नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो
एजेन्सी । नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो । त्यहाँको प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ । त्यहाँको वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिइएको हो । उक्त विज्ञप्तिमा वायु प्रदुषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर तहमा पुगेकाले सतर्कता अपनाउन आग्रह पनि गरिएको छ । सो प्रतिवेदनमा नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा गम्भीर तहमा पुगेकाले यसलाई कम गर्नका लागि आवश्यक सबै प्रकारका उपायहरु अपनाउन सरकारसँग आग्रह पनि गरिएको छ । सो आयोगको आइतबार अपराह्न ४ बजेको रिपोर्टमा वायु प्रदुषणको मात्रा (एक्युआई) गम्भीर तह अर्थात् चार सय सातमा पुगेको देखाइएको छ । यो एक्युआई तह दुई सय एक देखि तीन सयसम्म कमजोर अर्थात् खराब, तीन सय एकदेखि चार सयसम्म झन् खराब र चार सय एकदेखि माथि पाँच सयसम्मलाई गम्भीर तह अर्थात घातक मानिएको छ । नयाँ दिल्लीमा प्रायः जाडो समय (नोभेम्बरदेखि फेब्रुअरी) सम्म वायु प्रदुषणको मात्रा बढ्ने गरेको पाइन्छ । यसवर्ष अहिले नै त्यहाँको प्रदुषणको मात्रा गम्भीर तहमा पुगेकाले यस मौसममा वायु प्रदुषणको मात्रा निकै नै बढ्ने संकेत देखिएको हो ।
‘विश्वकपको उपाधि जित्ने आफ्नो सपनामा केन्द्रित भएको छु’ एमबाप्पे
एजेन्सी । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले आइतबार कतारमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई जीत दिलाउँदै दोस्रो पटक विश्वकपको उपाधि जित्ने आफ्नो ‘सपना’ साकार पार्न केन्द्रित रहेको बताएका छन् । एमबाप्पेको दुई गोलका साथै एक गोलका लागि बल पास गरेपछि पोल्याण्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स अन्तिम आठमा पुगेको छ । क्वाटरफाइनलमा फ्रान्सले इग्ल्यान्डसँग खेल्नेछ । २३ वर्षीय र एमबाप्पेले यस प्रतियोगितामा पाँच गोल गरिसकेका छन् र विश्वकपमा उनको कुल गोल सङ्ख्या नौ पुगेको छ । ‘म विश्वकपका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई प्रदान गरिने क्रमशः गोल्डेन बल वा गोल्डेन बुटबारे सोचिरहेको छैन’, पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डले भने । उनले भने, ‘मेरो एकमात्र उद्देश्य विश्वकप जित्नु हो । अहिले क्वार्टरफाइनल सबैभन्दा महत्वपूर्ण कुरा हो । यो एक मात्र चीज हो जसले मेरो विश्वकप जित्ने सपना साकार पार्न सक्नेछ । म यहाँ विश्वकप जित्न र राष्ट्रिय टोलीलाई सहयोग गर्न आएको हुँ, अरु केही होइन ।’ एमबाप्पेले आइतबारसम्म आफूले सञ्चारमाध्यमसँग कुरा नगर्नुको कारण पनि स्पष्ट पारेका छन् । उनले भने, ‘पत्रकारप्रति मेरो व्यक्तिगत कुनै आपत्ति छैन । मैले फुटबल र प्रतियोगितामा मात्र ध्यान केन्द्रित गर्न आवश्यक छ । म कुनै कुरामा ध्यान केन्द्रित गर्नका लागि अपनाउने तरिका मात्र हो ।’ उनले भने, ‘म यो प्रतियोगिताका लागि तयार हुन चाहन्थें र अहिलेसम्म सबै कुरा राम्रो भइरहेको छ । तर हामी अझै पनि हाम्रो लक्ष्यबाट धेरै टाढा छौं र अब हामीले क्वार्टरफाइनलमा ध्यान केन्द्रित गर्नु पर्दछ’, उनले भने, ‘क्वाटरफाइनलमा पुग्न पाउँदा हामी निकै खुसी छौं । पोल्याण्डको विरूद्धमा खेल्नु एक कठिन क्षण थियो ।’ ‘हामीले कडा टोलीसँग खेल्यौं र खेलको समयमा महत्वपूर्ण समयमा गोल गर्न सफल भयौं । यद्यपि, अझैपनि हामीले राम्रो खेल्न सकेनौं, हामीले जित्यौं र हामी खुसी छौं’, उनले भने ।
नबिलले प्राप्त गर्यो भारतको एक्जिमबैंकको ‘व्यापार सहायता कार्यक्रम’को सदस्यता
