विकासन्युज

८ वटा हाइड्रोपावरको घोषणा लाभांश, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । यो समय सेयरधनीहरुका लागि लाभांश सिजन हो । वर्षभरिको कमाएको नाफा सेयरधनीहरुलाई वितरण गरिने भएकाले कम्पनीहरुले पनि धमाधम लाभांश वितरण गरिरहेका छन् । नेप्सेमा सूचीकृत ५९ वटा जलविद्युत कम्पनी सूचीकृत छन् । जसमध्ये हालसम्म ८ वटा जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । हालसम्म अरुण भ्याली हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, सानिमा माई हाइड्रोपावर, अरुण कावेली पावर, रुरु जलविद्युत परियोजना, माउन्टेन इनर्जी नेपाल, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोवर र रिडी पावर कम्पनीले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । रुरु जलविद्युत परियोजनाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको उक्त लाभांश १७ औं साधारण सभाले पारित गरिसकेको छ । यस्तै, अरुण कावेली पावरले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत गरी कल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको उक्त लाभांश १२औं साधारण सभाले पारित गरिसकेको छ । यस्तै, सानिमा माइ हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५.२७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको लाभांश ११ औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । यस्तै, माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश वित।ण गर्ने प्रस्ताव गरेको छ । यस्तै, नेपाल हाइड्रो डेभलपर्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०२६ प्रतिशत नगद गरी कूल ५.०२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद गरी कूद ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोवरले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, रिडी पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१ प्रतिशत नगद लाभांश गरी कूल ४२.१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २१ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश वितरण सहित अन्य प्रस्ताव पारित गनै ३६ औँ वार्षिक साधारण सभा पौष ७ गते बोलाएको छ । बैंकको सभाले आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ । मेगा बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावहरु पारित गर्नेछ । साथै, बैंकले अधिकृत पुँजी १८ अर्बबाट ५० अर्ब पुर्याउने प्रस्ताव सभामा पेश गर्ने छ ।

युनिलिभर नेपालको १२१५ प्रतिशत लाभांश आज पारित हुँदै

काठमाडौं । युनिलिभर नेपालको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको २९ औँ वार्षिक साधारणसभा आज मंसिर २० गते होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजे हुने भएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२१५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू र आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने र नयाँ सञ्चालकहरु चयन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले त्यसैले मंसिर ४ गतेभन्दा अघि नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै साधारण सभामा सहभागीता र लाभांश प्राप्त गर्नेछन् ।

प्रधानमन्त्री बन्न ‘गोप्य’ भेटघाटमा प्रचण्ड !

काठमाडौं । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । आगामी सरकारको नेतृत्व गर्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोप्य भेटघाट तीव्रता पारेका छन् । ललितपुर खुमलटारस्थित निवासमा सोमबार प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी एमाले सचिव रघुवीर महासेठसँग ‘गोप्य भेटघाट’ गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि फोन गरेर प्रचण्डलाई बधाई दिँदै ‘आगामी दिन मिलेर अगाडि बढ्न गरेको’ प्रस्तावपश्चात् ओलीनिकट नेता महासेठले गरेको ‘प्रचण्डसँगको भेटलाई अर्थपूर्ण’ रूपमा लिइएको छ । सत्तारूढ गठबन्धनको बालुवाटारमा सोमबार नै बसेको बैठकमा ‘निर्वाचन समीक्षाका साथै आगामी सरकार गठनबारे छलफल भयो । सो छलफलमा सत्तारूढ गठबन्धनकै पुनः सरकार बनाउने सहमति जुटेको छ । तर, गठबन्धन बैठकअघि प्रचण्डलाई एमाले सचिव महासेठ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसमेत छुट्टाछुट्टै भेटघाट हुनुलाई ‘अर्थपूर्ण’ रूपमा लिइएको छ । ‘जसरी पनि प्रधानमन्त्री बन्ने’ दौडमा रहेका माओवादी केन्द्र अध्यक्ष प्रचण्डले ‘भए सत्तारूढ गठबन्धनबाट नभए एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बन्ने’ चाहना राखेको उनीनिकट नेताहरू बताउँछन् । केही दिनअघि एकीकृत समाजवादी अध्यक्ष नेपालसँग भेटघाट गरी सिन्धुपाल्चोक सुकुटे पुगेका प्रचण्डले त्यहाँ प्रधानमन्त्रीका लागि आन्तरिक छलफलमा आफँ लागेको बताएका थिए । प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित केही सांसद र जिल्ला नेतासँगको छलफलमा प्रचण्डले ‘सरकारको नेतृत्व गर्नका लागि आफँ आन्तरिक तयारीमा जुटिसकेको’ जानकारीसमेत प्रधानमन्त्री शेरबहादुर देउवालाई गराइसकेको बताएका थिए । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।

