काठमाडौं । सरकारले मुलुकलाई आन्तरिक एकताका लागि सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याएको बताएको छ ।
सोमबार मन्त्रीपरिषद्का निर्णय सुनाउने क्रममा संचारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।
उनले मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनैतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मुल धारमा ल्याउने उद्देश्यका साथ यो अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको बताए ।
यस किसिमका अध्यादेश यो भन्दा अघिका सरकारले पनि जारी गरेको भन्दै मन्त्री कार्कीले अहिलेको आवश्यक्तालाई केन्द्रमा राखेर मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका निम्ति अध्यादेश ल्याएको बताए ।