विकासन्युज

लाभांश पारित गर्न गरिमा विकास बैंकले पुस २२ गते बोलायो साधारणसभा

काठमाडौं । गरिमा विकास बैंकले पुस २२ गतेको लागि वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारणसभाले प्रस्ताव पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् । यसको लागि बैंकले पुस ८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ७ गते नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका बैंकका सेयरधीले मात्र लाभांश पाउनेछन् ।

बाँकेमा मागको एक तिहाइ मात्रै मल मौज्दात

नेपालगञ्ज । बाँकेमा हिउँदे यामका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ। तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै मौज्दात छ। यो मागको एक तिहाइ मात्रै हो। जिल्लामा हालसम्म नौ सय ८२ मेट्रिक टन मल मात्रै आएको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख रमेशकुमार पौडेलले जानकारी दिए। उनका अनुसार हालसम्म साल्ट ट्रेडिङबाट एक सय ३१ दशमलव आठ मेट्रिक टन युरिया मल मात्रै किसानसम्म पुगेको छ। साल्ट ट्रेडिङले केही दिनअघि बिक्री सुरु गरे पनि कृषि सामग्री कम्पनी लिमिटेडले सोमबारदेखि सहकारीलाई मल उपलब्ध गराउन सुरु गरेको पौडेलले बताए। हालसम्मको अवस्था हेर्दा यस पटक पनि बाँकेमा मलको अभाव हुने देखिएको छ। मागको ३० प्रतिशत मात्र मल आउँदा सबै किसानले नपाउने अवस्था छ। व्यक्तिगत प्रयोगका लागि भारतीय बजारबाट मल ल्याउने किसानलाई सहजीकरण गर्न प्रशासनसँग अनुरोध गरिएकाले केही राहत हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। कृषि सामग्रीले कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, खजुरा र नरैनापुर गाउँपालिकाका सहकारी संस्थालाई मल वितरण सुरु गरेको छ। जानकी गाउँपालिका र नेपालगञ्जका सहकारी संस्थालाई पनि छिट्टै मल वितरण गरिने कृषि सामग्री कम्पनीले जनाएको छ। बाँकेमा वार्षिक सात हजार मेट्रिक टन युरिया र दुई हजार पाँच सय मेट्रिक टन डिएपी मलको माग रहेको छ। हालसम्म साल्ट ट्रेडिङमा सात सय एक मेट्रिक टन मल आएको छ। उक्त मल गहुँ लगाउने बेला उपलब्ध हुने अवस्था नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। साल्ट ट्रेडिङमा हिउँदे यामका लागि एक सय ७५ मेट्रिक टन डिएपी मलको कोटा रहेकामा हालसम्म ७७ दशमलव ८५ मेट्रिक टन मात्र आएको छ। रासस

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने

नारायणगढ । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । यही पुस ९ गते सम्झौताको अवधि सकिँदै छ । उनले भने, ‘कोभिड–१९ का कारण समयमा काम सकिएन, अझै एक वर्ष लाग्ने देखिन्छ ।’ घरटहरा हटाउन र भित्तो काट्नुपर्ने ठाउँमा काम जटिल भएकाले समय धेरै लाग्ने देखिएको हो । समय थपका लागि फाइल विभागमा पठाइएको कार्की बताउछन् । विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो । चार पुल बनाउने ठाउँमा सडकको भित्तो काट्नुपर्ने भएकाले आगामी पुस ५ गतेदेखि दिउँसोमा सडक बन्द गरी काम गर्न लागिएको छ । सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माण गर्दा सडकको भित्तो काट्नुपर्ने भएको छ । भौगोलिकरुपमा असहज ठाउँमा रहेका कारण सवारी आवागमन रोक्नु परेको हो । कार्कीका अनुसार विश्व बैंकको ऋण सहयोग भएकाले सडक छेउमा बसोबास गर्नेको व्यवस्थापन अर्को चुनौती छ । त्यहाँबाट हटाउँदै गर्दा घरटहरामा बसोबास गर्नेलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । उनका अनुसार पुल बनाएर सञ्चालन गर्ने क्रममा २६ घरटहरा भत्काउनुपर्ने हुन्छ । जसका लागि एक करोड रुपैया बजेट माग गरिएकोमा त्यो बजेट आइनपुगेकाले घरटहरा भत्काउने काम रोकिएको छ । असारसम्ममा १३ पुल सम्पन्न गर्ने गरी काम भइरहेको उनी बताउछन् । तीमध्ये सेतीदोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे २ को पुल तीन महिनाभित्रमा सम्पन्न हुने कार्कीको भनाइ छ । तुइन र जुगेडी पुललाई थप केही समय लाग्ने उनले जानकारी दिए । सो सडक विस्तारको कामसँगै साँघुरा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । हाल सो सडक नौदेखि ११ मिटर फराकिलो छ । ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् । प्याकेज–१ को कूल ठेक्का रकम ६७ करोड ९९ लाख रुपैया छ । पुल र नक्साङ्कनका लागि मात्र ५८ करोड ४० लाख छ भने अन्य रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रण लगायतमा खर्च हुने आयोजनाले जनाएको छ । दोस्रो प्याकेजको कूल ठेक्का रकम ५९ करोड पाँच लाखमध्ये नक्साङ्कन र पुलका लागि ४९ करोड ६० लाख हो भने बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो । दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ । पुलको गाडी हिँड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो हुनेछ । दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ ।

