हस्तकला व्यापार मेला मङ्सिर २३ देखि हुने
काठमाडौं । नेपाल हस्तकला महासङ्घको आयोजनामा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ । महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी महासङ्घको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न सङ्घ, संस्थाको सहयोगमा आगामी यही मङ्सिर २३ देखि २७ गतेसम्म मेला आयोजना हुन लागेको जानकारी दिएको हो । अध्यक्ष प्रचण्ड शाक्यले ह्यात होटलमा पाँच दिनसम्म हुने मेलामा हस्तकलाका एक सय ५० कक्ष रहने जानकारी दिए। मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीनवटा विधाका कला प्रदर्शनी हुनेछ । नेपाली हस्तकलाको प्रवद्र्धन गर्दै विदेशसम्म पहिचान गराउन मेलाको आयोजना गरिएको हो । उक्त मेलासँगै १७ औँ हस्तकला प्रतियोगितासमेत हुने भएको छ । काष्ठकला, प्रस्तरकला, मैनकला, मुर्तिकलामा मुखाकृति भएको गरुड अर्थात् बण्टेजको मूर्ति बनाउने र ऊनी, ढाका, कपडा, प्राकृतिक रेशाजन्य वस्तुसम्बन्धी प्रतियोगितासमेत गरिने जनाइएको छ ।
मोरङ ३ मा कांग्रेसका शुनिल शर्मा विजयी, रेखा थापा तेस्रो
मोरङ । मोरङ ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमालेका भानुभक्त ढकाललाई फराकिलो मतले पराजित गर्दै शर्मा विजयी भएका हुन् । शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेका छन् भने ढकालले २५ हजार ८९५ मत प्राप्त गरेका छन् । राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रो भएकी छन् ।
मध्यपश्चिम विश्वविद्यालयद्वारा महिला हिंसा विरुद्दको अभियान ‘ओरेन्ज डे’ मनाउने
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्धको अभियान ओरेन्ज डे मनाउने निर्णय गरेको छ । मध्यपश्चिम विश्वविद्यालय उपकुलपतिको कार्यालयद्वारा आयोजित एक अनलाइन छलफल कार्यक्रम मार्फत विश्वव्यापी रुपमा मनाईने महिला हिंसा विरुद्दको अभियान अर्थात ओरेन्ज डे विभिन्न कार्यक्रम सहित मनाउने निर्णय गरेको छ । उक्त छलफल कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा। डा। नन्द बहादुर सिंहले ‘महिला हिंसाको विरुद्धमा मध्यपश्चिम विश्वविद्यालय’ अभियान नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म सोह्र दिन विभिन्न कार्यक्रम भौतिक रुपमै संचालन गर्ने र मध्यपश्चिम विश्वविद्यालयले यसको नेतृत्व गर्ने कुरा उल्लेख गरेका छन् । सो अभियानलाई कार्यान्वयन गर्न मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एडुकेशनका उप-प्राध्यापक कल्पना पौडेलको संयोजकत्वमा एक समिति रहने विश्वविद्यालयले जनाएको छ । जसमा विश्वविद्यालयका उपकुलपति, सेवा आयोगका अध्यक्ष, रजिष्ट्रार, डीनहरु, कार्यकारी निर्देशकहरु, लगायत विभिन्न विभागका प्रमुख र निर्देशेक रहने निर्णय भएको छ । साथै मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण आंगिक क्याम्पसहरुमा समेत सो अभियानलाई कार्यान्वयन गर्न क्याम्पस प्रमुख सम्मिलित समिति गठन गरी विभिन्न कार्यक्रम आयोजना गरिने छ ।
विश्वकप फुटबलमा आज चार खेल हुँदै
एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ यसैगरी तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आजै हुने अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । यसैगरी आज बिहान सम्पन्न खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन् । कतारको अल बायत स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् । यस बराबरीसँगै इङ्ग्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेका छन् । समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्डले दुई खेलमा चार अङ्क जोडेको छ भने अमेरिकाले दुई खेलमा दुई अङ्क जोडेको छ ।
चितवन क्षेत्र नम्बर ३ बाट राप्रपाका विक्रम पाण्डे विजयी
चितवन । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे नौ हजार दुई सय ३३ मतान्तरका साथ विजयी भएका छन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार डा। भोजराज अधिकारीले २५ हजार आठ सय २२ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार आठ सय ४२ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार दुई सय ७५ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९४ हजार दुई सय ८० मत खसेको थियो । यस्तै चितवन क्षेत्र नम्बर ३ प्रदेश २ मा नेकपा माओवादीका ठाकुर ढकाल विजयी भएका छन् । उनी १५ हजार चार सय ६१ मतका साथ विजयी भएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाकी रीना गुरुङले १४ हजार छ सय १५ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले)की सरस्वती विष्टले १० हजार एक सय २४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशअन्तर्गतको यस क्षेत्रमा ४४ हजार ६८ मत खसेको थियो ।
