विकासन्युज

१८ हजार बढी मत ल्याउँदै सप्तरी-२ बाट सिके राउत विजयी

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । राउत ३५ हजार ४२ मत ल्याउँदै विजयी भएका हुन् । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् । यादवले १६ हजार ९६९ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याएका छन् ।

अर्थतन्त्रको लागि भोलिका दिनहरु अझै चुनौतीपूर्ण रहनेछ : महानिर्देशक शाक्य

काठमाडाैं । आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन चुनौती रहेको बताएका छन् । बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै शाक्यले यस्तो बताएका हुन् । उनले केही वर्ष भित्रमा सम्पूर्ण निजी क्षेत्रको कारोबारलाई अनलाइन बिल्डिङ प्रणालीमा लैजाने तयारीमा विभाग रहेको बताए । भन्सार प्रशासनमा आएको राजश्व गिरावटको असर कर प्रशासनमासमेत देखिन थालेको उनी बताउँछन् । ‘बजारमा भएको तरलता अभावले आगामी दिनमा थप चुनौतीपूर्ण रहेको छ, अर्थतन्त्रमा मनी सर्कुलेशनको जुन चेन हो त्यो डिस्टर्ब छ, यो आर्थिक वर्षको ४ महिनाको राजश्व संकलनको ट्रेण्ड हेर्दा हामी निश्चित रुपमा अहिले स्ट्रेसमा छौँ, भोलिका दिनहरु अझै चुनौतीपूर्ण रहनेछ, कर प्रशासन र निजी क्षेत्र अन्योन्याश्रित रुपमा अघि बढीरहेको छ । त्यस्तै, अर्थ मन्त्रालयका अर्थसचिव रामेश्वर दंगालले कर प्रशासनका कर्मचारीहरु मात्रै नभइ उद्योगी व्यवसायी र आम जनताले पनि सामुहिक रुपमा चिन्ता गर्नुपर्ने स्थिति रहेको बताए ।इतिहासको कठिन घडीमा सरकार भएकाले सरकारले खर्च गर्ने क्षमता लगायत समग्र क्षमतामा असर गर्ने स्थिति देखिएको उनी बताउँछन् । ‘पहिलो ४ महिनाको तथ्यांक हेर्दा चालु वर्ष सरकारले लिएको राजश्व लक्ष्य ८९ प्रतिशत मात्रै आन्तरिक राजश्वतर्फ संकलन गर्न सकेका छौँ, समग्रमा ७२ प्रतिशत मात्रै राजश्व संकलन भएको छ, जबकी गत वर्ष राजश्व संकलनको तुलनामा हामी ३० प्रतिशतको ग्रोथको लक्ष्य राख्दा अहिलेको यथार्थ राजश्व संकलन गत वर्षको भन्दा २० प्रतिशतले संकुचन आएको छ, इतिहासको कठिन घडीमा हामी उपस्थित भएका छौँ, यसले सरकारले खर्च गर्ने क्षमता लगायत समग्र क्षमतामा असर गर्ने स्थिति देखिन्छ,’उनले भने ।

बागलुङ १ मा चित्रबहादुर केसी विजयी

बागलुङ । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । वाम लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा ९एमाले०का सूर्य पाठकलाई पराजित गरेका छन् । केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी भएका मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए । एमालेका पाठकले १८ हजार आठ सय २५ र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार एक सय ८१ मत प्राप्त गरेका छन् । उमेरले ८० वर्ष पुगेका केसीको राजनीतिक जीवनमा धेरै उतारचढाल रह्यो । विसं २०५६ र २०६४ को चुनावमा प्रत्यक्ष निर्वाचित भएका केसी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बन्नुभएको थियो । केसीको यो चौथो पटकको संसद यात्रा हो । विसं २०५१ सालको आम निर्वाचनमा केसी बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभाको सदस्यको उमेदवार भए पनि उनी पराजित भए । त्यसपछि २०५६ सालको संसदीय निर्वाचनमा उनी यही क्षेत्रबाट संसद चुनिए । तत्कालीन समयमा उनले नेपाली कांग्रेसका गोपाल सापकोटालाई पराजित गरेका थिए । विसं २०६४ को संविधानसभा सदस्यमा केसीले नेपाली कांग्रेसका मणिभद्र शर्मा कँडेललाई पराजित गरेर निर्वाचित भएका थिए । केसीले २०७४ सालमा भने चुनाव लड्ेनन् । केसी २०७२ साल कात्तिक १९ मा ७५ वर्षको उमेरमा उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारण मन्त्री बनेका थिए । राजनीतिक भाषण तथा अन्तर्वार्तामा उखान टुक्का मिसाएर बोल्ने उनको शैली मन पराउनेको सङ्ख्या धेरै छ । केसीले राजनीतिक यात्रामा १९ वर्ष भूमिगत जीवन बिताएका छन् । उनले ९ महिना जेल जीवन बिताएका थिए । रासस

