विकासन्युज

शनिवार नर्भिकमा यूरोलोजी टिमको निःशुल्क ओपिडी, शल्यक्रियामा पनि छुट

काठमाडौं । नर्भिक अस्पतालले आउने शनिवार (मंसिर १० गते) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म दुई विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको हो । शनिवारको निःशुल्क ओपिडी सेवालाई नर्भिकले पछिल्लो समय पनि निरन्तरता दिएको छ । नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरिरहेको छ । सर्वसाधारणबाट माग आएपछि प्रत्येक शनिवारको अभियान जारी राखिएको अस्पतालले जनाएको छ । आउने शनिवार यूरोलोजी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ ।

काठमाडौं क्षेत्र नम्बर १ मा निर्वाचित प्रतिनिधिसभाका सांसद सिंहले लिए प्रमाणपत्र

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद प्रकाशमान सिंहले आफू निर्वाचित भएको प्रमाण पत्र लिएका छन् । काँग्रेस नेता सिंहलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शुक्रबार एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् । काँग्रेस नेता सिंहले ७ हजार १४३ मत ल्याई राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पराजित गरेका थिए । मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए । त्यसैगरी कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १ का प्रदेशसभा १ का सांसद दिपेन्द्र श्रेष्ठ र प्रदेशसभा २ का सांसद सुरजचन्द्र लामिछानेलाई पनि प्रदेशसभाबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत खतिवडाले श्रेष्ठ र लामिछानेलाई सो प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत खतिवडाले प्रतिनिधिसभामा निर्वाचित सांसद सिंह र प्रदेशसभाका निर्वाचित सांसदद्धय श्रेष्ठ र लामिछानेलाई बधाईँ समेत दिएका थिए ।

नेपाली उद्योगलाई प्रतिष्पर्धी बनाउन उत्पादन लागतलाई कम गर्नुपर्छ : शंकरदास बैरागी

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपाली उद्योगलाई प्रतिष्पर्धी बनाउनको लागि उत्पादन लागतलाई कम गर्नुपर्ने बताएका छन् । शुक्रवार आठौं उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले उद्योगलाई प्रतिष्पर्धी बनाउनको लागि उत्पादन लागत कम गर्नुपर्ने विश्वभरको मान्यता रहेकाले नेपालमा पनि आवश्यक रहेको बताएका हुन् । उनले उद्योग प्रतिष्पर्धी नभएसम्म फस्टाउन नसक्ने जानकारी दिए । उनले उद्योगमा उत्पादन वृद्धि भएर निर्यात नबढाएसम्म मुलुकमा व्यापार घाटा चुलिँदै जाने बताए । मुख्य सचिव बैरागीले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा वाह्य दबाब रहेकाले अवस्था असहज रहेको भनेका छन् । उनले वाह्य क्षेत्रको असरले अर्थतन्त्रमा देखिको असहज अवस्था लामो समय नरहने विश्वास व्यक्त गरे । उनले अर्थतन्त्र तथा उद्योग क्षेत्रमा रहेका समस्याको सबैले पहिचान गरिसकेकाले निजी क्षेत्र र सरकार मिलेर समाधान गर्नुपर्ने बताए । उनले भने, ‘नेपालको मात्रै नभएर विश्वकै अवस्था त्यस्तै रहेको छ । त्यसैले समस्या समाधानको लागि निजी क्षेत्र र सरकार मिलेर समाधान गर्नुपर्छ  । नेपालमा अहिले भएको क्षमताले नभ्याएको हुनाले लगानी मैत्री वातावरण बनाउन आवश्यक छ । नेपालको उद्योग क्षेत्रका समस्या र विकासमा ठूलो चुनौती भनेको नीति बनाएर कार्यान्वयन नहुने हो । नेपाली उद्योग प्रतिष्पर्धी हुनको लागि उत्पादन लागत कम हुनैपर्छ । उद्योग नफस्टाएसम्म उत्पादन बढ्दैन । उत्पादन गर्न नसक्दा निर्यात बढ्दैन र निर्यात गर्न नसक्दा व्यापार घाटा बढ्दै जान्छ ।’ उनले नेपालमा भएका उद्योगको क्षमताले नभ्याएको हुनाले लगानी मैत्री वातावरण बनाएर वैदेशीक लगानी ल्याउन सक्नुपर्ने बताए । उनले नेपालको उद्योग क्षेत्रका समस्या र विकासमा ठूलो चुनौती नीति कार्यान्वयन भएको स्वीकार गरे ।

