आगामी साता मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साता चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाका लागि तयारी गरिरहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी साता मौद्रिक नीतिको समीक्षा हुने बताएका हुन् । शुक्रबार इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजको ४४ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । नेपाल राष्ट्र बैंकले साउन ६ गते चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
दावी भुक्तानीमा आक्रामक बन्दै नेपाल लाइफ, गर्यो ५ अर्ब बढीको मृत्यु दावी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा ५ अर्ब ३ करोड रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी हो । कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्री बनाएको छ । यसै क्रममा यस इन्स्योरेन्सले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाईएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए । प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दावी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीले बताएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ । सम्पूर्ण कागजात प्राप्त भए लगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने कुरा सहर्ष जानकारी गराएको छ । २०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी १ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म १ खर्ब ९७ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० वटा बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।
तिब्र गतिमा सवारी साधन चलाउनेलाई अनिवार्य सचेतना कक्षा लिनुपर्ने
काठमाडौं । तीब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई ट्राफिक प्रहरीले अनिवार्य रुपमा सचेतना कक्षा दिने भएको छ । ट्राफिक प्रहरीले तीब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई मंसिर १५ गतेदेखि अनिवार्य रुपमा एक घण्टाको सचेतना कक्षा दिने भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रवार पत्रकार भेटघाट कार्यक्रम गर्दै सो कुराको जानकारी दिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले तिब्र गतिमा सवारी साधन चलाउनेहरुलाई ट्राफिक नियम अनुसार कारबाही गर्दै एक घण्टाको सचेतना कक्षामा सहभागि भएपछि मात्रै छोडिने बताए । उनले उपत्यकामा हुने धेरै सवारी दुर्घटनाहरु तीब्र गतिका कारण हुने गरेको भन्दै सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सचेतना कक्षा दिनुपर्ने आवश्यकता रहेको बताए । उनले यसअघि मादक पदार्थ सेवन गरेर चलाउने, लेन अनुशासन पालना नगर्ने र रातो बत्ति क्रस गर्नेहरुलाई मात्रै सचेतना कक्षा दिइँदै आएको उल्लेख गरे । उनले भने, ‘हामीले अहिलेसम्म मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, लेन अनुशासन पालना नगर्ने र रातो बत्ति क्रस गर्ने (रातो बत्तिको पालना नगर्ने) चालकहरुलाई जरिवाना गर्नुको साथै अनिवार्य रुपमा सचेतना कक्षामा समेत सहभागि गराउँदै आएका छौँ भने अब मंसिर १५ गतेदेखि तीब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई पनि हामी अनिवार्य रुपमा एक घण्टाको सचेतना कक्षामा सहभागि भएपश्चात उनीहरुलाई कारबाही गरेर छोड्ने सूचना प्रकाशित गरिसकेका छौँ ।’ उनले थपे, ‘काठमाडौं उपत्यकामा दुर्घटनाको कारण तीब्र गति छ, २०७८/७९ सालमा जम्मा १० हजार ७३३ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये ३ हजार ५४३ सवारी दुर्घटना तिब्र गतिको कारणले भएका छन् । लगभग ३५ प्रतिशत सवारी दुर्घटना तीब्र गतिको कारणले भएको हुनाले यो दुर्घटनाको मुख्य कारण हो ।’ प्रवक्ता भट्टले गत साउन महिनादेखि हालसम्म सडकमा गुडिरहेका यान्त्रिक अवस्था ठिक नभएका ३५२ वटा सवारी साधनलाई परीक्षण तथा कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइएको बताए । ठूलो ध्वनि निकाल्ने १८ वटा मोटरसाइकललाई पनि नियन्त्रणमा लिएर परीक्षण गरी कारबाही गरिएको उनले जानकारी दिए । उनले कुनैपनि सवारी साधनमा ‘बम्पर गार्ड’ नराख्न अनुरोध गरे । राखिएको भएपनि मंसिर १५ गतेसम्ममा हटाउन आग्रह गरेका छन् । सो अवधिसम्म नहटाएमा कारबाही प्रक्रिया अगाडी बढाइने पनि उनले जानकारी दिए । उनले स्कुल बस निर्देशिका २०७४ बमोजिम स्कुल बस नचलाउनेलाई १७० जना चालकहरुलाई कारबाही गरिएको जानकारी दिए । जसमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३७ जना चालक परेको उनको भनाइ छ । १२ वटा स्कुलबसहरु भने मापदण्ड अनुरुपको स्वरुपमा नचलेकाले नियन्त्रणमा लिई मापदण्ड अनुरुपको स्वरुप बनाउन लगाइएको उनले बताए । त्यस्तै दर्ता बिना चलाइएको विद्युतीय मोटरसाइकललाई पनि कारबाही गरिएको उनले जानकारी दिए ।
हिमालयन डिष्टिलरीले ७० प्रतिशत लाभांश दिने, पुस २७ गते डाक्यो साधारण सभा
काठमाडौं । हिमालयन डिष्टिलरी सेयरधनीलाई ७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । शुक्रबार बसेको कम्पनीको संचालक समिती बैठकले यस्तो प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार बुक क्लोज मिति तोकेको छ । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीले यस वर्ष दिने भनेर प्रस्ताव गरेको लाभांश गत वर्षको भन्दा कम रहेको छ । कम्पनीले गत वर्ष लगानीकर्ताहरुलाइ चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
निर्वाचन अपडेट : २५ जिल्लामा गठबन्धन र आठमा एमालेको एकल जित
काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, डोल्पा, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, दार्चुला, बझाङ, डडेलधुरा, डोटी र अछाममा विजय हासिल गरेको हो । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म एमालेले आठ र राप्रपाले एक जिल्लामा आफ्नो वर्चश्व कायम गरेका छन् । एमालले ताप्लेजुङ, पाँचथर, धनकुटा, सोलुखुम्बु, पर्वत, अर्घाखाँची, प्यूठान र बैतडीमा एकल जित हासिल गरेको छ भने राप्रपाले जुम्लामा एक सिट एकलरुपमा जितेको छ । आयोगका अनुसार एक सय ६५ सिटमध्ये हालसम्म ८९ स्थानको नतिजा सार्वजनिक भइसकेकामा कांग्रेस २८, एमाले २४, माओवादी केन्द्र नौ, एकीकृत समाजवादी छ, राष्ट्रिय स्वतन्त्र पार्टी पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी चार, लोकतान्त्रिक समाजवादी पार्टी तीन, जनता समाजवादी पार्टी दुई तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी एक÷एक स्थानमा विजयी भएका छन् । पाँच स्वतन्त्र उम्मेदवारले विभिन्न क्षेत्रबाट निर्वाचन जितेका छन् । दुवै कम्युनिष्ट पार्टीका महासचिव पराजित हालसम्म दुई ठूला कम्युनिष्ट पार्टीका महासचिव निर्वाचनमा पराजित भएका छन् । एमालेका महासचिव शङ्कर पोखरेल माओवादी उम्मेदवार रेखा शर्मासँग पराजित भए भने माओवादीका महासचिव देवप्रसाद गुरुङलाई एमाले उम्मेदवार पृथ्वी सुब्बा गुरुङले पराजित गरे । माओवादीका उपमहासचिव पम्फा भुसाल र सचिव चक्रपाणि खनाल पनि यस निर्वाचनमा पराजित भए । यसैगरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव लेखराज भट्ट पनि पराजित भए । कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) निर्वाचनमा पराजित भए । आफ्नो गृहजिल्ला छाडेर अर्को जिल्लामा निर्वाचनमा विजयी हुनेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ, कांग्रेसका प्रदीप पौडेल र वीरबहादुर बलायर, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका उपमहासचिव वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २५ हजार बढी मतान्तरहित विजयी भएका छन् । ओलीले आफ्ना प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीलाई २८ हजार पाँच सय ७६ मतले पराजित गरे । पुनले पूर्ण बुढा मगरलाई २५ हजार दुई सय ३९ मतले पछि पारी विजयी भए । त्यस्तै रास्वपाका सभापति लामिछानेले निकटतम् प्रतिद्वन्द्वी उमेश श्रेष्ठभन्दा ३४ हजार तीन सय १२ बढी मत प्राप्त गरे । जेठा–कान्छा प्रतिनिधिसभाको यस निर्वाचनमा हालसम्म निर्वाचित हुने सबैभन्दा ज्येष्ठ सदस्यका रुपमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी छन् । असी वर्षीय उहाँ बागलुङ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा–१ बाट निर्वाचित भएका छन् । उनी ७७ वर्षको हुन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राप्रपाका ध्रुवबहादुर प्रधान ७३ वर्षको हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट निर्वाचित भएका छन् । उाी पनि ७० वर्षका हुन् । यसैगरी रुपन्देही–४बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला ७२ वर्षीय र मोरङ–६ बाट निर्वाचित कांग्रेसका डा शेखर कोइराला ७२ वर्षीय हुन् । हालसम्म सबैभन्दा कान्छो उमेरको सांसदका रुपमा सोविता गौतमको प्रवेश भएको छ । आयोगबाट प्राप्त विवरणअनुसार उनी २७ वर्षीया हुन् । गौतम काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट निर्वाचत भएका हुन् । यस्तै मुस्ताङ निर्वाचन क्षेत्र नं १ बाट २९ वर्षीय योगेश गौचन थकाली र जुम्ला निर्वाचन क्षेत्र नं १ बाट ३० वर्षीय ज्ञानबहादुर शाही पनि कम उमेरका सांसदको सूचीमा परेका छन् । प्रत्यक्षतर्फ निर्वाचित महिला सांसदको सङ्ख्या न्यून देखिएको छ । हालसम्म पाँच महिला नेत्रीले प्रत्यक्षतर्फको निर्वाचन जितेका छन् । एमाले र रास्वपाका दुई/दुई र माओवादीका एक महिलालाई मात्र सफलता मिलेको छ । धनुषा ३ बाट एमालेकी जुलीकुमारी महतो (महासेठ) र कास्की २ बाट विद्या भट्टराई