सरकारले सुरु गर्यो बाजुरा घटनाको अनुसन्धान
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा दुई व्यक्तिको मृत्यु भएको घटनामा अनुसन्धान सुरू गरेको छ । आयोगका डा टीकाराम पोखरेलका अनुसार यही मङ्सिर ४ गते दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान सुरु गरिएको र अनुसन्धानका लागि सहयोग गर्न आग्रह गरे । घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली उक्त स्थानतर्फ प्रस्थान गरेको छ । आयोगले अनुसन्धान गर्न गएकोे टोलीलाई आवश्यक सहयोग गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनितिक दलहरू, नागरिक समाज, मानव अधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारण सबैसँग अनुरोध गरेको छ । मतदानको दिन त्रिवेणी नगरपालिका–७ स्थित दम्था मतदानस्थलमा एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप भएपछि प्रहरीले फायरिङ गरेको थियो । त्यसक्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर सञ्जिव अएडीको मृत्यु भएको थियो । सोही घटनामा चेतन अएडीको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । उक्त घटनापछि मतदान रोखिएको थियो । अहिलेसम्म पनि पुनः मतदान भएको छैन ।
‘यो जितलाई मैले आफ्नो जीवनको अन्तिम अवसरको रुपमा लिएको छु’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको धन्यवादसभामा उनले झण्डै ७५ वर्ष लामो सङघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारलाई खोस्न नदिइने बताए । देश दुर्घटनातिर जाने होकी भन्ने आशङ्का यतिबेला सबैमा पैदा भएको भन्दै अध्यक्ष दाहालले अब राजनीतिक नेतृत्वले फरक ढङ्गबाट गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताए । ‘राजनीतिक दलका नेतालाई गाली गर्ने स्थिति सहन सकिन्थ्यो’, उनले भने, ‘देश भूमरीमा पर्ने स्थिति स्वीकार्य छैन ।’ उनले निर्वाचन सफल भए पनि गठबन्धनमा अपेक्षा गरेअनुसार परिणाम नआएको उल्लेख गरे । अध्यक्ष दाहालले निर्वाचनका बेला आएर आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए । उनले भने, ‘मैले गोरखामा आएर उम्मेदवारी दिँदै गर्दा विभिन्न समयमा जनताको अगाडि गरेका कबुल पूरा गर्नेछु । सुशासन र समृद्धि राजनीतिक परिवर्तनको दिगोपनका लागि नयाँ काम थाल्नेछु ।’ अध्यक्ष दाहालले गोर्खाली जनताले मत दिएर फेरि सिंहदरबार प्रवेश गर्दै गर्दा आफूलाई नयाँ जिम्मेवारी र गौरव अनुभूति भएको बताए । ‘गोर्खाली जनताले दिएको जिम्मालाई मैले आफ्नो जीवनको अन्तिम अवसरमा रुपमा लिएको छु’, उनले भने, ‘मैले आफ्नो सम्पूर्ण तागत विकास, समृद्धि र सुशासनको अभियान खर्च गर्नेछु ।’ रासस
मंगलम इण्डष्ट्रिज बन्यो औद्योगिक उत्पादन क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने कम्पनी
