डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित
काठमाडौं । डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित भएका छन् । डोटीबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका हुन् । बिहिबार बिहान सम्पन्न भएको मतगणना अनुसार आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे छन् भने एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरेकी छिन् । यस्तै, स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत, राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत प्राप्त गरेका छन् । डोटीमा कुल १ लाख २४ हजार ८७० मतदाता रहेका छन् । जसमध्ये ६३ हजार ५५२ मत खसेको थियो । ४ हजार ९६९ मत बदर भएका छन् ।
लमजुङमा दुई गुरुङको भिडन्त : उपमहासचिव गुरुङले महासचिव गुरुङलाई पराजित गरे
काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका गुरुङले ३४ हजार ९६९ मत ल्याएर विजयी बनेका हुन् भने माओवादीका गुरुङले ३१ हजार ७८१ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २३१ म्त, मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४५७, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले १४८ मत प्राप्त गरेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा ८० हजार १९२ मत खसेको थियो । जसमध्ये २ हजार ३८४ मत बदर भएको छ । लमजुङमा कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेको छन् । निर्वाचित गुरुङ यसअघि २०७४ को निर्वाचनमा लमजुङ प्रदेश सभा २ बाट निर्वाचित भई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत बनेका थिए । माओवादी केन्द्रका गुरुङ २०७४ सालमा एमाले र माओवादी गठबन्धन हुँदा प्रतिनिधि सभा सदस्यमा लमजुङबाटै निर्वाचित भएका थिए ।
भक्तपुर २ : एमालेका महेश बस्नेतलाई पराजित गर्दै दुर्लभ थापा निर्वाचित
काठमाडौं । भक्तपुरमा क्षेत्र नम्बर २ मा महेश बस्नेतलाई पराजित गर्दै दुर्लभ थापा निर्वाचित भएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले पराजित गरेका हुन् । बिहीबार बिहान सम्पन्न भएको मत गणनामा थापाले एमालेका बस्नेतलाई ८२३ मतान्तरले पराजित गरेका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५ सय मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत प्राप्त गरेका छन् । यस्तै, नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत ल्याएका छन् । उक्त क्षेत्रमा ६३ हजार ८४२ मत खसेको थिए । ६१ हजार ७९१ सदर हुँदा २ हजार ५१ मत भने बदर भएका छन् ।
काठमाडौं महानगरपालिमा कृषियोग्य जग्गा शुन्य, कित्ताकाट खुल्यो
काठमाडौं । काठमाडौं महानगरपालिकाले जग्गाको वर्गीकरण गर्दा कृषियोज्य जग्गा शुन्य रहेको छ । काठमाडौं महानगरपालिकामा भू–उपयोग परिषद्ले महानगरभित्र कृषियोग्य जमिन नभेटेपछि कित्ताकाट खुलेको छ । बुधबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षता बसेको समितिको बैठकले भू–उपयोग कार्यान्वयन समितिको सिफारिसका आधारमा महानगरपालिका भित्र कृषि योग्य जमिन नभएको निर्णय गरेको थियो । महानगरपालिका क्षेत्रको जमिन गैरकृषि क्षेत्रका रुपमा वर्गीकरण गरिएको मेयर शाहले जानकारी दिए । परिषद्को निर्णयअघि रोक्का भएको जमिनको कित्ताकाट र अंशवण्डा फुक्का हुने उनको भनाइ छ । बैठकमा परिषद्का सदस्य सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कार्यान्वयन समितिबाट आएको सिफारिसका विषयमा जानकारी गराउँदै कृषियोग्य जमिन नभएको सिफारिसका आधारमा निर्णय हुने प्रस्ताव पेश गरेका थिए । बैठकमा परिषदका सदस्य एवं कार्यपालिका सदस्याहरु सहभागी भएका थिए । भू–उपयोग ऐन २०७६ अनुसार सांस्कृतिक तथा पुरातात्विक महत्त्व क्षेत्र, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, नदी खोला, ताल, सिमसार क्षेत्र, व्यवसायिक र आवासीय क्षेत्र गरी जमिनलाई विभिन्न क्षेत्रमा वर्गीकरण गर्ने व्यवस्था छ । ऐन अनुसार पालिकाका प्रमुखको अध्यक्षता रहने परिषद्मा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था छ । ऐन बमोजिम कार्यपालिकाले परिषद्का रुपमा काम गर्नेछ । प्रमुखकै अध्यक्षतामा रहने कार्यान्वयन समितिमा पनि प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव हुने व्यवस्था छ ।
नेशनल लाईफका सीईओ खत्रीले गरे सुदूरपश्चिम पुगेर अभिकर्तालाई सम्मान
