एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुखी छु तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु। गत पाँच वर्षको मेरो उतार-चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबीच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन । ‘झुठ बोलेर मत माग्दिन’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिन’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गर्न चाहन्छु । म त्यो शब्दमा व्यक्त गर्न सक्दिन! यस पटक काठमाडौं क्षेत्र नं १ मा ‘चुनावी संग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासंग्राम’ थियो । धेरै साथीहरूले निर्वाचन परिणामबारे चिन्ता गर्दै म प्रति गहिरो सहानुभूति व्यक्त गरिरहनुभएको छ। अलि आध्यात्मिक प्रकृतिको व्यक्ति हुनाले म “कर्म गर फलको ‘भर’ नपर” भन्ने मान्यता राख्दछु । कर्मको फल आफ्नो नियन्त्रणमा छैन भन्ने विश्वास गर्दछु । तसर्थ, म ‍जीवनका प्रतिकूलताहरूलाई सहज रूपमा ग्रहण गर्न सक्छु । म मेरा शुभेच्छुक मतदाता र सहयोगी साथीहरूबारे सोचेर भावुक छु, जसमध्ये कतिपयको आँखामा मैले २०७४ साल र हालको निर्वाचन प्रचारको क्रममा स्नेहमात्र होइन, टलपलाएको आँशु पनि देखेको छु । राजनीति यस्तो क्षेत्र हो जहाँ जिम्मेवारीमै नपुगी ठोस काम गरेर देखाउन नसकिने रहेछ। म २०७४ साल र यसपटकको निर्वाचन दुवैमा झिनो मतले पराजित भएँ । तर ममाथि यति ठूलो विश्वास व्यक्त गर्ने काठमाडौं क्षेत्र नं एक का मतदाताका लागि मैले केही गर्न सकेको छैन । मेरो पृष्ठभूमि पत्रकारिता ‍र परोपकारसँग जोडिएको छ । मैले पत्रकारितामा फर्किने या पत्रकारितामार्फत् आफ्नो निर्वाचन क्षेत्रलाई योगदान गर्ने सम्भावना म देख्दिन । तर व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौँ क्षेत्र नं एकका मतदाताप्रति आभार प्रकट गर्न मैले मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर २५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौं क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने निर्णय गरेको छु। त्यसले मलाई मनमा अलिकति भए पनि शान्ति दिनेछ । मेरै अग्रसरतामा स्थापित परोपकारी संस्था हेल्प नेपाल नेटवर्क पनि यस्तै सानो रकमबाट शुरू गरिएको थियो र विश्वभरीका नेपाली-नेपाली मिलेर त्यसले आज सयौँ परोपकारी काम गरिसकेको छ। त्यसैगरि ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ ले पनि भविष्यमा यो क्षेत्र (वडा नं १०, ११, २९ र ३१) भित्र धेरै राम्रा कामहरू गर्न सक्नेछ भन्नेमा म विश्वस्त छु । विश्वका विभिन्न मुलुकमा बस्नुहुने काठमाडौं क्षेत्र नं १ का तथा अन्य शुभेच्छुकहरूले सो कोषमा सहयोग गर्न सक्नुहुनेछ। सो कोषलाई कसरी ‍औपचारिक बनाउने, कसरी सञ्चालन गर्ने र के कस्ता काममा केन्द्रित गर्ने भन्नेबारे म केही समयभित्र जानकारी गराउनेछु । निर्वाचनमा विजयी हुनुभएका प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना अर्पण गर्दै आगामी कार्यकालमा तपाईँलाई यो समाज र देशलाई शीरमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रेरणा र शक्ति मिलोस् भन्ने कामना गर्दछु ।

कुमारी बैंक र एनसीसी बैंकको डीडीए रिपोर्टमा स्वाप रेसियो कति आयो ?