काठमाडौं । आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वरले मंगलम इण्डष्ट्रिजलाई सम्मान गरेकाे छ ।विभागले त्रिपुरेश्वर कार्य क्षेत्र अन्तर्गत आर्थिक वर्ष २०७७/७८ औद्योगिक उत्पादन क्षेत्रबाट सर्वाधिक आयकर दाखिला गर्ने कम्पनी भएकाे भन्दै मंगलम इण्डष्ट्रिजलाई सम्मान गरेकाे हाे । राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आयोजित विशेष समारोहका बीच कम्पनीलाई प्रदान गरिएको सम्मान पत्र मंगलम इण्डष्ट्रिजका लागि कम्पनीका अध्यक्ष सुदर्शन चुरिवाल र निर्देशक सशी चुरिवालले ग्रहण गरेका थिए । मंगलमले घर तथा उद्योग निर्माणको क्रममा आवश्यक पर्ने पाइप तथा फिटिङ्स सम्बन्धी सम्पूर्ण सामाग्रीहरु उत्पादन गर्दै आएको छ । यो खानेपानी आपूर्ति, प्लम्बिङ, स्यानिटेसन र ड्रेनेज पाइपहरूको नेपालको अग्रणी निर्माता हो ।
अझै दुई वर्ष नाफा कमाउन नसक्ने अवस्थामा अपर तामाकोशी, सेयरधनीले लाभांश नपाउने
काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको नाफा घटेको छ । गत भदौ २५ गतेदेखि विद्युत उत्पादन सुरु गरेको कम्पनीले असोज मसान्तसम्ममा ७९ करोड ७७ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । सञ्चालन लागतमा भएको वृद्धिले कम्पनीको नाफा ७.२४ प्रतिशतले घटेको बुझिएको छ । गत आर्थिक वर्ष सोही अवधिमा कम्पनीले ८६ करोड १९ हजा रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ४५६ मेगावाट क्षमता रहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वि.सं. २०७८ भाद्र २५ देखि पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन सुरु गरेको थियो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस, बाढी पहिरो लगायत कारणहरूले आयोजना निर्माण सम्पन्न अवधी बढेको र समग्र आयोजनाको लागत वृद्धि भएकाले आयोजनाको लागत पनि बढेको थियो । बैंकको ब्याज खर्च बढेकोले पनि कम्पनीको नाफामा असर गरेको आयोजनाका उप-निर्देशक (लेखा) सुरेश राज खकुरेलले बताए । कम्पनीको विद्युत बिक्री आम्दानी बढ्न सक्ने अवस्था नरहेकोले आगामी आर्थिक वर्षमा समेत नाफामा असर पर्न सक्ने उनको भनाइ छ । अपर तामाकोसीले सरकार र अन्य संस्थाहरुलाई ठूलो रकम बराबरको ऋण तिर्नुपर्नेछ । हाल विद्युत उत्पादन गरेर आम्दानी गरिरहेको भएपनि कर्जा तिर्नुपर्ने भएकाले नाफामा असर गरिरहेको कम्पनीको भनाइ छ । आयोजनाले नेपाल सरकारलाई ३० वटा किस्ता र अन्य संस्थागत ऋणलाई ६० वटा किस्ता गरी १५ वर्षमा ऋण चुक्ता गरीसक्ने गरी तालिका बनाएको छ । सोही तालिका बमोजिम कम्पनीले आर्थिक वर्ष २०७९/८० असोजसम्म नेपाल सरकारलाई १ तथा अन्य संस्थाहरूलाई ३ किस्ता सावाँ तथा व्याज भुक्तानी गरिसकेको छ । चालू आर्थिक वर्षको तीन महिनामा कम्पनीको विद्युत बिक्री आम्दानी १०६ प्रतिशत बढेर ३ अर्ब ५६ करोड १७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ७२ करोड ७७ लाख ५१ हजार रुपैयाँ विद्यतु बिक्रीबाट आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ४० करोड ४५ लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ३६ करोड ६३ लाख ६६ हजार रुपैयाँ सञ्चालन आम्दानी रहेको थियो । कम्पनीको वित्तीय आम्दानी १ अर्ब ६१ करोड २ लाख ६२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । जसले गर्दा नाफामा असर परेको