विकासन्युज

सेल्सबेरीका ग्राहकले नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्दछन् । क्यासब्याकको अफर नेपाल भरीका सेल्सबेरीका शाखाहरुमा मंसिर २५ देखि पौष ३० गतेसम्म उपलब्ध हुनेछ । डायनामिक क्युआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा उपलब्ध भएको नेपाल पे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । सेल्सबेरीमा नेपाल पे क्युआरको सेवा हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट एपको क्युआर स्क्यान स्क्रिनमा नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । हाल नेपालपे क्युआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे, एमओआरयु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ ।  

‘पहिले बैंकर भनेर छाती फुलाएर हिड्थ्यौं, अहिले जताततै गालि सुन्नु पर्छ’

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर वद्धि गरेको भन्दै उद्योगी व्यवसायीहरु देशभर आन्दोलित छन् । बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकविरुद्ध आन्दोलित उद्योगी व्यवसायीहरुले देशभरका शाखाहरुमा तालबन्दी गरिरहेका छन् । उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएको भन्दै उद्योगी व्यवसायी आन्दोलित छन् भने चर्काे ब्याजदरका कारण मुलुकको अर्थतन्त्र र राजस्वमा गम्भीर प्रभाव परेको छ । बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकविरुद्ध देशभर आन्दोलन भइरहँदा शाखा कार्यालयमा कार्यरत रहेका बैंकरहरुलाई काम गर्न कति सहज छ भन्ने कुरा सबैको चासोको विषय बनेको छ । नेपाल बैंकर्स संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका प्रदेश प्रमुख मुकुन्द प्रसाद भट्ट अर्थतन्त्र संकटमा परेका बेला त्यसको प्रत्यक्ष प्रभाव बैंकहरुमा पर्ने गरेको बताउँछन् । सुदूरपश्चिममा पनि बैंकहरुमा असर परेकाले काम गर्न अफ्ठ्यारो भएको उनको अनुभव छ । ‘अर्थतन्त्रमा परेको दबाबले बैंक तथा वित्तीय संस्थालाई असर गरेको छ, अर्थतन्त्र सहज भयो भने बैंक पनि सहज रुपमा सञ्चालन हुन्छन्, समस्या देखिएपछि त्यसको दबाब बैंकमा पनि परेको छ, सहज परिस्थितीमा हुने काम असहज परिस्थितीमा गर्न गाह्रो नै हुन्छ,’ उनले भने । बैंकिङ्ग क्षेत्रको राष्ट्रिय तुलना गर्दा सुदूरपश्चिमको हिस्सा कम छ । झन् अर्थतन्त्र समस्यामा परेको बेला झनै गाह्रो हुने गरेको उनले बताए । बैंकको विजनेशमा हुनुपर्ने ग्रोथ हुन नसकेको उनको भनाइ छ । ‘अर्थतन्त्रको ग्रोथ गराउने बैंकले नै हो, नयाँ उद्योगधन्दा, ब्यापार व्यवसाय विस्तार गर्न कर्जा दिन नसक्ने अवस्था छ, कर्जा विस्तार नभएपछि विजनेशमा ग्रोथ हुन सकेको छैन, बजारमा पैसाको सर्कुलेशन कम छ, ट्याक्स फ्लो कम छ, रिकोभरिमा पनि समस्या छ,’ उनले भने । सुदूरपश्चिममा व्यवसायी र बैंकरबीच समझदारी अनुसार नै काम