कमलादीमा तयार भयो स्काई वाक टावर, व्यापार गर्न बुकिङ खुल्ला, कति लाग्छ टिकट ?

काठमाडौं । कमलादीमा निर्माणाधीन स्काईवाक टावरमा व्यापार व्यवसाय गर्न चाहनेहरूको लागि बुकिङ खुल्ला भएको छ । टावरको ३ वटा तलालाई भाडामा लगाउने योजनाका साथ निर्माण कम्पनीले बुकिङ खुल्ला गरेको हो । टावर निर्माणको काम अन्तिम चरणमा पुगेसँगै बुकिङ खुल्ला गरेको वन्डर्स नेपाल प्रालिका टावर सुपरभाइजर निखिल दाहालले बताए । टावरको २४ र २५ तलामा व्यापार गर्न चाहनेहरूको लागि बुकिङ खुल्ला भएको छ । ‘अहिले टावरमा व्यापार गर्ने चाहनेहरुसँग सहकार्य गरी भाडामा दिने सोच बनाएका छौं, बुकिङ खुल्ला गरेसँगै बुकिङका लागि ग्राहकको अत्याधिक अर्डर आएको पनि छ,’ उनले भने । भुईँ तलामा पनि व्यवसायिक प्रयोजनका लागि ४९ वटा सटरहरूको निर्माण हुँदैछ । सो सटर पनि निर्माण कम्पनीले भाडामा दिने योजना बनाएको छ । अहिले पूर्ण रूपमा तयार भइनसके पनि अग्रिम बुकिङ भने खुल्ला रहेको दाहालले बताए । सो सटरमा एकै किसिमको पसल भने राख्न पाइने छैन । ‘हामीले अहिले नै भाडाको निर्धारण गरेका छैनौं, सटर पनि भाडामा लिन आए भने सटरको साइज हेरेर भाडामा दिने हो, अनुमानित एउटा सटरको भाडा मासिक ४० देखि ५० हजार रुपैयाँसम्म हुन सक्छ,’ उनले भने । १ अर्ब ८० करोड खर्च निर्माणकर्ता वन्डर्स नेपाल प्रालिले यो टावरको निर्माण पूर्ण रुपमा सम्पन्न गर्दा २ अर्ब रुपैयाँ लगानी हुने जनाएको छ । यसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । दाहालका अनुसार करिब एक अर्ब ८० करोड रुपैयाँ हालसम्म खर्च भइसकेको छ । स्काईवाक अर्थात् ‘आकाशमा पदयात्रा’ बाट काठमाडौंको दृश्यलाई निहाल्न सकिन्छ । भुईँबाट धेरै माथि चढ्ने र पूर्ण पारदर्शी शीशाको संरचनामा पदयात्रा गर्ने ठाउँ हो । उक्त टावरमा हिँड्दा आकाशमा हिँडेको अनुभूति हुन्छ । माथि अविराम आकाश देखिन्छ । उक्त टावरमा लिफ्ट अथवा हिँडेर पनि चढेर सिधै माथि पुगिन्छ । टपको सिसामा हिँड्दा ७८ मिटर तलको बगैँचा, पार्किङ, बजार देखिन्छ । नजिकका सडकमा शान्तसँग सवारी बगिरहेको देखिन्छ । साहसिक पर्यटकको लागि नयाँ गन्तव्य, मनोरञ्जनको नयाँ क्षेत्र उघार्न लागेको दाहाल बताउँछन् । वन्डर्स नेपाल प्रालिले कमलादीमा १३ रोपनी जग्गा २३ वर्षसम्मको लागि लिजमा लिएर स्काईवाक टावर बनाएको हो । लिज अवधि सकिएपछि सबै संरचना जग्गाधनीलाई छोडिदिनुपर्छ । यो टावरको निर्माण कार्य २०७७ सालबाट सुरु गरिएका थियो । करिब साढे २ वर्षको अवधिमा ९० प्रतिशत काम सम्पन्न भइसकेको दाहालले जानकारी दिए । फलाम नै फलामले बनेको टावर ७८ मिटर अग्लो छ । ‘भवन विभागको मापदण्ड अनुसार यसको सम्पूर्ण संरचना तयार पारेका छौं, यस भवनमा चढ्दा कुनै असुरक्षित हुन्छ कि भनेर कुनै संङ्का गर्नु पर्दैन, यो टावर सत प्रतिशत सुरक्षित छ,’ उनले भने । टावरको माथि सीमा हिँड्ने स्पेश २ हजार स्कवायर फिट हुन्छ । वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ हुन्छ । स्काईवाक एरियामा एकै पटक ५ सय जनासम्म अट्ने बताइएको छ । उक्त टावर माथि लिफ्ट मात्र नभई भर्याङबाट पनि चढ्न तथा ओर्लन सकिने सुविधा छ । भुईँ तलाको साइटमा गार्डेन, सपिङ सेन्टर, रेष्टुराँ हुनेछन् । त्यस क्षेत्रमा ७० वटा गाडी र ३ सय वटा मोटरसाइकल पार्किङ गर्न ठाउँ हुन्छ । टावरमा चढ्न एक हजार शुल्क निर्माणाधीन स्काईवाक टावर सञ्चालनमा आइ सकेको छैन । निर्माण कम्पनी केही महिनामा उक्त टावर सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । सञ्चालनमा आए पछि सो टावर चढ्नको लागि प्रति व्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने पनि दाहालले बताए । विदेशी पर्यटनको लागि शुल्क अलिक बढी लाग्नेछ । दाहालका अनुसार विदेशी नागरिकले सो टावर चढ्नको लागि १ हजारदेखि १५ सय रुपैयाँसम्म बुझाउनु पर्ने हुन्छ । टावर भित्रका रेस्टुरेन्टमा बस्दाको पैसा बेग्लै तिर्नुपर्ने हुन्छ । वर्षमा २/३ लाख मानिस यस टावरमा स्काई वाक गर्न आउने अनुमान निर्माणकर्ताको छ । टावरको सबैभन्दा माथि सिसामा हिँड्ने ठाउँछ । सिसा भन्दामाथि १२ फिट अग्लो निर्माण कम्पनीले बस्ने ठाउँ बनाएको छ । उक्त ठाउँमा बस्न चाहनेहरूले अग्रिम बुकिङ गर्नुपर्ने पनि दाहालले बताए । बुकिङ गर्दा १० हजार रुपैयाँ बुझाउनु पर्ने पनि दाहालले जानकारी दिए । ‘अहिले टावरमाथि सिसा राख्ने, फिनिसिङको काम भइरहेको छ, छिटै सञ्चालनमा ल्याउने हाम्रो तयारी हो, अहिले हामीले अनुमानित टावर चढ्दाको शुल्क मात्र निर्धारण गरेको छौं,’ उनले भने ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा डोटीमा साढे ८ हजार मत बदर

डोटी । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो मात्रा मत बदर भएको पाइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेको थियो । जसमध्ये ८ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ । एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा रहेको डोटीमा प्रतिनिधिसभातर्फको ४ हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले जानकारी दिए । उनका अनुसार प्रदेशसभा १ तर्फ ३३ हजार ३२२ मत खसेकोमध्ये एक हजार ९१९ मत बदर भएको छ । प्रदेशसभा २ मा ३० हजार २३४ मत खसेकोमध्ये एक हजार ७ सय ३२ मत बदर भएको छ । डोली जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा ९एकीकृत समाजवादी०का प्रेमबहादुर आले विजयी हुनुभएको छ । साथै, प्रदेशसभा १ मा नेकपा ९एमाले०का चक्र मल्ल प्रदेशसभा २ मा नेकपा माओवादी केन्द्रका शिवसिंह ओली विजयी भएका छन् । निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा बदर मतको सङ्ख्या बढेको उम्मेदवारहरुको गुनासो छ । प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम मत परिणाम सार्वजनिक गरिए पनि समानुपातिकतर्फको मतको नतिजा सार्वजनिक भएको छैन । अहिले समानुपातिकतर्फको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए ।

