विकासन्युज

काठमाडौं–१ का तीनै सिटमा कांग्रेसको ‘क्लिन स्वीप’

काठमाडौं । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा जितेर नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका छन् । काठमाडौं–१ प्रदेशसभा–१ मा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले छ हजार तीन सय मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए । श्रेष्ठ यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भई हाल वाग्मती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नवीन शाहीले तीन हजार पाँच सय चार मत पाए । यसैगरी, नेकपा एमालेका रामप्रसाद अम्गाईँले दुई हजार दुई सय ९७ मत प्राप्त गरे । यस्तै प्रदेशसभा–२ मा पनि कांग्रेसकै सुरजचन्द्र लामिछानेले चार हजार पाँच सय १० मत प्राप्त गरी विजयी भएकोले छ । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद दुलालले दुई हजार सात सय ५३ मत प्राप्त गरे । दुलाल यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसका तर्फबाट पनि लामिछाने नै प्रतिस्पर्धामा थिए । काठमाडौं–१ को प्रतिनिधिसभामा सोमबार राति नै कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह विजयी भइसकेका छन् । सिंहको यो चौँथो पटकको जीत हो । नेता सिंह २०६४ को पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा, २०७४ र २०७९ को संसदीय निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका हुन् । यसैगरी कांग्रेसले काठमाडौं–३ का पनि तीन वटै सिटमा ‘क्लिन स्वीप’ गरेको छ । काठमाडौं क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा सन्तोष चालिसे निर्वाचित भएका छन् । प्रदेशसभा १ मा कांग्रेसका छिरिङदोर्जे लामा र प्रदेशसभा २ मा कांग्रेसकै बिमल ठकुरी निर्वाचित भएका छन् । रासस

देशमा परिवर्तनको सुरुवात भइसक्यो : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ कि नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताएकी छन् । बुधबार काठमाडौं–२ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले परिवर्तनको सुरुवात भइसकेकाले कोही पनि नेपाली नागरिक आत्तिनुनपर्ने धारणा राखिन् । अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने भन्दै उनले अबको ५ वर्षमा देशमा परिवर्तनको ढोका खुल्ने धारणा राखिन् । उनले प्रदेशको अहिलेको संरचनालाई सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याइन् । ‘परिवर्तनको शुरुवात भइसक्यो । अब कोही पनि आत्तिनुपर्ने छैन । हामी जस्ता युवा पुस्ताहरु आज विभिन्न अवसरको खोजीमा विभिन्न देशमा जाँदै गर्दा अब यो देशमा हामी आफैंले केही गर्नुपर्छ । कति देशबाट भाग्ने, कति सहज खोजेर अरुको देशमा मात्रै जाने ?’ उनले भनिन् । जिम्मेवारी बहन गर्न आफू सक्षम रहेको भन्दै सांसद गौतमले देशले गर्व गर्न लायक काम गरेर देखाउने बताइन् ।