डोटी प्रदेशसभा १ मा मल्ल र २ मा ओली विजयी

डोटी । डोटी जिल्ला प्रदेशसभा १ मा नेकपा एमालेका नेता चक्र मल्ल र २ मा नेकपा माओवादी केन्द्रका नेता शिव सिंह ओली विजयी भएका छन् । प्रदेशसभा १ तर्फ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई चार सय ५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन् । विजयी उम्मेदवार मल्लले १५ हजार दुई सय ७९ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंहले १४ हजार आठ सय २९ मत पाएका छन् । अर्का उम्मेदवार हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले पाँच सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले सात सय ५५ मत प्राप्त गरेका छन् । यहाँ ३३ हजार तीन सय २२ मत खसेको थियो । एक हजार नौ सय १९ मत बदर भएको छ । प्रदेशसभा २ तर्फ लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्र डोटी जिल्ला इन्चार्ज शिवा सिं ओलीले एमाले उम्मेदवार टेक बमलाई नौ सय १९ मतले पछि पार्दै विजयी भएका छन् । विजयी ओलीले १४ हजार ४७ मत प्राप्त भएका गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी बमले १३ हजार एक सय २८ मत पाएका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए । यस क्षेत्रमा तीनजना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । अर्का उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन बमले एक हजार तीन सय २७ प्राप्त गरे । यहाँ ३० हजार दुई सय ३४ मत खसेको थियो । एक हजार ३२ मत बदर भएको छ । रासस

सर्लाही–१ प्रदेश (२) बाट एकीकृत समाजवादीकी लुङ्गेली विजयी

सर्लाही । सर्लाही क्षेत्र नं १ प्रदेशसभा २ मा नेकपा एकीकृत समाजवादीकी बेची लङ्गेली प्रदेशसभा सदस्यमा विजयी भएकी छिन् । उनले नेकपा एमालेकी शान्ति लामालाई फराकिलो मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । आज बिहान सार्वजनिक मतपरिणाअनुसार लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गरेका लुङ्गेलीले १३ हजार छ सय ७६ मत पाएकी थिइन् । लामाले भने छ हजार नौ सय ७७ मत मात्र प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै स्वतन्त्रतर्फको जेब्रा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार राजनकुमार श्रेष्ठले पनि पाँच हजार नौ सय ४५ मत ल्याए । जिल्लाको निर्वाचन क्षेत्र नं १ को २ बाट अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट विजयी भएकी लङ्गेली पार्टी विभाजन भएपछि नेकपा एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् ।

घटेको बजारमा दुई कम्पनीको सेयरमा सर्किट

काठमाडौं । बुधबार पनि सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार ७‍.७२ अंकले घटेर १९२१.९९ विन्दुमा पुगेको छ । आज दुई कम्पनीको सेयरमा सर्किट लागेको छ । सर्किट लाग्नेमा सिभिल बैंक र घलेम्दी हाइड्रोपावर कम्पनी रहेको छ । बुधबार सिभिल बैंकको सेयर मूल्य २१.३० रुपैयाँले र घलेम्दीको सेयर १८.६० रुपैयाँले वृद्धि भएको छ । यस्तै, आज स्ट्याण्डर्ड चार्टड बैंकले सबैभन्दा बढी गुमाएको छ । बैंकको सेयर २१ रुपैयाँले घटेर ४१८ रुपैयाँ कायम भएको छ । नेप्सेको अनुसार बुधबार २८ लाख ३९ हजार ३७३ कित्ता सेयर कारोबार हुँदा एक अर्ब दुई करोड रुपैयाँको कारोबार भएको छ ।

