कर्णाली प्रदेशमा एमाले क्लिनस्वीप
कर्णाली । कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई/दुई निर्वाचन र अन्य आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम छन् । सबै क्षेत्रको निर्वाचन प्रक्रिया अन्तर्गत मतगणना सम्पन्न भइसकेको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा देशैभरि झैं कर्णालीमा लोकतान्त्रिक वाम–गठबन्धन र नेकपा एमालेबीच नै प्रतिस्पर्धा भयो । यो चुनावमा केहि जिल्लामा राप्रपाले आफ्नो विगत फर्काउन सफल भयो । पाँच वर्षअघि विसं २०७४ मा नेकपा एमाले र माओवादी केन्द्र बिचको तालमेल भएको थियो । निर्वाचनमा एमाले र माओवादीको तालमेलका कारण कर्णालीका निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस ‘क्लिस्वीप’ भएको थियो । तत्कालिन अवस्थामा प्रदेशसभामा हालका मुख्यमन्त्री जीवबहादुर शाही मात्र प्रत्यक्षबाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गतेको नतिजा भने विगतकै जस्तो तर ठिक उल्टो आएको छ । यसपटकको निर्वाचनबाट पाँच वर्षअघि माओवादी केन्द्रसँग तालमेल गरेको एमाले सिङ्गो कर्णालीबाट ‘क्लिस्वीप’ हुँदा कांग्रेस भने माथि उठेको छ । माओवादी केन्द्रले जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट र रुकुमपश्चिम जितेको छ । नेपाली कांगे्रसले मुगु, दैलेख क्षेत्र नं २ र सुर्खेत क्षेत्र नं १ र २ मा विजय हासिल गरिसकेको छ । नेकपा (एकीकृत समाजवादी) लिएको डोल्पा, दैलेख क्षेत्र नं १ र सल्यानमा आफ्नो जित हात पारिसकेको छ । एमालेले भने कर्णालीका १० जिल्लामा रहेका १२ निर्वाचन क्षेत्र मध्ये कतै पनि जीत हात पार्न नसक्दा शून्यमा झर्नुपरेको छ । जुम्लामा राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले २२ हजार आठ सय १९ मत प्राप्त गर्दा गठबन्धन दलका उम्मेदवार गोमा गौतम (कुँवर)ले ११ हजार नौ सय ५९ मत प्राप्त गर्नुभयो । यहाँ गठबन्धनको पराजय भएको छ । यसअघि नेकपा ९माओवादी केन्द्र०का गजेन्द्रबहादुर महत सांसदमा निर्वाचित भएका थिए । सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन् । खड्काले ४२ हजार छ सय सात मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवबहादुर शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गरे । उनले ०७४ को चुनावमा खड्कालाई पराजित गरेका थिए । सुर्खेत क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता हृदयराम थानीले नेकपा एमालेका अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पछि पार्दै ३४ हजार छ सय २५ मतले विजयी भए । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा शक्तिबहादुर बस्नेतले ३४ हजार एक सय ५१ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी निरजप्रसाद आचार्यले २५ हजार एक सय २० मत प्राप्त गरे । बस्नेत चौथो पटक संंसद् प्रवेश गर्दैछन् । रुकुमपश्चिममा नेकपा माओवादीका जनार्दन शर्माले ३९ हजार पाँच सय ४९ मत ल्याउँदा नेकपा एमालेका नन्दराम देवकोटाले १२ हजार नौ सय ६१ मत ल्याएर पराजित भए। विसं २०६४ देखि शर्माले पनि निरन्तर संसद्मा प्रवेश गर्दै आएका छन् । सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले ३५ हजार सात सय मत ल्याएर विजयी भए। त्यस्तै, दैलेख क्षेत्र नं १ बाट गठबन्धनका साझा उम्मेदवार अम्मरबहादुर थापाले १८ हजार दुई सय ५६ मत ल्याउँए