दाङमा उपमहानगरकै जग्गा अतिक्रमणमा
दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोग गरेको छ । उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर–पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको छ । जहाँ तीन ठूला पक्की घर निर्माण गरिएको छ । उपमहानगरपालिका कार्यालयको कित्ता नं ५ (घ) ८१२ मा त्यसरी अतिक्रमणमा परेको हो । उपमहानगरपालिकाका पाँचवटा कित्ता रहेका छन् । तीमध्ये तुलसीपुर बसपार्कको उत्तरतर्फ आलुमण्डी आसपासको कित्ता नं ५ (ख) ५४४ मा एक बिघा १० कठ्ठा १४ धुर जग्गा छ । त्यहाँ अहिलेसम्म लगत सङ्कलन गर्दा ९७ घर बनेको पाइएको छ । अझै पनि त्यहाँ लगत सङ्कलन कार्य भइरहेको छ । त्यस्तै कित्ता नं ५ (ख)कै ५४५ मा तीन कठ्ठा जग्गा छ । जहाँ १९ वटा घर बनेका छन् । त्यस्तै कित्ता नं ५९ख० ५४६ मा ११ कठ्ठा जग्गा छ । जहाँ ३६ घर बनेका छन् । तीमध्ये केही उपमहानगरपालिकाको संरचना रहे पनि अधिकांश जग्गा अतिक्रमणमा परेको छ । त्यस्तै कित्ता नं ५९ख० ४९९३ मा ५३ हजार पाँच सय ६५ वर्गमिटर जग्गा रहेको छ । सोही जग्गामा ४७ घर बनेका छन् भने अझै सोही कित्तामा लगत सङ्कलन बाँकी रहेकाले निर्माण भएका घरको सङ्ख्या धेरै हुनसक्ने तुलसीपुर उपमहानगरपालिकाका भूमि व्यवस्थापन शाखा प्रमुख माधव पौडेलले बताए। ‘हामीले बिहानदेखि साँझसम्म अतिक्रमित जग्गामा बनेका घरटहराको लगत सङ्कलन गर्ने कार्य गरिरहेका छौँ, पाँच कित्तामध्ये तीन कित्ताको लगत सङ्कलन गरिसकेका छौँ’, उनले भने, ‘अन्य दुईवटा कित्ताको पनि आधा जति काम भइसकेको छ, केही मात्रै बाँकी छ ।’ मङ्सिर १३ देखि आफूहरूले लगत सङ्कलनको काम सुरु गरेको उनले भने। उनले अबको एक हप्तामा लगत सङ्कलन कार्य सकिनेसमेत बताए। लगत सङ्कलन गरेर आफूहरूले कार्यपालिकामा पठाउने उनको भनाइ छ । कार्यपालिकामा पठाएपछि एकपटक सर्वदलीय, सर्वपक्षीय बैठक बोलाउने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । ‘लगत सङ्कलन केही दिनमा सकिन्छ, त्यो सकिएमा हामीले एकपटक सर्वदलीय, सर्वपक्षीय बैठक बोलाउँछौँ’, उनले भने, ‘त्यो बैठकले के निष्कर्ष निकाल्छ, त्यहीअनुसार हामी अघि बढ्छौँ ।’ उपमहानगरपालिकाले कात्तिक ३ गते नै जग्गा खाली गरिदिन भन्दै ३५ दिने सूचना जारी गरेको थियो । तर सूचना प्रकाशित भएको ३५ दिन कटिसक्दा पनि चासो नदिएको भन्दै नागरिकले ध्यानाकर्षण गराइरहेका छन् । तर आफूहरू नियमित यही कार्यमा लागिरहेको नगरप्रमुख खड्काले बताए। आफ्नो सम्पत्ति संरक्षण गर्नुपर्ने दायित्व भएकाले यो कदम अघि बढाएको उनको भनाइ छ । तीमध्ये कोही सुकुम्बासी भएमा उनीहरूलाई निश्चित ठाउँमा व्यवस्थापन गर्नेसमेत उनले बताए । केहीले विसं २०५६ सम्म उपमहानगरपालिकालाई भाडा तिर्ने गरेको भए पनि पछिल्लो समय भाडा पनि नतिरेको पाइएको प्रमुख खड्काले बताए । सूचना प्रकाशनपछि केही व्यक्ति कार्यालयमा आएर छुट गरेर भाडा तिर्नेसमेत प्रतिबद्धता जनाएको तर, त्यो पनि अब लगत सङ्कलनपछि बोलपत्रमार्फत गर्न सकिने बताए । उपमहानगरपालिकाकै जग्गा कतिपयले किनबेचसमेत गरेको पाइएको उनले बताए । रासस
कालीगण्डकी करिडोर : मालढुङ्गा-हर्मिचौर खण्ड कालोपत्रको काम सुरु
बलेवा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रको काम सुरु भएको छ । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्रको काम थालेको हो । बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक एक खण्ड र बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको ४४ किलोमिटर सडक अर्को खण्डमा स्तरोन्नति तथा कालोपत्रको काम सुरु भएको आयोजना कार्यालय पाल्पाका प्रमुख शंकर पौडेलले बताए । मालढुङ्गा-बलेवा खण्डको कामको जिम्मेवारी पाएको खड्का-कृष्ण बिएन जेभीले काम सुरु गरेको छ । मालढुङ्गाबाट सडक फराकिलो बनाउने र संरचना निर्माण गर्ने काम सुरु भएको हो । दश किलोमिटर दूरी