डोल्पामा रोकिएका कर्मचारीको उद्धार गर्न आग्रह

डोल्पा । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी फर्कनने साधन नहुदा रोकिएका छन् । उनीहरुको उद्धार गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले निर्वाचन आयोगलाई आग्रह गरेको छ । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धका २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका कर्मचारीलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था रहेकाले डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । उनका अनुसार मङ्सिर ४ गतेको निर्वाचनका लागि उनीहरुलाई हेलिकप्टरमै ती मतदान केन्द्रमा पुर्याइएको थियो । ‘गएको आइतबार सम्पन्न निर्वाचनका लागि डोल्पामा पाँच सय ११ कर्मचारी खटिएका थिए,’ उनले भने, ‘२२ केन्द्रमा खटिएकामध्ये तल्लो क्षेत्रका केही कर्मचारी फर्किए पनि १२ मतदान केन्द्रमा खटिएका एक सय ३५ कर्मचारी थुनिएका छन् ।’आज बिहान हेलिकप्टरले तीन मतदान केन्द्रको मतपेटिकासहित १० कर्मचारीको उद्धार गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए । उक्त क्षेत्रमा हिउँ परेकोले चिसो पनि बढ्दै जादा केही कर्मचारी बिरामी भएको खबर आएकोले उनीहरुको छिटो उद्धार गर्नुपर्ने उनको भनाइ छ । कर्मचारीको जीवन सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको भन्दै उनले प्रमुख निर्वाचन आयुक्तलाई जतिसक्दो चाँडो उद्धार गर्न आग्रह गरेको बताए । उनका अनुसार माथिल्लो डोल्पाबाट कर्मचारी आउन नसके मतगणनामा समेत जनशक्तिको अभाव हुनेछ । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिका– १ कोवासस्थित शहीद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहोराले चिसोका कारण पाँच कर्मचारी बिरामी परेको राससलाई जानकारी दिए । ‘कर्मचारीलाई चिसोका साथै खान र बस्न पनि समस्याका भएको छ,’ उनले भने, ‘समयमै सदरमुकाम दुनै नझारिए धेरै कर्मचारी बिरामी हुने खतरा बढेको छ ।’ उनीहरुलाई टाउको दुख्ने, वाक्वाकी लाग्ने र सास फेर्न गाह्रो भएको बोहोराले जनाए । उनका अनुसार चुनावका लागि खटिएका दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी मङ्सिर १ गतेदेखि चिसोका कारण रोकिएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले आज बिहान डोल्पाका बाँकी मतपेटिका र १० जना कर्मचारीलाई हेलिकप्टरबाट ल्याइएपछि बाँकी कर्मचारी ल्याउने तयारी भएका तर, हुम्ला प्रदेश सभा २ मा एक सय ३६ मतपेटिका ढुवानीका लागि गएकोले अलपत्र कर्मचारीको उद्धार हुन नसकेको बताए । त्यसको लागि पहल भइरहेको पनि उनले बताए । रासस

यो वर्ष नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्छ : कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका छन् । बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै घिसिङले १५ वर्ष पूरा भएका जलविद्युत आयोजनाहरु सम्पन्न हुन लागेकाले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका हुन् । घिसिङले अबको ५/६ वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता हुने बताए । १५ हजार मेगावाट विद्युत उत्पादन पुग्दा करिब ५ अर्ब रुपैयाँ विद्युत प्राधिकरणबाट राजश्व संकलन हुने उनी बताउँछन् । ‘जलविद्युत उत्पादन ३ हजार मेगावाट पुग्दा ५० अर्ब राजश्व सरकारलाई तिर्नुपर्ने छ, सरकारलाई वार्षिक रुपमा १ अर्ब ७० करोड रुपैयाँ प्राधिकरणले राजश्व तिर्ने गरेको छ, विद्युत प्राधिकरणले एउटा जलविद्युत आयोजनाबाट करिव ७० करोड रुपैयाँ राजश्व तिर्ने गरेको छ, १५ वर्ष नाघेका धेरै जलविद्युत आयोजनाहरु रहेकाले १० प्रतिशतले राजश्व बढेको छ,’ उनले भने । प्रमुख कार्यकारी निर्देशक घिसिङ जलविद्युत आयोजनाहरुको प्रवद्र्धन गर्नसके राजश्वमा ठूलो योगदान पुग्ने बताउँछन् । उनले चालु आर्थिक वर्षको ५ महिनामा विद्युत निर्यातमार्फत ११ अर्ब आम्दानी गरेको बताए ।

