विकासन्युज

रवि लामिछानेकाे नेतृत्वमा खहरे खोलाको पानी ल्याउन श्रमदान

भरतपुर । चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् । भरतपुर–२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा जुटेका हुन् । पानी ल्याउन ट्यांकी र पाइप बिच्छयाउनका लागि झण्डै पाँच किलोमिटर क्षेत्रमा झाडी सफा गर्ने काम सकिएको छ । भरतपुर महानगरपालिका–१ अन्तर्गत पर्ने रामनगरका बासिन्दाले शुद्ध पानी पिउन नपाएको वर्षौँ भइसक्यो । रामनगरमा खानेपानी ल्याउनका लागि चितवन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानले १० दिनअघि श्रमदान अभियानको सुरुवात गरेका हुन् । सहजरुपमा पानी खान नपाएको समस्या थाहा पाएपछि सांसद लामिछानेले रामनगरमा खानेपानी व्यवस्थापनका प्रतिनिधि र स्थानीयसँग छलफलसमेत गरेका थिए । लगत्तै उनकै नेतृत्वमा श्रमदान अभियान सुरु भएको हो । विसं २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुवात भएको थियो । त्यसबेला रामनगरमा चार पानी ट्यांकी निर्माण गरिएका थिए । जुगेडीबाट पानी उक्त क्षेत्रमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो । द्वन्द्वकालपछि धेरै संरचना नष्ट भएपछि खानेपानी ट्यांकी क्षेत्र झाडीमा परिणत भएको थियो । अहिले सोही ठाउँमा सरसफाई गर्दै खानेपानीका लागि पहल भइरहेको छ । स्थानीय सीता भट्टले नगरवासीको मुख्य समस्या पानीको रहेको बताइन् । ‘इनारको पानी खान बाध्य छौँ’, उनले भनिन् । हाल दैनिक एक सय जना जनश्रममा जुटेका उनले बताइन् । स्थानीय राधा कुँवरले र भोलादेवी कुँवर गुप्ता पनि घरको काम छाडेर जनश्रममा जुटेको बताए ।