तथा दाङ २ बाट माओवादीकी रेखा शर्मा तथा रास्वपाबाट काठमाडौं २ मा सोविता गौतम र ललितपुर ३ मा तोसिमा कार्की विजयी भएका छन् । मधेसी समुदायबाट हालसम्म कांग्रेसका दिनेशकुमार यादव सप्तरी ३, रामकृष्ण यादव धनुषा २, अजय चौरसिया पर्सा २, एमालेका रामशङ्कर यादव सिरहा १, जुलीकुमारी महतो (महासेठ) धनुषा ३ र माओवादीका अमनलाल मोदी मोरङ ४, लोसपाका रामप्रकाश चौधरी सर्लाही १, सर्वेन्द्रनाथ शुक्ला रुपन्देही ४, जसपाका वीरेन्द्रप्रसाद महतो सिरहा ४ र प्रदीप यादव पर्सा १ र जनमत पार्टीका चन्द्रकान्त राउत सप्तरी २ बाट निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल मोरङ ५, अमरेशकुमार सिंह सर्लाही ४, किरणकुमार साह रौटहट २, प्रभू साह रौतहट ३ र लालवीर चौधरी बर्दिया २ बाट विजयी भएका छन् । रासस
गठबन्धन आवश्यक परे खुलेर साथमा हुनेछौँ : रवि लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उनले देशहित, नागरिक र जनजीविकाका लागिसँगै अघि बढ्ने बताए । समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने उनले बताए । उनले भने, ‘हामी निर्वाचित सांसद फरक फरक पार्टीको भए पनि एउटै कित्तामा छौँ ।’ जनजीविकाको मुद्दामा एकै ठाउँमा उभिएर सहकार्य गर्न आफू तयार रहेको उनले बताए । निर्वाचनमा आफ्नो पार्टीले कसैसँगै गठबन्धन नगरेको उल्लेख गर्दै उनले भने, ‘देश हितका लागि, नागरिकका लागि आवश्यक चिजमा गठबन्धन आवश्यक परे खुलेर साथमा हुनेछौँ ।’ कार्यक्रममा चितवन क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल र २ (२) बाट निर्वाचित उत्तम जोशीले देश तथा जनताको पक्षमा आफूहरु निरन्तर लाग्ने बताए । सो अवसरमा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले प्रमाणपत्र वितरण गर्दै निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
सरकारले बैंकलाई भन्दा उद्योगलाई ब्याजमा अनुदान दिनुपर्छ : गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले बैंकलाई भन्दा उद्योगलाई ब्याजमा अनुदान दिनुपर्ने बताएका छन् । शुक्रबार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले ब्याजदरको अस्थिर अवस्थामा उद्योगलाई ब्याजमा अनुदान दिनुपर्ने बताएका हुन् । बढ्दै गएको व्यापार घाटा कम गर्नको लागि देशमा औद्योगिक विकास गर्न जरुरी रहेको बताउँदै उनले सरकारले निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने बताए । ‘सरकारले उद्योगलाई बचाउनसके मात्रै अहिले देखिएको अर्थतन्त्रको समस्या समाधान हुन्छ, नेपालमा मूल्य अभिवृद्धि हुने, धेरै रोजगारी सृजना गर्ने र धेरै निर्यात गर्ने उद्योगलाई सरकारले ब्याजमा अनुदान दिनुपर्छ,’ यस्तै, उनले ५० लाख विदेशमा रहेका युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको बतए । ‘रेमिट्यान्सले देश अर्थतन्त्र चलेको छ तर देशमा रोजगार पाउन गाह्रो छ, युवाहरुलाई रोजगारी दिन नसक्नु उद्योगी व्यवसायी र सरकारको कमजोरी हो, मुलुकभित्रै युवाहरुले भविष्य खोज्न सक्नुपर्छ,’ उनले भने । गोल्छाले सरकार राजश्वमुखी अर्थतन्त्रमा गएकाले कसरी उत्पादन र रोजगारमुखी बनाउने योजना सरकारसँग नभएको आरोप लगाएका छन् ।