भइरहेको उनले बताए । नेपाल बैंकर्स संघ कर्णालीका अध्यक्ष तथा एनआईसी एशिया बैंकका प्रदेश प्रमुख राजन पोख्रेल कर्णाली प्रदेशमा रिकोभरिको समस्या अत्यधिक रहेको बताउँछन् । साथै, कर्णाली प्रदेशका उद्योगी व्यवसायीहरुलाई राष्ट्र बैंकले जारी गरेको चालू पूँजी मार्गदर्शन बारे बुझाउन गाह्रो हुने गरेको उनको भनाइ छ । राष्ट्र बैंकले जारी गरेका निर्देशिकाहरु कर्णालीका ब्यापारीहलाई बुझाउन गाह्रो हुने गरेको उनको अनुभव छ । ‘कर्णालीमा बैंकरलाई कर्जा असुलीमा समस्या छ, ब्यापारीहरुले चालू पूँजी कर्जा निर्देशिकाको विषयमा कम बुझ्नु भएको छ, बैंकर एशोसिएसनले कार्यक्रम आयोजना गरेर व्यवसायीहरुलाई बुझाउनु पर्नेछ, यहि विषयमा बैंकर र ब्यापारीहरुमा विवाद छ, बैंकरहरु राष्ट्र बैंकले निर्देशिका अनुसार नै काम गर्छन् तर ब्यापारीहरु सबैमा सूचना पुर्याउन नसक्दा गाह्रो भएको छ, कतिपय ग्राहकको सेल्स नपुगेर कर्जा घटाउन समस्या देखिएको छ,’ उनले भने । आर्थिक मन्दीले विश्वलाई नै समस्यामा पारेको बेलामा कर्णालीमा पनि असर पारेको उनले बताए । पछिल्लो समय गाउँमा हुने ब्यापारमा पनि गिरावट आएको उनको भनाइ छ । निक्षेप संकलन कम भएकाले लगानी पनि कम भएको उनले बताए । ‘कर्णाली अर्गानिक हो, व्यापार व्यवसयाहरु उधारोमा हुन्छन्, रेमिट्यान्स पठाएर गाउँठाउँमा कन्जम्सन बढी हुन्थ्यो तर अहिले रेमिट्यान्स आउन छोडेपछि सुर्खेतबाट पहाडी जिल्लाहरुमा जाने दैनिक उपभोग्य वस्तुहरुको ब्यापार पनि घटेको छ, रेमिट्यान्स घट्ने बित्तीकै यहाँको ब्यापार पनि घट्छ, यहाँ टोटल्ली ट्रेडिङ विजनेश हुन्छ, उद्योग व्यवसाय छैनन्, ब्यापार घट्ने बित्तीकै सेल्स घट्छ, ब्यापार कम भएपछि नाफा नहुँदा कर्जा तिर्न गाह्रो हुन्छ,’ उनले भने । नेपाल बैंकर्स संघ लुम्बिनी प्रदेश अध्यक्ष तथा एनएमबि बैंकका प्रदेश प्रमुख नबिन बिष्ट अहिले बैंकहरुको ब्यापार व्यवसाय खुम्चिएको बताउँछन् । बजार सुस्त भएकाले विजनेश पनि सुस्त नै रहेको उनले बताए । अघिल्लो वर्षको तुलनामा ब्यापार व्यवसाय कम रहेको उनको भनाइ छ । ‘चुनावपश्चात् बैंकविरुद्ध कुनै पनि आन्दोलन भएको छैनन्, विस्तारै सुधार भइरहेकाले बैंकहरुले पनि सहज रुपमा काम गरिरहेका छन्, ब्याज वृद्धि हुँदा ग्राहकको कडा रेस्पोन्स आउँछ, ग्राहकहरुले ब्याज बढी भयो भन्नु हुन्छ, ग्राहकलाई कर्जा सस्तोमा पाए हुन्छ भन्ने लाग्छ, बैंकरलाई पनि सस्तोमा दिन पाए हुन्थ्यो लाग्छ,’ उनले भने, ‘अहिले ब्यापार व्यवसाय अघिल्लो वर्षको तुलनामा कम छ, बैंक पनि अर्थतन्त्रको एउटा भाग हो, बजार सुस्त भएकाले विजनेश पनि सुस्त छ ।’ नेपाल बैंकर्स संघ गण्डकी प्रदेश अध्यक्ष तथा सिभिल बैंकका प्रदेश प्रमुख समिर केसीले गण्डकी प्रदेशमा बैंकको विजनेश पहिलाको तुलनामा वृद्धि नभएको बताए । परिस्थिती अनुसार ग्राहकलाई कन्भिन्स गर्न बैंकरहरुले सक्नु पर्ने उनको भनाइ छ । ‘प्रदेशगत रुपमा गुनासो धेरै आउँछन्, ग्राउण्ड लेभलमा समस्या आइसकेपछि अफ्ठ्यारो हुन्छ नै, मौद्रिक नीतिको समीक्षाले स्प्रेडदर घटाउँदा सहज भएको छ, चुनावपछि केही सकारात्मक सुधार पनि देखिएको छ, समग्रमा विश्व अर्थतन्त्रले केही असर गरेन भने सुधार हुन सक्छ,’ उनले भने, ‘ग्राहकहरुलाई हाल देखिएका समस्याका बारेमा राम्रोसँग जानकारी दिनुपर्ने हुन्छ, नियामक निकाय र सरकारी निकायले पनि सकारात्मक रुपमा काम गरिरहेको छ ।’ अर्थतन्त्रमा देखिएको समस्याले बैंकको पहिलो त्रैमासमा असर गरेको उनले बताए । दोस्रो त्रैमासमा पनि केही असर पर्न सक्ने भएपनि क्रमिक सुधार आउने उनले बताए । ‘घरजग्गाको कारोबार रोकिएको छ,पोखरा महानगरको वर्गीकरण सकियो भन्ने सुनेको छु, यसले पनि अर्थतन्त्रलाई तलमाथि गर्छ,’ उनले भने । नेपाल बैंकर्स संघ बागमती प्रदेश अध्यक्ष तथा एनसीसी बैंककी प्रदेश प्रमुख साँग्रीला श्रेष्ठ कर्जा विभागमा काम गर्ने कर्मचारीलाई धेरै गाह्रो हुने गरेको बताउँछिन् । कहिँ कतै कार्यक्रम तथा अन्य ठाउँमा बैंकरहरुलाई भेट्यो भने गाली गर्ने गरेको उनको गुनासो छ । ‘बैंकका कर्मचारीलाई काम गर्नै पर्छ, अन्य कर्मचारी भन्दा क्रेडिट विभागमा काम गर्ने कर्मचारीलाई गाह्रो छ, कर्जा असुली गर्न सकस छ, कर्जा पनि नवीकरण गर्न सकिरहेका छैनौं, हामीले राष्ट्र बैंकको नीति नियममा रहेर काम गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘बैंक बाहेक दायाँ-बायाँ कतै जान मिल्दैन, बैंकरलाई गाली गरिहाल्छन्, पहिला-पहिला बैंकर भनेर छाती फुलाएर हिडिन्थ्यो, अहिले त्यो अवस्था छैन नी, कहीँ कतै गयो भने तिमीहरु बैंकर फटाह चोर, कोट प्वाइन्ट र सुट लगाउँछ, यस्तो उस्तो गर्याे भनेर सुन्नु परेको छ, बैंकरलाई गाह्रो छ ।’ उनले अहिलेको स्थिती हेर्दा ग्राहकलाई पनि समस्या नै रहेको बताइन् । झनै राष्ट्र बैंकको चालू पूँजी कर्जा निर्देशिकाले गर्दा काम गर्न गाह्रो भइरहेको उनको भनाइ छ । साथै, चुनावपछि राजनीतिक अस्थिर हुने चिन्ता पनि उत्तिकै रहेको उनको भनाइ छ । नेपाल बैंकर्स संघ मधेश प्रदेशका अध्यक्ष तथा सिभिल बैंकका प्रदेश प्रमुख विश्वाशराज अर्यालले अहिलेको समस्या हटाउन तीन वटा काम गरेर अगाडि बढ्नु पर्ने धारणा राखे । अभिभावक विहीन जस्तो बनेको मुलुकमा राजनीति अस्थिरता निम्तिने खतरा रहेको उनको धारणा छ । अर्थमन्त्रालयले पूँजीगत खर्चमा अत्यधिक जोड दिनुपर्ने उनको राय छ । ‘अहिलेको समस्या हटाउन राष्ट्र बैंकले संस्थागत निक्षेपको ब्याजदर शुन्य नै राख्नु पर्छ, यसो गर्दा उनीहरुले ब्याज नखाएर कुनै आयोजना परियोजनामा लगानी गर्छन्, यसले बेस रेट घट्छ, सीडी रेसियो गणना गर्दा चुक्ता पूँजी जोडि दिनु पर्छ, चालु पूँजी कर्जा निर्देशन ३/४ वर्ष स्थगन गर्नुपर्छ, तब मात्रै केही सुधार हुन्छ,’ उनले भने ।