सक्खर उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य किसान

सर्लाही । यहाँका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लामा रहेका तीन उखुमिल मध्य हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी नदिएपछि हैरान भएका किसानले उत्पादन गरेको उखु सक्खर उद्योगलाई बेच्न थालेका हुन् । जिल्लामा रहेका चिनी मिल पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका किसान स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु समयमै बेचेर खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लागाउन थालेका छन् । ‘इन्दुशङ्कर चिनी उद्योग पुसको पहिलो साताबाट सञ्चालन गर्ने तयारी भइरहेको भए पनि अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिल विगतका वर्षमै खरिद गरेको उखु उत्पादक किसानको रकम भुक्तानी गर्न नसकेर सञ्चालन हुने नहुने भन्ने दोधारमा रहेका छन्, किसानहरुले समयमै उखु बिक्री गर्न नपाउँदा खेतमा अन्य बाली लगाउन नपाउने हुँदा सक्दर उद्योगलाई उखु बेचेर भए पनि समयमै आफ्नो खेत खाली गरी अन्य बाली लगाउँदै छन्’, बरहथवा नगरपालिका– १२ का उखु उत्पादक किसान बलिराम रायले भने । उनका अनुसार चिनी मिल समयमै सञ्चालन नहुने र सञ्चालन भइहाले पनि भुक्तानी कहिले पाउने भन्ने टुङ्गो नहुने कारणले किसानले खेतमा अर्को बाली पनि लगाउन पाएनन् । भुक्तानीको चिन्ता सधैँ रहिरहने गरेका कारण पनि किसान सक्खर उद्योगलाई उखु बिक्री गर्न थालेका हुन् । बरहथवा–११ का अर्का उखु उत्पादक किसान रत्नबहादुर घिमिरेले नगदेबालीका रूपमा रहेको उखु बेच्ने अन्य कुनै विकल्प नभएकाले सक्खर उत्पादन गर्ने उद्योगलाई बेच्न किसान बाध्य भएको बताए। सरकारले यस वर्ष छ सय प्रति क्विन्टल उखुुको मूल्य निर्धारण गरेको भए पनि जिल्लाका किसानले अहिले सक्खर उद्योगलाई प्रति क्विन्टल तीन सय ५० का दरले उखु बेच्न थालेका उखु उत्पादक किसान राजकुमार मैनालीले बताए। चिनी मिल नै बन्द भएपछि उब्जाइएको उखुु कसैले खरिद गर्न नसकेको अवस्थामा बाध्य भएर सस्तो मूल्यमा सक्खर उद्योगलाई बेच्न थालेको बसबरिया गाउँपालिका– २ का उखु उत्पादक किसान रामविलाश महतोले बताए। खेतमा सिँचाइ तथा मलको आभावका कारण अन्य कुनै बाली उब्जाउन नसकिएका कारण बर्सेनि उखुुखेती गर्दै आए पनि यसबाट कुनै फाइदा नभएको र समय गुज्रिएपछि बेचेको उखुको भुक्तानी कहिले पाउने भन्ने ठेगान नरहेको महतोले बताए। खेतमा लगाएको उखुु बेचेर पुनः मुसुरो, धनियाँ र गहुँ लगायतका बाली लगाउन सकिने भएकाले हतार–हतारमा उखु बेच्न थालेको उखु उत्पादक किसान विनय रायले बताए। सक्खर उत्पादकको पनि गुनासो बरहथवा नगरपालिकाभरि हाल करिब छ वटा सक्खर उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । उद्योग सञ्चालकले पनि सक्खरको मागअनुसार उखुुको मूल्य निर्धारण गर्दै आएका छन् । उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि दुई सय ७० सम्म प्रति क्विन्टल हुन्छ । खपत बढी भयो भने चार सयसम्ममा सक्खर उद्योगले उखु किन्ने गरेका छन् । एघार क्विन्टल उखु पेलेर एक क्विन्टल सक्खर उत्पादन हुँदै आएको बरहथवा–११ का सक्खर उत्पादक व्यवसायी शत्रुधन रायले बताए । उनका अनुसार उत्पादित सक्खरमध्ये कालो सक्खरको पाँच हजार र सेतो सक्खरको पाँच हजार पाँच सयदेखि छ हजार दुई सय प्रति क्विन्टल बजार मूल्य रहेको छ । आफ्नो उद्योगमा प्रत्यक्ष रूपमा छ जनाले दैनिक ज्यालीदारीमा रोजगारीसमेत पाएका रायले बताए । ‘भारतबाट अवैध रूपले आउने सक्खरका कारण व्यवसाय नै धराशायी बन्दै गएको छ, सक्खरले बजार मूल्य नपाउँदा किसान र व्यवसायी दुवैले समस्या झेल्दै आएको छ’, बरहथवा–११ स्थित सञ्चालनमा रहेको सक्खर उद्योगका सञ्चालन शिवचन्द्र रायले भने । भारतबाट आएको सक्खर सस्तो मूल्यमा बिक्री हुँदा आफूहरूले पनि सोहीअनुसार बेच्नु परेकाले लगानीअनुसारको मूल्य आउन नसकेको उनको गुनासो छ । रासस

सहकारीको पैसा ठगेर विदेशमा लुक्नेलाई खोज्न इन्टरपोल खटाइयो

काठमाडौं । सहकारीमा बचतकर्ताले राखेको बचत लिएर स्वदेश वा विदेश जहाँसुकै पुगेका सहकारी संस्थाका सञ्चालक एवं कर्मचारीलाई कानूनी कारबाहीको दायरामा ल्याइने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरका अध्यक्ष काशीराज दाहालले बचतकर्ताको पैसा लिएर विदेश पुगेका सञ्चालक वा कर्मचारीलाई इन्टरपोलको सहयोगका माध्यमबाट झिकाएरसमेत बचत फिर्ता गर्ने गरी काम थालिएको जानकारी दिए । स्वदेशमै लुकेर बसेका समस्याग्रस्त सहकारीका सञ्चालक एवं कर्मचारीलाई भने राहदानी जफत, विदेश भ्रमणमा रोक एवं कालोसूचीमा राखी नाम सार्वजनिक गराउने तयारीमा पनि समिति रहेको जानकारी उनले दिए । सहकारी ऐन, कानूनअनुसार नचल्दा करिब एक हजार सहकारी समस्याग्रस्त भएको अनौपचारिक जानकारी पाए पनि हालसम्म १२ वटालाई मात्र सरकारले समस्याग्रस्त घोषणा गरेको छ । सरकारले घोषणा गरेका १२ वटा सहकारीमध्ये सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका सबै बचतकर्तालाई समितिले बचत फिर्ता दिएको जानकारी पनि अध्यक्ष दाहालले गराए । बाँकी ११ सहकारीका बचतकर्तालाई पनि क्रमशः बचत फिर्ता गराउन यिनका सञ्चालक, कर्मचारी र ऋणीमाथि कानूनअनुसार हदैसम्मको कारबाही प्रक्रियामा समिति अघि बढ्न लागेको हो । रासस    

पुँजीकोषको ठूलो दबाबमा बैंक, डेढ दर्जनको घट्दा तीनलाई सकस, कुनको कति ?

