काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । बुधबार बिहानसम्मको नतिजा र मतगणनाको प्रारम्भिक अवस्था हेर्दा नेपाली कांग्रेसको नेतृत्वमा बनेको ५ दलीय गठबन्धन भित्र पैदा भएको असहमति तथा असन्तुष्टिका कारण एमाले र स्वतन्त्रलाई मत हासिल गर्न र विजय हासिल गर्न सहज वातावरण भएको धेरैकाे अनुमान छ ।
४ महिना अघि मात्रै रवि लामिछानेको नेतृत्वमा निर्माण भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मत र त्यस क्षेत्रमा गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारले प्राप्त गरेको मतको अवस्थालाई हेर्दा त्यस्तो अनुमान गर्न सकिन्छ । बुधबार बिहानसम्म प्रतिनिधिसभा सदस्यतर्फ २२ जना उम्मेदवार विजयी भएका छन् भने प्रदेश सभा सदस्यतर्फ ३१ जना उम्मेदवार विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यतर्फ बुधबारकाे पछिल्लाे अपडेट अनुसार १ सय ५९ क्षेत्रको मतगणना मध्ये २२ सिटको मतगणना सम्पन्न भएको छ । मतगणना सकिएका क्षेत्रहरुमध्ये नेपाली कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, एकीकृत समाजवादीले १, राप्रपाले १ र नागरिक उन्मुक्ति पार्टीले एक सिट जितेको छ । त्यस्तै अन्य गणना भइरहेका क्षेत्रहरुमा कांग्रेस ४१, एमाले ४२, माओवादी १७, राष्ट्रिय स्वतन्त्र पार्टी ६, राप्रपा ४, जसपा ५, नागरिक उन्मुक्ती पार्टी ३, लोसपा ३ र स्वतन्त्र लगायत अन्यले ११ स्थानमा अग्रता लिइरहेका छन् भने ६ स्थानको मतगणना प्रारम्भ हुन अझै बाँकी छ ।
सत्ता गठबन्धनले दलीय रुपमा उम्मेदवारहरुको सिट बाँडफाँड गर्दा पार्टीहरुभित्र व्यापक रुपमा असन्तुष्टि छाएको थियो । उम्मेदवारहरुको बाँडफाँडमा असहमति जनाउँदै गठबन्धन भित्रबाटै कतिपयले बागी र स्वतन्त्र उम्मेदवारी दिएका थिए । आफ्नै पार्टीभित्र नियमित रुपमा एउटै व्यक्तिले टिकट पाएकोप्रति कतिपयको गुनासो थियो भने अर्को पार्टीले टिकट लिएर आउँदा अर्को पार्टीका कार्यकर्ताले असहमति जनाएर निस्किृय समेत बनेका थिए । राजनीतिक दलमा हुने अन्तरविरोधको औसत अन्तरविरोध एमालेभित्र देखिए पनि पार्टी विभाजनपछि एमालेको नेतृत्वमा निर्माण भएको एमाले चुनावमा एकीकृत रुपमा प्रस्तुत भयो ।
संविधान निर्माणपछिको पहिलो ५ वर्षमा देशको विकास र सुशासनको पक्षमा नयाँ आयाम देखिन नसक्दा आम जनताको तर्फबाट राजनीतिक दलहरु र नेतृत्वप्रति व्यापक असन्तुष्टि प्रकट गरिरहेका थिए । ‘नो नट अगेन’, स्वतन्त्र उम्मेदवारी अभियान र नयाँ दलको पक्षमा क्याम्पियन गर्दै विशेष गरी युवापुस्ताले आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । सोही क्रममा दलहरुभित्र थप असन्तुष्टि हुनेगरी गठबन्धन निर्माण हुन पुग्दा त्यसको लाभ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रोसँग उठाउन सकेको नतिजाले देखाएको छ ।