तोलाको एक लाख पाँच सय रुपैयाँ पुग्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ अघिल्लो दिन प्रतितोला एक लाख ३०० मा कारोबार भएको सुन २०० रुपैयाँले बढेर १ लाख ५०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार ८०० रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार ४०० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।    

हरियो धनियाको प्रयोगले स्वास्थ्यमा ठूलो फाइदा पुर्याउँछ – डा.ओम मुर्ति

काठमाडौं । धनियाको प्रयोगले मानिसको स्वास्थ्यमा धेरै ठूलो फाइदा हुने डा.ओम मुर्ति अनिलले बताएका छन् । डा.अनिलले सामाजिक सञ्जालमा लेख्दै धनियामा पाइने क्यालोरी, भिटामिन र चिल्लोले स्वास्थ्यमा महत्वपूर्ण फाइदा पुर्याउने बताएका छन् । उनका अनुसार प्रति १ सय ग्राम हरियो धनियामा २३ क्यालोरी पाइने र यसमा डाइटरी फाइबर, भिटामिन ए र के पाइन्छ । त्यस्तै धनिया भिटामिन के को सबैभन्दा ठूलो स्रोत हो भएको र यसले एलडिएल घटाउन र एचडिएल बढाउन मद्दत पुर्याउने डा.अनिलको भनाइ छ । धनियाको बिउको तेलले शरिरको चिल्लो पदार्थ घटाउन पद्दत पुर्याउने र पाचन शक्ति बढाउन मद्दत पुर्याउने उनले बताएका छन् ।

सञ्चालनको अन्यौलमा पोखरा विमानस्थल, महानगरले हटाएन ल्याण्डफिल्ड साइट

काठमाडौं । पोखरामा निर्माणाधीन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी पुस १७ गते अर्थात जनवरी १ तारिखदेखि सञ्चालन गर्ने तयारी थालिएको छ । नागरिक उडड्यन प्राधिकरण (क्यान) ले सम्पूर्ण तयारी सकिएको भन्दै विमानस्थल सञ्चालनको मिति तय गरिसकेको छ । पुस १७ गतेदेखि विमानस्थल सञ्चालनको तयारी थालिएतापनि विमानस्थल नजिकै रहेको ल्याण्डफिल्ड साइट नहट्दा सञ्चालन मिति सर्ने हो कि भन्ने अन्योल सिर्जना भएको छ । क्यानका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारी पोखरा महानगरपालिकाले ल्याण्डफिल्ड साइट नहटाउँदा तोकिएकै समयमा विमानस्थल सञ्चालन गर्न नसकिने हो कि भन्ने आशंका थपिएको बताउँछन् । ‘पोखरा महानगरपालिकाले मंसिर १८ गतेबाट ल्याण्डफिल्ड साइट हटाउँछु भनेको थियो, अहिलेसम्म हटाएको छैन्, ल्याण्डफिल्ड साइट हटाएन भने हामीले निर्धारण गरेको समयमा विमानस्थल सञ्चालन गर्न सक्दौनौं, उनले भने, ‘अहिलेसम्म फोहोर फालेको छ, हामीले पटक–पटक ताकेता गर्दै आएका छौँ तर सुनुवाई भएको छैन, यसले अन्योलता सिर्जना गरेको छ ।’ विमानस्थलको रनवेबाट पश्चिमतर्फ रहेको ल्याण्डफिल साइटका कारण चराहरुको बनेको छ । रनवे नजिकै ल्याण्डफिल्ड साइट हुँदा रनवेमा राखिएको बत्तिमा चराले गुँड बनाउने गरेका छन् । पोखरा महानगरले भने विमानस्थल सञ्चालनको समयसम्म ल्याण्डफिल्ड साइट हटाउने जनाएको छ । महानगरका मेयर धनराज आचार्यले विमानस्थल संचालनमा आउने दिनसम्म ल्याण्डफिल साइट परिवर्तन हुने बताए । उनले हाल ल्याण्डफिल्ड साइट पुर्न थालिएको बताए । ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको छ । विमानस्थलमा २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ । उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटरडाँडा काटेर समतल बनाइनेछ । बाँकी २४ मिटर काट्न बाँकी छ ।