रहेको यो खण्डका लागि ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको छ । दुई वर्षमा मालढुङ्गा-बलेवा खण्ड कालोपत्र भइसक्ने उनले जानकारी दिए । त्यस्तै बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको सडकखण्ड कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनले जिम्मेवारी पाएको छ । तीन अर्ब ३० करोडमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको पौडेलले जानकारी दिए । कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ । करिडोर अन्तर्गत देवघाटधाम, केलादीधाम, राम्दीघाट, रुद्रवेणी, सेतीवेणी, पुर्तिघाट, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता महत्वपूर्ण तीर्थस्थल पर्छन् । उक्त करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ वटा घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउनसक्ने सम्भावना उत्तिकै छ । करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपालको दक्षिणी सीमा भारतको सुनौलीबाट र उत्तरी सीमा चीनको कोरलालाई जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ । करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । करिडोर कुल चार सय ३५ किलोमिटर लम्बाइ रहेको छ । रासस
नारायणघाट–बुटवल सडक निर्माणले गति लिँदै
बुटवल । एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ–बुटवल सडक निर्माणलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न कार्यालयका इञ्जिनियर धीरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको हो । गत साउन २२ गते म्याद सकिँदा आयोजनाको प्रगति १८ प्रतिशतमात्र रहेकामा म्याद थप गरिएपछि भने निर्माण कम्पनीले कामलाई तीव्रता दिएको उनले बताए । उनका अनुसार आयोजनाको पूर्वी खण्डमा दैनिक एक हजार दुई सय कामदारले काम गरिरहेका छन् । आयोजनाको पूर्वी खण्डमा पर्ने विद्युतका पोल पनि सार्ने काम अगाडि बढेको आयोजनाले जनाएको छ । अहिलेसम्म ३० प्रतिशत विद्युतका पोल सार्ने काम सकिएको हो । उनले पछिल्लो समय १२ वटा ठूला पुलमध्ये १२ मा निर्माणको काम भइरहेको बताए । उनका अनुसार २२ साना पुलमध्ये १३ मा काम सकिएको छ भने अन्यमा काम भइरहेको हो । आयोजनाले सडकमा हाल्नुपर्ने माटो, गिट्टी र बालुवा देवचुली र कावासोती नगरपालिका क्षेत्रबाट लिएर पुर्ने कामसमेत सँगसँगै अगाडि बढाएको हो । यसअघि निर्माण सामग्रीको कमी, कोरोना महामारी, बिजुलीको पोल र खानेपानीको पाइप सार्ने काम नहुँदा कामले तीव्रता नपाएको समस्या समाधान भएपछि कामले तीव्रता पाएको आयोजनाको पूर्वी खण्डका प्रमुख रमेशकुमार दिष्टीले बताए । ‘पछिल्ले समय धमाधम काम भइरहेको छ, जनशक्ति पनि ठेकेदार पक्षले बढाएको छ, केही स्थानमा त सडक कालोपत्रका लागि अन्तिम तयारी पनि भएको छ ।’ उनले भने, ‘कामले तीव्रता पाएपछि स्थानीय बासिन्दा पनि खुसी छन् । तोकिएको समयमै सम्पन्न नभए पनि यही गतिमा काम हुने हो भने छिट्टै काम सम्पन्न हुने देखिन्छ ।’ प्रमुख दिष्टीका अनुसार गैँडाकोटबाट दाउन्नेसम्मको ६४।५ किलोमिटर खण्डलाई प्याकेज–१ र दाउन्नेबाट बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज–२ गरी एकैसाथ विस्तार कार्य भइरहेको छ । विस्तार भइरहेको सडकको कुल लम्बाइ एक सय १३ किलोमिटर छ । रासस
जीप दुर्घटना अपडेट : एकै वडाका आठसहित १२ को मृत्यु