कोरोना बीमाको दावी भुक्तानीका लागि तीन कम्पनीले पठाए पैसा, संघद्धारा चेक तयार

काठमाडौं । कोरोना बीमाको रकम भुक्तानीको लागि विभिन्न तीन कम्पनीले पैसा पठाएका छन् । नेपाल बीमक संघका अनुसार २० निर्जीवन बीमा कम्पनी (मर्ज भएका समेत) मध्ये हालसम्म तीन वटा कम्पनीले कूल ६ करोड ८१ लाख ८१ हजार ८१६ रुपैयाँ संघको खातामा पठाएका हुन् । जसमा नेशनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र दी ओरियन्टल रहेका छन् । प्रत्येक कम्पनीबाट २ करोड २७ लाख २७ हजार २७२ रुपैयाँको दरले कूल ६ करोड ८१ लाख ८१ हजार ८१६ रुपैयाँ खातामा जम्मा भएको संघले बताएको छ । यससँगै पैसा पठाएका तीन कम्पनीलाई कोरोना दावी भुक्तानी गर्नको लागि चेक समेत तयार भइसकेको संघले जनाएको छ । तर, दावी भुक्तानीमा भने ढिलाई हुने बुझिएको छ । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले पैसा नथपेसम्म कम्पनीहरुले दावी भुक्तानीको प्रकृया शुरु नगर्ने मनसायमा छन् । संघले पनि नेपाल रिले २१ करोड ८१ लाख ८१ हजार ८१८ रुपैयाँ पैसा नपठाएसम्म कम्पनीहरुलाई चेक वितरण गर्न नसकिने बताएको छ । कारबाही भोग्न तयार छु, करोडौं रुपैयाँ डोनेशन गर्न सक्दिन – डा. रविन्द्र घिमिरे यता सरकारको स्वामित्व रहेको नेपाल रिले कोरोना बीमाको दावी भुक्तानीको लागि पैसा दिँदै नदिने अडान लिएको छ । यस विषयमा नेपाल बीमा प्राधिकरणले कम्पनीलाई ७ दिने स्पष्टिकरण सोधेको छ । प्राधिकरणले कोरोना बीमाको दावी भुक्तानी गर्न पैसा किन नदिने हो ? जवाफ चाहिँयो भन्दै गत साता कम्पनीसँग स्पष्टिकरण माग गरेको हो । बीमा प्राधिकरण र नेपाल रिबीच चर्को विवाद, कोरोना मुद्दामा बीमा कम्पनीहरुबीच पनि धुर्बीकरण दावी भुक्तानीको प्रकृया अघि बढाउनको लागि कम्पनीहरुले दावी भुक्तानी गरिने दावीकर्ताहरुको सूची बीमक संघ तथा पुललाई उपलब्ध गराउनु पर्ने छ । सो अनुसार संघले कम्पनीहरुलाई चेक वितरण गर्ने छ । कम्पनीहरुले संचालक समितिबाट स्वीकृति लिई दावी भुक्तानीलाई सकेसम्म छिटो अघि बढाउन संघले आग्रह गरेको छ । दावी भुक्तानी गर्दा पहिलो चरणमा व्यक्ति तथा परिवारको दावी भूक्तानी गर्नुपर्ने छ । त्यस्तै, कम्पनीहरुको स्वीकृत दावी संख्यालाई आधार मनी समानुपातिक रुपमा बाँडफाँड गरिने छ । समानूपातिक रूपमा बाँडफाँड गर्दा व्यक्ति तथा परिवारलाई तिर्नुपर्ने दावी संख्याभन्दा बढि रकम नदिने समेत संघले बताएको छ । सो बमोजिम बाँडफाँड भइ बाँकी रहने रकमलाई जुन कम्पनीहरुको व्यक्ति तथा परिवारका संख्या बढि छन् तिनै कम्पनीहरुमा पुनस्वीकृत दावी संख्याको अनुपातमा बाँडफाँड गरिने छ । संघका अनुसार दावी भूक्तानी गर्ने व्यक्ति तथा परिवारको नाम कम्पनीहरुले बीमक संघबाट सहि छाप गराई आ आफनो वेब साइटमा प्रकाशित गुर्नपर्ने छ । यससँगै कम्पनीहरुले बीमक संघबाट आफूले प्राप्त गर्ने रकमको चेक लिई दावी रकम बाँडफाँड गर्न सक्ने छन् ।

गुल्मी–२ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित

काठमाडौं । गुल्मी–२ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्ट २८ हजार ४७६ मत ल्याएर प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन् । विष्टले नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की उम्मेदवार झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी थिइन् ।

काठमाडौं २ को प्रदेशसभा राप्रपाका दुबै उम्मेदवार विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौं क्षेत्र नं २ को प्रदेशसभाको दुबै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेशसभाको दुबै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी भएका निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । प्राप्त पछिल्लो मतपरिणाम अनुसार काठमाडौँ क्षेत्र नं २(२) राप्रपाका राजु विष्ट १२ हजार एक सय ६३ मतले विजयी भएका हो । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुवर्ण श्रेष्ठले नौ हजार ९० मत प्राप्त गरेका छन् । यसअघि काठमाडौं क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसीले विजयको सुरुआती खाता खोलेका थिए । केसीले पाँच हजार पाँच सय ९८ मत ल्याएका थिए । समानुपातिक मतगणना सुरु काठमाडौं क्षेत्र नं २ को प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणना जारी रहेको छ । प्रदेशसभाको पनि केहीबेर अघिबाट गणना सुरु भएको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए ।