काठमाडौं । गत वर्षदेखि आरालो लागेको वाणिज्य बैंकहरुको पुँजीकोष हालसम्म पनि रोकिएको छैन । चालू आर्थिक वर्षको असोजसम्ममा बैंकहरुको पुँजी कोषमा खासै सुधार हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको असोजसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको औसत पुँजी कोष १३.१९ प्रतिशत रहेको छ भने प्राथमिक पुँजी कोष १०.२६ प्रतिशत रहेको छ । गत वर्षको असारसम्म पुँजीकोष १३.३२ प्रतिशत र प्राथमिक पुँजीकोष १०.४७ प्रतिशत थियो । अधिकांश वाणिज्य बैंकहरुले राष्ट्र बैंकको नीतिगत व्यवस्थाको हाराहारीमै पुँजीकोष कायम गरेका छन् । पुँजी कोष कम हुँदा बैंकहरुले सेयरधनीलाई वितरण गर्ने लाभांश क्षमतामा पनि कमि आउँछ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षकै वित्तीय विवरणमा केही बैंकहरुले पुँजी कोष कायम नगरेकै कारण लाभांश वितरणमा रोक लगाउने तयारी गरिरहेको छ । अहिले पुनः बैंकहरुको पुँजी कोषमा दबाब देखिएको हो । राष्ट्र बैंकको विद्यमान व्यवस्था अनुसार बैंकहरुले ११ प्रतिशत पुँजीकोष र प्राथमिक ८ प्रतिशत पुँजीकोष हुनु पर्ने हुन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार तीन वटा वाणिज्य बैंकको प्राथमिक पुँजी कोष ८ प्रतिशतको हाराहारीमा देखिन्छ । माछापुच्छ्रे , प्रभु र एनआइसी एसिया बैंकको प्राथमिक पुँजीकोष ८ प्रतिशतको हाराहारीमा देखिन्छ । ६ वटा वाणिज्य बैंकको प्राथमिक पुँजीकोष ९ प्रतिशतको हाराहारीमा छ भने ७ वटा वाणिज्य बैंकको प्राथमिक पुँजीकोष १० प्रतिशतको हाराहारीमा देखिन्छ । यस्तै, तीन वटा वाणिज्य बैंकको पुँजी कोष ११ प्रतिशतको हाराहारीमा छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट र सिभिल बैंकको पुँजी कोष ११ प्रतिशतको हाराहारीमा देखिन्छ । गत असारको तुलनामा डेढ दर्जन वाणिज्य बैंकको पुँजी कोष घटेको छ । प्राथमिक पुँजीकोष र पुँजीकोषको न्यूनतम व्यवस्था कायम नगरेको अवस्थामा राष्ट्र बैंकले बैंकहरुलाई लाभांश वितरणमा नै रोक लगाउँछ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् आर्थिक वर्षदेखि काउन्टर साइक्लिकल बफर लागू गर्ने बताइसकेको छ । राष्ट्र बैंकको सो नीतिपछि ११ प्रतिशत कायम रहेको पुँजीकोष बढाएर १३.५ प्रतिशत पुर्याउनु पर्ने हुन्छ । जसअनुसार बैंकले कायम गर्नुपर्ने ११ प्रतिशत पुँजी कोषको आकार बढेर १३.५ प्रतिशत पुग्नेछ । केन्द्रीय बैंकले हालको पुँजीकोषमा २.५ काउन्टर साइक्लिकल बफर थपेको हो । यो व्यवस्था लागू भएलगत्तै तरलता संकट र सीडी रेसियोको दबाबमा रहेका बैंकहरुको कर्जा विस्तारमा थप ह्रास आउने देखिन्छ । घट्दो नाफाले लाभांश दर बैंकहरुको पुँजी कोष कमजोर बन्दै गएको छ । पछिल्लो समय एक दजर्न बढी वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । सबै बैंकहरुले अघिल्लो वर्षको भन्दा कम लाभांश घोषणा गरेका छन् । पुँजी कोषको कारण बैंकहरुको लाभांश क्षमता पनि घट्दै गएको हो ।

