विकासन्युज

एलजीको टिभी किन्दा आकर्षक क्यासब्याकसहित उपहारहरु

काठमाडौं । टिभी ब्रान्ड एलजीले आफ्ना टेलिभिजन उत्पादनहरुमा आकर्षक क्यास ब्याक अफरको घोषणा गरेको छ । खेलकुदको मौसममा नेपाली दर्शकले चाहेको गुणस्तरीय टेलिभिजनको आवश्यकतालाई केन्द्रित गर्दै कम्पनीले एलजी टिभी हरेक खेलप्रेमीका लागि उपयुक्त विकल्प हुने कम्पनीले बताएको छ । यो क्यासब्याक अफर एलजीको स्टेडियम कम्स होम टिभीहरुका लागि मात्र भएको कम्पनीले जनाएको छ । यसमा ओलेड, नानोसेल, युएचडी र स्मार्ट टिभीहरुका विभिन्न आकर्षक मोडलहरु समावेश छन् । कम्पनीको अनुसार ग्राहकहरुले यी टिभीहरु देशभरका कुनै पनि एलजी शोरुम र एलजीको अधिकृत विक्रेताहरुकोमा गएर खरिद गर्न सक्नेछन् । कम्पनीका ब्राण्ड म्यानेजर मुकेश बैठाले ३५ प्रतिशतसम्म क्यासब्याक बाहेक ग्राहकहरुले एलजी नानोसेल टिभीको साथ निःशुल्क एलजी साउन्ड बार, निःशुल्क एलजी सर्टिफाइड इन्स्टलेसन, एलजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम, ० प्रतिशत आकर्षक ईएमआई अप्सन, निःशुल्क डेलिभरी र एक्सचेन्ज अफर पनि पाउने बताएका छन् ।

काठमाडौं १० मा केसीको अग्रता

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसीको अग्रता कायम छ । कीर्तिपुर नगरपालिकाको १ देखि १० वडासम्मको मतगणना गर्दा पछिल्लो मतपरिणामअनुसार २० हजार नौ सय ५३ मतगणना हुँदा कांग्रेसका केसीले छ हजार ६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले चार हजार एक सय ३१ मत प्राप्त गरेका छन् । नेकपा एमाले का हिमेश केसीले तीन हजार ६ सय दुई मत ल्याउनुभएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार अन्जना विसङ्खेले दुई हजार दुई सय चार मत प्राप्त गर्नुभएको छ । मतगणना जारी छ । हालसम्म गणना भएको मतमध्ये आठ सय ६६ मत बदर भएको छ ।

चितवनमा ढकाल, पोख्रेल र पाण्डेको अग्रता कायमै

चितवन । जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् । उनले छ हजार ७६ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार ८० मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले चार हजार पाँच सय २३ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेकामा ६८ दशमलव७३ प्रतिशत मत खसेको छ । यस्तै क्षेत्र नं २ मा नेकपा एमालेका कृष्णभक्त पोख्रेलले अग्रता कायम राखेका छन् । नौ हजार पाँच सय ८० मत गणना हुँदा उनले तीन हजार तीन सय ३९ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले दुई हजार आठ सय ५६ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुई हजार सात सय ९२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेकामा ६७दशमलव तीन प्रतिशत मत खसेको छ । क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम गरेका छन् । उनले तीन हजार छ सय २३ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डा भोजराज अधिकारीले तीन हजार दुई सय ८२ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले तीन हजार दुई सय ७४ मत प्राप्त गरेका छन्, भने स्वातन्त्र उम्मेदवार दिनेश कोइरालाले दुई हजार सात सय ६६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा हालसम्म १३ हजार आठ सय ८२ मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं ३ मा ६५दशमलव४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।

