विकासन्युज

तनहुँको ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाइँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाउन लागेको छ । आँबुखैरेनी वडा नं २ र ४ को सिमानामा रहेको ऐना पहरामा ऐना पार्क बनाएर पर्यटन प्रवद्र्धन गर्न लागिएको हो । चालू आर्थिक वर्षमा एक करोड ४० लाख रुपैयाँ विनियोजन गरेर आर्कषक पार्क बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । बहुबर्षीय योजनाअन्तर्गत गाउँपालिकाको आफ्नै स्रोतमा साहसिक खेल, सिसाको ब्रिज, जीपलाइन, स्वीमिङ पुल, ढुङ्गामा आर्कषण मूर्ति निर्माणलगायतका संरचनाका लागि डिपिआर गरी प्रक्रिया अघि बढाइएको उनले बताए । कूल पाँच करोड रुपैयाँ लाग्ने अनुमानअनुरुप गौरवको आयोजनामा राखेर काम गर्न लागेको गाउँपालिका कार्यालयले जनाएको छ । पृथ्वीराजमार्ग भएर दैनिक सयौँं सवारीसाधान गुड्ने हुँदा पर्यटकलाई आर्कषण गर्न सकेको अवस्थामा आयआर्जन गर्न सकिने प्रचूर सम्भावना देखिएको छ । त्यसैगरी गाउँपालिकाले वडा नं ६ को हिलेखर्क र वडा नं १ को गिरौनचौरलाई नमूना पर्यटकीय गाउँ घोषणा गरी बजेट विनियोजन गरेको छ । दुई वडाका गाउँलाई तीस लाख रुपैयाँका दरले  साठी लाख बजेट विनियोजन गरेर प्रक्रिया अघि बढाइएको छ । कार्यविधि बनाएर मौलिक प्रकृतिका घरको संरक्षण गरिने अध्यक्ष चुमानले जानकारी दिए । उक्त स्थानमा अब बन्ने घर पनि मौलिक किसिमका हुनेछन् । उनले भने, ‘त्यहाँ रहेका घुमाउने घर गुरुङ समुदायको कलासंस्कृति पर्यटकका लागि आर्कषण बन्नसक्ने विश्वास गरेका छौँ ।’ रासस

शिक्षित युवा जनशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका छन् । आईतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको उल्लेख गर्दै अव नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यक्ता समेत औंल्याए । प्रधानमन्त्री देउवाले संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहको सवलीकरण हुने गरी कानुनहरुको निर्माण गर्ने काममा ढिलाई गर्न नहुने पनि स्पष्ट पारे । जनसेवाको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सार्वजनिक सुनुवाई, जनभेला, जनसहभागिता, घरदैलो सेवा, हेला सरकार लगायतका सबै सार्वजनिक सेवाहरुलाई प्रभावकारी रुपमा सबै तहमा लागु गर्नुपर्नेमा पनि प्रधानमन्त्री देउवाको जोड थियो । उनले भ्रष्टाचार शुन्य नीति लिएर अघि बढन पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे । प्रधानमन्त्री देउवाले भने, ‘गाउँपालिकालाई संगठित गराई प्रभावकारी रुपमा स्थानीय सरकार संचालन गर्न प्रतिनिधिमूलक संस्था गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तेस्रो अवधिसम्म आईपुग्दा यस अवधिमा आफ्नो उद्देश्य प्राप्तीमा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएकोमा हार्दिक बधाई दिन चाहन्छु । स्थानीय तहले संरचनात्मक सुधार, सेवा प्रवाहका लागि नविनम प्रविधिको उपयोग गरी सेवाग्राही केन्द्रित योजना बनाई अगाडि बढेका सुशासनलाई स्थानीय तहमा संस्थागत गर्न सकिनेछ ।’ प्रधानमन्त्री देउवाले मुलुकमा विद्यमान गरिवी, बेरोजगारी, सामाजिक अन्धविश्वास तथा कूरीतिहरुको अन्त्यका लागि आर्थिक विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्न सक्ने गरी स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सबै पक्ष लाग्नुपर्ने पनि बताए । उनले दिगो विकास लक्ष्य अनुरुप अघि बढनगरी योजना तर्जुमा गर्न स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताए । प्रधानमन्त्री देउवाले भने, ‘देशको शिक्षित युवा जनशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्न आवश्यक छलफल हुन आवश्यक छ । यस कार्यमा गाउँपालिका राष्ट्रिय महासंघले आवश्यक समन्वय र सहजीकरण गर्न आवश्यक छ । स्थानीय निकायले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाएर भ्रष्टाचार शुन्य नीति लिएर अघि बढन म विशेष अनुरोध गर्दछु ।’ त्यस अवसरमा प्रधानमन्त्री देउवाले स्थानीय तहको प्रतिष्ठालाई अघि बढाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने काम गरिरहेको भन्दै गाउँपालिका राष्ट्रिय महासंघ नेपाललाई धन्यवाद समेत व्यक्त गरे ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नयाँ संचालक समिति गठन, अध्यक्षमा शशिराज पाण्डे नियुक्त