एक–अर्कालाई दोष दिएर मुलुक अघि बढ्दैन : माधव नेपाल

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढन आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कसैलाई दोष नदिई कमिकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन् । उनले तीनवटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने स्पष्ट पारे। उनले मुलुकमा कायापलट ल्याउन तीनवटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरण समेत गराए । ‘सरकारले आफूलाई समीक्षा गर्दै अघि बढनु पर्दछ, एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैन, गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन, संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन, त्यो स्पष्ट छ, सबै पालिकामा जनताले के के न्यूनतम सुविधा पाउनुपर्ने हो, त्यो सबैले मनन गर्न जरुरी हुन्छ, महिला हिंसामुक्त पालिका होस, छुवाछुतमुक्त मेरो पालिका हुन्, सबै जाति समुदायको माझमा सामाजिक सदभाव कायम राखेको पालिका हाम्रो होस्, त्यस रुपमा प्रत्येक पालिकाले आफूलाई दर्ज गर्न सक्ने हो गरी काम गर्नु पर्दछ ।’ अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकारहरु जनताले उपयोग गर्न पाउने गरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिले सबल ढंगले काम गर्ने विश्वास व्यक्त गरे।

नेशनल लाइफका योजनाले दम्पत्तिलाई दोब्बर फाइदा, विद्यार्थीलाई सहयोगदेखि ऋणीलाई समेत राहात मिल्ने

