विकासन्युज

नेप्सेमा नेशनल लाईफको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको १५ प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ५२१ रूपैयाँ ५७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५९९ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । बिहीबार सोही मूल्य अनुसार कारोबार हुनेछ । इन्स्योरेन्स कम्पनीले मंसिर १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा नेशनल लाइफ भवन केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले २०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

नेपाल लाईफको १५.७९ प्रतिशत लाभांश आज पारित हुँदै

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज हुँदै छ । कम्पनीको २२ औँ वार्षिक साधारण सभा आज मंसिर ८ गते, होटल भिष्वा बिरगंजमा बिहान ९ बजे सुरु हुनेछ । इन्स्योरेन्स कम्पनीको कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाएको थिया । इन्योरेन्स कम्पनीको सभाले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट कायम चुक्ता पूँजीको सेयरधनीहरुलाई १५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७७÷७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्ने प्रस्ताव पारित गर्नेछ । इन्स्योरेन्स कम्पनीले लाभांश तथा सभा प्रयोजनार्थ कार्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले कार्तिक १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

पेट्रोलियम आयात घट्यो

काठमाडौं । पछिल्लो समय आयात हुने वस्तुको सूचीमा सबैभन्दा माथि रहँदै आएको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात पोहोरको तुलनामा घटेको पाइएको छ । डिजेल आयातको परिमाण २६ दशमलव ६३ प्रतिशतले घटेको हो । पेट्रोलियम पदार्थ आयातको मात्रा घटे पनि कच्चा तेलको मूल्यमा भएको चर्को वृद्धि र नेपाली मुद्रा अवमूल्यनका कारण पैठारीका लागि बाहिरिएको रकम भने बढेको छ । पोहोर ३४ अर्ब ३३ करोड २१ लाख रुपैयाँ डिजेल आयातमा बाहिरिएकोमा यसपालि यो घटेर ४४ अर्ब २८ करोड ५३ लाख १९ हजार रुपैयाँ पुगेको छ । यसपालि साउन ( कात्तिकमा सबैभन्दा बढी आयात भएको वस्तु डिजेल नै हो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

लाइसेन्सको नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारी, प्रहरी र प्रदेश यातायात कार्यालयका कर्मचारीहरू निर्वाचनमा खटिएकाले विभागले नयाँ आवेदन खुला गर्न सकेको छैन । निर्वाचनको मत गणना अन्तिम चरणमा नपुग्दासम्म आवेदन खुलाउन सहज नुहने विभागले जनाएको छ । विभागले मङ्सिर १ गतेदेखि लाइसेन्स आवेदन बन्द गरेको थियो । कर्मचारीहरू निर्वाचनमा खटिनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ आवेदन बन्द गरेको हो । विभागले ट्राफिक प्रहरी र सम्बन्धित कार्यालयसँग समन्वय गरेर खुला गर्ने जनाएको छ । विभागका प्रवक्ता ईश्वरीप्रसाद पनेरुले भने, “प्रहरी र प्रदेश यातायात कार्यालयसँग बिहीबार बैठक बस्दैछौँ, बैठकपछि आवेदन खुला गर्ने मिति टुङ्गो लाग्छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

काठमाडौं । डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित भएका छन् । डोटीबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका हुन् । बिहिबार बिहान सम्पन्न भएको मतगणना अनुसार आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे छन् भने एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरेकी छिन् । यस्तै, स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत, राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत प्राप्त गरेका छन् । डोटीमा कुल १ लाख २४ हजार ८७० मतदाता रहेका छन् । जसमध्ये ६३ हजार ५५२ मत खसेको थियो । ४ हजार ९६९ मत बदर भएका छन् ।

लमजुङमा दुई गुरुङको भिडन्त : उपमहासचिव गुरुङले महासचिव गुरुङलाई पराजित गरे

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका गुरुङले ३४ हजार ९६९ मत ल्याएर विजयी बनेका हुन् भने माओवादीका गुरुङले ३१ हजार ७८१ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २३१ म्त, मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४५७, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले १४८ मत प्राप्त गरेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा ८० हजार १९२ मत खसेको थियो । जसमध्ये २ हजार ३८४ मत बदर भएको छ । लमजुङमा कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेको छन् । निर्वाचित गुरुङ यसअघि २०७४ को निर्वाचनमा लमजुङ प्रदेश सभा २ बाट निर्वाचित भई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत बनेका थिए । माओवादी केन्द्रका गुरुङ २०७४ सालमा एमाले र माओवादी गठबन्धन हुँदा प्रतिनिधि सभा सदस्यमा लमजुङबाटै निर्वाचित भएका थिए ।

भक्तपुर २ : एमालेका महेश बस्नेतलाई पराजित गर्दै दुर्लभ थापा निर्वाचित

काठमाडौं । भक्तपुरमा क्षेत्र नम्बर २ मा महेश बस्नेतलाई पराजित गर्दै दुर्लभ थापा निर्वाचित भएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले पराजित गरेका हुन् । बिहीबार बिहान सम्पन्न भएको मत गणनामा थापाले एमालेका बस्नेतलाई ८२३ मतान्तरले पराजित गरेका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५ सय मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत प्राप्त गरेका छन् । यस्तै, नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत ल्याएका छन् । उक्त क्षेत्रमा ६३ हजार ८४२ मत खसेको थिए । ६१ हजार ७९१ सदर हुँदा २ हजार ५१ मत भने बदर भएका छन् ।

काठमाडौं महानगरपालिमा कृषियोग्य जग्गा शुन्य, कित्ताकाट खुल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले जग्गाको वर्गीकरण गर्दा कृषियोज्य जग्गा शुन्य रहेको छ । काठमाडौं महानगरपालिकामा भू–उपयोग परिषद्ले महानगरभित्र कृषियोग्य जमिन नभेटेपछि कित्ताकाट खुलेको छ । बुधबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षता बसेको समितिको बैठकले भू–उपयोग कार्यान्वयन समितिको सिफारिसका आधारमा महानगरपालिका भित्र कृषि योग्य जमिन नभएको निर्णय गरेको थियो । महानगरपालिका क्षेत्रको जमिन गैरकृषि क्षेत्रका रुपमा वर्गीकरण गरिएको मेयर शाहले जानकारी दिए । परिषद्को निर्णयअघि रोक्का भएको जमिनको कित्ताकाट र अंशवण्डा फुक्का हुने उनको भनाइ छ । बैठकमा परिषद्का सदस्य सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कार्यान्वयन समितिबाट आएको सिफारिसका विषयमा जानकारी गराउँदै कृषियोग्य जमिन नभएको सिफारिसका आधारमा निर्णय हुने प्रस्ताव पेश गरेका थिए । बैठकमा परिषदका सदस्य एवं कार्यपालिका सदस्याहरु सहभागी भएका थिए । भू–उपयोग ऐन २०७६ अनुसार सांस्कृतिक तथा पुरातात्विक महत्त्व क्षेत्र, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, नदी खोला, ताल, सिमसार क्षेत्र, व्यवसायिक र आवासीय क्षेत्र गरी जमिनलाई विभिन्न क्षेत्रमा वर्गीकरण गर्ने व्यवस्था छ । ऐन अनुसार पालिकाका प्रमुखको अध्यक्षता रहने परिषद्मा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था छ । ऐन बमोजिम कार्यपालिकाले परिषद्का रुपमा काम गर्नेछ । प्रमुखकै अध्यक्षतामा रहने कार्यान्वयन समितिमा पनि प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव हुने व्यवस्था छ ।