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चि प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री (सीईओ) को प्रमुख आतिथ्यतामा मंसिर ७ गते अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्वन्धमा प्रशिक्षण दिएका थिए । सीईओ खत्रीले, कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यवसायिक बनाउदै लैजाने नीति अनुरुप अभिकर्तासँग विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको बताए । कार्यक्रममा महेन्द्रनगर शाखासँग आवद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहेका १७५ जना अभिकर्ताको उपस्थिती थियो । उक्त शाखाबाट उत्कृष्ठ व्यवसाय गर्ने अभिकर्ताहरुलाई सीईओ खत्रीलेले खादा माला र मायाको चिनोले सम्मान गरेका थिए । सम्मानित हुने अभिकर्ताहरुले कम्पनीका सीईओबाट आफ्नै कार्यथलोमा सम्मानित हुन पाउँदा खुशी लागेको बताएका थिए । कार्यक्रम महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्टले संचालन गरको थिए भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले सहभागी अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कुमारी र एनसीसी बैंकबीच मर्जरको अन्तिम सम्झौता, पुस १७ गतेभित्र एकीकृत कारोबार
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरमा जानका लागि अन्तिम सम्झौता भएको छ । दुवै बैंकबीच बुधबार कुमारी बैंकको केन्द्रिय कार्यालय टंगालमा मर्जरमा जानका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । दुबै बैंकका संचालक समितिहरुले १ः१ अनुपात स्वाप रेसियोमा मर्ज हुने गरी अन्तिम सम्झौता गरेका हुन् । यद्यपी कुमारी बैंक र एनसीसी बैंकले तयार गरेको डियू डेलिजेन्स (डीडीए) रिपोर्टमा १००ः९६.५९ को स्वाप रेसियो आएको थियो । डीडीए रिपोर्टमा कुमारी बैंकको १०० आउँदा एनसीसी बैंकको ९६.५९ स्वाप रेसियो आएको थियो । डीडीए रिपोर्टमा फरक स्वाप रेसियो आएको भएपनि समान हैसियतमा मर्ज हुने सहमति भएको हो । अर्थात् कुमारी बैंकमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने छन् । एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते प्रारम्भिक मर्जर सम्झौता भएको थियो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ । दुवै बैंकबीच एकीकृत कारोबार पुस १७ गतेभित्र गर्ने तयारी रहेको कुमारी बैंकका अध्यक्ष कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जेबी राणाले बताए । उनले अहिले ‘सुपर फास्ट’ किसिमले मर्जरको तयारी भइरहेको बताएका छन् ।
गोरखा–२ मा प्रचण्ड १२ हजार मतले अगाडि
गोरखा । चर्चामा रहेको गोरखा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य प्रतिस्पर्धीसँग १२ हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् । आज साँझ ६ बजेसम्मको मतगणनामा उनले २१ हजार ६४ मत प्राप्त गर्दै आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेका हुन् । कूल ४१ हजार चार सय सात मतगणना हुँदा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले आठ हजार चार सय ६३ मत पाएका छन् । बुर्लाकोटी अध्यक्ष दाहालभन्दा १२ हजार छ सय ११ मतले पछाडि पर्नुभएको छ । त्यस्तै नेकपा (एमाले) का अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा रहेका छन् । उनले अहिलेसम्म पाँच हजार छ सय ३६ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए ।
टोफिचो तड्का लिची चकलेट बजारमा
काठमाडौं । सूर्य नेपालले टोफिचो तड्का लिची चकलेट बजारमा ल्याएको छ । कम्पनीले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचो अन्तर्गत कम्पनीले चकलेट बजारमा ल्याएकाे हाे । तड्का लिचीमा लिचीको मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको कम्पनीले बताएकाे छ । टोफिचो तड्का लिचीको बिक्री मूल्य प्रति गोटा २.५० रुपैयाँ ताेकिएकाे छ । यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । टोफिचो तड्का आँप र पाइनएप्पलको स्वादमा उपलब्ध हुँदै आएको छ र लिचीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । टोफिचो तड्का लिची नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध हुनेछन् । हाल टोफिचो अन्तर्गत फ्रुटी फन, फ्रुटी डिलाइट, डुवोज, क्रिमी ल्याक्टो, तड्का (आँप तथा पाइनएप्पल), चटपटे फन तथा कफिटिनो बजारमा उपलब्ध छन् ।