विकासन्युज

विन नेपाल लघुवित्तको एफपिओ बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपिओ निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रति शेयर अंकित मूल्य एक सय रुपैया दरका ५१ हजार २९३ कित्ता साधारण शेयर प्रचलीत कानून बमोजिम अकिंत मुल्य मा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन गर्न लागेको हो । एफपिओ विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालय हात्तिसार, काठमाडौंमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृती देव राज अधिकारी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्यले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

जोरपाटीका नागरिकलाई स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट

जोरपाटी । छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ । यसका लागि तिर्नुपर्ने रु तीन हजार पाँच सयमा पालिकाकाले बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको छ । यसका लागि चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमा समावेश गरी पालिकाले ६८ लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको छ । बीमा कार्यक्रमबाट पालिकामा रहेका तीन हजार नौ सय २२ घरधुरी लाभान्वित हुने पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए ।

कालीकोटमा २० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार रुपैयाँ पुरस्कार

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ । बाल विवाह विरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए । ‘बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ’, उनले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको छ ।’ दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई १० हजार रुपैयाँ नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिए । ‘हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौँ’, उनले भने, ‘यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ ।’ विशेषगरी विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेषरूपमा नगरपालिकाले अगाडि बढाएको नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले बताए । ‘अहिले उमेर पुगेपछि विवाह गर्ने किशोरीलाई एउटा वडामा मात्रै पुरस्कार दिने निर्णय गरेका छौँ ।’ उनले भने, ‘आगामी दिनमा नगरपालिका सबै वडामा यो कार्यक्रम लागू गर्ने योजना रहेको छ ।’ रासस

ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं ।  ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज भएको प्रि (क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४ (१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४(० ले अग्रता लियो । खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे । त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४(१ गोलअन्तरले आफ्नो पक्षमा पार्यो । यसअघि आजै राति भएको अर्को खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।

ऋणीको ट्याक्सी बेचेर रकम असुल गर्दै सहकारी

काठमाडौं । सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले ऋण चुक्ता नगर्ने ऋणीको अटो बिक्री गरेर आफ्नो रकम असुल गर्ने भएको छ । संस्थाका ऋणी जिवन खड्काले हायर पर्चेज कर्जा शिर्षक अन्तर्गत कर्जा लिएर ऋण चुक्ता भुक्तानी नगरेकाले धितोमा राखिएको सवारी साधन बिक्री गर्ने भएको हो । खड्काले कर्जाको साँवा, ब्याज तथा हर्जाना रकम अबको १५ दिन अर्थात् पुस ५ गतेभित्र नबुझाएमा अल्टो ८००–एसटीडी बा २ ज ४३९८ मारुती ट्याक्सी बिक्री गरेर आफ्नो रकम असुल गर्ने संस्थाले जनाएको छ । उनले लिखित शर्त बमोजिम तोकिएको समय अवधिमा तिर्न, बुझाउनु पर्ने कर्जाको साँवा, व्याज तथा हर्जाना रकम समेत नतिरेको सहकारीले बताएको छ । पटक–पटक मौखिक तथा लिखित पत्र मार्फत ताकेता गर्दा समेत संस्थाको ऋण कर्जा चुक्ता भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाएको सहकारीले जनाएको छ ।

स्वर्णलक्ष्मी सहकारीले काठमाडौंका २ वटा जग्गा र एउटा गाडी बेच्दै

काठममाडौं । स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारी संस्थाले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी (साविक स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था) को नाममा दर्ता रहेको जग्गा र गाडी बिक्री गर्ने भएको हो । संस्थाले आफ्नो नाममा रहेको सम्पत्ति जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्रि गर्ने भएको हो । उक्त सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत खरीद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संगठीत संघ संस्थाले ७ दिन अर्थात् मंसिर २७ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । संस्थाले आफ्नो नाममा रहेको काठमाडौंको साविक सुन्टोल गा.वि.स. वडा नम्बर ८ मा रहेको कित्ता नम्बर १८७ को १-६-१-० क्षेत्रफल र कित्ता नम्बर ४१५ को १-१-२-० क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो । यस्तै, संस्थाले आफ्नो नाममा रहेको ग्राण्ड आइटेन स्पोर्ट्स टाइटन २०१९ मा दर्ता भएको (प्रदेश ३-०१) ०२३ च ३३७९ को गाडी बिक्री गर्ने भएको हो ।

८ वटा हाइड्रोपावरको घोषणा लाभांश, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । यो समय सेयरधनीहरुका लागि लाभांश सिजन हो । वर्षभरिको कमाएको नाफा सेयरधनीहरुलाई वितरण गरिने भएकाले कम्पनीहरुले पनि धमाधम लाभांश वितरण गरिरहेका छन् । नेप्सेमा सूचीकृत ५९ वटा जलविद्युत कम्पनी सूचीकृत छन् । जसमध्ये हालसम्म ८ वटा जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । हालसम्म अरुण भ्याली हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, सानिमा माई हाइड्रोपावर, अरुण कावेली पावर, रुरु जलविद्युत परियोजना, माउन्टेन इनर्जी नेपाल, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोवर र रिडी पावर कम्पनीले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । रुरु जलविद्युत परियोजनाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको उक्त लाभांश १७ औं साधारण सभाले पारित गरिसकेको छ । यस्तै, अरुण कावेली पावरले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत गरी कल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको उक्त लाभांश १२औं साधारण सभाले पारित गरिसकेको छ । यस्तै, सानिमा माइ हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५.२७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको लाभांश ११ औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । यस्तै, माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश वित।ण गर्ने प्रस्ताव गरेको छ । यस्तै, नेपाल हाइड्रो डेभलपर्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०२६ प्रतिशत नगद गरी कूल ५.०२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद गरी कूद ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोवरले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, रिडी पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१ प्रतिशत नगद लाभांश गरी कूल ४२.१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २१ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश वितरण सहित अन्य प्रस्ताव पारित गनै ३६ औँ वार्षिक साधारण सभा पौष ७ गते बोलाएको छ । बैंकको सभाले आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ । मेगा बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावहरु पारित गर्नेछ । साथै, बैंकले अधिकृत पुँजी १८ अर्बबाट ५० अर्ब पुर्याउने प्रस्ताव सभामा पेश गर्ने छ ।