
एमालेका उम्मेदवार पोखरेल र लामिछाने ।
काठमाडौं । अहिले जारी मतगणनामा सबैभन्दा बढी चासोको रुपमा हेरिएको उम्मेदवार हुन् रवि लामिछाने । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र नेपाली काँग्रेसबाट उमेश श्रेष्ठले प्रतिस्पर्धा गरिरहेका छन् ।
पछिल्लो मत गणना अनुसार लामिछाने अझैँ तेस्रो स्थानमा छन् । आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको थियो । सोमबार २ बजे गणना सुरु भएर मंगलबारको पछिल्लो अपडेट अनुसार १० हजार ४६८ मत गणना हुँदा एमालेका ३ हजार ६ सय २३ मत, सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार २ सय १६ मत र लामिछानेले २ हजार ९ सय ७८ मत पाएका छन् ।
मत गणना सुरु भएर १० प्रतिशतभन्दा बढी मत गणना सकिँदासमेत लामिछाने अगाडि आएका छैनन् । सुरुवातिदेखि तेस्रो स्थानमा रहेका उनको मत देखेर उनका कतिपय प्रशंसकहरुमा निरासा छाएको छ । सुरुआती चरणमा निकै उत्साहित उनका प्रशंसकहरु अहिले निराश भएका देखिएका छन् । तर, अझै निराश हुनु पर्ने अवस्था भने छैन ।
अहिले चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको हो । त्यहाँ गएको स्थानीय निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको थियो । सत्तारुढ गठबन्धनले वडा तहसम्मै गठबन्धन गरेका थिए । तर त्यहाँका सातमध्ये पाँच वडा एमालेले जितेको थियो । त्यसैले पनि सो क्षेत्रमा एमालेको दबदबा छ । त्यसैले पनि सो क्षेत्रमा लामिछानेको मत कम आएको धेरैको अनुमान छ ।
इच्छाकामनाको बजार र राजमार्ग क्षेत्रमा रविको राम्रो मत आएको छ । कालिका नगरपालिकामा आएपछि त्यो क्रम बढ्ने आशामा उनका समर्थक छन् । तर, कालिका नगरपालिका र धेरै मतदाता रहेका भरतपुरका २, १०, ११ र १२ नम्बर वडा पनि एमालेको राम्रो प्रभाव रहेको ठाउँ हो । इच्छाकामनामा एमालेको मत विभाजित नभए जस्तै यस क्षेत्रमा पनि मत जोगाउन सकेमा लामिछानेलाई गाह्रो पर्ने देखिन्छ । तर, उनले जुन प्रकारको चुनावी प्रचार प्रसार गरेर प्रशंस बटुलेका थिए। त्यही ढंगमा उनलाई मतदान भएका भने उनको जित सहज हुनेछ ।अहिले गणना भएको १० प्रतिशत मतलाई आधार मानेर हारजितको अनुमान लगाउन भने गाह्रो नै देखिन्छ ।
रवि भन्छन् : अब लिड गर्ने मेरो पालो
सभापति लामिछानेले चितवन क्षेत्र नम्बर २ मा अब आफुले लिड गर्ने बताएका छन् । उनले हालसम्म आइरहेको नतिजाबाट सन्तुष्टी जनाउँदै अब शहर क्षेत्रको मतगणना सुरु भएकोले आफुले लिड गर्ने बताएका हुन् ।
‘भोट हामीले सोचेभन्दा धेरै आयो, अन्तर सोचे भन्दा कम भयो, विपक्षी दलका नेताहरूले पनि सोचेभन्दा कम अन्तर आयो भन्नुभएको छ,’ उनले भने । चितवन–२ को इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको छ। अहिले कालिका नगरपालिकाको गणना सुरू भएको छ ।