विद्युतीय गाडीको माग अत्याधिक, ६ महिनासम्म पाउँदैनन् ग्राहकले

काठमाडौं । सरकारले विद्युतीय गाडीलाई प्रोत्साहनको नीति लिएसँगै पछिल्लो समय विद्युतीय गाडीको माग बढ्दै गएकाे छ । सरकारले देशमा विदेशी मुद्राको सञ्चितिमा कमी भएको भन्दै गत बैशाखदेखि डिजेल तथा पेट्रोलका गाडी आयातमा रोक लगाएसँगै विद्युतीय गाडीको मागमा थप चाप परेकाे व्यवसायीहरु बताउँछन् । विद्युतीय गाडीको माग उच्च हुँदा बुकिङ गरेको ६ महिनासम्म समेत दिन नसकिएको बिक्रेताहरूकाे भनाई छ । विद्युतीय गाडी बिक्री गर्दै आएको हुण्डाईले विद्युतीय गाडीको माग धेरै हुँदा पुर्याउनै मुस्किल हुण्डाईको थापाथली शाे रुमका म्यानेजर दीवाकर रेग्मीले बताए । ‘हामीकहाँ गाडीको माग उच्च छ, उत्पादन कम्पनीले हामीलाई समयमा नै गाडी दिन नसक्दा बुकिङ गरेको ६ महिनासम्म लाग्ने गरेको छ’, उनले भने । जेठदेखि रोकियो एमजी ग्राडीको आयात गत जेठदेखि एमजी ब्राण्डका गाडीको बिक्री वितरण रोकिएको छ । सरकारले विद्युतीय गाडीमा लाग्दै आएको भन्सार र अन्तशुल्क करमा बृद्धि गरेपछि एमजी ब्राण्डका गाडीहरु बिक्री वितरण रोकिएको हो । अर्थमन्त्री जनार्दन शर्माले चालुआर्थिक वर्षको बजेटमा १०० किलोवाट क्षमतामाथिका विद्युतीय साधनको भन्सार र अन्तशुल्क दुबैमा बृद्धि गर्दाको प्रत्यक्ष असर एमजी ब्राण्डको गाडीलाई परेको छ । १०० किलोवाट क्षमताभन्दा माथि रहेको एमजी ब्राण्डका गाडीको मूल्य बजेटपछि ३० लाख रुपैयाँसम्म बढेको र नेपालमा विद्युतीय गाडीको बिक्री वितरण गर्दै आएको पारमाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्याल बताउँछन् । ‘हामीसँग अहिले कुनै पनि मोडलका गाडीको स्टक छैन्, पछिल्लो समय विद्युतीय गाडीको माग अत्याधिक हुँदा हामीसँग गाडीको मौज्दात नै हुदैनथ्यो, ल्याउँदै बिक्री गर्नुपर्ने अवस्था थियो’, उनले भने, ‘बजेटपछि हामीसँग गाडी नै छैनन्, बजेटकै कारण एमजी ब्राण्डका गाडीहरु बिक्री गर्न सक्ने अवस्था छैन्, गत जेठदेखि हामीले गाडीहरु बिक्री गर्न सकेनाैं।’ उनले बजेटकै कारण नयाँ गाडीहरु ल्याएर बिक्री गर्ने वा यतिकै बस्ने भन्ने विषयमा छलफल भैरहेको बताए । ‘बजेटपछि हाम्रा गाडीहरु महंगो भयो, मंहयो भएपछि ग्राहकलाई पुरानै मूल्यमा बिक्री गर्न सक्ने अवस्था रहेन, गत जेठदेखि हामी यतिकै बसिरहेका छौं’, उनले भने, ‘एउटै गाडीको मूल्य २० देखि ३० लाख रुपैयाँले बढेको छ, हामीले गाडी ल्याउँछौँ, तर उपभोक्ताले खरिद गर्न नसक्ने भएपछि सजाएर मात्रै राख्ने कुरा भएन ।’ सरकारले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जीप र भ्यानमा ३० प्रतिशत अन्तशुल्क बढाएको छ । २०० देखि ३०० किलोवाटभन्दा बढीकोमा ४५ प्रतिशत रहेको छ । मोटरको पिकपावर ३०० किलोवाटभन्दा बढीको कार, जीप र भ्यानमा ६० प्रतिशत अन्तशुल्क रहेको छ । यसअघि अन्तशुल्कमा पूर्ण छुट दिएको थियो । त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले भन्सार महशुलमा पनि भारी वृद्धि गरेका छन् । १०० किलोवाट देखि २०० किलोवाटसम्मका ३० प्रतिशत, २०० देखी ३०० किलोवाटसम्मकामा ३० प्रतिशत र ३०० किलोवाट बढीकोमा ६० प्रतिशतले कर वृद्धि गरेको छ । हाल विद्युतीय सवारीसाधनमा भने १०० किलोवाटसम्मका १० प्रतिशत, २०० किलोवाटसम्मका १५, ३०० किलोवाटसम्मका ३० र ३०० किलोवाट माथिका गाडीमा ४० प्रतिशत भन्सार लगाउँदै आएको थियो ।