जारजरकोट । यहाँको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् । त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ । त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए । कर्णाली प्रदेश२००१च ०४२९ नंको निजी जिप छेडागाड –३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो । बिहेमा विवाद हुँदा छेडागाड नगरपालिका–५ लेवाका दीपक अधिकारीको ससुराली हो झल्कुवा । साली सम्झनाको बिहेको भोज खान उहाँ आइतबार त्यहाँ पुगेका थिए । बिहेमा रमाइलो गर्दागर्दै आइतबार दीपक र छेडागाड नगरपालिका–४ भल्कुवाका महेश थापाको बीचमा विवाद भयो । विवाद बढ्दै जाँदा दीपक र महेशबीचमा कुटाकुट भयो । दीपक घाइते भए । गाउँलेहरूले झगडा छुट्याए । तर दीपकलाई उक्त झगडामा आफूलाई अन्याय भएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय वडावनमा जाने र त्यसपछि थलह बजार गएर उपचार गर्ने भन्दै दैलेखबाट जन्ती लिएर आएको जिपबाट प्रहरी कार्यालयसम्म पु¥याइदिन आग्रह गरे । दीपकसँगै बिहेमा भोज खाना आएका अन्य सर्वसाधारण पनि सोही जिपमा फर्कने क्रममा उक्त जिप दशेराको भिरमा दुर्घटना भयो । उपचार र न्याय माग्न वडावन जाने दीपकसँगै अन्य बिहेभोज खाना आएका १२ जनाको मृत्यु हुन पुग्यो । रासस
वीरगञ्ज भन्सारले भन्सार छली, चोरी निकासी र पैठारी मालवस्तु बेच्दै
काठमामाडौं । वीरगञ्ज भन्सार कार्यालयले विभिन्न मालवस्तुहरू सिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गर्ने भएको छ । सुरक्षा निकायका विभिन्न कार्यालयको प्रतिवेदनले भन्सार छली चोरी निकासी र पैठारी अभियोगमा दाखिला भएका विभिन्न मालवस्तुहरू बिक्री गर्ने भएको हो । भन्सार छली, चोरी निकासी र पैठारी अभियोगमा दाखिला भएका विभिन्न मालवस्तुहरू भन्सार नियमावली, २०६४ को नियम ३५ (१) बमोजिम जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गर्ने भन्सार कार्यालयले जनाएको छ । इच्छुक फर्म वा संघ र संस्थाले १५ दिनभित्र खरिद गर्न गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । विस्तृत विवरण कार्यालयलगायत वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, मालपोत कार्यालय, वीरगञ्ज महानगरपालिकाको कार्यालय र वीरगञ्ज उद्योग वाणिज्य संघको सूचनापाटीका साथै भन्सार विभाग र कार्यालयको वेभसाइटबाट पनि जानकारी लिन सकिनेछ । नियमानुसार बोलपत्र फाराम दस्तुर बुझाई उक्त समानहरु कार्यालयबाट खरिद गर्न सकिनेछ । आफूले कबोल गरेको रकमको १० प्रतिशत रकम एभरेष्ट बैंकमा जम्मा गरी बोलपत्र फाराम साथ पेश गर्नु पर्नेछ ।
राष्ट्रिय वाणिज्य बैंकले २२ सय थान ज्याकेट किन्दै
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ज्याकेट खरिद गर्ने भएको छ । बैंकका लागि २ हजार २ सय थान ज्याकेट आवश्यक परेको हुँदा सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्ने बैंकले जनाएको छ । बैंकका लागि आवश्यक ज्याकेट (वीनचिटर) सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्ने भएकाले आपूर्ति गर्न सक्ने इच्छुक फर्म तथा कम्पनी र अधिकृत बिक्रेताहरूले सिलबन्दी पेश गर्नु पर्नेछ । बैंकलाई उक्त ज्याकेटहरु पुस १२ गते कार्यालय समयभित्र खरिद गरी पुस १३ गतेसम्ममा सिलबन्दी दरभाउपत्र दाखिला गर्न बैंकले आग्रह गरेको छ ।
लाभांशमा अब्बल तर संस्थापकले भटाभट छोड्दै नविल बैंक
काठमाडौं । लाभांशको हिसावले नबिल बैंक अब्बल छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले १८।५ प्रतिशत बोनस र ११।५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जुन बाणिज्य बैंकहरु मध्ये सबैभन्दा उत्कृष्ट हो । अहिले मात्र होइन, नबिल बैंकको लाभांश इतिहास पनि धेरै राम्रो छ । बजारमा सेयरको मूल्य पनि सबैभन्दा बढी नविलको छ ।त तर पछिल्लाे समय नबिल बैंकका संस्थापक सेयरधनीहरु एकपछि अर्काे गर्दै बाहिरिन थालेका छन् । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्दै नबिल बैंकबाट धमाधम बाहिरन थालेका हुन् । एनबी बैंक नविलमा बिलय भएपछि संस्थापकहरूकाे सेयर बिक्रीमा वृद्धि भएकाे देखिएकाे छ । पछिल्लाे समय हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्टले नबिल बैंकमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको छ । संस्थापक सेयरधनी रहेको हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्टले आफ्नो नाममा रहेको ३ लाख २ हजार ५४५ कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको हो । यसअघि गत मंसिर १५ गते बैंकको संस्थापक सेयरधनी इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी बैंक) ले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो । आइएफआईसीले १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्री गरेर नबिलबाट बाहिरिने निर्णय गरेको थियो । १४० प्रतिशतसम्म प्रतिफल दिएको नबिल बैंकको यस्तो छ लाभांश इतिहास यस्तै, गत मंसिर ११ गते नै बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेका थिए । योसँगै मंसिरमा मात्रै बैंकले तीन पटक संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको जनाएको छ । उक्त सेयर खरिद गर्नको लागि बैंकका संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिएको छ । इच्छुक तथा योग्य संस्थापक सेयरधनीले आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता मूल्य तोकि ३५ दिनभित्र गोप्य शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ । उक्त निवेदन बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विणामार्ग, दरबारमार्ग, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले उक्त सेयर खरिद नगरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रकृया अगाडि बढाइने बैंकले जनाएको छ ।
किन फुट्छ बारम्बार मेलम्चीको पाइप ?
काठमाडौं । काठमाडौँको लैनचौरमा सोमबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भयो । हिलो र ढुङ्गाले बाटो नै भरियो । जसकारण दिनभरि नै राजधानीको यातायात अवरोध हुन पुग्यो । त्यसैगरी गत कात्तिक २४ गते पनि मेलम्चीको पाइप परीक्षणको क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा सडक जलमग्न भई सवारीसाधन आवागमनमा समेत समस्या भएको थियो । विद्युतको तार भूमिगत गर्ने क्रममा तीनकुनेको पाइप फुटेको पाइएको थियो । सोमबार लैनचौरमा पनि नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्ने क्रममा नै पाइप फुटेको हुनसक्ने मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयको अनुमान छ । सो क्षेत्रको पाइप फुटेकोबारे निर्देशनालयले अध्ययन गरिरहेको जनाएको छ । लैनचौर र तीनकुनेको घटना त उदाहरण मात्र हुन्, काठमाडौँमा खानेपानी र ढलको पाइप फुट्ने, टेलिफोन र विद्युतको तार काटिनेजस्ता घटना दिनहुँजसो हुने गर्दछ जसको प्रत्यक्ष मारमा आमनागरिक परेका हुन्छन् । एकीकृत सहरी विकास योजनाको अभाव, पूर्वाधार विकाससम्बन्धी काम, विभिन्न मन्त्रालय र निकायमा बाँडिनु, ‘युटिलिटी कोरिडोर’सम्बन्धी ऐन कानुनको अभावजस्ता कारणले यस्ता घटना हुने गरेको पाइएको छ । पूर्वाधार विज्ञ प्राडा सूर्यराज आचार्यले विकसित मुलुकको उदाहरण दिँदै भौतिक पूर्वाधार विकासका लागि एउटै मन्त्रालय वा निकाय तथा एकीकृत कार्ययोजना हुनुपर्ने बताए । नेपालको सन्दर्भमा पूर्वाधार निर्माणसम्बन्धी एउटै मन्त्रालय र एकीकृत कार्ययोजनाको अभाव, अहिले खडा गरिएका मन्त्रालय र निकायबीच समन्वयको खाँचो तथा विकासको कामलाई समयमा सम्पन्न गर्नुको सट्टा वर्षौसम्म लम्ब्याएर फाइदा लिनेजस्ता प्रवृत्तिका कारण यस्ता समस्या हुने गरेको उनको भनाइ छ । सरकारी कार्यालयहरूबीच समन्वय नहुँदा सडक विभागले कालोपत्रे गरेको केही दिनमै कहिले खानेपानी मन्त्रालयले सडक खन्ने, कहिले ढल निकासका लागि खन्ने त कहिले दूरसञ्चार र बिजुलीसम्बन्धी कामका लागि सडक खनिँदा काम पनि गुणस्तरीय नहुने र पाइप र ढल फुट्ने, तारहरू काटिनेजस्ता समस्या आउने गरेको उनको भनाइ छ । यी समस्याको सम्बोधन गर्न ‘युटिलिटी कोरिडोर’को अवधारणा अगाडि सारिए पनि त्यो लागू हुन सकेको छैन । लैनचौर क्षेत्रमा खानेपानीको पाइप फुटेको घटनाबारे अध्ययन सुरु भइसकेको मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।