हो । कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ९४ करोड ९४ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५३ पैसा रहेको छ । कम्पनीकोप्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ ५९ पैसा रहेको छ । आयोजनाका उप-निर्देशक (लेखा) सुरेश राज खकुरेलकम्पनीको विद्युत उत्पादन क्षमता अनुसार नै विद्युत उत्पादन भइरहेको बताउँछन् । विद्युत उत्पादन सुरु भएको १५/१६ महिनाको अवधिमा विद्युत उत्पादन एकनाश रहेकाले आम्दानी पनि राम्रो भइरहेको उनले उनको दावी छ । ‘तामाकोशीमा जति पानी आउनु पर्ने हो आइरहेको छ, उत्पादन घटेको छैन, जति स्टमेट गरिएको थियो सोही अनुसार विद्युत उत्पादन भइरहेकोछ,’ उनले भने । गत वर्ष भदौमा कम्पनीले विद्युत उत्पादन सुरु गरेको थियो । कम्पनीले गत वर्ष साउन, भदौ र असोज गरी तीन महिना आम्दानी भएको थियो । तर, दुई महिनाको खर्चलाई क्यापिटलाइज गरेर असोजको मात्रै वित्तीय विवरणमा उल्लेख गरेको उनले बताए । चालू आर्थिक वर्षको तीन महिनाको खर्च आएको उनको भनाइ छ । यस वर्ष साउन, भदौ र असोजमा ब्याज खर्च भएकाले गत वर्षको तुलनामा नाफा कम भएको उनले स्पष्ट पारे । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेका कारण आयोजनाको लागत पनि बढेको उनले बताए । ‘ब्याजदर बढेकाले लागत पनि बढेको छ, कम्पनीले ठूलो रकम कर्जा लिएको छ, कम्पनीको खर्च पनि ठूलो हुन्छ, यसकारण गत असारसम्म कम्पनी घाटामा छ, एक/दुई वर्ष अझै घाटामा रहने देखिन्छ, ब्याज घट्यो भने केही सहज हुन सक्छ तर अहिलेको तुलनामा एक/दुई वर्ष नाफामा आउन गाह्रो हुन्छ’ उनले भने । चालू आर्थिक वर्षमा कम्पनीका सेयरधनीहरुलाई लाभांश वितरण गर्न नसक्ने उनको भनाइ छ । कम्पनी नोक्सानीमा रहेकाले सेयरधनीहरुलाई लाभांश वितरण गर्न असक्षम रहेको उनले बताए । ‘कम्पनीका सेयरधनीहरलाई लाभांश वितरण गर्न नाफामा हुनुपर्याे, गत असार मसान्त सम्ममा २ अर्ब बराबरको नोक्सानीमा छ, नाफा भए मात्रै लाभांश वितरण गर्ने भएकाले यो आर्थिक वर्षमा सम्भव छैन,’ उनले भने । ब्याजदरको लागत सस्तो भयो भने चाँडै लाभांश वितरण गर्न सकिने उनको तर्क छ । कम्पनीले २२ मेगावाटको रोल वालिङमा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त खोलाको पानीलाई डाइभर्सन गरेर तामाकोशीमा हाल्ने गरी काम भइरहेको उनले बताए । उक्त आयोजना निर्माण गर्नका लागि कम्पनीले सेयधरनीहरुबाट रकम उठाउने भएको छ । जसका लागि १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने तयारी अन्तिम चरणमा रहेको उनले बताए । हकप्रद सेयर निष्कासन पश्चात् कम्पनीको वित्तीय सूचकहरूमा सुधार हुने अपेक्षा गरिएको उनको बुझाइ छ । ‘रोलवालिङ खोला जलविद्युत आयोजना निर्माणसम्पन्न र आयोजना निर्माण सम्बन्धी बाँकी रहेका भुक्तानी गर्न १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने तयारी छ, हकप्रद सेयर निष्काशनको प्रक्रिया अन्तिम चरणमा छ, कम्पनी रजिष्ट्रारबाट गर्नुपर्ने सबै काम सम्पन्न भइसक्यो, इस्यू म्यानेजर नियुक्त गरिसकेको