नवलपरासीमा अव्यवस्थित इन्टरनेटको तार काट्ने अभियान सुरु
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका इन्टरनेटको तार काटिएको छ । यत्रतत्र छरिएका तारका कारण नगर क्षेत्रको सौन्दर्यमा असर परेको र दुर्घटनाको जोखिम बढेको भन्दै तार काटिएको नगरपालिकाले जनाएको छ । दिनभर नगर प्रहरीसहितको टोलीले सदरमुकाम परासी बजार क्षेत्रको विद्युत्को पोलमा लत्रिएका र आवश्यकताभन्दा बढी रहेका तार काटेको हो । इन्टरनेट सेवा प्रदायकलाई पटकपटक तार व्यवस्थापन गर्न आग्रह गरे पनि अटेरी गरेपछि बाध्य भएर तार काट्नु परेको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए । ‘कार्यपालिका बैठकमार्फत तार व्यवस्थापन गर्ने निर्णय कार्यान्वयन गरिएको हो’, खड्काले भनेयो, ‘सदरमुकाम परासीमा इन्टरनेट र केबल तारका कारण बजार क्षेत्रको सौन्दर्यमा असर परेको छ ।’ विद्युत् पोलको भुइँबाट टुप्पोसम्म तारले जेलिएको छ भने लत्रिएका तारले पैदल यात्रुलाई असर परेको छ । स्थानीयवासीले तार व्यवस्थापन गर्न नगरपालिकाको ध्यानआर्कषण गराउँदै आएका थिए । रासस
हेटौँडा सिमेन्ट उत्पादन हुन एक हप्ता लाग्ने
हेटौँडा । हेटौँडा सिमेन्ट उद्योगको विद्युतीय उपकरणको मर्मतसम्भार गरेर सिमेन्ट उत्पादन गर्न अझै एक हप्ता लाग्ने भएको छ। एक साताभित्र सिमेन्टको पुनः उत्पादन सुरु गर्ने लक्ष्य रहेको उद्योगको व्यवस्थापनले जनाएको छ। उद्योगमा प्रयोग हुने चेनको फिल्टर र विद्युतीय मोटर बिग्रिएर केही दिनदेखि सिमेन्ट उत्पादन बन्द गर्नु परेको प्रशासन महाशाखाले जनाएको छ। उद्योगको भण्डारणमा राखिएको गुणस्तरीय सिमेन्टलाई जुटका बारेमा प्याकिङ गरी काठमाडौँ र हेटौँडालगायत विभिन्न सहर आपूर्ति गरिरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए। उनका अनुसार, उत्पादन सिमेन्ट सुपथ मूल्यमा विकास आयोजना, सडक–ढल निर्माण एवम् सर्वसाधारणको आवासगृह निर्माणका लागि उच्च प्राथमिकता दिएर खपत गरिरहेको जानकारी दिए। मकवानपुरमा नेपाल सरकारद्वारा २०३३ सालमा हेटौँडा सिमेन्टको स्थापना गरी सो उद्योगले विसं २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरिएको र उपभोक्ताहरुलाई खपत गर्न उद्योग व्यवस्थापन निरन्तर लागिरहेको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसुन्धरा पाण्डेले बताए । अहिले सो उद्योगमा दैनिक १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ । रासस
निर्माणाधीन खानेपानीको ट्याङ्की अलपत्र
सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौली, सिद्धार्थ टोलमा निर्माणाधीन अवस्थामा रहेको खानेपानी ट्याङ्की अलपत्र परेको छ । नेपाल सरकारको आर्थिक सहयोगमा मधेस प्रदेश सरकार र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीको समन्वयमा निर्माणाधीन अवस्थामा रहेको रु आठ करोड एक लाख ५८ हजार चार सय १४ को खानेपानीको ओभरहेड ट्याङ्की निर्माणकै चरणमा अलपत्र परेको स्थानीय रामलाल महतोले बताए । उनका अनुसार करिब पाँच हजार जनसङ्ख्यालाई शुद्ध पिउने पानी पु¥याउने लक्ष्यका साथ निर्माण सुरु भएको खानेपानीको ओभरहेड ट्याङ्की निर्माणकै चरणमा अलपत्र परेको हो । प्रदूषित क्षेत्रमा खानेपानीको