संसद् मात्र हैन, सन्देशसमेत दिएको निर्वाचन

काठमाडौं । अहिले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मत परिणाम आइरहेको छ । मत परिणामलाई लिएर विभिन्न टिप्पणी र अनुमानहरु गर्न थालिएको छ । यो निर्वाचनमा नागरिकको नैराश्यता मतपेटिकामा प्रस्तुत हुने अनुमान निर्वाचनपूर्व नै धेरैले गरेका थिए । यही अपेक्षालाई आधार मानेर केही नयाँ पार्टीहरु पनि जन्मिए भने स्वतन्त्र रुपमा पनि थुप्रै उम्मेदवारहरुले प्रतिस्पर्धा गरे । परिणामले मतदानपूर्व गरिएको अनुमानलाई केही हदसम्म सत्य साबित गरिदिएको छ । निर्वाचनलाई वैधानिक ढङ्गबाट परिवर्तन गर्ने एउटा माध्यमका रुपमा पनि लिइन्छ । परिवर्तनको अपेक्षा गर्नु मानवीय गुण नै हो । हरेक निर्वाचन होस् वा क्रान्तिहरुले सधैँ परिवर्तनको अपेक्षा गरेका हुन्छन् र त्यस्तो अपेक्षा गर्न नागरिकलाई प्रेरित पनि गरिरहेका हुन्छन् । सधैँ परिवर्तनको अपेक्षा गरिरहेका नागरिकले निर्वाचनका समयमा यस्तो अपेक्षा गर्नुलाई स्वाभाविक रुपमा ग्रहण गर्नु पनि पर्दछ । परिवर्तनका लागि हिंसा वा हडतालको बाटो पकड्नुभन्दा मतपेटिकाको उपयोग गर्ने चेतनाको विकास हुनु आफैँमा सकारात्मक कुरा हो । नेपाली समाज अब मतपेटिकामार्फत नै क्रान्ति हुन्छ भनेर विश्वास गर्ने तहमा पुगेको छ भनेर विश्लेषण गर्ने आधार पनि यो चुनावले दिएको छ । युवाहरु टायर बाल्ने र सडक बन्द गर्ने अभ्यासलाई अस्वीकार गर्दै लोकतान्त्रिक विधिबाट परिवर्तनको पक्षमा उभिनुपर्छ भन्ने मान्यता राख्दछन् भन्ने सन्देश यो चुनावमार्फत प्रकट र स्थापितसमेत भएको छ । यो चुनावले दिएका यी कुराहरु अत्यन्तै सकारात्मक पक्ष हुन् । लोकतन्त्रको सबलताका लागि पनि यी पक्षहरुले योगदान दिनेछन् । त्यति मात्रै हैन, निरन्तर लोकतान्त्रिक अभ्यास हुँदै गर्दा कैयौँ यस्ता नागरिक भावनाहरुलाई सम्बोधन गर्न सक्छ भन्ने कुरा पनि स्थापित भएको छ । निरन्तरको निर्वाचनलाई अपेक्षाअनुसारको परिवर्तनका रुपमा उपयोग गर्न सकिन्छ नै । यति मात्रै होइन, यो चुनावले अन्य महत्वपूर्ण सन्देशहरु पनि दिएको छ । परम्परागत शक्तिलाई आफ्नो कार्यशैली परिवर्तन गर्न चेतावनी नै दिएको छ । उम्मेदवार छनोटको निश्चित विधि बनाउन बाध्य हुन सिकाएको छ । राजनीतिमा दलाल वर्गको उपस्थितिलाई निरुत्साहित गर्न चुनौती दिएको छ । पैसा र बलको राजनीतिक अभ्यासलाई अस्वीकार गर्न अपिल गरेको छ । इतिहासको मात्र होइन, सम्भावना र योग्यताको कदर गर्ने कुरालाई प्राथमिकतामा राख्न भनेको छ । समग्रमा सुशासनको छाताभित्र बसेर राजनीतिक कर्म गर भन्ने आक्रामक अभिव्यक्ति पनि दिएको छ । यो चुनावमार्फत मतपत्रहरुमा व्यक्त भाव भनेकै सुशासनतर्फ प्रतिबद्ध बन भन्ने नै हो । सुशासनको अवस्थामा सुधार आउन नसकेकै कारण