गठबन्धनभित्रकाे अन्तरविरोधले एमाले र स्वतन्त्रलाई सहज

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । बुधबार बिहानसम्मको नतिजा र मतगणनाको प्रारम्भिक अवस्था हेर्दा नेपाली कांग्रेसको नेतृत्वमा बनेको ५ दलीय गठबन्धन भित्र पैदा भएको असहमति तथा असन्तुष्टिका कारण एमाले र स्वतन्त्रलाई मत हासिल गर्न र विजय हासिल गर्न सहज वातावरण भएको धेरैकाे अनुमान छ । ४ महिना अघि मात्रै रवि लामिछानेको नेतृत्वमा निर्माण भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मत र त्यस क्षेत्रमा गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारले प्राप्त गरेको मतको अवस्थालाई हेर्दा त्यस्तो अनुमान गर्न सकिन्छ । बुधबार बिहानसम्म प्रतिनिधिसभा सदस्यतर्फ २२ जना उम्मेदवार विजयी भएका छन् भने प्रदेश सभा सदस्यतर्फ ३१ जना उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यतर्फ बुधबारकाे पछिल्लाे अपडेट अनुसार १ सय ५९ क्षेत्रको मतगणना मध्ये २२ सिटको मतगणना सम्पन्न भएको छ । मतगणना सकिएका क्षेत्रहरुमध्ये नेपाली कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, एकीकृत समाजवादीले १, राप्रपाले १ र नागरिक उन्मुक्ति पार्टीले एक सिट जितेको छ । त्यस्तै अन्य गणना भइरहेका क्षेत्रहरुमा कांग्रेस ४१, एमाले ४२, माओवादी १७, राष्ट्रिय स्वतन्त्र पार्टी ६, राप्रपा ४, जसपा ५, नागरिक उन्मुक्ती पार्टी ३, लोसपा ३ र स्वतन्त्र लगायत अन्यले ११ स्थानमा अग्रता लिइरहेका छन् भने ६ स्थानको मतगणना प्रारम्भ हुन अझै बाँकी छ । सत्ता गठबन्धनले दलीय रुपमा उम्मेदवारहरुको सिट बाँडफाँड गर्दा पार्टीहरुभित्र व्यापक रुपमा असन्तुष्टि छाएको थियो । उम्मेदवारहरुको बाँडफाँडमा असहमति जनाउँदै गठबन्धन भित्रबाटै कतिपयले बागी र स्वतन्त्र उम्मेदवारी दिएका थिए । आफ्नै पार्टीभित्र नियमित रुपमा एउटै व्यक्तिले टिकट पाएकोप्रति कतिपयको गुनासो थियो भने अर्को पार्टीले टिकट लिएर आउँदा अर्को पार्टीका कार्यकर्ताले असहमति जनाएर निस्किृय समेत बनेका थिए । राजनीतिक दलमा हुने अन्तरविरोधको औसत अन्तरविरोध एमालेभित्र देखिए पनि पार्टी विभाजनपछि एमालेको नेतृत्वमा निर्माण भएको एमाले चुनावमा एकीकृत रुपमा प्रस्तुत भयो । संविधान निर्माणपछिको पहिलो ५ वर्षमा देशको विकास र सुशासनको पक्षमा नयाँ आयाम देखिन नसक्दा आम जनताको तर्फबाट राजनीतिक दलहरु र नेतृत्वप्रति व्यापक असन्तुष्टि प्रकट गरिरहेका थिए । ‘नो नट अगेन’, स्वतन्त्र उम्मेदवारी अभियान र नयाँ दलको पक्षमा क्याम्पियन गर्दै विशेष गरी युवापुस्ताले आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । सोही क्रममा दलहरुभित्र थप असन्तुष्टि हुनेगरी गठबन्धन निर्माण हुन पुग्दा त्यसको लाभ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रोसँग उठाउन सकेको नतिजाले देखाएको छ । गठबन्धन निर्माण भइसकेपछि विशेष गरी गठबन्धन पक्षधरका केही विश्लेषकहरुले प्रत्यक्ष निर्वाचन प्राणालीतर्फको नतिजामा नेपाली कांग्रेस, पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो हुनसक्ने अनुमान गरेका थिए । निर्वाचनमा विशेष गरी आम युवाहरुको समर्थनमा उदय हुँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै दलले त्यती धेरै महत्व दिएका थिएनन् । तर, सबै राजनीतिक दलहरुको अनुमान भन्दा मतपरिणामले फरक नतिजा दिएको छ । मतपरिणाममा देखिएको प्रवृत्तिलाई हेर्दा गठबन्धनको तर्फबाट काठमाडौं उपत्यकामा उम्मेदवार बनेका माओवादीका सबै उम्मेदवारले जित्ने अवस्था सिर्जना भएन । सोही क्षेत्रमा प्रदेश सभा सदस्यको लागि नेपाली कांग्रेसको तर्फबाट बनेका उम्मेदवारको तुलनामा माओवादीका उम्मेदवारलाई कम भोट आएको देखियो । विशेषतः नेपाली कांग्रेसका आम समर्थकहरुले माओवादी उम्मेदवारहरुलाई मन नपराएको उक्त नतिजाबाट विश्लेषण गर्न सकिन्छ । तर, नेपाली कांग्रेसका उम्मेदवार बनेका ठाउँमा भने गठबन्धनका अन्य समथर्कहरुको मतमा एक आध बाहेकका क्षेत्रमा बाहेक कमी हुन गएको देखिँदैन । एमालेको उम्मेदवारहरुले आफ्नो मत गठबन्धनको उम्मेदवारको तुलनामा सुरक्षित गर्न सकेको देखिन्छ । जसका कारण एमाले उम्मेदवारहरुले प्राप्त गरेको मतको आधारलाई हेर्दा एमालेको तर्फबाट स्वतन्त्र पार्टीका उम्मेदवार अथवा स्वतन्त्र उम्मेदवारहरुलाई कम मत गएको देख्न सकिन्छ । सामान्य तरिकाले विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा युवाहरुको क्याम्पियन बाहेका अहिलेको निर्वाचनमा कुनै पनि राजनीतिक दलको पक्षमा माहोल सिर्जना भएको थिएन । समानुपातिक मत तर्फको प्रारम्भिक परिणाम र क्षेत्रगत मतपरिणाम हेर्दा गठबन्धनभित्रको अन्तरविरोधबाट एमाले र स्वतन्त्र पार्टीले राम्रो फाइदा उठाउन सकेको देखिन्छ । गठबन्धनले विशेष गरेर माओवादी र एकीकृत समाजवादीलाई केही नोक्सान भएको देखिन्छ ।  नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ४६ जना उम्मेदवार उठाएको थियो । तर, अहिलेसम्म माओवादीले २ ठाउँमा विजय हासिल गरेको छ भने १६ ठाउँमा अग्रता कायम गरेको छ । एकीकृत समाजवादीले प्रतिनिधिसभाको सदस्यका लागि २१ ठाउँमा उम्मेदवारी दिएको थियो । तर, सो पार्टीले पनि २ ठाउँमा विजय प्राप्त गरेको छ भने १२ ठाउँमा अग्रता कायम गरेको छ । गठबन्धनको मुख्य पार्टी नेपाली काँग्रेसले कुल ९१ ठाउँमा उम्मेदवारी दिएकोमा १३ ठाउँमा विजय हासिल गरेको छ भने ४२ ठाउँमा अग्रता कायम गरेको छ । यस हिसाबमा काँग्रेसको ५५ जना उम्मेदवार लगभग जित्न सक्ने प्रारम्भिक अनुमान लगाउन सकिन्छ । विजयी र अग्रताको हिसावमा पनि गठबन्धनमा काँग्रेसलाई केही सघाउ पुगेको होकी भन्ने अनुमान पनि लगाउन सकिन्छ ।  