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श लिमिटेड (एनसीसी) बैंकको स्वाप रेसियो सार्वजनिक गरेको छ । कुमारी बैंक र एनसीसी बैंक समान हैसियत अर्थात् १ः१ अनुपातमा मर्ज हुने गरी स्वाप रेसियो निर्धारण गरिएको हो । यद्यपी कुमारी बैंक र एनसीसी बैंकले तयार गरेको डियू डेलिजेन्स (डीडीए) रिपोर्टमा १००ः९६.५९ को स्वाप रेसियो आएको थियो । डीडीए रिपोर्टमा कुमारी बैंकको १०० आउँदा एनसीसी बैंकको ९६.५९ स्वाप रेसियो आएको थियो । मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा डीडीए रिपोर्ट तयार पारिएको हो । डीडीए रिपोर्टमा फरक स्वाप रेसियो आएको भएपनि समान हैसियतमा मर्ज हुने सहमति भएको छ । अर्थात् कुमारी बैंकमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने छन् । बैंकको डीडीए रिपोर्ट सञ्चालक समितिले पारित गरिसकेको एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए । सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ ।

रवि लामिछानेको जित्ने सम्भावना कमजोर बनेको हो ? यस्तो छ अंकगणित

एमालेका उम्मेदवार पोखरेल र लामिछाने । काठमाडौं । अहिले जारी मतगणनामा सबैभन्दा बढी चासोको रुपमा हेरिएको उम्मेदवार हुन् रवि लामिछाने । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र नेपाली काँग्रेसबाट उमेश श्रेष्ठले प्रतिस्पर्धा गरिरहेका छन् । पछिल्लो मत गणना अनुसार लामिछाने अझैँ तेस्रो स्थानमा छन् । आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको थियो । सोमबार २ बजे गणना सुरु भएर मंगलबारको पछिल्लो अपडेट अनुसार १० हजार ४६८ मत गणना हुँदा एमालेका ३ हजार ६ सय २३ मत, सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार २ सय १६ मत र लामिछानेले २ हजार ९ सय ७८ मत पाएका छन् । मत गणना सुरु भएर १० प्रतिशतभन्दा बढी मत गणना सकिँदासमेत लामिछाने अगाडि आएका छैनन् । सुरुवातिदेखि तेस्रो स्थानमा रहेका उनको मत देखेर उनका कतिपय प्रशंसकहरुमा निरासा छाएको छ । सुरुआती चरणमा निकै उत्साहित उनका प्रशंसकहरु अहिले निराश भएका देखिएका छन् । तर, अझै निराश हुनु पर्ने अवस्था भने छैन । अहिले चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको हो । त्यहाँ गएको स्थानीय निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको थियो । सत्तारुढ गठबन्धनले वडा तहसम्मै गठबन्धन गरेका थिए । तर त्यहाँका सातमध्ये पाँच वडा एमालेले जितेको थियो । त्यसैले पनि सो क्षेत्रमा एमालेको दबदबा छ । त्यसैले पनि सो क्षेत्रमा लामिछानेको मत कम आएको धेरैको अनुमान छ । इच्छाकामनाको बजार र राजमार्ग क्षेत्रमा रविको राम्रो मत आएको छ । कालिका नगरपालिकामा आएपछि त्यो क्रम बढ्ने आशामा उनका समर्थक छन् । तर, कालिका नगरपालिका र धेरै मतदाता रहेका भरतपुरका २, १०, ११ र १२ नम्बर वडा पनि एमालेको राम्रो प्रभाव रहेको ठाउँ हो । इच्छाकामनामा एमालेको मत विभाजित नभए जस्तै यस क्षेत्रमा पनि मत जोगाउन सकेमा लामिछानेलाई गाह्रो पर्ने देखिन्छ । तर, उनले जुन प्रकारको चुनावी प्रचार प्रसार गरेर प्रशंस बटुलेका थिए। त्यही ढंगमा उनलाई मतदान भएका भने उनको जित सहज हुनेछ ।अहिले गणना भएको १० प्रतिशत मतलाई आधार मानेर हारजितको अनुमान लगाउन भने गाह्रो नै देखिन्छ । रवि भन्छन् : अब लिड गर्ने मेरो पालो सभापति लामिछानेले चितवन क्षेत्र नम्बर २ मा अब आफुले लिड गर्ने बताएका छन् । उनले हालसम्म आइरहेको नतिजाबाट सन्तुष्टी जनाउँदै अब शहर क्षेत्रको मतगणना सुरु भएकोले आफुले लिड गर्ने बताएका हुन् । ‘भोट हामीले सोचेभन्दा धेरै आयो, अन्तर सोचे भन्दा कम भयो, विपक्षी दलका नेताहरूले पनि सोचेभन्दा कम अन्तर आयो भन्नुभएको छ,’ उनले भने । चितवन–२ को इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको छ। अहिले कालिका नगरपालिकाको गणना सुरू भएको छ ।