भक्तपुरमा यःमरिको स्वाद चाख्दै रमाए विदेशी पर्यटक

भक्तपुर । अष्ट्रेलियाबाट नेपाल भ्रमणमा आएकी कार्टलक्स र उनका पति ओमरान जोन भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दत्तात्रय मन्दिरको डबलीमा बसेर महामाली नाच हेर्दा निकै मख्ख देखिन्थे । दत्तात्रय मन्दिर आसपमासमा शनिबार साँझ विद्युतीय बत्तीले झिलीमिली बन्दा देखिएको आकर्षक दृश्यमा भक्तपुर नगरपालिकाले प्रदर्शन गरेको सांस्कृति कार्यक्रमअन्तर्गत विदेशी पर्यटक महामाली नाच निकै चाख लिएर हेरिरहेका थिए भने नाचको तस्वीर लिन व्यस्त देखिन्थे । दत्तात्रय मन्दिर परिसरमा स्थानीयवासी दिउँसैदेखि लागेको भीड साँझ झन् बाक्लिँदै जाँदा मेला लागेको अनुभूति हुन्थ्यो । स्देशीहरूको त्यो भीडमा करिब ४० विदेशी पर्यटक पनि रुमलिँदै थिए । भक्तपुर नगरपालिकाले यहाँ प्रदर्शन गरेको विभिन्न सांस्कृतिक एवं परम्परागत नाच अवलोकन गर्दै यःमरि र अन्य नेवारी परिकारको स्वाद चाख्न व्यस्त देखिन्थे । अमेरिकन नागरिक अल्बर्ट स्टेन्टसहितका चार अमेरिकन नागरिक पनि माक प्याख र घिन्ताङघिसी नाच हेरे निकै मख्ख देखिन्थे । यहाँ भेला भएका अधिकांश विदेशी नागरिक यहाँको रात्रिकालीन समयमा प्रस्तुत गरिएका विभिन्न नाच हेरेर निकै रौसिएका थिए । रात्रिकालीन पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले शनिबार साँझ आयोजना गरेको सन्ध्याकालीन सांस्कृतिक पदयात्रा, यःमरि प्रदर्शनी, खाद्य उत्सव तथा सांस्कृतिक प्रस्तुतिमा स्वदेशी तथा विदेशी पर्यटक रमाएका हुन् । दत्तात्रय डबलीमा भक्तपुरका सांस्कृतिक परम्परा झल्कने नाच, भैल प्याँखः भैरव नाच, माक प्याँख बादर नाच, लाखे नाच, घिन्ताङघिसी नाच, बाँसुरी बाजा, नौमती बाजालगायतका विभिन्न बाजा एवं नाचको प्रस्तुतिले यहाँको कला, संस्कृति र परम्परालाई उजागर गरिरहेको देखिन्थ्यो । नगरपालिकाले आयोजना गरेको खाद्य उत्सवमा मन्दिर अगाडि रहेका स्टलमा राखिएको यःमरि, विभिन्न नेवारी परिकार, जुजुधौलगायतका परिकार किन्नेको भीड पनि उत्तिकै लागेको थियो । दत्तात्रय र भीमसेन मन्दिर अगाडि यःमरिका विभिन्न नामका परिकार स्टलमा सजिसजाउ थिए । २७ किलो चामलको पिठोमा बनेको छ फिट अग्लो यःमरिदेखि गणेश, कछुवा, हाँस, भाले, पोथी, धरहरा, शङ्ख, पुतली, गैँडालगायतका आकृतिमा बनेका यःमरिले यहाँको रौनक र यसको पहिचानलाई विभिन्न स्वरुपमा झल्काइरहेको थियो । भक्तपुरको हातले बुनेको प्रसिद्ध भादगाउँले टोपीदेखि यहाँ परम्पराग कोलबाट उत्पादित तोरीको तेल, जुजुधौसमेत स्टलमा बिक्रीका लागि राखिएका थिए । भक्तपुरको प्रसिद्ध दरबारस्क्वायरबाट सुरु भएको सन्ध्याकालीन सांस्कृतिक पदयात्रा, पोटरी स्क्वायर, पाँचतले मन्दिर, टौमढी, सुकुलढोका, दत्तात्रय, जेँला हुदै पुनः दत्तात्रय आएर प्रदर्शनीको अवलोकन गर्दै सांस्कृतिक नाचको प्रदर्शनी गरिएको थियो । भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, पर्यटन शाखाका प्रमुख गौतम लासिवा, जनप्रतिनिधि, कर्मचारी, स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य सहभागितामा सुरु भएको पदयात्रा दत्तात्रयमा पुगेर खाद्य मेलाको अवलोकनपछि सांस्कृतिक नाचको प्रदर्शनसँगै सम्पन्न भएको थियो । कार्यक्रममा नगरप्रमुख प्रजापतिले सम्पदाको धरोहर भक्तपुरलाई सन्ध्याकालीन पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्वदेशी तथा विदेशी पर्यटकसमेतको सहभागितामा शनिबार पदयात्रा आयोजना गरेको बताए । उनले कोरोना सङ्क्रमणका कारण स्थिर बनेको पर्यटनलाई चलायमान बनाउनु आवश्यक रहेको बताउँदै भक्तपुरमा आउने विदेशी पर्यटकको सङ्ख्या बढे पनि पुरानै लयमा फर्कन अझै समय लाग्ने बताए । नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरमा बाह्य तथा आन्तरिक पर्यटकलाई नाइट स्टेको रुपमा लैजाने नगरपालिकाको योजनालाई सफल पार्न यस्ता प्रदर्शनीलाई निरन्तरता दिने बताए । कार्यक्रमका सञ्चालक एवं वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पर्यटन व्यावसायलाई आकर्षित गर्ने हेतुले आयोजना गरेको आन्तरिक तथा बाह्य पर्यटकसहित सहभागी गराई सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा गर्दै सांस्कृतिक महत्वको बोकेका सम्पदाहरूको परिचय दिएको बताए । उनले यःमरिलगायत नेवारी परिकारको प्रदर्शनीले भक्तपुरको परिकारलाई पनि पर्यटकमाझ पस्कन सफल भएको जानकारी दिए । रासस