काठमाडौं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ । एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एकमात्र बैंक हो । एक्जिम बैंकले सूक्ष्म जोखिम समीक्षापछि नबिल बैंकलाई व्यापार सहायता अन्तर्गत सदस्यता प्रदान गरेको हो । सो सम्झौताले नेपाल र भारतबीच बढ्दो व्यापारलाई सहज बनाउने, नेपाल र भारतबीचको बढ्दो आर्थिक संलग्नतालाई सुदृढ गर्ने, आयात–निर्यातलाई सहजीकरण गरी अवसर खोल्ने नबिल बैंकको विश्वास छ । यो सुविधा अन्तर्गत एक्जिम बैंकले नबिल बैंकको भुक्तानी दायित्वको समर्थनमा भारतमा लेटर अफ क्रेडिट स्वीकार गर्न पेमेन्ट ग्यारेन्टी जारी गर्नेछ । यसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सिमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्नेछ र वित्तीय संस्थाहरुको क्षमता अभिवृद्धि गरी सीमापार व्यापार सम्बन्धी कारोबारहरुलाई सहज गर्नेछ । नेपालको व्यापारलाई अन्तर्राष्ट्रियकरण र सहजीकरणका लागि नबिल बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रयास गर्दै आएको छ । यस व्यापार सहायता कार्यक्रम अन्तर्गत एक्जिम बैंकसँगको नबिल बैंकको साझेदारीले नेपाली बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रियकरणतर्फको कोशेढुंगा सावित हुने नबिल बैंकले जनाएको छ । एक्जिम बैंक आयात–निर्यात वित्त पोषणमा संलग्न संस्थाहरुको कामको समन्वय गर्ने भारत सरकारको मुख्य वित्तीय संस्था हो । भारतको अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई प्रवद्र्धन, वित्त पोषण र सहजीकरण गरेर विश्व अर्थतन्त्रसँग भारतको पहुँच सहज बनाउन वर्षौंदेखि एक्जिम बैंकले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । देशभर बैंकका २३३ शाखा कार्यालय, २६९ एटीएम, असंख्य पोस (पीओएस) टर्मिनल, रेमिट्यान्स एजेन्ट र २०० भन्दा बढी अन्तर्राष्ट्रिय कर्रेसपन्डेन्ट बैंकिङ सञ्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन सुरु
पर्वत । मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले विसं २०७१ को मङ्सिरमा सुरु गरेको आयोजना आठ वर्षको अवधिमा सम्पन्न भएको हो । करिब रु चार अर्बको लगानीमा निर्माण भएको आयोजनाबाट आजदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाइनमा जडान गर्ने कार्यको अध्ययन गरिरहेको खरेलले जानकारी दिए । निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ को असरका कारण आयोजना पाँच वर्षपछि धकेलिएको हो । आयोजना प्रमुख खरेलका अनुसार परीक्षण उत्पादन सुरु गरेपछि उत्पादित विद्युत् एक सय ३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान गर्ने तयारी भइरहेको छ । चौध दिनसम्मको परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ ती सबै काम पूरा भएका छन् । प्रसारण लाइनसमेतको निर्माण सकिएपछि परीक्षण उत्पादन थालिएको खरेलले बताए । सुरुआतमा दुई अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजनाको निर्माण चौधरी ग्रुपले गरेको हो । विसं २०७१ मा ग्रुपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गरेका थिए । तीन वर्षमा नै निर्माणको काम सकेर २०७४ मङ्सिरमा काम पूरा गर्ने लक्ष्य राखिएको भए पनि प्रभावित क्षेत्रका नागरिकको पटक पटकको आन्दोलन र विरोध तथा प्राकृतिक विपद्का कारण आयोजनाको काम लम्बिएको आयोजना प्रमुख खरेलले जानकारी दिए । त्यसका कारण लागतसमेत ह्वात्तै बढेको छ । विसं २०७२ मा भूकम्पको मारमा परेको आयोजनाले बाढी र पहिराको पनि उस्तै सामना गर्नुपरेको थियो । पछिल्लो एक वर्षयता आयोजना निर्माण कार्यमा कुनै पनि पक्षबाट विरोध नभएका कारण कामले तीव्रता पाएको थियो । पर्वतको मोदी गाउँपालिका–२ केङ्गामा पावर हाउस राखिएको आयोजनाको बाँध भने कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटीमा रहेको छ । आयोजनाको दुई हजार तीन सय ९३ मिटर लामो सुरुङमा मोदी खोलाको पानी ल्याइनेछ । निर्माण सुरु गर्ने बेलामा १५ दशमलव एक मेगावाट क्षमतामा आयोजना सञ्चालन गर्ने भनिएको भए पनि निर्माण कार्य सँगसँगै क्षमता बढेर १८ मेगावाटमा पुगेको छ ।