काठमाडौं । ‘नेशनल लाइफ… सेलिब्रेटिङ्ग लाइफ’ भन्ने मोटोका साथ स्थापना भएको कम्पनी हो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी । कम्पनीको मूख्य लक्ष्य नै सबैको लागि आर्थिक स्वतन्त्रता निर्माण गर्ने हो । कम्पनीले बजारमा आफ्नो उपस्थिति जनाउन स्थापना कालदेखि नै विभिन्न माध्यमबाट बीमा योजनाहरु ल्याएको छ । एउटा परिवारलाई आवश्यक सबै सुरक्षा प्रदान गर्न सक्ने आर्थिक समाधानहरु उपलब्ध गराउन प्रतिवद्ध रहेको नेशनल लाइफले विभिन्न प्रकारका बीमालेखहरु बिक्री गरिरहेको छ । सोही प्रतिवद्धता अनुसार कम्पनीले हाल विभिन्न प्रकारका १५ वटा बीमालेखहरु ग्राहकमा बिक्री गरिरहेको छ । जसले बीमितको परिवारलाई पूर्ण रुपमा आर्थिक सुरक्षा प्रदान गरिरहेको कम्पनीले जानकारी गराएको छ । कुन योजनाको फाइदा कस्तो ? बाल अमृत (सावधिक) अभिभावकको असामयिक निधन भएको अवस्थामा बच्चाको शिक्षा एवं अन्य खर्चलाई नियमितता प्रदान गर्ने यो एक उत्कृष्ट बीमा योजना हो । यदि बीमा अवधिभित्र अभिभावकको असामयिक निधन भएमा बीमांक रकमको २० प्रतिशत तुरुन्त भुक्तानी दिनुका साथै बच्चाको शिक्षा एवं अन्य खर्चको लागि बीमांक रकमको १ प्रतिशत आयको रुपमा मासिक रुपमा बीमा अवधिसम्म भुक्तानी गरिन्छ । र, बाँकी अवधिको लागि बीमाशुल्क भुक्तानी गर्नु पर्दैन र बीमा अवधि समाप्तिमा बीमांक रकम र पूरा अवधिको बोनस एकमुष्ठ भुक्तानी गरिन्छ, जसले उच्च शिक्षालाई समेत ठुलो सहयोग पुर्याउँछ । अभिभावकको निधन नभएको अवस्थामा बीमा अवधि समाप्तीमा बीमांक रकम र पूरा अवधिको बोनस एकमुष्ठ भुक्तानी गरिन्छ । बालअमृत (सावधिक) जीवन बीमालेख-१ हरेक अभिभावकको एउटा महत्वपूर्ण जिम्मेवारी रहेको हुन्छ, त्यो हो आफ्ना बाल बच्चाको उचित र राम्रो उच्च शिक्षा दिन सकियोस् । यसै आवश्यकतालाई मध्यनजर गरी ल्याइएको यस बीमा योजनामा बच्चा (बीमित) र अभिभावक प्रस्तावक) दुवै जनाको जोखिम बहन गर्ने गरी बीमालेख जारी गरिन्छ । जन्मेदेखि १५ वर्षसम्म उमेर भएका बच्चाको न्यूनतम ६ वर्षदेखि २० वर्षसम्मको अवधि राखेर अधिकतम ५० लाख रुपैयाँसम्मको बीमा गर्न सकिन्छ । बीमा अवधिभित्र प्रस्तावकको असामयिक निधन भएको अवस्थामा बढीमा १० लाख रुपैयाँ तत्काल भुक्तानी गरिन्छ भने त्यसपछिको बीमाशुल्क मिनाहा गरिन्छ । बीमा अवधि समाप्ती हुनु २ वर्षअघि बीमाङ्क रकमको २५ प्रतिशत, १ वर्षअघि बीमाङ्कको २५ प्रतिशत र बाँकी ५० प्रतिशत र नियमानुसार बोनस बीमा अवधि समाप्तिमा भुक्तानी गरिने कम्पनीले जनाएको छ । सावधिक जीवन बीमा कम्पनीका अनुसार यो मुनाफामा सरिक हुने बीमा योजना हो । यसमा जोखिम एवं वचत समावेश गरिएको छ । बीमा अवधि समाप्तिमा बीमांक रकम र पूरा अवधिको बोनस एकमुष्ठ भुक्तानी गरिन्छ भने सो अवधि भित्र निधन भएमा बीमांक रकम र सो अवधिसम्मको बोनस आश्रित परिवारलाई भुक्तानी गरिन्छ । यसले परिवारलाई पूर्ण रुपमा आर्थिक सुरक्षा प्रदान गर्दछ । सामूहिक सावधिक यो बीमा योजनाले विभिन्न संघ संस्थामा संलग्न सदस्यहरुको समूहलाई एउटै बीमालेखमा समेटी बीमा सुरक्षा प्रदान गर्दछ । संस्थागत रुपमा संचालन गरिने भएकाले बीमाशुल्क दरमा विशेष छुटको ब्यवस्था हुँदा कम बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । यस बीमालेख अन्तर्गत बीमा अवधि समाप्तीमा बीमांक रकम र पूरा अवधिको बोनससहित एकमुष्ठ रकम भुक्तानी गरिने छ । बीमितको असामयिक निधन भएमा बीमांक रकम र सो अवधिसम्मको बोनस भुक्तानी गरिने छ । प्रायः जसो संघ, संस्था यस योजनामा आकर्षित भै आफ्ना सदस्यहरुको बीमा यस योजना अन्तर्गत गरेका छन् । बचत अमृत सावधिक जीवन बीमा योजना बचत अमृत सावधिक जीवन बीमा अन्तर्गत सीमित अवधिका लागि बीमाशुल्क भुक्तानी गरी निर्धारित अवधिसम्म पूरा अवधिको बोनस प्राप्त गर्न सकिने छ । वार्षिक र अर्धवार्षिक बीमाशुल्क भुक्तानीमा छुटका साथै बढी बीमाङ्क रकममा छुट सुविधा प्राप्त गर्न सक्ने व्यवस्था समेत यस योजनामा समावेश गरिएको छ । जीवन अमृत (सावधिक एवं आजीवन) कम्पनीका अनुसार यो बीमा योजनामा सावधिक एवं आजीवन बीमा समाहित गरिएको छ । बीमा अवधि समाप्तीमा बीमांक रकम र पूरा अवधिको बोनससहित भुक्तानी गरिने छ । सो पश्चात् बीमितको निधन भएको बखतमा पुनः बीमाङ्क रकम भुक्तानी गरिने यो उत्कृष्ट बीमा योजना हो । अमृत वर्षा (अग्रिम भुक्तानी सावधिक)-१ यस बीमा योजनामा बीमा अवधि अगाडि नै तोकिएको समयमा बीमाङ्क रकमको तोकिएको रकम अग्रिम रुपमा भुक्तानी गरिन्छ । बीमा अवधि समाप्तीमा बाँकी रकम र पुरा अवधिको बोनस