झापा २ (१) मा एमालेका कार्की र ३ (१) मा कांग्रेसका राजवंशी निर्वाचित

झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा एमालेका एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय भएका क्षेत्र नं २ का निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए । विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेलले छ हजार एक सय एक मत प्राप्त गरेका छन् । कार्की र पोखरेलको मतान्तर १२ हजार ६ सय ५१ मत रहेको छ । झापा क्षेत्र नं। २ को प्रदेशसभा १ मा ३८ हजार पाँच सय ४८ मत खसेको थियो । जसमा ती हजार तीन सय ३० मत बदर भएको निर्वाचन अधिकृत पन्तले जानकारी दिए । कार्कीले जीतसँगै दोस्रो पटकको प्रदेशसभाको यात्रा तय गरेका छन् । उनी २०७४ सालको संसदीय निर्वाचनमा समेत झापा २ को प्रदेशसभा १ बाट विजयी भएका थिए । यस्तै झापा क्षेत्र नं ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी भएका छन् । राजवंशीले २० हजार सात सय ७० मत प्राप्त गरि विजयी भएका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्त बानियाँले १९ हजार सात सय एक मत प्राप्त गरेका छन् । झापा क्षेत्र नं। ३ को प्रदेशसभा १ मा ४५ हजार दुई सय ९५ मत खसेको थियो । रासस