अर्थतन्त्रमा देखिएको समस्या नेपालमा मात्रै होइन, विश्वभरी नै छ – गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक क्षेत्रमा देखिएको समस्या नेपालमा मात्रै नभएर विश्वभरी नै भएको बताएका छन् । बुधबार आर्थिक पत्रकार संघ(नाफिज)को कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बजार र निजी क्षेत्र समस्यामा रहेको बताएका हुन् । ‘बजार निजी क्षेत्र प्रताडित छ, यो नेपालमा मात्र होइन विश्वभरको समस्या हो’, गर्भनर अधिकारीले बताए । अन्तरबैंक स्प्रडेदर घटिरहेको र तरलतामा केही सहजता हुने उनले बताए । रिफाइनान्समा ७०/८० मा आउने र त्यसले पनि बैंकहरुलाई केही असहज हुने उनले बताए । पछिल्लो समयमा रेमिट्यान्स आप्रवाह बढेको गर्भनर अधिकारीले बताए । वित्तीय क्षेत्रमा विकृति भएको त्यसले थप समस्या बढाउन सक्ने बताउँदै उनले राष्ट्र बैंकले आफ्नो काम गरिरहेको बताए ।

गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ४.२१ प्रतिशत लाभांश घोषणा गरेको हो । मंसिर २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

शिकारीको निसानामा परेपछि दुर्लभ पन्छी हुचिल लोप हुँदै

उदयपुर । उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पन्छी हुचिल लोप हुँदैगएको छ । वासस्थानको समस्या तथा शिकारीले शिकार गर्नेगरेका कारण हुचिल हिजोआज यस क्षेत्रबाट लोप हुँदैगएको छ । बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिरपाखा, बोपताङ डाँडाको भिरपाखा, चम्पाकोट पाखा तथा चौदण्डी गढीको सिद्धीपुर र बेलकाको कटुन्जेबबलाको पाखा पहरातिर केही वर्ष अघिसमम व्यापक रुपमा पाइने  हुचिल हिजोआज यस क्षेत्रमा पाइन छोडेको चौदण्डी बबलाका रामबहादुर मगरले बताए । ‘केही वर्ष अघिसम्म चौदण्डीको कटुन्जे बबलाको भिरपाखा तथा जङ्गल क्षेत्रमा हिउँद वर्षा दुवै याममा हुचिल जताजतै पाइन्थ्यो’, उनले भने । केही वर्षयता यसको शिकार हुन थालेको र केहीले यसको वासस्थानसमेत नष्ट गरेको पाइएको मगरको भनाइ छ । हुचिलको शिकार गर्न गोप्यरुपमा अन्यत्र जिल्लाबाट शिकारी आउनेगरेको उनले बताए । स्थानीयसँग मिलेर हुचिल शिकार गर्नेगरेको पाइएको मगरको भनाइ छ । बेलका नगरपालिका –५ को मैनामैनी क्षेत्रको बोपताङ डाँडापाखा क्षेत्र, चम्पाकोट तथा सुघाचरी भीरपाखामा समेत विगतमा धेरै सङ्ख्यामा हुचिल पाइन्थ्यो । स्थानीय  मानबहादुर राई केही समय यता फाटफुट्ट मात्र देख्न सकिने बताए । ‘हिजोआज गाउँघरमा रातभरि नै हुचिल कराएको सुनिदैन’ उनले भने । हुचिल मार्न, पक्रन र पासो थाप्न यहाँ बाहिरबाट आउने गरेका स्थानीयवासी बताउँछन् । हुचिल जिउँदै अन्यत्र लगेर बिक्री गर्नेगरेको पाइएको छ । जिउँदो हुचिल  रु २० हजारसम्ममा बिक्री हुनेगरेको छ । बेलका नगरपालिकाका पूर्व नगरप्रमुख दुर्गाकुमार थापा आफूले बेलकाको मैनामैनीको सुगाचरी भिर बोपताङ डाँडा र भिरमा पाइने दुर्लभ प्रजातिका गिद्धको संरक्षण र हुचिल संरक्षणको अभियान नै चलाएको बताए ।  ‘संरक्षण  अभियानलाई निरन्तरता दिनुपर्छ’ उनले भने । रासस