तनहुँ–१ मा नेता पौडेलको अग्रता कायमै

तनहुँ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उनले अग्रता कायम राखेका हुन् । सात हजार एक सय ७४ मतगणना हुँदा नेता पौडेलले दुई हजार चार सय ३७ मत पाएका छन् । नेकपा एमालेका एकबहादुर रानाले दुई हजार तीन सय ४६, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले आठ सय ९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले चार सय ४० र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले तीन सय चार मत प्राप्त गरेका छन । यस क्षेत्रमा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो ५४ दशमलव ३६ प्रतिशत हो । तनहुँ–१ प्रतिनिधिसभामा १० जना प्रतिस्पर्धामा छन् । तनहुँ–१ को प्रदेशसभा १ मा कांग्रेसका अशोककुमार श्रेष्ठले सुरुआती चरणबाटै अग्रता कायम राखेका छन् । चार हजार ६ सय मतगणना गर्दा गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले एक हजार नौ सय २४ मत प्राप्त गरेका छन् भने एमालेका रामबहादुर गुरुङले एक हजार दुई सय ३८ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा ३६ हजार तीन सय ६५ मत खसेको छ । प्रदेशसभा २ मा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानले दुई हजार ४० मत पाएका छन् भने एमालेका पूर्णबहादुर गुरुङले एक हजार ५० मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवारले सुरुआती चरणबाट नै अग्रता कायमै राखेका छन् ा रासस

आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र ०.३४ प्रतिशत नगद गरी कूल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० रुपैयाँको ११ करोड ६ लाख ७ हजार ३४२ रुपैयाँ बोनस र ५८ लाख २१ हजार ४३९ रुपैयाँ नगद गरी कूल ११ करोड ६४ लाख २८ हजार ७८१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

एक सय ३५ स्थानको मतगणना जारी, कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी भइसकेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली विजयी भइसकेका छन् । जारी मतगणनामा नेपाली कांग्रेस ४२ स्थानमा अगाडि छ । नेकपा एमाले ३८, नेकपा माओवादी केन्द्र १४, राष्ट्रिय स्वतन्त्र पार्टी ११, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच र अन्य दल तथा उम्मेदवार २२ स्थानमा अग्रस्थानमा छन् । समानुपातिकतर्फ एमाले अगाडि समानुपातिकतर्फको मगणनामा एमाले अगाडि छ । हालसम्म एमालेले ७६ हजार तीन सय २३, कांग्रेसले ६५ हजार सात सय ९२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३३ हजार तीन सय ३७, माओवादी केन्द्रले २९ हजार ६ सय ५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ४४ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीले पाँच हजार आठ सय ३३, जनमत पार्टीले पाँच हजार चार सय ५५, नेपाल मजदुर किसान पार्टीले चार हजार चार सय ३८, नागरिक उन्मुक्ति पार्टीले तीन हजार पाँच सय ३८, नेकपा एकीकृत समाजवादीले तीन हजार ४६० मत प्राप्त गरेका छन् ।

बिजबजारबाट सामान खरिद गरी खल्ती मार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गरी खल्ती मार्फत भुक्तानी गर्दा क्यासब्याक पाउने भएका छन् । ग्राहकहरुले क्यासब्याकमार्फत २० प्रतिशत अर्थात वा २०० रुपैयाँ फिर्ता पाउने छन् । यो अफर३१ डिसेम्बर २०२२ सम्म लागु हुने छ । कम्पनीको अनुसार यस अफर अवधिमा एउटा खल्ती प्रयोगकर्ताले ५०० रुपैयाँसम्मको क्यासब्याक पाउन सक्ने छन्। यो सेवा लिनको लागि ग्राहकले खल्तीले प्राप्ति गरेको युनियन पे क्युआरबाट बिजबजारको खल्ती क्युआरमा स्क्यान गरी भुक्तानी गर्नुपर्ने छ । साथै ग्राहक खल्ती प्रयोगकर्ता पनि हुन पर्ने बिजबजारले जनाएको छ ।