निफ्रा बैंकले मंसिर २९ गतेदेखि ५ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकले मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधि भएको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले ७ वर्ष अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको रकम ब्यक्तिगत तवरबाट बिक्री खुला गरिनेछ । यस्तै, ४० प्रतिशत अर्थात् २० लाख कित्ताले हुन आउने २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । जसमा ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले छिटोमा पुस ४ गतेसम्म र ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा लगानीकर्ताहरुले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रलाई इक्राएनपी आईआर आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरको छ ।

रिलायन्स लाइफको बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको बालाजु शाखाले बीमा सचेतना र साक्षरता कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहको थियो । कपनको सरस्वती नगरमा भएको कार्यक्रमा विद्यार्थीहरुलाई बीमा सचेतना र साक्षरता सम्बन्द्यी जानकारी गराईएको थियो । सचेतना कार्यक्रममा एरिया मेनेजर जीवन खनाल, ब्रान्च मेनेजर सुरेश रत्न बज्रचार्यका साथै एजेन्सी मेनेजर रामकुमार श्रेष्ठले जीवन बीमाको महत्व र प्रकृति बारे आ–आफ्नो धारणा व्यक्त गरेक थिए ।

सुपर मादीको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । सुपर मादी हाइड्रोपावरले आज मंसिर २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ बराबरको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो। जसमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गरेको हो । यस्तै, कम्पनीले सर्वसाधारणलाई निष्काशन हुने कम्पनीको जारी पूँजीको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लख कित्ता मध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिएकोकम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले पुस ५ गते र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने पुस ५ गतेसम्म मात्रै आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

बौद्ध–जोरपाटी क्षेत्रका चार सहकारी बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगे

काठमाडौं । पछिल्लो समय बौद्ध, जोरपाटी क्षेत्रका चार सहकारी संस्था बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । ती संस्थाले आफ्ना कार्यालयसमेत बन्द गरेका छन् । कार्यालय खुलेका केही सहकारीले भने थोरैमात्र बचत फिर्ता गरिरहेका छन् । काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धमा कार्यालय रहेको सुमो बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर–६ मा कार्यालय रहेको मुक्ति बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर नगरपालिका वडा नं ५, जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था र गोकर्णेश्वर–५ मै कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत फिर्ता गर्न नसकी कार्यालय बन्द गरेका हुन् । स्वर्णलक्ष्मी सहकारीले त बोर्ड पनि हटाएको प्रहरी बिट जोरपाटीले जनाएको छ । गोकर्णेश्वर–६ मा रहेको मुक्ति सहकारी संस्थाका बचतकर्ताले संस्थाका पदाधिकारी र सञ्चालकलाई वडा कार्यालयमै लगेर पैसा फिर्ता गर्ने सहमति गराएका छन् । सहमति गराउन वडा अध्यक्ष नवराज लामाले पनि सहयोग गरेको बचतकर्ताले जनाएका छन् । मञ्जुश्री सहकारी कार्यालयअघि मोबाइल पसल सञ्चालन गर्नुहुने कविन्द्र अधिकारी पैसा तिर्ने प्रतिबद्धता जनाउने तर कार्यालय नखोल्ने गर्दा शङ्का लाग्ने अवस्था आएको बताउँछन् । दैनिक कार्यालय खोलेर सहकारीमा भइरहेका गतिविधिका बारेमा बचतकर्तालाई जानकारी गराए समस्या समाधानमा सहजता हुने उनले बताए। बचत फिर्ता गर्न नसकी समस्यामा परेका सहकारीका पदाधिकारी, सञ्चालक र कर्मचारीको फोन सम्पर्क हुन छोडेको छ । जसले गर्दा बचतकर्ता तनावमा रहेका छन् । सहकारीको प्रभावकारी नियमन र अनुगमन नहुँदा बचतकर्ता तनावमा रहनुपर्ने अवस्था आएको एक बचतकर्ता श्याम लामाले बताए। मञ्जुश्रीले फिर्ता गरेन बचत मञ्जुश्री सहकारी तीन महिनादेखि बन्द भएको भन्दै बचतकर्ताले आपत्ति जनाएका छन् । बचत झिक्न जाने बचतकर्तालाई सहकारीले साउन २५ गतेदेखि निरन्तर सूचना टाँस गरी म्याद बढाउँदै आएको छ । तर आजसम्म पनि सहकारीले बचत फिर्ता गरेको छैन । पटकपटक दिएको म्यादको अन्तिम दिन आइतबार पनि बचतकर्ता सहकारीमा पुगे तर कार्यालय खुलेन । बचतकर्ताहरू जोरपाटी चोकको मूल सडकमै दुई घण्टा धर्ना बसे । सहकारीका अध्यक्ष इन्द्र लामालगायत पदाधिकारी, सञ्चालक सदस्य एवं कर्मचारीलाई फोन लगाए । कसैको फोन उठेन । सहकारीले बचत फिर्ता गर्न छोडेको सात महिना पूरा भएको बचतकर्ता उमेश खतिवडाले राससलाई जानकारी दिए। पटकपटक दिएको समयसीमामा पनि सहकारीले बचत फिर्ता गरेको छैन । दशैँपछिदेखि त कार्यालय नै खुल्न छोडेको उनले सुनाए। सहकारीमा लाखौँ रुपैयाँ जम्मा गरे पनि आवश्यक पर्दा पाउन नसकेको भन्दै बचतकर्ताले सहकारी कार्यालय र अध्यक्षको घरमै पुगेर धर्ना दिएका हुन् । सहकारीका पदाधिकारी, सञ्चालक सदस्य एवं कर्मचारीको फोन पनि नउठ्ने, कार्यालयमा पनि नआउने भएपछि बचतकर्ताको समूह अध्यक्ष लामाको बौद्ध भुवालडाँडास्थित घरमै पुगे । ऋणीले लिएको ऋण नतिरेपछि बचतकर्तालाई पैसा फिर्ता गर्न नसकिएको उनको भनाइ छ । ‘सहकारीले करिब ११ करोड वचत फिर्ता गर्नुपर्ने छ, बजारमा सात करोड ऋण लगानी छ, पाँच करोडको घर सहकारीका नाममा छ, शेयर सदस्यको शुल्क एक करोड गरी १३ करोडको पुँजी छ, यसैले बचतकर्तालाई पैसा फिर्ता गर्न समस्या छैन, अहिले बजारबाट ऋण नउठेकाले मात्र समस्या भएको हो, हामी बचतकर्ताको एक पैसा पनि खाँदैनौँ, सबैको पैसा फिर्ता गर्छौँ’–उनले भने। सहकारीमा लामा २०७५ देखि अध्यक्ष छन् । त्यसअघि साम्देन लामाले सहकारीको अध्यक्ष भएर काम गरेका थिए। साम्देन लामाले विसं २०६३ मा सहकारी स्थापना भएदेखि २०७५ सालसम्म सहकारीको अध्यक्ष चलाएका थिए। सहकारीको अहिले रहेको करिब सात करोड ऋणमध्ये करिब ९० प्रतिशतभन्दा बढी साम्देन लामा अध्यक्ष भएका बेलामा लगेको अभिलेख सहकारीमा रहेको प्रशासन प्रमुख विजय तामाङले जानकारी दिए । ‘धेरै ऋणीका घरमा ऋण उठाउन जाँदा साम्देन लामासँग ऋण लिएको हो, उहाँसँग कुरा मिलाइसकेको छु भन्छन्, पूर्व अध्यक्ष साम्देन लामा कार्यालयमा आउँछु, सबै मिलाउँछु भन्नुहुन्छ, तर आउनुहुन्नँ’, उनले भने। सहकारीको ऋण उठ्न छोडेपछि सञ्चालकहरू एकले अर्कोलाई दोष देखाउन थालेका छन् । केही पदाधिकारी एवं सदस्यले भने राजीनामा दिइसकेको बताउँदै अब आफ्नो कुनै जिम्मेवारी नरहेको भन्दै पन्छने गर्न थालेको बचतकर्ताको गुनासो छ । सहकारीबाट राजीनामा दिइसकेको बताउने पूर्व सचिव अमरनाथ घिमिरे स्थापना कालदेखि नै अध्यक्षमुखी भएर सञ्चालन गरेका कारण यस्तो अवस्था आएको बताउँछन् । ‘सहकारी सबै सञ्चालक एवं शेयर सदस्यको सहकार्यमा चल्नुपर्ने हो, अरु सदस्यले पनि अध्यक्षको मात्र संस्थाजस्तो गर्ने र अध्यक्षले पनि व्यक्तिगत कम्पनीजस्तो गरी चलाउने गर्दा धेरै सहकारीमा समस्या आउने गरेको देखिन्छ, यसरी सञ्चालन गर्ने सहकारीको सिद्धान्त नै होइन’, उनले भने। सहकारीमा १४ वर्षदेखि खाता खोलेर बचत गर्दै आएका जोरपाटी माकालबारीमा फर्निचर व्यवसायी पन्नालाल ठाकुर आठ महिनादेखि सहकारीबाट बचत फिर्ता पाउन नसकिएको गुनासो गर्छन् । करिब पाँच लाख सहकारीमा बचत गरेका ठाकुर दिनमा एक पटक सहकारी धाउने गरे पनि पछिल्लो समय कार्यालय नै खुल्न छोडेको बताउँछन् ।