बिजयी भए । त्यस्तै दैलेख क्षेत्र नं २ मा गठबन्धनकै साझा उम्मेदवार नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले २० हजार एक सय ५८ मत ल्याएर विजयी भए । नेकपा एमालेको गढ मानिएको दैलखका दुवै क्षेत्रको विरासत यसपटकको लोकतान्त्रिक वाम–गठबन्धनले तोडिदिएको छ । कालीकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले २४ हजार चार सय ७४ मत प्राप्त गरी विजयी भए । विसं २०७० यताका सबै निर्वाचनबाट शाही निर्वाचित हुँदै आएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नगिन्द्र शाहीले १६ हजार ४१० मत प्राप्त ल्याएर पराजित भए। डोल्पा गठबन्धनका साझा उम्मेदवार धनबहादुर बुढाले ११ हजार दुई सय ९२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले पाँच हजार पाँच सय पाँच मत प्राप्त गरी पराजित भए । बुढा पनि २०७० को संविधानसभा निर्वाचनदेखि सांसदमा लगातार निर्वाचित भएका छन् । हुम्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का छिरिङ डम्डुल लामा विजयी भएका छन् । रावलले नौ हजार पाँच सय १६ मत ल्याएका थिए । मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर शाहीले नेकपा एमालेका राजबहादुर कार्कीलाई तीन हजार नौ सय ९४ मतान्तरले पछि पार्दै १४ हजार सात सय दुई मत ल्याएर विजयी भएका छन् । कार्कीले भने १० हजार सात सय आठ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले कर्णालीका अग्रगामी जनताको मतले अपेक्षित परिणाम प्राप्त भएको जनाए । नेकपा एमाले सुर्खेत क्षेत्र नं २ प्रदेश ९१० बाट निर्वाचित प्रदेशसभा सदस्य यामलाल कँडेलले गठबन्धनका नाममा एमालेमाथिको घेराबन्दीले कर्णालीमा एमालेका लागि अनपेक्षित नतिजा आएको प्रतिक्रिया दिए। एमालेभित्रको विभाजन र लोकतान्त्रिक वाम–गठबन्धनका कारण कर्णालीमा एमाले शून्य भएको राजनीतिक विश्लेषक पिताम्बर ढकाल बताउँछन्। निर्वाचन आयोग नेपालको सार्वजनिक तथ्याङ्क अनुसार हाल कर्णालीका १० जिल्लाको १० लाख ८५ हजार चार सय तीन मतदाता सङ्ख्यामध्ये छ लाख ६२ हजार ९५ (६१ प्रतिशत)ले मतदान गरेका थिए ।
क्रिप्टोकरेन्सी भनेको के हो ?
ऐजेन्सी । संसारमा मुद्रा विकासको लामो इतिहास छ । मानव सभ्यताको विकास हुने क्रममा आफ्ना आवश्यकता परिपूर्ति गर्नका लागि मानिसहरुले आफूहरुसँग भएका वस्तुहरुबीच साटासाट गर्ने गर्दथे । पछि विस्तारै छाला र धातुको मूल्य भएको मुद्राको विकास भयो । अहिले संसारभरी कागज र धातुले बनेका मुद्रा आम प्रचलनमा रहेको छ । जसलाई मानिसहरुले आफ्नो आवश्यकता अनुसार भौतिक र डीजीटल रुपमा प्रयोग गर्ने गर्छन् । मुद्राको प्रकाशन र वितरणको अधिकार कुनै पनि राज्यको मातहतमा रहने आधिकारिक निकायसँग रहेको हुन्छ । जसलाई वस्तु तथा सेवाको उत्पादन, वितरण, विभिन्न विषयहरुको अन्वेषण, लगायतका क्रियाकलाप वापत प्राप्त गर्न सकिन्छ । तर क्रिप्टोकरेन्सी भनेको एक प्रकारको भर्चूअल मुद्रा हो। जसको भौतिक रुपमा अस्तित्व हुँदैन । यसको अस्तित्व अनलाइनमा सीमित रहन्छ। तर, यसलाई भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ। भर्चूअल मुद्राको कुनै केन्द्रीय बैंक हुँदैन । अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन। भर्चुअल मुद्रा कुनै राज्यभित्र मात्रै सिमित रहँदैन । यसको विश्वव्यापी मुद्रा सटही बिना कारोबार गर्न सकिन्छ । संसारभरिका कम्प्युटरहरूमा