एकमुष्ठ भुक्तानी गरिन्छ । समय समयमा नियमित रकम प्राप्त हुने हुनाले आवश्यकता अनुसारको आर्थिक सुरक्षा प्राप्त हुन्छ । यदि बीमितको निधन भएको अवस्थामा पुरा बीमांक (पहिले लिएको रकम कट्टा नगरी) र सो अवधिसम्मको बोनस एकमुष्ठ भुक्तानी दिइन्छ । दम्पत्ति अमृत (सावधिक) यो बीमा योजनामा बिवाहित जोडीलाई एउटै बीमालेखमा समेटी आर्थिक जोखिम वहन गरिन्छ । यस बीमा योजनामा पति वा पत्नीमध्ये कुनै एकको निधन भएमा बीमांक रकम तुरुन्त भुक्तानी दिइन्छ र एकको मृत्यु पश्चात् बाँकी बीमाशुल्क भुक्तानी गर्नु पर्दैन । बीमा अवधि समाप्तीमा जीवित पति वा पत्नीलाई बीमांक रकम र पूरा अवधिको बोनससहित एकमुष्ठ भुक्तानी गरिन्छ । यदि दुवै जीवित रहेको अवस्थामा बीमा अवधि समाप्तिमा बीमांक रकम र बोनस एकमुष्ठ भुक्तानी गरिने कम्पनीले जनाएको छ । अमृत श्री बीमालेख अग्रीम भुक्तानी/आजीवन यस बीमा योजनामा बीमितले दोस्रो वार्षिक उत्सवदेखि प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशतले बीमाङ्क रकम फिर्ता पाउनेछन् र बीमालेख समाप्तीमा बाँकी रकम नियमानुसारको बोनस रकमसहित प्राप्त गर्नेछन् । समय समयमा यसरी रकम प्राप्त हुने हुनाले बीमाशुल्क रकम तीन एवं आफ्नो अन्य आवश्यकता पूरा गर्न सहज हुनेछ । बीमितको मृत्यु भएमा भुक्तानी भएको रकम नकाटिकन बीमाङ्क रकम बोनससहित प्राप्त हुनेछ । यो बीमालेख आजीवनसहित उपलब्ध छ । सञ्जिवनी अमृत (सावधिक) यस बीमा योजनामा न्यूनतम बीमाशुल्कमा अधिकतम जोखिमबहन हुने व्यवस्था गरिएको छ । बीमा प्रारम्भ मितिले ५ वर्षभित्र मृत्यु भएमा बीमाङ्कको १०० प्रतिशत, ६ वर्षदेखि १० वर्षभित्र मृत्यु भएमा बीमाङ्कको १२५ प्रतिशत, ११ वर्षदेखि १५ वर्षभित्र मृत्यु भएमा बीमाङ्कको १५० प्रतिशत र १६ वर्षदेखि २० वर्षभित्र मृत्यु भएमा बीमाङ्कको २०० प्रतिशत रकम बोनससहित प्राप्त हुनेछ । बीमा अवधि समाप्तिमा बीमित जीवित रहेमा बीमाङ्क र नियमानुसारको बोनस प्राप्त हुनेछ । भविष्य वृत्ति (पेन्सन प्लान) एउटा निश्चित अवधि पश्चात प्रत्येक व्यक्तिले आफ्नो पेशावाट अवकाश लिनु पर्ने हुन्छ । त्यस्तो अवस्थामा नियमित रुपमा मासिक आय आर्जन गर्न यस बीमा योजनाले सहयोग पुयाउँछ । यसरी अवकाशको समयपछि पनि यो बीमालेखले आर्थिक स्वतन्त्रता प्रदान गर्दछ । त्यसैले आफु कति वर्षको उमेरमा अवकाश लिने र आफुलाई अवकाशको समयमा मासिक कति रकम आवश्यक पर्दछ, त्यो वेलामा आफुले छनौट गरी आफुले भने जसरी अवकाशको जिन्दगी ज्ञापन गर्नको लागि यो उत्कृष्ट बीमा योजना सावित भएको छ । एनएलआईसी म्यादी अमृत बीमा योजना देशका विभिन्न क्षेत्रमा न्यून आयश्रोत भएका विपन्न वर्गहरुलाई लक्षित गरी कर्जा प्रदान गर्दै आएका वित्तीय संघ संस्थाको कर्जा उपयोग गर्ने व्यक्ति (ऋणी) हरुको जीवन बीमामार्फत सूरक्षा प्रदान गरी आर्थिक संरक्षणका लागि न्यून दरमा दुर्घटना जोखिम स्थायी पूर्ण अपाङ्गता र काजक्रिया खर्च समेत संयुक्त तथा अलग अलग समावेश गरी यो योजनाबाट अधिकतम लाभ प्राप्त गर्न सकिन्छ । न्यूनतम १६ वर्षदेखि अधिकतम ६५ वर्षसम्मका व्यक्तिहरु यसमा समावेश हुन सकिने छ । सरल अमृत (म्यादी एवं रकम फिर्ता) कम्पनीका अनुसार न्यूनतम बीमाशुल्कमा बीमा अवधि ३ वा ५ वा १० वा १५ वर्षका लागि तयार गरिएको यो म्यादी बीमा योजनामा दुर्घटना लाभसहित समावेश गरिएको छ । बीमितको दुर्घटनाबाट निधन भएमा दोब्बर बीमांक रकम भुक्तानी गरिनेछ । यदि बीमितको निधन नभएको अवस्थामा तोकिएको ब्याजसहित बीमाशुल्क फिर्ता गरिनेछ । यो खासगरी लघु बीमालाई लक्षित गरि तयार गरिएको हो । लघु अमृत जीवन बीमा योजना यो बीमा योजना खासगरी सामाजिक दायित्व बहन गर्ने सन्दर्भमा देशका विभिन्न क्षेत्रमा निम्न आय भएका विपन्न वर्गहरुलाई लक्षित गरी लघु कर्जा प्रदान गर्दै आएका वित्तीय संस्थाको कर्जा एवं कर्जा उपयोग गर्न व्यक्ति (ऋणी) को जीवन बीमा मार्फत सुरक्षा प्रदान गरी आर्थिक संरक्षणका लागि यस लघु अमृत बीमा योजनामा न्युनतम बीमाशुल्कमा बीमा गर्न सकिन्छ । म्यादी अमृत जीवन बीमा योजना कम्पनीका अनुसार विभिन्न वित्तीय संस्थाहरुले प्रवाह गरेको ऋणलाई सहज बनाउन त्यस्ता ऋणीहरुको असामयिक निधन भएको अवस्थामा जोखिमको भार बीमकले बहन गरी वित्तीय संस्था एवंम् ऋणीलाई पूर्ण आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले ‘म्यादी अमृत जीवन बीमा’ संचालन गरिएको हो । यस योजनामा न्युनतम बीमाशुल्कमा व्यक्तिगत एवं सामुहिक दुवै गर्न सकिने र दुर्घटना मृत्यु लाभ (एडीबी) पनि समावेश गर्न सकिने छ ।