राजनीतिप्रति नागरिकको नैराश्यता र उदासीनता चुलिँदै गएको हो । खासगरी सहरी क्षेत्रहरुमा मतदाताले त्यो भावना अभिव्यक्त पनि गरेका छन् । चुनावमा मत प्रतिशत कम हुनु, मतदानका क्रममा उत्साह पनि खासै नदेखिनु पनि नैराश्यता प्रदर्शनकै एउटा तरिका थियो । दललाई मत हाल्ने समानुपातिक निर्वाचनको मतपत्रमा समेत फरक चुनाव चिन्न खोज्नेको सङ्ख्या ठूलो देखियो । यो पनि परम्परागत शक्तिहरुसँगको एउटा विद्रोह हो । राजनीतिमा नागरिकहरु अझ त्यसमा पनि युवाको चासो बढेन, अग्रसरता देखिएन र आवश्यक परेमा हस्तक्षेपकारी भूमिकामा उभिन सकेनन् भने त्यो राजनीति एउटा निश्चित वर्गमा सीमित हुन्छ र वैयक्तिक वा समूहगत स्वार्थ पूर्तिको माध्यम मात्र बन्छ । यो अवस्थामा लोकतान्त्रिक शक्तिहरु पनि क्रमशः कुलीनतन्त्रको अभ्यासमा अभ्यस्त हुँदै जान्छन् । नेपाली राजनीतिमा देखिएको एउटा खतरा यो पनि थियो । युवाको हुँकारसहितको चासो र उपस्थितिले त्यस्तो अभ्यास गर्नबाट रोक्न सक्छ । यो चुनावमा युवाहरुको हुँकार पनि सही सुनिएको छ । अब संसद्मा र नीति निर्माणका अन्य संरचनाहरुमा पनि ठूलो स्वरमा त्यो हुँकार सुनाउन सक्ने ‘ग्राउन्ड’ यो निर्वाचनले तय गरिदिएको छ । नाता, परिवारमा सीमित, सम्पत्तिलाई नै लक्ष्य ठान्ने, विलासी शैली अपनाउने, शक्तिको दुरुपयोग गर्ने जस्ता विसङ्गतिको भीडबाट एक छिन पर उभिएर राजनीतिक रणनीति बनाउनका लागि प्रेरणाका रुपमा पनि चुनावलाई ग्रहण गर्न सक्नुपर्दछ । मतपत्रमा परेको स्वस्तिक छापको गन्ध बुझेर नयाँ पदचाप तय गर्ने दिशामा नेपाली राजनीतिलाई लैजाने क्षमता जसले देखाउँछ, उसँग मात्र नागरिकको अपेक्षा रहने निश्चित छ । शक्तिको दुरुपयोग गर्दै निश्चित वर्गको स्वार्थका लागि राजनीतिलाई बन्धक बनाउनेहरुको हातमा अब राजनीति रहन सक्दैन । निर्वाचनले संसद् त बनाउँछ नै । त्यो संसद्लाई कसरी गतिशील बनाउने भन्ने सन्देश पनि दिन्छ । यसपालिको निर्वाचनले संसद्लाई कसरी गतिशील बनाउने भन्ने सन्देशसमेत दिएको छ । त्यो आवाज संसद्का सबै सदस्यले सुन्ने क्षमता राख्छन् कि राख्दैनन् भन्ने दोस्रो कुरा हो, तर त्यसलाई नबुझ्न् वा नजरअन्दाज गर्नेहरु राजनीतिक खेलमा क्रमशः अस्वीकृत हुँदै जाने चाहिँ निश्चित छ । पाँच महिनाअघि जन्मेको पार्टीको जबर्जस्त उपस्थितिलाई व्यक्तिको उपस्थिति र उपस्थित व्यक्तिको सङ्ख्याका रुपमा मात्र व्याख्या गरिनु हुँदैन । निर्वाचनपछिको नेतृत्वले नागरिकमा उत्साह भर्ने र हाम्रै पालामा परिवर्तन सम्भव छ भन्ने सन्देश दिने ढङ्गले काम गर्नुपर्ने चुनौती बहन गर्नुपर्ने छ । यो चुनौतीको सम्बोधन गर्ने क्षमताको अपेक्षा अब आम नागरिकको पहिलो पर्खाइ हो । राजनीतिशास्त्रीहरुले राजनीतिलाई ‘कला पनि हो र विज्ञान पनि हो’ भनेर परिभाषित गरेका