राखिने डिजिटल रेकर्डका आधारमा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरिन्छ । यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ। सबै क्रिप्टोकरेन्सी ‘ब्लकचेन’ भनिने प्रविधिमा आधारित हुन्छन्। क्रिप्टो मुद्रा लेनदेन गर्न प्रयोग गरिने प्रणालीलाई ब्लकचेन भनिन्छ। यी डिजिटल मुद्राहरू एन्क्रिप्टेड (कोडित) छन्। यसलाई कम्प्युटर नेटवर्क मार्फत नियन्त्रण गरिन्छ। यसमा प्रत्येक लेनदेन डिजिटल हस्ताक्षर द्वारा प्रमाणित हुन्छ। यसको रेकर्डलाई क्रिप्टोग्राफीको मद्दतले नियन्त्रण गरिन्छ। यो सबै काम कम्प्युटर नेटवर्क मार्फत गरिन्छ। यदि क्रिप्टो मुद्रामा कुनै लेनदेन हुन्छ भने त्यसको जानकारी ब्लकचेनमा रेकर्ड गरिन्छ अर्थात् ब्लकमा राखिन्छ। सन् २००९ देखि पहिला चर्चामा आएको बिटकोइनलाई पहिलो क्रिप्टोकरेन्सीको रुपमा मानिन्छ । जुन ओपन सोर्स सफ्टवेयरको रुपमा जारी भएको थियो । पछिल्लो समयमा विश्वका १ सय १ वटा देशले क्रिप्टोकरेन्सीलाई मान्यता दिएका छन् भने ३ ट्रिलियन अमेरिकी डलर बराबरको लगानी क्रिप्टोरेन्सीमा भएको अनुमान गरिएको छ । साथै पछिल्लो समयमा यसको कारोबार वा एक्स्चेन्ज गर्ने निकायले नै पटकपटक बद्मासी गरेका विषयहरु बाहिर आइरहँदा क्रिप्टोकरेन्सीमा गरिने लगानी अत्यन्तै जोखिमपूर्ण देखिएको छ ।
निर्वाचन अपडेटः एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान १०ः३० सम्म एमालेले १८ लाख नौ हजार चार सय १७ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ४४ हजार ६९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ८७ हजार सात सय ४७, नेकपा (माओवादी केन्द्र)ले सात लाख ६७ हजार तीन सय छ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख तीन हजार ७९, जनता समाजवादी पार्टीले दुई लाख १६ हजार नौ सय ४३, नेकपा (एकीकृत समाजवादी)ले एक लाख ६४ हजार आठ सय ५६, नागरिक उन्मुक्ति पार्टीले एक लाख ५६ हजार पाँच सय ८२ र जनमत पार्टीले एक लाख ४८ हजार चार सय चार मत प्राप्त गरेको छ । प्रदेश नं १ को प्रदेशसभातर्फ पनि एमाले अगाडि देखिएको छ । एमालेले तीन लाख पाँच हजार चार सय आठ मत प्राप्त गरेको छ । कांग्रेसले दुई लाख ७० हजार नौ सय ५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ९६ हजार छ सय चार, माओवादी केन्द्रले ८६ हजार दुई सय ७५, जनता समाजवादी पार्टीले ३९ हजार २५ र एकीकृत समाजवादीले २४ हजार ५० मत प्राप्त गरेको छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि छ । मधेसमा कांग्रेसले एक लाख ४२ हजार तीन सय २४ मत पाउँदा एमालेले एक लाख १४ हजार सात सय ७५, जसपा नेपालले ९९ हजार ५६, जनमत पार्टीले ७७ हजार पाँच सय एक, माओवादी केन्द्रले ५१ हजार एक सय ६०, लोसपाले ३८ हजार ४७ र एकीकृत समाजवादीले ३३ हजार एक सय १८ मत प्राप्त गरेको छ । बागमती प्रदेशसभामा एमाले तीन लाख एक सय ६४ मतसहित अगाडि छ । कांग्रेसले दुई लाख ६२ हजार पाँच सय ४४, राप्रपाले एक लाख ५८ हजार २२, माओवादी केन्द्रले एक लाख ४२ हजार एक सय १८, नेपाल मजदुर किसान पार्टीले ५९ हजार पाँच सय ६८ मत प्राप्त गरेको छ । गण्डकी प्रदेशसभामा एमालले दुई लाख ९१ हजार एक सय पाँच मत पाएको छ । कांग्रेसले दुई लाख ६८ हजार आठ सय ८०, माओवादी केन्द्रले एक लाख सात हजार छ सय ५६ र राप्रपाले ५१ हजार आठ मत प्राप्त गरेको छ । लुम्बिनी प्रदेशसभामा