राजमार्गको दाङ खण्डमा सडक मिचेका संरचना हटाउन निर्देशन
दाङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिइएको छ। सडक डिभिजन कार्यालय दाङले मंगलबारदेखि लागू हुने गरी १५ दिने सूचना जारी गरेको हो। दाङ खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ–बायाँ ३१ मिटरभित्र रहेका संरचना हटाउन निर्देशन गरिएको सूचना अधिकारी रिकेश महर्जनले जानकारी दिए। उनका अनुसार पुस १५ भित्र नहटाएमा आफैँ हटाउने तयारी रहेको छ। साथै हटाउन लागेको खर्चसमेत सडक मिच्नेहरूले नै व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ। राजमार्गको दाङ खण्ड करिब ७७ किलोमिटर रहेको छ। कार्यालयले सोही क्षेत्रका तीनवटा पालिकालाई पनि यो सूचना प्रकाशन गरिदिन अनुरोध गरेको छ। लमही नगरपालिकासहित राप्ती र गढवा गाउँपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा यो सूचना टाँस गर्नका लागि पत्र पठाएको डिभिजन प्रमुख इन्जिनियर रामपुकार जैसवालले बताए। पटकपटक सडक मिचेका भन्ने गुनासो आएको र दुर्घटनाको पनि जोखिम रहेकाले सडक क्षेत्र खाली गर्न निर्देशन दिइएको हो।
नारायणी नदी तटबन्धको काम थालिएपछि स्थानीयमा छायो खुसी
चितवन । भरतपुर महानगरपालिका-१७ गाजीपुरका ८२ वर्षीय नान्जेल तामाङ्को बर्षातका धेरै दिन नसुतिकनै बित्छ। घर नजिकै नारायणी नदी सुसाएसँगै बगाउँछ की भन्ने डरले रातको समयमा बाहिर आएर हेर्दैमा उनको रात बित्छ। धेरै पटक केटाकेटी बोकेर छिमेकीकोमा आश्रय लिएको पीडा उनीसँग ताजै छ। लमजुङ्को फुलिङ्गिरीबाट बसाइँ सरेर धेरै पहिला त्यहाँ आएको नान्जेलको परिवारसँगै धेरैको पीडा उहिनै छ। भरतपुर महानगरपालिका-१६ भगेरी थानका रमेश राई नदी तटबन्ध हुने सुनेपछि निकै खुसी छन्। उनले भने, ‘अब जिउ धन जोगिने भयो।’ नारायणीको तटीय क्षेत्रमा बसोबास गर्नेको निकै पीडादायिक जीवन जिउनुपर्ने बाध्यता छ। हरेक वर्षजसो ठाउँठाउँबाट नदी गाउँमा पसेर जनधनको ठूलो क्षति हुने गरेको छ। त्यसै क्षेत्रबाट विस्थापित भएर धेरै अहिले सुकुम्बासीको रुपमा जिउन बाध्य छन्। विगत १० वर्षदेखि तटबन्धको काम थालिएको भएपनि बजेटको अभावमा न्यून काम मात्र भएको छ। यसवर्ष भने पर्याप्त बजेटको निकासासँगै पाँच खण्डमा विभाजन गरेर काम थालिएको छ। गत असार अघि नै बोलपत्र आह्वान भई सम्झौता भएका तीन खण्ड र त्यसपछि बोलपत्र आह्वान भई सम्झौता भएको एउटा खण्ड गरी चार खण्डको काम थालिएको छ। अन्य एक खण्डमा छिट्टै काम थालनी गरिँदै छ। नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनीयर शङ्कर बुढाथोकीका अनुसार चार खण्डको सम्झौता भइसकेको छ भने एक खण्ड सम्झौताको चरणमा रहेको छ। असार अघि नारायणी नदीको महानगरतर्फ सिसइदेखि भगडीसम्मको तटबन्धका लागि ३८ करोडमा रुपैयाँ ठेक्का सम्झौता भएको हो। त्यसैबेलाको अर्को एक खण्ड गाजीपुरदेखि हीरापुरसम्मको ४८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ। तेस्रो रामघाटदेखि काभ्रेघाटसम्मको एक अर्ब १५ करोड रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ। चौथो खण्ड २६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ। यो बालुवादेखि गोलाघाटसम्मको ६ दशमलव ८ किलोमिटर तटबन्धको पनि सम्झौता भई कामको प्रक्रिया सुरु गरिएको छ। उनका अनुसार एउटा खण्ड बाहेक सबैको कामको प्रक्रिया सुरु भएको हो। सम्झौता भइसकेका तीन खण्ड पाँच किलोमिटर लम्बाइकाका छन्। गत कात्तिकमा सम्झौता भएको बालुवादेखि गोलाघाटसम्मको ६ दशमलव ८ किलोमिटरमध्ये २.५ किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्हार रहेको छ। नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिविच बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको छ। नारायणी किनारको जङ्गलको क्षेत्रबाहेकका सबै ठाउँमा तटबन्धका लागि ठेक्का लगाइएको हो। आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुनसकेको थिएन। चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ। चितवनका लागि नौ अर्ब ५५ करोड र नवलपरासीका लागि १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ। हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरी सकिएको छ। गुरुयोजनाअनुसार नदी तटबन्ध गरिँदै गर्दा एक लाख ९८ हजार छ जना प्रत्यक्षरुपबाट लाभान्वित हुनेछन्। चौध हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने छ भने कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने आयोजनाका प्रमुख गणेश मरासिनिले बताए। सबै क्षेत्र ठेक्का लागेपछि निर्माणको प्रक्रिया सुरु हुँदै गर्दा भरतपुर महानगरपालिकाको संयोजनमा आज स्थलगत निरीक्षण एवं छलफल गरिएको छ। आयोजनाका कर्मचारी, निर्माण व्यवसायीका प्रतिनिधि, स्थानीय र सरोकारवालाको रोहोबरमा महानगरपालिकाले छलफल गरेको हो। नदी तटीय विभिन्न क्षेत्रमा गरिएको छलफलमा महानगर प्रमुख रेनु दाहालले मेहनतका साथ परियोजना परेको भन्दै निर्धारित समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिइन्। स्थानीयलाई उनले भनिन्, ‘अब बाढीका कारण तपाईहरुले दुःख पाउने दिन हटेर जाँदै छ।’ चार खण्ड दुई र एउटा खण्ड तीन वर्षमा सम्पन्न हुने भन्दै उनले आफूले अघिल्लो कार्यकालको सुरुवाती चरणबाट थालेको कामले गति लिएको बताए। उपप्रमुख चित्रसेन अधिकारीले कुनै समस्या परेमा सँगसँगै महानगर रहेको भन्दै निर्धारित समयमा गुणस्तरीय काम गर्न आग्रह गरे। आयोजनाका प्रमुख मरासिनिले एकै साथ नारायणीको अधिकांश भू-भाग तटबन्ध हुने गरी महत्वपूर्ण आयोजना अघि बढेको भन्दै सबैको साथ र सहयोगको अपेक्षा गरे। पाँचमध्ये दुईवटा खण्डको जिम्मा पाएको भन्दै निर्माण व्यवसायी महासङ्घका सदस्यसमेत रहेका होमकुमार आचार्यले निर्धारित समयमा काम सम्पन्न गर्ने बताए।
अर्घाखाँचीको सिम्लेमा फल्यो पाँच करोडको सुन्तला
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै पाँच करोड रुपैयाँको सुन्तला फलेको छ। सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन्। उनीहरूले सबैले सुन्तला बेचेर कम्तीमा रु तीनदेखि २८ लाख रुपैयाँसम्म आम्दानी गर्छन्। यस गाउँका ४९ घरपरिवार व्यावसायिक सुन्तला खेतीमा लागेको र यसबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक रेवतीराज पौडेलले बताए। उनले आफ्नो बारीमा पाँच सय ५५ बोट सुन्तला रहेको र यसबाट दुई सय ५० क्विन्टलभन्दा बढी फलेको बताए। उनले यस वर्ष सुन्तला बिक्रीबाट २५ देखि २८ लाख आम्दानी हुने बताए। आफ्नो बारीमा पाँच सय ६५ बोट सुन्तला बगैंचामा रहेको जानकारी दिँदै कृषक दधीराम गौतमले भने, ‘गत वर्ष सुन्तला बिक्रीबाट नौ लाख कमाएँ, यस वर्ष सुन्तला बढी फलेकाले १४ लाख आम्दानी हुने अपेक्षा छ।’ विगतका वर्षमा यहाँ उत्पादन भएको सुन्तला प्रतिकिलो र ६० देखि ६५ मा बुटवल, तानसेन र भैरहवाका बजारमा बिक्री गर्न बाध्य बनेका कृषक यस वर्ष पाणिनीको पोखराथोकमा शीतभण्डार बनेपछि भण्डारणलाई सहज भएको छ। अहिले मौसमी रूपमा सस्तो मूल्यमा बेच्नुभन्दा शीतभण्डारमा राखेर बैमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका कृषक खुसी भएको अगुवा कृषक चिरञ्जीवी पौडेलको भनाइ छ। विगतमा कुहिएर जाने समस्या भोगेका किसान अहिले सुन्तला शीतभण्डारमा राखेर बेमौसममा महँगो मूल्यमा बिक्री गर्ने योजना रहेको कृषक पौडेलले बताए। पाणिनी–१ मा मात्र नभई वडा नं २ पोखराथोक, वडा नं ४ पटौटी र वडा नं ५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्दछ। पाणिनी गाउँपालिकासँगै मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला खेती हुँदै आएको छ। अर्घाखाँचीमा एक वर्षमा २५ करोडको सुन्तला उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रामनाथ पाण्डेले बताए।
प्रदेश नम्बर १ मा घरजग्गा कारोबार सुस्त, ९० हजार बढी बेरोजगार
काठमाडौं । प्रदेश नम्बर १ मा घरजग्गा कारोबारमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को आर्थिक गतिविधि अध्ययनमा प्रदेश नम्बर १ मा घरजग्गा कारोबारमा कमी आएको हो । सरकारले भू-उपयोग नियमावली २०७९ जारी गरी जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट गर्नुपर्ने व्यवस्था लागू गरेको हुँदा ठूला क्षेत्रफलका जग्गाहरुको वर्गीकरण र कित्ताकाटमा लगाएको रोकका कारण कारोबार सुस्ताएको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष प्रदेश नम्बर १मा ३७.४ प्रतिशतले राजश्वमा कमी आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । ‘आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा घरजग्गा दर्ता संख्या १२.७ प्रतिशतले बढेको छ भने घरजग्गा दर्ता बापतको राजस्वमा ३७.४ प्रतिशतले कमी आई ३ अर्ब ७६ करोड संकलन भएको छ,’ राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्याले आर्थिक गतिविधिमा प्रभाव पार्दा समग्र मागमा कमी आई घरजग्गा कारोवारमा प्रभाव परेकाले राजश्व रकम घटेको अध्ययनले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा घरजग्गा दर्ता संख्या ३६.४ प्रतिशतले बढेको थियो भने रजिष्ट्रेशन बापतको राजश्व ६८.८ प्रतिशतले बढेर ६ अर्ब रुपैयाँ संकलन भएको थियो । समीक्षा अवधिमा घर/भवन स्थायी नक्सा पास संख्या १.५ प्रतिशतले बढेको छ । अघिल्ला वर्षको सोही अवधिमा यस्तो संख्या ३.३ प्रतिशतले बढेको थियो । जिल्लागत आधारमा झापामा घर नक्सापास सबैभन्दा बढी २३.६ प्रतिशतले बढेको छ भने ताप्लेजुङ जिल्लामा सबैभन्दा बढी ८२.४ प्रतिशतले घटेको छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा प्रदेश नं. १ का १४ जिल्लाका कुल ९० हजार १९३ जना बेरोजगार व्यक्तिको रुपमा सूचीकृत भएको छन् । जसमध्ये २४.३ प्रतिशत (२१ हजार ८७५ जना) ले २ हजार ८१९ आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी प्राप्त गरेका छन् । रोजगारी प्राप्त गर्ने संख्याको आधारमा सबैभन्दा बढी इलाम जिल्लाका २ हजार ८३५ जनाले रोजगारी प्राप्त गरेका छन् भने सबैभन्दा कम तेह्रथुम जिल्लाका ५४१ जनाले रोजगारी प्राप्त गरेका छन् । त्यसैगरी, सूचीकृत बेरोजगार व्यक्तिको तुलनामा रोजगारी प्राप्त गर्ने व्यक्तिको आधारमा इलाम जिल्लामा सबैभन्दा बढी ३६.० प्रतिशतले रोजगारी प्राप्त गरेका छन् भने ताप्लेजुङमा सबैभन्दा कम २१.४ प्रतिशत रोजगारी प्राप्त गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा प्रदेश नं.१ का ९९ हजार ६०६ जना बेरोजगार व्यक्तिको रुपमा सूचीकृत भएकोमा २९.४ प्रतिशत (२९ हजार २६८ जना) ले २ हजार ८९७ आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रबाट रोजगारी प्राप्त गरेका थिए ।