छन् । विज्ञानले परिणाम दिन्छ र कलाले परिणाम दिनका लागि काम गर्दछ । राजनीतिलाई कला पनि र विज्ञान पनि मान्ने हो भने राजनीतिमा सही कर्म गर्दै त्यस कर्मबाट सिङ्गो समाजलाई लाभान्वित गर्ने गरी राजनीतिकर्मीले काम गर्नुपर्ने हुन्छ । यसरी काम हुन नसक्दा नै नागरिक तहमा नैराश्यता थपिएको हो । एउटा प्रक्रियाको निरन्तरताका रुपमा मात्र राजनीतिक गतिविधिहरुलाई सीमित गर्दा राजनीतिसँग नागरिकको चासो छुट्दै गएको अवस्था हो । सिर्जनात्मक रुपमा आफ्नो ‘कला पक्ष’लाई सबल बनाउँदै परिणाम दिनका लागि आफूलाई प्रतिबद्ध बनाउने हो भने मात्र त्यस्तो राजनीतिक अभ्याससँग नागरिकको चासो बढ्दै जान्छ । शक्तिको प्रयोग, शक्ति सन्तुलन र बाध्यकारी निर्णयहरुमा राजनीतिक कर्मलाई सीमित गर्दा नागरिकका दैनन्य आकाङ्क्षाको पूर्ति र समस्याहरुको सम्बोधन सही ढङ्गले हुन सक्दैनन् । नागरिकका समस्या र चाहनालाई कसरी राजनीतिकर्मीहरुले लिन्छन् र सम्बोधन गर्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । नेपालको लोकतान्त्रिक अभ्यासका क्रममा राजनीतिशास्त्रीले भनेको झैँ कला पक्ष र विज्ञान पक्षलाई सन्तुलित गर्न नसक्दा यस्ता तमाम समस्याहरु उब्जिएको मान्न सकिन्छ । स्थापित र परम्परागत शक्तिहरुका कतिपय व्यवहारले गर्दा नागरिकहरुमा हुर्किएको तीतो यथार्थ हाम्रासामु छ । पुस्ता हस्तान्तरणमा उदासीन, समकालीन समस्याहरुको पहिचानमा असक्षमता प्रदर्शन, आधुनिक विश्वसँग नेपाली समाजलाई जोड्ने प्रस्ट दृष्टिकोणको अभाव, बेरोजगारी समस्या सम्बोधनलाई प्राथमिकतामा नराखिनु, विचौलियाको बोलबाला बढ्दै जानु, अपारदर्शी सम्पत्ति कमाउने प्रवृत्तिको विकास, भ्रष्टाचार बिना कामै नहुने परिस्थिति बलियो बन्दै जानु, राज्यका संरचनाहरुप्रति नागरिकको विश्वास उड्दै जानु अहिलेका मुख्य प्रवृत्ति र चुनौती हुन् । यी प्रवृत्तिहरुबाट समाजले मुक्ति खोजिरहेको छ । ‘नो नट अगेन’ जस्ता अभियानहरु, पुस्ता हस्तान्तरणका लागि दिइएका दबाबहरु उल्लिखित प्रवृत्तिबाट मुक्तिका लागि नै चलेका हुन् । उनै पात्र, उनै सोचले नागरिकमा पुनर्ताजगी हुन सक्दैन । समानुपातिकतर्फका अधिकांश उम्मेदवारहरुको अनुहार हेरेर पनि नागरिकहरुले समानुपातिकतर्फको मतपत्रमा समेत फरक चिह्न खोजेकोसमेत पाइयो । यसले पात्र र प्रवृत्तिमा समेत परिवर्तन खोजिएको देखाएको छ । यी सबै पक्षहरुलाई केलाएर हेर्दा यो चुनावले संसद् मात्र बनाएन, थुप्रै नयाँ सन्देशहरु पनि दिएको छ । सन्देशको मुख्य भाव प्रस्ट छ– अहिलेकै तरिकाले राज्य सञ्चालन हुन सक्दैन, अब कामको शैली परिवर्तन गर्नै पर्दछ । सबै निर्वाचित सांसदहरुले यो सन्देश बुझ्न सकून् । लोकतन्त्रको भविष्यमा यसैमा निर्भर छ । लेखक नेपाल पत्रकार महासंघका अध्यक्ष हुन् ।