सप्तरी–२ मा हरेक निर्वाचनमा देखिन्छ नयाँ अनुहार, यसपटक डा. सिके राउत

सप्तरी । मङ्सिर ४ को निर्वाचनसम्म धेरैको अनुमान थियो सप्तरी क्षेत्र नं २ मा यसपटक नयाँ इतिहास कायम हुनेछ । तर त्यो अनुमान फेल भयो किनभने यहाँ यो निर्वाचनमा पनि नयाँ अनुहारको विजय भयो । यो निर्वाचन क्षेत्रले पुरानै इतिहास कायम गर्दै यसपटक पनि जनप्रतिनिधिका रुपमा नयाँ अनुहार निर्वाचित गरेको छ । अहिलेसम्मका निर्वाचनमा जनप्रतिनिधिका रुपमा नयाँ अनुहार निर्वाचित हुँदै आएको यो निर्वाचन क्षेत्रमा यसपटक पनि जनमत पार्टीका अध्यक्ष डा सीके राउत निर्वाचित भए । डा राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छने । डा राउतको ३५ हजार ४२ मत र यादवको १६ हजार नौ सय ७९ मत रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । गत २०७४ सालको निर्वाचनमा जसपा अध्यक्ष यादव यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यस क्षेत्रमा एकपटक निर्वाचित भएका जनप्रतिनिधि पुनःदोहोरिएका छैनन् । पुनःनिर्वाचित भएर सो क्षेत्रमा नयाँ इतिहास कायम गर्ने योजनामा रहेका यादवलाई पनि यस क्षेत्रका मतदाताले छानेनन् । विसं २०४८ को राजनीतिक परिवर्तनयता भएका सात वटा निर्वाचनमा यस क्षेत्रले फरकफरक पार्टीका फरकफरक व्यक्तिलाई जनप्रतिनिधि चुनेको छ । विसं २०४८ को निर्वाचनमा नेपाली कांग्रेसबाट हरिप्रसाद राय विजयी भएका थिए । २०५१ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रेणुकुमारी यादव, २०५६ मा तत्कालीन नेपाल सद्भावना पार्टीका अनिस अन्सारी निर्वाचित भएका थिए । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन सद्भावना पार्टीबाट महेश यादव र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले संविधानसभा सदस्य बन्ने अवसर यसै क्षेत्रबाट पाएका थिए । त्यसैगरी विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जसपा अध्यक्ष यादव विजयी हुनुभएको थियो । यस निर्वाचनमा भने जनमत पार्टीका अध्यक्ष डा राउतले पहिलो पटक प्रतिनिधिसभा सदस्यका रुपमा संसद्को यात्रा तय गरेका हुन् । राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका, छिन्नमस्ता गाउँपालिका गरी चार पालिका रहेको सो क्षेत्रमा ९५ हजार तीन सय ९४ मतदाता छन् । गत आइतबार सम्पन्न निर्वाचनमा कूल ६४ हजार पाँच सय ६० मत खसेको थियो । संयुक्त राज्य अमेरिकाको नासाको जागिर छाडेर नेपाल फर्केका ४३ वर्षीय डा राउत एक दशकअघि नेपालको राजनीतिमा प्रवेश गरेका हुन् । दुई ठूला गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर चुनावी परिणाम आफ्नो पक्षमा पार्न सफल डा राउतसँग मतदाताको ठूलो अपेक्षा रहेको राजनीतिक विश्लेषक देवनारायाण यादवले बताए । ‘जुन परिवेश र पृष्ठभूमिमा डा राउतले चुनाव जित्नुभएको छ पक्कै पनि उहाँका लागि यात्रा तय गर्न सहज छैन’, उनले भने, ‘निर्वाचनका बेला लोकप्रिय नाराप्रति मतदाताको आकर्षण धेरै बढेको छ, त्यसलाई सहीरुपमा सम्बोधन गर्नु चुनौती छ ।’ नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले मतदाताको चाहना, भावनाअनुसार इमान्दारितापूर्वक काम गर्नुपर्ने उनको काँधमा जिम्मेवारी आएको बताए । यसका साथै सप्तरीको विकासका लागि सञ्चालन भएका रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नरसिंह कलेज, इञ्जिनियरिङ कलेज सञ्चालन, कृषि विश्वविद्यालय जस्ता योजनालाई मूर्तरुप दिनुपर्ने यादवको सुझाव छ । डा राउतले मतदाताले आफूमाथि गरेको भरोसा टुट्न नदिने बताउँछन् । ‘मलाई सप्तरीका जनताले ठूलो आशा र भरोसा गरेर जिताएका छन्’, उनले भने, ‘जनताको विश्वास र भरोसालाई टुट्न दिन्न, जनादेशलाई शिरमा राखेर काम गर्नेछु ।’ आफ्नो पहिलो कार्ययोजना सरकारी सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने उनले बताए । सप्तरीलाई शतप्रतिशत शिक्षित जिल्ला बनाउनु, विकराल रहेको कुपोषणलगायतका स्वास्थ्य समस्यालाई हल गर्दै शतप्रतिशत जनताको स्वास्थ्यमा सहज पहुँच पु¥याउनु, हरेक परिवारलाई रोजगारीसँग जोड्नु र किसानलाई सहजरुपमा मलखाद्य, बीउबिजन र सिँचाइको व्यवस्था गर्नु आफ्नो एजेण्डा रहेको डा राउतले सुनाए । रासस