जाजरकोट ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा

जाजरकोट । ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको छ । डिपिआरको रिपोर्ट कन्सलटेन्टले बुझाइसकेकाले अहिले अध्ययनको काम सुरु भएको नलगाड जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनिल पौडेलेले जानकारी दिए । नलगाड नगरपालिका–१० मा रहेको उक्त आयोजनाको डिपिआर सन् २०१६ देखि सुरु भएको थियो । डिपिआरको जिम्मेवारी डिजायड कन्सलटेन्ट काठमाडौंले दुई वर्षमा सक्ने सम्झौताअनुसार लिएको थियो । सात वर्षसम्म डिपिआरको काम सम्पन्न नगर्दा आयोजना नै अन्योलमा परेका बेला अब चार महिनाभित्र काम पूरा गर्ने भन्दै डिपिआरको ड्राफ्ट आएको र अध्ययनको काम जारी रहेको अधिकृत पौडेलले बताए । आयोजनाले उक्त ड्राफ्ट अध्ययनपश्चात कन्सलटेन्टलाई दिएर चार महिनाभित्र अन्तिम रिपोर्ट बुझाउने बताएको छ । सुरुमा चार मेगावाट विद्युत् उत्पादन गर्न सकिने भनिए पनि अहिले सात दशमलव एक मेगावाट विद्युत् उत्पादन हुने रिपोर्ट आएको आयोजनाका इञ्जिनीयर पदम थापाले बताउनुभयो । नलगाड जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले ताक्सुगाड जलविद्युत् आयोजना निर्माण गर्न लागिएको थियो । नलगाडको अझैँ डिपिआर सकिएको छैन । भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डको बीचमा यो आयोजना पर्दछ । तोकिएको समयमा डिपिआर सम्पन्न नगर्दा यहाँका स्थानीय आक्रोशित भएका छन् । कर्णाली प्रदेश सरकारले उक्त आयोजना निर्माण गर्नका लागि मागे पनि नलगाड जलविद्युत आयोजनाले प्रदेशलाई दिएको छैन । प्रदेश सरकारले उक्त आयोजनाका लागि बजेट नै विनियोजन गरेको छ । उता ३३ केभी प्रशारण लाइन अन्तर्गत ११ केभी प्रशारण लाइनको सव स्टेशन ताक्सुगाडकै किनारमा रहेको चौखामा निर्माण हुन गइरहेको छ । चौखामा निर्माण हुने उक्त सव स्टेशनले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत् आयोजनाका साथै डोल्पामा विद्युतीकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । रासस