नेपालको अर्थतन्त्र बढेन भने प्रत्येक नेपालीको आम्दानी घट्छ – वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालको अर्थतन्त्र बढेन भने आम्दानी घट्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को १३ औं वार्षिक साधारण सभा एवं छैटौं महासभामा बोल्दै उपाध्यक्ष ढकालले अर्थतन्त्र बढ्न नसक्दा आम नेपालीको आम्दानी घट्न सक्ने बताएका हुन् । अबको समयमा आर्थिक मुद्दा नै देशको मुख्य मुद्दा बन्ने अवस्था रहेको उनले बताएका छन् । काम गर्ने सिलसिलामा सरकारी मन्त्रालयहरुबीचमा आवश्यक समन्वय हुन नसकेको उनले बताएका छन् । साथै उपाध्यक्ष ढकालले नेपालमा धेरै अवसर हुँदा पनि काम गर्न नसकिएको बताए । ‘हामीसँग धेरै अवसर हुँदा पनि काम गर्न सकेका छैनौं’, उनले भने । कोभिड महामारीपछि निजी क्षेत्रले भोगेको पिडाको विषयमा उनले राज्यको ध्यानआकर्षण पुग्न नसकेको बताएका थिए ।

केन्द्रिय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनुपर्दछ : शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेकाले तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व एवं मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेमा जोड दिएको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासङ्घका पदाधिकारी, प्रदेश च्याप्टरका अध्यक्ष र कार्यकारिणी समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले आज राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितका उच्च अधिकारीलाई भेट गरी उक्त आग्रह गरेको हो । ‘नेपालको निजी क्षेत्र सम्भवतः हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ’, अध्यक्ष गोल्छाले भने, ‘ब्याजदर स्थायित्व, चालु पूँजी कर्जासम्बन्धी नयाँ व्यवस्थाको स्थगन आदि उपायका माध्यमबाट केन्द्रिय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनुपर्दछ ।’ उनका अनुसार मौद्रिक नीतिको समीक्षाले पनि समस्या समाधान गर्न सकेन । अर्थतन्त्र जोगाउ अभियानलाई महासङ्घले अगाडि बढाएको र यसक्रममा देशका प्रमुख राजनीतिक दलका शीर्षस्थ नेता, सरकार प्रमुख र अर्थमन्त्रीसमेतलाई भेटेर समस्या समाधान गर्न आग्रह गरेको र सोही क्रममा गर्भनरसमक्ष पनि भेटघाटका लागि आएको उनले स्पष्ट पारे । अर्थतन्त्रका महत्वपूर्ण आधारका रूपमा रहेको सिमेन्ट, डण्डी, घर जग्गा व्यवसाय, निर्माण, अटोमोबाइललगायतको क्षेत्रमा ६० प्रतिशतसम्म गिरावट आएकाले तत्काल यी क्षेत्रलगायत सिङ्गो निजी क्षेत्रलाई चलायमान बनाउने वातावरण बनाउन अध्यक्ष गोल्छाले गभर्नर अधिकारीसमक्ष आग्रह गरे । निक्षेपको ब्याजका कारण अन्य उपलब्धि नभई कर्जाको मात्रै ब्याज बढ्दा उद्यमी व्यवसायी प्रभावित छन् । बजारलाई नियन्त्रण गर्न सुरु भएको करिब एक वर्षको अवधिमा बहुआयामिक जोखिम बढेको हुँदा सरकार एवं केन्द्रीय बैंकले अर्थतन्त्र जोगाउन विभिन्न उपाय अपनाउन आग्रह गरे । निजी क्षेत्रको सुझाव, तरलता व्यवस्थापन एवं ब्याजदर स्थायित्व हो । मौद्रिक नीति समीक्षामार्फत वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर चार दशमलव चार प्रतिशतबाट चार प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर पाँच प्रतिशतबाट चार दशमलव छ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले ब्याजदर बढ्नबाट रोक्ने सम्भावना बलियो देखिएकाले त्यसका लागि केन्द्रीय बैंकलाई धन्यवाद दिएको छ । भेटका अवसरमा गभर्नर अधिकारीले महासङ्घले दिएका सुुझाव अध्ययन गरी निर्णय गर्ने विश्वास दिलाए ।