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको मंसिर २३ गते सम्पन्न विशेष साधारणसभाबाट नयाँ संचालक समिति गठन भएको हो । विशेष साधारणसभामा भएकाे निर्वाचनबाट संचालकमा शशिराज पाण्डे, दिनेश राज जोशी, राम कृष्ण शर्मा वाग्ले, उमेश भगत प्रधानाङ्ग र महेश प्रसाद अधिकारी नियुक्त भएका छन् । सभाले फाइनान्सको अध्यक्षमा शशिराज पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेकाे छ ।  

लक्ष्मी बैंककाे सेयरधनीका हात यस वर्ष खाली

काठमाडौं । लक्ष्मी बैंकका सेयरधनीको हात यस वर्ष खाली हुने भएको छ । बैंकले यस वर्ष लाभांश घोषणा नगरी आर्थिक वर्ष २०७८/२०७९ को वित्तिय विवरण पारित गरेपछि बैंकको सेयरधनीको हाल खाली हुने भएको हो । बैंकको आइतबार बसेको संचालक समितीको बैठकले यस्तो निर्णय गरेको हो । बैंकले गत वर्ष सेयरधीनलाई ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

डिशहोममा १ वर्षको रिचार्ज गर्दा दिपा तामाङले जितिन् एक लाख नगद

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा भक्तपुर मध्य ठिमी वाड.न ६ की दिपा तामाङले नगद एक लाख रुपैयाँ जितेकी छिन् । डिशहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यस योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाइने छ । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् । यसै क्रममा भक्तपुर मध्य ठिमी वाड.न ६ की दिपा तामाङले एक लाख रुपैयाँ जितेकी हुन् । स्टाेम नेटवर्ककाे डिलर अन्तर्गत  रहेको भक्तपुरकी मध्यपुर डिसहाेम सपका  डिलर दाईकाेमा एक वर्ष रिचार्ज गरेर तामाङले लक्किड्रमा सहभागी हुने अवसर पाएकी थिइन् । डिशहोमको तर्फवाट सेल्सअफिसर हरि केसीबाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेका हुन् । विजेता तामाङलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यस योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले जनाएकाे छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ ।    