‘नेतालाई दिएर भोट, हिँडे युवा कमाउन नोट’
काठमाडौं । पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । सङ्खुवासभा बानाका द्रोण कोइराला (३८) ले पनि हात हल्लाउँदै बिदाइको जवाफ फर्काए मन गरुङ्गो बनाउँदै । यही मङ्सिर ४ मा भएको आम निर्वाचनको सरगर्मीमा रमाउँदै आफ्नो कर्मथलोतर्फ उनी लागेका हुन् । कोइरालासँगै खाडी मुलुक जाने अन्य युवा श्रमिकहरु पनि त्यसरी नै हात हल्लाउँदै विमानस्थलभित्र पसे । सबैका आँखा रसिला थिए, व्यथा एउटै थियो । परिवारसँगै बसेर रोजगारी गर्ने चाहना हुँदाहुँदै केही उपाय नदेखेपछि घर व्यवहार चलाउन उनीहरु विदेशी भूमिमा पसिना बगाउन हिँडेका थिए । श्रमिकका रुपमा मलेसियामा आठ वर्ष बिताएपछि केही महिनाअघि कोइराला नेपाल फर्कंदा मुलुकभर चुनावको माहोल गर्मराउँदै थियो । उनको गाउँ सङ्खुवासभाको बाना पनि राजनीतिक दलका चर्का चुनावी नाराले गुल्जार बन्दै थियो । केही समयपछि उनी मलेसिया फर्कने समय आयो । गाउँमा चुनाव पनि आयो, आफन्त, छिमेकीहरु कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने छलफलमा जुट्दै गर्दा उनलाई भने खल्लो अनुभव भयो । कारण उनी मतदाता हुनुहुन्थेन । त्यसैले भोट हाल्न पाउनु भएन । लामो समय परदेश बसेकाले उहाँले मतदाताको सूचीमा नाम लेखाउन पाउनु भएन । विदेशबाटै नाम लेखाउने व्यवस्था थिएन । ‘चुनावका दिन मत हाल्न नपाउँदा मन खिन्न त भयो नि’, उनले भने, ‘मत हाल्न नपाए पनि केही छैन, तर राम्रो उम्मेदवारले जीत हासिल गर्न सकोस् भन्ने उनको चाहना थियो ।’ बुधबार दिउँसो एयर अरेबियाको विमानबाट मलेसिया जाने तरखरमा कोइराला लाग्दै गर्दा मुलुकभर जोडतोडका साथ मतगणना चलिरहेको छ । मतपेटिकाभित्र देशभरबाट सङ्कलित मतपत्रमा उहाँ र उहाँ जस्तै कैयन युवाले दिएको मत भने परेको थिएन । मतको तथ्याङ्कमा उनीहरुको हिस्सा नभए पनि बुधबार श्रमका लागि विदेशिने करिब १५ सयको सूचीमा उनीहरुको नाम सरकारले सुरक्षित राखेको छ । किनभने सरकारले त्यही सूची हेरेर अर्को महिना रेमिट्यान्स बढ्ला कि घट्ला भन्ने प्रक्षेपण गर्नेछ र सोहीअनुसार नीति बनाउने छ । चुनावका दिन भोट हाल्न नपाउँदा मन खिन्न भए पनि मतगणना हुँदै गर्दा देखिएका सुरुआती नतिजाले भने उनलाई खुसी बनाएको छ । ‘पुराना नेताले केही गरेनन्, यो चुनावबाट नयाँ नेता आइदिएहुन्थ्यो भन्ने लागेको थियो, त्यस्तै हुन्छ कि भन्ने लागेको छ’, उनले भने, ‘नयाँ नेताले यहीँ बस्ने र काम गर्ने वातावरण बनाइदिए उताभन्दा आधा तलब भए पनि आफ्नै देशमा काम गर्न पाए पुग्थ्यो ।’ कोइरालासँगै श्रम गर्न मलेसिया जाँदै गर्नुभएका जनकपुरका दिलचन मुखियालाई पनि चुनावमा मतदान गरेर खाडीमा श्रमदान गर्न जानपुर्दा निको लागेको छैन । ‘हामी त भोट न हाल्ने हो, नेतालाई भोट चाहिएको छ र हामीलाई नोट’, मुखियाले भने, ‘हामीसँग भएको भोट दियौँ, अब नोट कमाउन मलेसिया जाँदैछु ।’ उनको भाइ स्वास्थ्य सहायक विषय पढ्दैछन् । मलेसियामा कमाएको केही पैसा उनको पढाइ खर्च र बाँकी परिवारलाई पठाइदिने उनले सुनाए । पाँचथर निक्लाजुङ–६ का निलम राई पनि बुधबार विमानस्थलभित्र पस्ने श्रमिकहरुको लाइनमा भेटिए । उनी श्रम भिसामा दोस्रो पटक दक्षिण कोरिया जाँदै थिए । कोरियाको कमाइले सन्तुष्ट मिले पनि दुःख सम्झँदा थोरै तलब भए पनि देशमै बसौँ भन्ने लाग्छ उनलाई । “कोरियामा त दुःख कति छ भनेर कुरा नगरौँ होला, त्यही तलब चार लाखसम्म हुन्छ भनेर मात्रै चित्त बुझाउने हो”, उनले भने । राई चुनावपछि बन्ने नयाँ सरकारले आफू जस्ता युवाका लागि स्वदेशमै जागिर खाने नीति ल्याइदिए हुन्थ्यो भन्ने आशा राख्छन् । ‘मुलुक रेमिट्यान्सले धानेको छ, रेमट्यिान्स आएन भने पेट्रोलदेखि खाद्यान्न किन्ने पैसा पनि हुन्न, यही रेमिट्यान्सले गाडीदेखि सबै किन्नु परेको छ’, राईले भने, ‘अबको सरकारले सस्तो ब्याजदरमा ऋण दिएर उद्यमशीलताका लागि काम गरे हुन्थ्यो, जागिर खाने वातावरण बनाइदिए हामी जस्ता युवा विदेशिन पर्दैनथ्यो होला ।’ राईजस्तै दोस्रो पटक कोरिया जान लाग्नुभएका बाग्लुङ भिमपोखराका विष्णुप्रसाद शर्मा (३१) ले आफू रहरले नभई बाध्यताले विदेश जानु परेको बताए । ‘गाउँमा चुनावको माहोल बढ्दै थियो, तर मङ्सिर १ मा काठमाडौं आउनु परेकाले मतदान गर्न पाइन’, उनले भने, ‘मतदान गर्न पाएको भए रमाइलो हुन्थ्यो तर केही छैन कोरियामा श्रमदान गरेर भए पनि देशका लागि सहयोग पु¥याउने छु ।’ पाँचथरका राईको जस्तै सोच रामेछापका सूर्यबहादुर कार्कीको पनि छ । चार वर्ष मलेसियामा कमाएको १० लाख रुपैयाँ खर्चेर गोकर्णेश्वरमा सुरु गरेको गोलभेडा खेतीमा लगानी डुबेपछि उनी बुधबार फेरि मलेसिया जान लाग्नु भएको थियो । ‘अघिल्लो वर्ष कोरोना महामारीले केही गर्न सकिएन भने गत वर्ष समयमा बिउ पाइएन’, उनले भने, ‘समयमै काम हुन नसक्दा उत्पादन कम भयो, त्यही उत्पादनले पनि बजारमा राम्रो भाउ पाएन, अनि लगानी डुब्यो ।’ बुधबार एयर अरेबियाको विमानमार्फत् मलेसिया जान लागेका २७ जनाको समूहका कार्की कृषिमा राम्रो गर्न सकिने भए पनि सो अनुसारको सरकारले वातावरण बनाउन नसकेको बताए । ‘अर्बौं रकमको डलर खर्चेर तरकारी खानु परेको छ, त्यही पैसा कमाउन हामी विदेश हिँडेका छौँ तर स्वदेशी उत्पादनलाई प्रोत्साहन नै गरेको देखिन्न’, उनले भने, ‘सकेसम्म विदेश नजाऔँ यतै केही गरौँ भनेर व्यावसायिकरुपमा गोडभेंडा खेती सुरु गरेँ तर काम गर्ने उपयुक्त वातावरण नहुँदा बीचमै व्यवसाय छाडेर विदेश पलायन हुनुप¥यो ।’ परिस्थितिले खाडी जाने श्रमिकका पीडा बुझ्न खोज्ने नेताहरु नभएको कञ्चनपुरका नरेश बोहोराको बुझाइ छ । मलेसिया जान अघिल्लो दिन मात्रै काठमाडौं आएका उनले भने, ‘हाम्रो कुरा राजनीति गर्नेले बुझ्दैनन्, बुझ्ने भए यसरी विदेशिनु पर्ने बाध्यता नै हुँदैन होला ।’ बोहोरा चुनावलाई लिएर त्यति उत्साही पनि छैनन् । ‘चुनाव त आउँछ जान्छ, नेताहरु फेरिन्छन्, सरकार बनाउनेहरु फेरिन्छन्,’ उनले भने, ‘तर हाम्रा दुःख फेरिन्नन्, विदेश जानुपर्ने अवस्था बदलिन्न ।’ चुनावपछि मतगणना चलिरहँदा राजनीतिक दलहरुबीच कसले सरकार बनाउने भन्ने गृहकार्य सुरु भइसकेको छ । तर विमानस्थलमा झोला बोकी पैसा कमाउन विदेशिने श्रमिकहरुका बारेमा कमैले ध्यान दिएको पाइन्छ । चुनावका दिन मतदान गरेर श्रमदान गर्न विदेशिने युवाहरु अबको सरकारले आफ्नाबारेमा पनि ध्यान देओस् र स्वदेशमै बस्ने वातावरण बनाइदिओस् भन्ने चाहेका छन् । रासस