जीवन बीमक संघको अध्यक्षमा पौडेल चयन, उपाध्यक्षमा पराजुली र महासचिवमा खत्री
काठमाडौं । जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संगठन जीवन बीमक संघको अध्यक्षमा पोषक राज पौडेल चयन भएका छन् । मंसिर ९ गते सम्पन्न संघको तेश्रो वार्षिक साधारण सभाले पौडेलको नेतृत्वमा ७ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत हुन् । साथै, उनी यस संघको निवर्तमान उपाध्यक्ष हुन् । अघिल्लो कार्यसमितिको अध्यक्षमा मेटलाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत निर्मल काजी श्रेष्ठ थिए । त्यसैगरी, संघको उपाध्यक्षमा प्रवीण रमण पराजुली चयन भएका छन् । उनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान कोषाध्यक्ष हुन् । महासचिवमा ज्योती लाइफ इन्स्योरेन्सका सीईओ प्रकाश विक्रम खत्री चयन भएका छन् । उनी अघिल्लो कार्यसमिति सदस्य थिए । त्यस्तै, एशियन लाइफका सीईओ दिनेशलाल श्रेष्ठ कोषाध्यक्ष बनेका छन् । त्यसैगरी, सदस्यहरुमा रिलायबल नेपाल लाइफका नारायणबाबु लोहनी, आइएमई लाइफका कवि फुयाल र एलआईसी नेपालका एलपी दास रहेका छन् । जसमध्ये फुयाल अघिल्लो कार्यसमिति सदस्य थिए भने लोहनी र दास भने नयाँ सदस्य हुन् ।
उपत्यकामा कन्डिसन ठीक नभएका सवारीसाधन ट्राफिककाे नियन्त्रणमा
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आवश्यक कागजात नभएका तथा सडकमा गुडाउनका लागि उपयुक्त नभएका सवारीसाधनलाई धमाधम नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंका विभिन्न स्थानबाट सञ्चालनका लागि राम्रो अवस्था नभएका सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही लागि यातायात कार्यालयलाई पठाएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार हालसम्म तीन सय ५२ सवारीसाधन नियन्त्रणमा लिई कारबाहीका लागि विभागअन्तर्गत कार्यालयमा पठाइएको छ । सडकमा सञ्चालनका लागि उपयुक्त नभएका सबै प्रकारका सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि पठाउने गरिएको छ । ‘आवश्यक कागजपत्र नभएका र ‘कन्डिसन’ ठीक नभएका सवारीसाधन नियन्त्रणमा लिएर यातायात कार्यालयलाई कारबाहीका लागि पठाउने गरेका छौँ, दसैँअघि देखिने यो कार्य भइरहेको छ’, प्रवक्ता भट्टले भने । ट्राफिक प्रहरी कार्यालयले आज मात्रै १८ सवारीसाधन नियन्त्रणमा लिएको छ । ट्राफिकले आज बिहान केही सङ्ख्यामा ग्यासबाट चल्ने निलो माइक्रो नियन्त्रणमा लिएको थियो । आवश्यक कागजपत्र नभएका र कन्डिसन ठीक नभएका माइक्रो नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ । यसरी माइक्रो नियन्त्रणमा लिएको विरोधमा चालकहरूले सिंहदरबारको मुख्य प्रवेशद्वार अघिल्तिरको सडकपेटीमा माइक्रो राखेर विरोध गरेका छन् । निलो रङ्गका दर्जन बढी सवारीसाधन सांकेतिक विरोधस्वरुप सडकपेटीमा प्रदर्शन गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सवारीसाधन नियन्त्रण लिने मात्रै नभई व्यावसायिक लगानीको पनि जोखिम नहुने गरी सरकारले सरोकारवालासँग छलफल गरेर दीर्घकालीन नीतिगत रुपमा व्यवस्था गर्नसके यस्तो किसिमको समस्या नआउने बताए । उनले प्राविधिक रुपमले सडकमा सञ्चालनयोग्य सवारीसाधन सञ्चालनका लागि सरकारले सहजीकरण गरिदिएको खण्डमा व्यवसायी पनि जिम्मेवार बन्ने उल्लेख गरे । उपाध्यक्ष सिटौलाले भने, ‘पुराना गाडी चलाउनै पर्छ भन्ने हाम्रो कुरा होइन, दीर्घकालीन रुपमा प्रभावपर्ने नीतिगत सहजीकरण सरकारले गरिदिनुपर्छ ।’ ‘बिहान तीन/चार वटा ‘कालोप्लेट’ माइक्रोको कागजात जाँच गरिएको थियो । गुडाउन उपयुक्त नभएका ती माइक्रो नियन्त्रणमा लिइएको थियो । त्यसैको विरोधमा उनीहरूले विरोध जनाएका हुन्’, ट्राफिक कार्यालयले भन्यो । पछिल्लो समय ट्राफिक प्रहरीले सवारीसाधनको जाँचलाई कडाइ गरेको छ । कागजात नभएका र सञ्चालनका लागि उपयुक्त नरहेका सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात कार्यालयलाई पठाउने गरेको छ । रासस
समानुपातिकतर्फ पहिलो पार्टी हुन्छौं : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित ¥यालीलाई सम्बोधन गर्दै उनले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । उनले मुलुकको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताए । अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उनको भनाइ थियो । अध्यक्ष ओलीले निर्वाचनको निष्पक्षतामा प्रश्न गरे । उनले प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाएपनि समानुपातिकतर्फ पहिलो पार्टी हुने दाबी गरे । क्षेत्र नंं ५ मा पर्ने कमल गाउँपालिकाको वडा नं. ५ को वसन्त चोकदेखि सुरु भएको विजयी ¥यालीमा सहभागी हुँदै उनी सिमावर्ती गौरीगञ्ज सम्म पुगेका हुन् ।