एमालेले तीन लाख ८३ हजार सात सय ८९, कांग्रेसले तीन लाख ४६ हजार सात सय आठ, माओवादी केन्द्रले एक लाख ३५ हजार नौ सय चार, राप्रपाले ८३ हजार आठ सय ९३, नागरिक उन्मुक्ति पार्टीले ५० हजार एक सय ४३ र जनता समाजवादी पार्टीले ५० हजार ९० मत पाएका छन् । कर्णालीमा माओवादी केन्द्र अगाडि छ । माओवादीले ८४ हजार दुई सय ९५ मत पाउँदा एमालेले ८३ हजार नौ सय ४९, कांग्रेसले ६६ हजार नौ सय ११, एकीकृत समाजवादीले १९ हजार नौ सय १५ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेले एक लाख ९० हजार पाँच सय ७७, कांग्रेसले एक लाख ७९ हजार सात सय २२, माओवादी केन्द्रले ८५ हजार दुई सय ४७, नागरिक उन्मुक्ति पार्टीले ५२ हजार छ सय पाँच र एकीकृत समाजवादीले ३३ हजार तीन सय ७५ मत प्राप्त गरेको छ ।
नुवाकोटका सबै सिटमा गठबन्धन विजयी, एमाले क्लिनस्वीप
नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटबाट छ पदमा सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मङ्सिर ४ गते भएको निर्वाचनको आज सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रनिनिधिसभातर्फको दुई पद मध्ये एक–एक र प्रदेशसभातर्फको चार पदमध्ये दुई–दुई पदमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए। निर्वाचित माओवादी केन्द्रका तामाङ तीन हजार एक सय १२ मत अन्तरले विजयी भएका हुन्। उक्त निर्वाचन क्षेत्रको प्रदेश–१ मा माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ १६ हजार एक सय ६९ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार सुशीलकुमार खड्काको ११ हजार तीन सय ५० मत आएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश–२ तर्फ कांग्रेसका उम्मेदवार रमेशकुमार महत १३ हजार सात सय २७ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठको ११ हजार आठ सय ३१ मत प्राप्त भएको छ । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी भन्दा केसीको ११ हजार छ सय २० मत बढी छ । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीका अनुसार दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले १६ हजार चार सय ७७ मत र तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत प्राप्त गरे । उक्त निर्वाचन क्षेत्रको प्रदेश–१ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गाना १२ हजार एक सय १० मत ल्याएर विजयी भए। ढुङ्गानाका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार केशवराज पाण्डेको ११ हजार छ सय ६२ मत प्राप्त भएको छ । नुवाकोट–२ को प्रदेश–२ मा १७ हजार दुई सय ४९ मत ल्याएर कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा ९तामाङ० विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विजयसिंह लामा (तामाङ)ले नौ हजार एक सय २४ मत प्राप्त गरेका छन् । नुवाकोटमा रहेको कूल दुई लाख ३९ हजार सात सय २६ जना मतदातामध्ये क्षेत्र नं १ मा ६३ हजार पाँच सय ८४ र क्षेत्र नं २ मा ६७ हजार चार जना मतदाताले सहभागिता जनाएका थिए ।
हस्तकला व्यापार मेला मङ्सिर २३ देखि हुने