विश्वकप फुटबल प्रतियोगिता : रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेनन् । मध्यान्तरपछि खेलको ६५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई सुरुआति अग्रता दिलाएका थिए । घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेर लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको हो । रोनाल्डो सहभागी भएको यो पाँचौँ विश्वकप हो । उनी लगातार पाँचवटा विश्वकप खेल्दै गोल गर्ने कीर्तिमानी खेलाडी बनेका छन् । रोनाल्डोले यसअघि सन् २००६, २०१९, २०१४ र २०१८ मा भएको विश्वकप फुटबल प्रतियोगिता पनि खेलेका थिए । यस्तै खेलको ७३औँ मिनेटमा घानाका आन्द्रे एयुले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याए । लगत्तै खेलको ७७औँ मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए । खेलको ७९औंँ मिनेटमा राफायल लियोले गोल गर्दै पोर्चुगललाई ३–१ को अवस्थामा पुर्याए । यसैगरी खेलको ८९औँ मिनेटमा घानाका ओस्मान बुकारीले गोल गर्दै पोर्चुगलमाथि दबाब सिर्जना गरे । घानाले अन्तिम समयसम्म बराबरीको प्रयास गरे पनि पोर्चुगललाई हराउन भने असफल भयो । पोर्चुगलले ३–२ गोलका साथ खेल आफ्नो पक्षमा पा¥यो । जीतसँगै समूह ‘एच’ मा रहेको पोर्चुगलले तीन अङ्क जोडेको छ । पोर्चुगल आफ्नो समूहको शीर्ष स्थानमा रहेको छ ।

लाभांश पारित गर्न माउन्टेन इनर्जी नेपालले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । माउन्टेन इनर्जी नेपालले पुस ८ गतेको लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्न वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीको संचालक समितीले गत वर्षको नाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसको लागि कम्पनीले मंसिर २८ गतेको लागि बुक क्लोज मिति तोकेको छ । त्यसैले २७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।