ओभरहेड ट्याङ्की निर्माण गर्नु नै मुख्य समस्या रहेको हरिवन नगरपालिका–५ का राजेश महतोले बताए । उनले इन्दु शङ्कर चिनी उद्योगबाट निस्केको प्रदूषित पानी सोही क्षेत्रमा लगेर छाडिएको र सोही क्षेत्रमा खानेपानी व्यवस्थापनको काम गर्दा आफूहरुले शुद्ध पिउने पानी नपाउने बताए । हरिवन नगरपालिका–११ स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगको प्रदूषित पानीको ढल निकास रहेको स्थान नजिकै खानेपानीको ओभरहेड ट्याङ्की निर्माण सुरु गरिएको र कसैसँग समन्वय नगरी निर्माण गरिँदा अलपत्र परेको स्थानीय शङ्कर महतोले बताए । वडाध्यक्ष नागेन्द्र साह र निवर्तमान नगरप्रमुख गणेश प्रसाइँको मिलेमतोमा केही रकम हिनामिन गर्ने मनसायस्वरुप खोला किनारमा लगेर खानेपानीको ओभरहेड ट्याङ्की निर्माण गरिएको महतोको आरोप छ । वडाभित्रका धेरै चापाकलहरुमा आउने पानी अखाद्य रहेको र इन्दु शङ्कर चिनी उद्योगले वडा कार्यालयलाई सो जग्गा दिएका कारण सोही स्थानमा खानेपानीको ओभरहेड ट्याङ्की निर्माणाधीन अवस्थामा रहेको हरिवन नगरपालिका–५ का वडाध्यक्ष नागेन्द्र साहले बताए । आर्थिक वर्ष २०७७/७८ देखि निर्माण सुरु गरी २०७९ साल साउन १४ मा निर्माण सम्पन्न गर्नुपर्ने ट्याङ्की निर्माण सम्पन्न गर्नुपर्ने समयावधि सकिँदा पनि आधा काम भएको छैन । कमलेस निर्माण सेवा प्रालिले निर्माणको ठेक्का पाएको भए पनि सो प्रोजेक्टमा बजेट अभावका कारण समयमै निर्माण हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीका निमित्त डिभिजन प्रमुख जानकीशरण भगतले बताए । उनका अनुसार मागअनुसारको बजेट नआएका कारण समयमै काम सम्पन्न गर्न नसकिएको हो । आगामी वर्षमा हरिवन नगरपालिका–५ का स्थानीयवासीलाई शुद्ध पिउने पानीको व्यावस्था गर्ने निमित्त प्रमुख भगतले बताए। रु आठ करोड एक लाख ५८ हजार चार सय १४ मा हरिवन नगरपालिका–५ र ६ का गरी करिब पाँच हजार जनसङ्ख्यालाई शुद्ध पिउने पानी खुवाउने लक्ष्यका साथ आव निर्माण सुरु गरिएको प्रोजेक्टको करिब २६ किलोमिटरमध्ये अहिलेसम्म १० किलोमिटर मात्र पाइप बिछ्याउने कामे भएको हरिवन नगरपालिका–५ को कार्यालयले जनाएको छ । प्रोजेक्टको कम्पाउन्डवाल लगाउने काम र विद्युत्गृह निर्माणको काम सकिएको भए पनि करिब ५० प्रतिशत काम अझै बाँकी रहेको छ ।
समाजको जीवन्त कथा : ‘ओभरलुक्ड फेसेज अफ नेपाल’
काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको जीवन भोगाइलाई प्रस्तुत गरिएको ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ । चिकित्सकद्वय परिधी शर्मा र अर्पणा पाठकले ३० जना सो समुदायका व्यक्तिको भोगाइलाई सो पुस्तकभित्र जीवन्तरूपमा कलात्मक चित्र मार्फत प्रस्तुत गरेका छन् । मण्डला र मिथिला शैलीबाट कोरिएका सो चित्रकथा पुस्तकले विशेषगरी विविध कारणले अहिले पनि खुलेर समाजमा नआएका ती समुदायका व्यक्तिका पीडा र आवाजलाई सुक्ष्मरूपमा उतारेको छ । दन्त चिकित्सक शर्माले भने, ‘कोरोना महामारीका कारण जारी लकडाउनका समयमा मैले आफूभित्र रहेको चित्रकारिताको प्रतिभालाई पुनः प्रस्फुटित गराएँ । डर, त्रास र दुःखका बीच चित्र मेरो साथी बन्यो । चित्रले मलाई यी आवेगसँग जुध्न सिकायो र मेरो ‘कोपिङ मेकानिज्म’ नै मेरा चित्र बन्यो । मसँगै म सहपाठी डा अर्पणा पाठकले पनि त्यस्तै गर्थिन् ।’ आफूलाई सानैदेखि चित्र कोर्ने रहर भए पनि चिकित्सक बन्ने क्रममा केही समय चित्रकलासँग साथ छुटेको उनको भनाइ थियो । उनले भने, ‘पुस्तकभित्रका चित्र मण्डला र मिथिला शैलीबाट प्रभावित छन् । यसैमा आधारित भएर कोरिएका हुन् ।’ त्यही चित्रकलामार्फत आफूहरूले समाजको कथा समाजलाई नै भन्न चाहेको डा. शर्माले सुनाए । उनले भने, ‘खुलेर समाजमा आउन नसकेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका पीडा र दुःखलाई यथार्थरूपमा चित्रकथाका रूपमा पुस्तकले समेटेको छ ।’ कसरी पुस्तक बनाउने तयारी भयो ? भन्ने जिज्ञासामा उनले भने, ‘हामीले लकडाउनकै समयमा एक नेपाली महिला र अर्की भारतीय महिलाबीचको प्रेम सम्बन्धबारे थाहा पायौँ । परिवार र समाजले अस्वीकार गरेका कारण उनीहरु प्रेम जोगाउ विदेश गए । समाजले नस्वीकार्दा विवाह गर्नकै लागि विदेश जानुपर्ने ? ती जोडीले अन्य सामाजिक विभेद र समस्या झेल्नुपर्ला ? यी र यस्तै प्रश्नको जवाफ खोज्दै जाँदा आफूहरू लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको नजिक भएको र उहाँहरुकै कथालाई चित्रको रूप दिने निचोडमा पुग्यौँ ।’ चित्रका लागि पात्र भेट्दा र उनीहरूको कथा सुन्दै जाँदा, ती आफूहरूले देखेको र सुनेको भन्दा बेग्लै पाइएको डा. शर्माको भनाइ थियो । उनले भने, ‘ती पात्रको व्यथा, दुःख र भोगाइ समाजले कल्पनासमेत गर्न नसक्ने खालका थिए, ती पात्रहरू कुन मनोदशाबाट गुज्रिए होलान् ? यसैले यस पुस्तकका हरेक पाना–पानामात्र नभएर जीवनकथा हुन् । पुस्तकका हरेक चित्र कसैको जीवनकथा सरह छ ।’ नेपालको सन्दर्भमा ‘एलजिबिटीआइक्यू’ समुदायका लागि पहिलो ‘कलरिङ बुक’ भएको सर्जकद्वयको दाबी छ । हरेक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक गर्वका साथ र बिनाविभेद बाँच्न पाउनुपर्छ भन्ने सन्देश चित्र पुस्तकको रहेको छ ।
आरएमडीसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३६८४ प्रतिशत नगद गरी कूल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ । चुक्ता पूँजीको ३२ करोड २६ लाख ७७ हजार २४५ रुपैयाँ बोनस सेयर र १ करोड ६९ लाख ८३ हजार १३ रुपैयाँको नगद गरी कूल ३३ करोड ९६ लाख ६० हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पुलबाट ट्रक खस्दा एकको मृत्यु
मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए । उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए । रासस
एनएमबि बैंकको लाभांश घोषणा
काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार रुपैयाँ रहेको छ । चुक्ता पूँजीको १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ
साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २७.३६८४२१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३६८४२१०५३ प्रतिशत नगद गरी कूल २७.३६८४२१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७ रुपैयाँ रहेको छ । चुक्ता पूँजीको ४० करोड ६७ लाख ४७ हजार ५६९ रुपैयाँको बोनस सेयर र २ करोड १४ लाख ७ हजार ७६६ रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।