म्याग्दीमा सडक स्तरोन्नतिका तीन आयोजना सुरु

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको जलजला गाउँपालिकाको मल्लाजमा सडक स्तरोन्नतिका लागि तीन वटा आयोजना सुरु भएका छन् । जलजलाको २, ३ र ४ नं वडामा पर्ने मल्लाजका सडक स्तरोन्नतिका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत् ५० करोड रुपैयाँ बजेटका आयोजना सञ्चालन भएका हुन् । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मल्लाजलाई सहरउन्मुख बस्तीको रुपमा विकास गर्ने उद्देश्यले सडक, अस्पताल भवनलगायत पूर्वाधारका आयोजना सुरु गरिएको बताए । ‘वारीबेनी मल्लाज सडक गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति गर्न लागिएको हो,’ उनले भने ‘भुरतुलादेखि मल्लाज हुँदै लेकफाँट जोड्ने सडक सङ्घीय सरकारको सडक डिभिजन र फड्केढुङ्गाको दोवदोवेदेखि मल्लाजसम्म सडक सहरी विकास कार्यालयमार्फत् स्तरोन्नति सुरु भएको छ ।’ वारीबेनी मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्याबिन र मेसिनरी पर्खाल निर्माण गर्न प्रदेश सरकारले रु एक करोड र जलजला गाउँपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । कालिका इन्फ्रास्टक्चर प्रालिले ठेक्का पाएको यो सडक दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको गाउँपालिका अध्यक्ष आचार्यको भनाइ छ । सङ्घीय सरकारको रणनीतिक महत्वका सडक कार्यक्रममार्फत् मल्लाज लेकफाँट सडक स्तरोन्नतिका लागि ३७ करोड रुपैयाँमा ठेक्का पाएको रायमाझी कन्ट्रक्सन प्रालिले प्रारम्भिक चरणको कामलाई तीव्रता दिएको जलजला–३ का वडाध्यक्ष एकेन्द्र खत्रीले बताए । मल्लाजको भुरतुलाको डिलदेखि लेकफाँटसम्म करिब १० किलोमिटर सडक सात मिटर चौडाइका दरले कालोपत्र र ढलानका साथै नाली, पर्खाल निर्माण गर्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने काम भइरहेको वडाध्यक्ष खत्रीले बताए । कूल ३३ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको यो सडकमा अहिले पाँच वटा डोजर र करिब एक सय जना मजदूरले काम गरिरहेका छन् । यसैगरी सहरी विकास कार्यालय बागलुङमार्फत् दोवदोवेदेखि मल्लाज हुँदै बाँसखर्कको सिमानासम्मको पाँच किलोमिटर सडक स्तरोन्नति गर्न ठेक्का पाएको निर्माण कम्पनीले पनि सडक विस्तारको प्रारम्भिक चरणको काम थालेको छ । यो सडकमा पाँच मिटर चौडाइका दरले कालोपत्र गरिनेछ । मल्लाजमै १२ करोड रुपैयाँको लागतमा पाँच शय्या क्षमताको अस्पताल भवन पनि निर्माणको काम धमाधम भइरहेको छ । सडक स्तरोन्नति तथा अस्पताल सञ्चालन भएपछि आवतजावत सहज र सुरिक्षत हुने, बसाइँसराइ रोकिने, आयआर्जन र रोजगारीको अवसर बढ्ने अपेक्षा गरिएको स्थानीयवासी नरेन्द्र थापाको भनाइ छ । मल्लाजमा एक घर एक धारासहितको खानेपानी र वृहत् सिँचाइ आयोजना यसअघिनै निर्माण भएको छ । रासस