गठबन्धन निर्माण भइसकेपछि विशेष गरी गठबन्धन पक्षधरका केही विश्लेषकहरुले प्रत्यक्ष निर्वाचन प्राणालीतर्फको नतिजामा नेपाली कांग्रेस, पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो हुनसक्ने अनुमान गरेका थिए । निर्वाचनमा विशेष गरी आम युवाहरुको समर्थनमा उदय हुँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै दलले त्यती धेरै महत्व दिएका थिएनन् । तर, सबै राजनीतिक दलहरुको अनुमान भन्दा मतपरिणामले फरक नतिजा दिएको छ ।
मतपरिणाममा देखिएको प्रवृत्तिलाई हेर्दा गठबन्धनको तर्फबाट काठमाडौं उपत्यकामा उम्मेदवार बनेका माओवादीका सबै उम्मेदवारले जित्ने अवस्था सिर्जना भएन । सोही क्षेत्रमा प्रदेश सभा सदस्यको लागि नेपाली कांग्रेसको तर्फबाट बनेका उम्मेदवारको तुलनामा माओवादीका उम्मेदवारलाई कम भोट आएको देखियो । विशेषतः नेपाली कांग्रेसका आम समर्थकहरुले माओवादी उम्मेदवारहरुलाई मन नपराएको उक्त नतिजाबाट विश्लेषण गर्न सकिन्छ । तर, नेपाली कांग्रेसका उम्मेदवार बनेका ठाउँमा भने गठबन्धनका अन्य समथर्कहरुको मतमा एक आध बाहेकका क्षेत्रमा बाहेक कमी हुन गएको देखिँदैन ।
एमालेको उम्मेदवारहरुले आफ्नो मत गठबन्धनको उम्मेदवारको तुलनामा सुरक्षित गर्न सकेको देखिन्छ । जसका कारण एमाले उम्मेदवारहरुले प्राप्त गरेको मतको आधारलाई हेर्दा एमालेको तर्फबाट स्वतन्त्र पार्टीका उम्मेदवार अथवा स्वतन्त्र उम्मेदवारहरुलाई कम मत गएको देख्न सकिन्छ । सामान्य तरिकाले विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा युवाहरुको क्याम्पियन बाहेका अहिलेको निर्वाचनमा कुनै पनि राजनीतिक दलको पक्षमा माहोल सिर्जना भएको थिएन । समानुपातिक मत तर्फको प्रारम्भिक परिणाम र क्षेत्रगत मतपरिणाम हेर्दा गठबन्धनभित्रको अन्तरविरोधबाट एमाले र स्वतन्त्र पार्टीले राम्रो फाइदा उठाउन सकेको देखिन्छ ।
गठबन्धनले विशेष गरेर माओवादी र एकीकृत समाजवादीलाई केही नोक्सान भएको देखिन्छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ४६ जना उम्मेदवार उठाएको थियो । तर, अहिलेसम्म माओवादीले २ ठाउँमा विजय हासिल गरेको छ भने १६ ठाउँमा अग्रता कायम गरेको छ । एकीकृत समाजवादीले प्रतिनिधिसभाको सदस्यका लागि २१ ठाउँमा उम्मेदवारी दिएको थियो । तर, सो पार्टीले पनि २ ठाउँमा विजय प्राप्त गरेको छ भने १२ ठाउँमा अग्रता कायम गरेको छ ।
गठबन्धनको मुख्य पार्टी नेपाली काँग्रेसले कुल ९१ ठाउँमा उम्मेदवारी दिएकोमा १३ ठाउँमा विजय हासिल गरेको छ भने ४२ ठाउँमा अग्रता कायम गरेको छ । यस हिसाबमा काँग्रेसको ५५ जना उम्मेदवार लगभग जित्न सक्ने प्रारम्भिक अनुमान लगाउन सकिन्छ । विजयी र अग्रताको हिसावमा पनि गठबन्धनमा काँग्रेसलाई केही सघाउ पुगेको होकी भन्ने अनुमान पनि लगाउन सकिन्छ ।