छ, अब धितोपत्र बोर्डको अनुमतिका लागि निवेदन दिने तयारी छ, चालू आर्थिक वर्ष भित्र हकप्रद सेयर आउँछ,’ उनले भने । रोलवालिङ खोला जलविद्युत आयोजना निर्माणको प्रारम्भिक कार्य सुरु भइसकेको र आयोजनाको बाँकी रहेका अन्य प्रक्रिया टुङ्गो लगाइ यथाशिघ्र निर्माण सम्पन्न गर्ने आयोजनाले बताएको छ । आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा प्रवेश गरेको छ । आयोजनाको निर्माण अवधी तथा लागतका कारण ब्याज खर्च, ह्रासकट्टि खर्च र अन्य खर्चहरूको न्यूनिकरण गर्नुपर्ने कम्पनीको मुख्य चुनौति रहेको छ । साथै, विद्युत बिक्री आयको सुनिश्चितता गरीसञ्चालन तथा वित्तीय स्थिति मजबुत गरेर नाफा वृद्धी गर्ने र सेयरधनीहरुलाई उचित लाभाशं दिने प्रमुख लक्ष्यसँगै चुनौति रहेको उनको भनाइ छ ।
सरकारले सोचे जस्तो विदेशी लगानी आउन सकेन : सचिव ज्ञवाली
काठमाडौं । उद्योग सचिव तोयम रायले रुग्ण उद्योग चलाउने वा नचलाउने विषयमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव रायले रुग्ण उद्योग चलाउने वा नचलाउने भन्ने बारेमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक भएको बताएका छन् । उनले रुग्ण उद्योगमा प्रयोग भएका मेसिनको पाटपूर्जा बिग्रिएमा विश्वमा नै नपाउने अवस्था रहेकाले निजी क्षेत्र र सरकार बसेर गम्भिर रुपमा छलफल गर्न आवश्यक रहेको भनेका छन् । उनले सरकारले विराटनगरको जुट मिल, हेटौँडाको कपडा उद्योग र जनकपुरको चुरोट कारखाना सञ्चालनमा ल्याउने भनेपनि समस्या रहेको बताए । पछिल्लो समय निजी क्षेत्र चार वस्तुको आयात प्रतिवन्ध भएको विषयलाई ठूलो मुद्दा बनाएको जानकारी दिए । सरकारले ६ महिनासम्म पाँच वस्तुको आयात खुल्ला गरेको भए थप ५० अर्बको सामान आयात हुने देखिएको बताए । सचिव रायले चार वटा वस्तुको आयात प्रतिवन्धले मात्रै उद्योग व्यापारमा माग कमी नभएको बताए । उनले भने, ‘अहिले हामी सबै आयात प्रतिवन्धमा रोकिरहेका छौं । पाँच महिनासम्म ५ वडा अहिले आयात जम्मा ४ वडा वस्तु रोकिएको छ । सबै वस्तु खुला गरेर आयात गरेको भए ६ महिना करिव ६ अर्बको वस्तु आयात भएको छ । अरु ५० अर्ब बढीको आयात हुने थियो । उद्योग बनाउने थाहा पाउने बित्तिकै एक रातमा नै जग्गाको मूल्य बढ्छ । त्यस्ता उद्योग सञ्चालनमा ल्याउने वा नचालउने विषयमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्नुपर्ने बेला आएको छ ।’ त्यस्तै वाणिज्य सचिव डा. तोयनारायण ज्ञवालीले सरकारले सोचे जस्तो विदेशी लगानी आउन नसकेको बताए । उनले नेपाल जस्तै देश भियतनाम,कम्बोडिया जस्ता देशहरुमा जीडिपीको १५ प्रतिशतसम्म पुगेको बताए । उनले नेपालमा भने जिडीपीको १ प्रतिशतमा रहेको जानकारी दिए । उनले उद्योगहरुको अन्तराष्ट्रिय देशहरुमा गुणस्तर तथा लागतको हिसावले प्रतिष्पर्धा गर्न सक्नुपर्ने अवस्था रहेको बताए । मन्त्रालयले अहिले आएका नयाँ स्टार्ट अप उद्यमको क्षेत्रमा पनि जान आवश्यक रहेकाले मन्त्रालयले काम गर्ने जानकारी दिए ।
एनसेलले बाँड्न थाल्यो ई–सिम, कुन कुन मोबाइलमा प्रयोग गर्न मिल्छ ?
