काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
एमालेका गुरुङले ३४ हजार ९६९ मत ल्याएर विजयी बनेका हुन् भने माओवादीका गुरुङले ३१ हजार ७८१ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २३१ म्त, मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४५७, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले १४८ मत प्राप्त गरेका छन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा ८० हजार १९२ मत खसेको थियो । जसमध्ये २ हजार ३८४ मत बदर भएको छ । लमजुङमा कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेको छन् ।
निर्वाचित गुरुङ यसअघि २०७४ को निर्वाचनमा लमजुङ प्रदेश सभा २ बाट निर्वाचित भई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत बनेका थिए । माओवादी केन्द्रका गुरुङ २०७४ सालमा एमाले र माओवादी गठबन्धन हुँदा प्रतिनिधि सभा सदस्यमा लमजुङबाटै निर्वाचित भएका थिए ।