म्याग्दीमा हस्ताक्षर नगरिएका मतपत्र फेलापरेपछि मतगणना स्थगित

म्याग्दी । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । मालिका गाउँपालिका–५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय दुई मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो । हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धन दलहरुले छानबिन र कारबाहीको माग गरेका छन् । सूर्यको २४ रुखको ६५ र अन्य १३ वटा छाप भएको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छैन । गठबन्धनको हस्ताक्षर नभएको मतपत्रका बारेमा अनुसन्धान हुनुपर्ने माग गरेपछि मुख्य निर्वाचत अधिकृतको कार्यालयले प्रतिनिधिसभा तर्फको मतगणना स्थगित गरेको जनाएको छ । धवलागिरि गाउँपालिकाका १ देखि ५ वडा सम्मको मतगणना गर्दा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा खम्बिरले पाँच हजार तीन सय ७० मत प्राप्त गरी अग्रता कायम गरेका छन् । यसैगरी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार छ सय ४९ मत प्राप्त गरी गर्बुजालाई पछ्याएका छन् । प्रदेशसभा क्षेत्र नं २ तर्फ सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका रेशम जुग्जालीले पाँच हजार एकसय ७४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजाले चार हजार आठ सय ५१ मत प्राप्त गरी पछ्याइरहेका छन् । सोमबार साँझखेखि थालिएको मतगणनामा आज बिहानसम्म धवलागिरि गाउँपालिकाका सबै वडा र मालिकको १ र ५ नं वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

विनोद चौधरीलाई पछि पार्दै स्वतन्त्र पार्टीका ठकुरी अगाडि

नवलपरासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी)ले अग्रता लिएका छन् । ठकुरीले चार हजार छ सय ८९ मत प्राप्त गरेका छन् भने चौधरीले चार हजार पाँच सय ६० मत प्राप्त गरेका छन् । यस्तै तेस्रो स्थानमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी तीन हजार चार सय तीन मत प्राप्त गरेका छन् । घण्टी चिह्न भएका ठकुरी चौधरीभन्दा एक सय २९ मतले अगाडि छन् भने त्रिपाठीभन्दा एक हजार दुई सय ८६ मतले अगाडि छन् ।

सिटिजन्स बैंक‍मा काम गर्ने अवसर, दरखास्त दिन अब दुई दिन बाँकि

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले प्रदेश प्रमुख, काठमाडौं भित्र र बाहिरका लागि शाखा प्रमुख, आइटि डिपार्टमेन्टका लागि सुपरभाइजर, आइटि डिपार्टमेन्ट (नेटवर्क)का लागि सुपरभाइजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । साथै बैंकले कर्पोरेट कम्युनिकेशन डिपार्टमेन्ट (हेड) का लागि अफिसर एकजना, रिलेशनसिप अफिसर, अपरेशन इन्चार्ज, लिगल अफिसर, ब्रान्च अपरेशनका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ भने ह्युमन रिर्सोसेस डिपार्टमेन्टका लागि जुनियर अफिसरमा एकजना कर्मचारीको माग गरेको छ । बैकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालय तथा प्रादेशिक कार्यालयका लागि कर्मचारीको माग गरेको हो । बैंकले यी विभिन्न पदको लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले मंसिर ७ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।

सप्तरी–२(२) मा जनमत पार्टीका यादव विजयी

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा २ मा जनमत पार्टीका महेशकुमार यादव विजयी भएका छन् । उनले १३ हजार तीन सय २५ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादवले सात हजार २३ मत पाएका छन् । मतान्तर बढाउँदै सिके राउत प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतगणनाअनुसार उनले १३ हजार सात सय ५९ मत प्राप्त गर्नुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले छ हजार नौ सय ५१ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले दुई हजार आठ सय ५७ मत पाएका छन् । हालसम्म २५ हजार चार सय ३९ मतगणना भएकामा एक हजार तीन सय ३७ मत बदर भएको र २४ हजार एक सय दुई मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सप्तरी–२ मा ६७ दशमलव ९७ प्रतिशत अर्थात् ६४ हजार पाँच सय ६० मत खसेको छ । अब ३९ हजार एक सय २१ मत गन्न बाँकी छ । रासस