काठमाडौं । एनसेल आजियाटाले शुक्रबारदेखि आफ्ना ग्राहकहरुलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ । यससँगै एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्नेछन् । ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भईरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ । यो भौतिक रुपमा प्रयोग हुने सिम भन्दा सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन । एनसेलका ग्राहकहरूले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भईरहेको सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्दछ । ई–सिम सुचारु गर्नु भन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्ने छैन । ग्राहकले आफुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । नयाँ ग्राहकहरुले पनि कुनै पनि एनसेल सेन्टरबाट आफुले चाहेको स्टार्टर प्याकका साथ आवश्यक प्रक्रिया पुरा गरि ई–सिम लिन सक्छन् । ई–सिम सुविधा लिनका लागि, ग्राहकहरूका साथमा ई–सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ । ग्राहकहरूले आफ्नो मोबाइल ई–सिम चल्ने/नचल्ने थाहा पाउन *०६# डालय गर्न सक्छन् । यदि इम्बेडेड आईडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई–सिम चल्छ । ग्राहकलाई सेवा प्रदान गर्न नयाँ प्रविधि र सेवाहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धताअनुरूप चल्ने सुविधा सञ्चालनमा ल्याउन पाउँदा कम्पनी खुसी रहेको एनसेलले बताएको छ । उपभोक्ता र व्यवसाय दुवै माझ कनेक्टेड डिभाइसहरुको प्रयोग बढ्ने क्रममा रहेकाले ई–सिमले सूचना तथा सञ्चार प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ । आइफोनका पछिल्ला मोडलहरु जस्तै आइफोन एक्सएस सिरिज, आइफोन ११ सिरिज, आइफोन १२ सिरिज, आइफोन १३ सिरिज र आइफोन १४ सिरिजमा ई–सिमको सुविधा रहेको छ । त्यसै गरि सामसङको ग्यालेक्सी ए२१ सिरिज, ग्यालेक्सी ए२२ सिरिज, ग्यालेक्सी जेड फ्लिप सिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई–सिमको चल्ने सुविधा रहेको हुन्छ । ब्रान्ड र मोबाइलका मोडलहरुका आधारमा विभिन्न मोबाइलहरुमा एक भन्दा बढि ई–सिम नम्बर दर्ता गर्न सकिने सुविधा पनि रहेको हुन्छ । यद्यपि एक पटकमा एक मात्र नम्बर सक्रिय रहन्छ । ई–सिमले सूचना तथा सञ्चार प्रविधि तथा इन्टरनेट अफ थिङ्गस्मा पनि ठूलो महत्व राख्दछ । विकसित देशहरुमा यो कार, घरायसी सामानहरु र औद्योगिक क्षेत्रका मसिनहरुमा पनि प्रयोग हुने गरेको छ ।
आगामी साता मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साता चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाका लागि तयारी गरिरहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी साता मौद्रिक नीतिको समीक्षा हुने बताएका हुन् । शुक्रबार इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजको ४४ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । नेपाल राष्ट्र बैंकले साउन ६ गते चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
दावी भुक्तानीमा आक्रामक बन्दै नेपाल लाइफ, गर्यो ५ अर्ब बढीको मृत्यु दावी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा ५ अर्ब ३ करोड रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी हो । कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्री बनाएको छ । यसै क्रममा यस इन्स्योरेन्सले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाईएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए । प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दावी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीले बताएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ । सम्पूर्ण कागजात प्राप्त भए लगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने कुरा सहर्ष जानकारी गराएको छ । २०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी १ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म १ खर्ब ९७ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० वटा बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।