प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसका पुरुषतर्फ तीन जनामात्रै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न तीन जनाको नाममात्र छनोट गरेको छ । प्रत्यक्षतर्फ कुल एक सय ६५ सिटमध्ये कांग्रेसका एक महिलामात्र निर्वाचित भएको र संघीय संसद्मा महिला प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनुपर्ने संवैधानिक प्रावधानका कारण समानुपातिकमा पुरुष सङ्ख्या कम छनोट गर्नुपरेको हो । कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद हुनेहरूको नाम शनिबार टुङ्गो लगाई निर्वाचन आयोगमा बुझाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलित क्लष्टरबाट जीवन परियार, खसआर्यबाट डा. प्रकाशरण महत र मधेसीबाट विमलेन्द्र निधिको नाम टुङ्गो लगाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट एक जना महिलामात्र निर्वाचित भएको र राष्ट्रियसभा हाल कांग्रेसका दुई महिला सदस्यमात्र रहेकाले समानुपातिकतर्फ २९ जना महिलाको नाम पठाएको पार्टी कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट कांग्रेसले खसआर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईँ, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की र डा प्रकाशशरण महतलाई चयन गरेको छ । यसैगरी आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लीलादेवी बोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचनको नाम आयोगमा पठाएको छ भने मधेसी क्लष्टरबाट नागिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, सङ्गीता मण्डल, नीनुकमारी कर्ण र विमलेन्द्र निधिको नाम पठाइएको छ । दलिततर्फबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक, जीवन परियार चयन हुनुभएको छ भने थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत तथा मुस्लिमबाट जावेदा खातुन जागाको नाम पठाइएको पार्टी कार्यालयले जनाएको छ । के हो त अबको प्रक्रिया ? निर्वाचन आयोगले समानुपातिक मतगणना सम्पन्न गरेपछि समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न दलहरूलाई बिहीबार तीन दिनको समय प्रदान गरेको थियो । शनिबारसम्म सबै दलले समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न नामावली बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले आज उक्त नामावली उपर जाँच गर्ने, सबै क्लष्टर तथा महिलाको सङ्ख्या पुगेरनपुगेको सम्बन्धमा हेर्ने पौडेलले बताए । दलहरूको समानुपातिक सूची केन्द्र र प्रदेश गरी आठ ठाउँमा छ । आयोगले आवश्यक जाँच र दलहरूको तयारीअनुसार सबै कार्य सम्पन्न गरी सम्भवतः सोमबार समानुपातिक सांसदको नामावली सार्वजनिक गर्ने जनाएको छ । यी सबै प्रक्रिया सम्पन्न गरी यही मंसिर अन्तिमसम्ममा प्रतिनिधिसभाको राष्ट्रपतिलाई र प्रदेशमा सम्बन्धित प्रदेश प्रमुखलाई निर्वाचनको विवरण बुझाउने आयोगको लक्ष्य रहेको प्रवक्ता पौडेलले बताए । त्यसपछि नयाँ सरकार गठन र नयाँ संसद् बैठकको तयारी प्रारम्भ हुनेछ । रासस

किन हुन्छ सुन चाँदीको मूल्य घटबढ ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको बताउँछन् । ‘सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ’, अध्यक्ष शाक्यले भने । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँसत एक हजार सात सय ९७ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ ।

नेपालगञ्जमा अख्तियारमा स्थानीय तहका उजुरी धेरै

राँझा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन्। बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरू रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख विजयराज पौडेलले जानकारी दिए। उनका अनुसार, गत आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्षको हालसम्म कार्यक्षेत्रअन्तगर्तका चार जिल्लाका उजुरीमध्ये बाँकेका २६५, दाङका २०९, बर्दियाका १११ र रोल्पाका ३३ गरी कूल ६१८ उजुरी दर्ता भएका छन्। तीमध्ये ३०७ उजुरीको छानबिन सम्पन्न भएको छ भने ३११ उजुरी फर्छ्यौट हुन बाँकी रहेका छन्। कार्यालयको कार्य क्षेत्रअन्तर्गतका चार जिल्लामध्ये सबैभन्दा धेरै बाँकेका स्थानीय तहका ११३ उजुरी दर्ता भएका छन्। तीमध्ये ६८ उजुरी फर्छ्यौट भएका छन् भने अझै ६५ उजुरी फर्छ्यौट हुन बाँकी छन्। जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाका २८ उजुरी दर्ता भएको कार्यालय प्रमुख पौडेलले बताए। स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्ने/नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्ने जस्ता प्रवृत्ति पाइएको छ। रासस