काठमाडौं । नेपाल हस्तकला महासङ्घको आयोजनामा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ । महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी महासङ्घको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न सङ्घ, संस्थाको सहयोगमा आगामी यही मङ्सिर २३ देखि २७ गतेसम्म मेला आयोजना हुन लागेको जानकारी दिएको हो । अध्यक्ष प्रचण्ड शाक्यले ह्यात होटलमा पाँच दिनसम्म हुने मेलामा हस्तकलाका एक सय ५० कक्ष रहने जानकारी दिए। मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीनवटा विधाका कला प्रदर्शनी हुनेछ । नेपाली हस्तकलाको प्रवद्र्धन गर्दै विदेशसम्म पहिचान गराउन मेलाको आयोजना गरिएको हो । उक्त मेलासँगै १७ औँ हस्तकला प्रतियोगितासमेत हुने भएको छ । काष्ठकला, प्रस्तरकला, मैनकला, मुर्तिकलामा मुखाकृति भएको गरुड अर्थात् बण्टेजको मूर्ति बनाउने र ऊनी, ढाका, कपडा, प्राकृतिक रेशाजन्य वस्तुसम्बन्धी प्रतियोगितासमेत गरिने जनाइएको छ ।
मोरङ ३ मा कांग्रेसका शुनिल शर्मा विजयी, रेखा थापा तेस्रो
मोरङ । मोरङ ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमालेका भानुभक्त ढकाललाई फराकिलो मतले पराजित गर्दै शर्मा विजयी भएका हुन् । शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेका छन् भने ढकालले २५ हजार ८९५ मत प्राप्त गरेका छन् । राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रो भएकी छन् ।
मध्यपश्चिम विश्वविद्यालयद्वारा महिला हिंसा विरुद्दको अभियान ‘ओरेन्ज डे’ मनाउने
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्धको अभियान ओरेन्ज डे मनाउने निर्णय गरेको छ । मध्यपश्चिम विश्वविद्यालय उपकुलपतिको कार्यालयद्वारा आयोजित एक अनलाइन छलफल कार्यक्रम मार्फत विश्वव्यापी रुपमा मनाईने महिला हिंसा विरुद्दको अभियान अर्थात ओरेन्ज डे विभिन्न कार्यक्रम सहित मनाउने निर्णय गरेको छ । उक्त छलफल कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा। डा। नन्द बहादुर सिंहले ‘महिला हिंसाको विरुद्धमा मध्यपश्चिम विश्वविद्यालय’ अभियान नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म सोह्र दिन विभिन्न कार्यक्रम भौतिक रुपमै संचालन गर्ने र मध्यपश्चिम विश्वविद्यालयले यसको नेतृत्व गर्ने कुरा उल्लेख गरेका छन् । सो अभियानलाई कार्यान्वयन गर्न मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एडुकेशनका उप-प्राध्यापक कल्पना पौडेलको संयोजकत्वमा एक समिति रहने विश्वविद्यालयले जनाएको छ । जसमा विश्वविद्यालयका उपकुलपति, सेवा आयोगका अध्यक्ष, रजिष्ट्रार, डीनहरु, कार्यकारी निर्देशकहरु, लगायत विभिन्न विभागका प्रमुख र निर्देशेक रहने निर्णय भएको छ । साथै मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण आंगिक क्याम्पसहरुमा समेत सो अभियानलाई कार्यान्वयन गर्न क्याम्पस प्रमुख सम्मिलित समिति गठन गरी विभिन्न कार्यक्रम आयोजना गरिने छ ।
विश्वकप फुटबलमा आज चार खेल हुँदै
एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ यसैगरी तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आजै हुने अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । यसैगरी आज बिहान सम्पन्न खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन् । कतारको अल बायत स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् । यस बराबरीसँगै इङ्ग्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेका छन् । समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्डले दुई खेलमा चार अङ्क जोडेको छ भने अमेरिकाले दुई खेलमा दुई अङ्क जोडेको छ ।