पाँचथर पावर कम्पनीले पुस १८ गतेको लागि बोलायो साधारणसभा

काठमाडौं । पाँचथर पावर कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस १८ गते ११ बजेको लागि होटल इम्पेरियल बत्तिसपुतलीमा सातौं वार्षिक साधारणसभा बोलाएको हो । सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरको छ । यस्तै, कम्पनीले पुस ७ गते एकदिन बुक क्लोज गर्न जानकारी दिएको छ । यसको अर्थ पुस ६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम कम्पनीको सेयरधनीलाई मात्र लाभांश पाउनेछन् । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

तुलसीपुरका किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड

तुलसीपुर । दाङको तुलसीपुरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ। पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो। वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार ४० किसानलाई डेबिट कार्ड र १३ किसानलाई क्रेडिट कार्ड वितरण गरिएको छ। सिसा परियोजना, सीमिट इन्टरनेशनल र आइडिइ नेपालको आर्थिक सहयोगमा मेगा बैंकले उक्त डेबिट र क्रेडिट कार्ड वितरण गरेको हो। डेबिट र क्रेडिट कार्डले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानलाई खुसीको कुरा भएको वडाध्यक्ष डाँगीको भनाइ थियो। अर्थाभावले कृषि खेतीमै प्रभाव पार्ने अवस्था आउन सक्ने भन्दै त्यसलाई न्यूनीकरण गर्न यसले भूमिका खेल्ने अध्यक्ष डाँगीको भनाइ छ। ‘क्रेडिट कार्डबाट किसानले मल, बीउलगायत अन्य कृषिसम्बन्धी सामग्री चाहियो भने लैजान सक्नेछन्। यसले किसानलाई फाइदा पुग्छ,’ उनले भने। क्रेडिट कार्ड प्राप्त किसानलाई बिना धितो राज्यले  दुई लाख रुपैयाँ सम्म ऋण दिन्छ। सहुलियत कर्जाका रूपमा पाउने त्यो ऋण किसानले कृषि उत्पादन बिक्रीपछि प्राप्त गरेको रकमले पनि तिर्न सक्छन्। उनीहरूले त्यो ऋण कृषि सामग्री खरिदभन्दा अन्य कामका लागि प्रयोग गर्न पाउँदैनन्। त्यस्तै डेबिट कार्डबाट किसानले अनुदान सहयोग, क्षतिपूर्ति हालिदिनका लागि प्रयोग हुनेछ। क्रेडिट कार्ड प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ भने डेबिट कार्ड पाँच–पाँच वर्षमा नवीकरण गर्नुपर्छ। पहिलो चरणमा वडा नं १६ बाट वितरण गरिएको भए पनि सबै पालिकाका सबै किसानलाई उक्त कार्ड प्रदान गरिने सिसा परियोजनाका कार्यक्रम अधिकृत जङ्गबहादुर गुरुङले बताए। ‘सुरुआत वडा नम्बर १६ बाट भयो, १३ मा पनि वितरण गर्ने तयारी गरेका छौँ। अब हामीले उपमहानगरपालिकासँग समन्वय गरेर सबै वडामा पुर्‍याउनेछौं,’ उनले भने। कार्ड पाएपछि किसान खुसी भएका छन्। आफूहरूले अनुदान पाउने गरी क्रेडिट कार्ड दिएपछि यसले थप सहज हुने किसान वीरबल केसीले बताए। रासस