केन्द्रिय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनुपर्दछ : शेखर गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेकाले तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व एवं मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेमा जोड दिएको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासङ्घका पदाधिकारी, प्रदेश च्याप्टरका अध्यक्ष र कार्यकारिणी समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले आज राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितका उच्च अधिकारीलाई भेट गरी उक्त आग्रह गरेको हो । ‘नेपालको निजी क्षेत्र सम्भवतः हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ’, अध्यक्ष गोल्छाले भने, ‘ब्याजदर स्थायित्व, चालु पूँजी कर्जासम्बन्धी नयाँ व्यवस्थाको स्थगन आदि उपायका माध्यमबाट केन्द्रिय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनुपर्दछ ।’ उनका अनुसार मौद्रिक नीतिको समीक्षाले पनि समस्या समाधान गर्न सकेन । अर्थतन्त्र जोगाउ अभियानलाई महासङ्घले अगाडि बढाएको र यसक्रममा देशका प्रमुख राजनीतिक दलका शीर्षस्थ नेता, सरकार प्रमुख र अर्थमन्त्रीसमेतलाई भेटेर समस्या समाधान गर्न आग्रह गरेको र सोही क्रममा गर्भनरसमक्ष पनि भेटघाटका लागि आएको उनले स्पष्ट पारे । अर्थतन्त्रका महत्वपूर्ण आधारका रूपमा रहेको सिमेन्ट, डण्डी, घर जग्गा व्यवसाय, निर्माण, अटोमोबाइललगायतको क्षेत्रमा ६० प्रतिशतसम्म गिरावट आएकाले तत्काल यी क्षेत्रलगायत सिङ्गो निजी क्षेत्रलाई चलायमान बनाउने वातावरण बनाउन अध्यक्ष गोल्छाले गभर्नर अधिकारीसमक्ष आग्रह गरे । निक्षेपको ब्याजका कारण अन्य उपलब्धि नभई कर्जाको मात्रै ब्याज बढ्दा उद्यमी व्यवसायी प्रभावित छन् । बजारलाई नियन्त्रण गर्न सुरु भएको करिब एक वर्षको अवधिमा बहुआयामिक जोखिम बढेको हुँदा सरकार एवं केन्द्रीय बैंकले अर्थतन्त्र जोगाउन विभिन्न उपाय अपनाउन आग्रह गरे । निजी क्षेत्रको सुझाव, तरलता व्यवस्थापन एवं ब्याजदर स्थायित्व हो । मौद्रिक नीति समीक्षामार्फत वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर चार दशमलव चार प्रतिशतबाट चार प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर पाँच प्रतिशतबाट चार दशमलव छ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले ब्याजदर बढ्नबाट रोक्ने सम्भावना बलियो देखिएकाले त्यसका लागि केन्द्रीय बैंकलाई धन्यवाद दिएको छ । भेटका अवसरमा गभर्नर अधिकारीले महासङ्घले दिएका सुुझाव अध्ययन गरी निर्णय गर्ने विश्वास दिलाए ।
दमकमा दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने
दमक । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो । रेडक्रसले ल्याब परीक्षण गरेबापत सेवा शुल्क नौ सय ५० लिने गरेको थियो । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले सुत्केरी, नियमित रगत चढाउनुपर्ने र पाँच वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपलब्ध गराउने सहमति भएको जानकारी दिए । त्यसका लागि दमकमा स्थायी बसोबासको प्रमाण पेश गर्नुपर्ने छ । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत शशी राई, दमक रेडक्रसका सभापति बुढाथोकी र पूर्वसभापति लिला गुरागाईंको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । दमक रेडक्रसले रक्तसञ्चार र सर्पदंश उपचार सेवा सञ्चालन गर्दैआएको छ । रासस
पाल्पामा ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो
पाल्पा । शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । उनी फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउन्छिन् । ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उनले बताईन् । ‘बिहानको घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु, यस क्षेत्रमा लागेपछि समयको सदुपयोग र स्वरोजगार बन्ने अवसर मिलेको छ’, उनले भनिन्, ‘मैले सिकेको सीप अन्य महिलालाई पनि सिकाउने गरेको छु’ । उनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ढाका बुन्नमा व्यस्त हुने गरेकी छन्। ढाका बुनेर एक महिनामा २० हजारसम्मको कमाइ हुने गरेको उनले बताईन् । जीवन जीउन पहिलेदेखि धेरै सङ्घर्ष गरिरहेकी उनी आफू मात्रै स्वरोजगार नभई गरिव, विपन्न, कामको खोजीमा रहेका अन्य महिलालाई पनि ढाका बुन्न सिकाउँदै स्वरोजगार बन्न प्रेरणा दिदै आएकी छन् । घामपानी खेप्नु नपर्ने उद्योगभित्र बसेर हातले बुनेर जीविकोपार्जन गर्न पाइने यो व्यावसाय महिलालाई धेरै सहज भएको उनको भनाई छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पा तथा स्थानीय ढाका उद्योगमा सीप सिकेकी उनी दुई वर्ष अघिदेखि पाल्पाको तानसेनस्थित स्वदेशी बस्त्रकला पाल्पाली ढाका टोपी उद्योगमा ढाका बुन्ने काम गर्दै आएकी छन् । सानो सीप भए पनि तल्लिन भएर निरन्तर काम गरियो भने ढाका बुनेर राम्रै कमाइ गर्न सकिने उनको अनुभव छ । तानसेन नगरपालिका १२ बौघापोखराथोककी धनी थापाले पनि अहिले एक वर्ष अघिदेखि ढाका बुनेर आफ्नो खर्च जुटाउन थालेकी छन्। दिनभर घरमै फुर्सदमा बिताउने थापालाई ढाका बुनाईले व्यस्त बनाएको छ । तानसेन बजारमा कोठा भाडामा लिएर ढाका उद्योगमा काम गर्ने अवसर पाउँदा उनमा आत्मबल बढ्दै गएको छ । माथागढी गाउँपालिका–३ सराईका खिमकुमारी गाहाले ढाका बुनाइलाई नै प्राथमिकता दिएर आठ वर्षदेखि निरन्तर काम गर्दै आएकी छन् । तानसेन बजारमा भाडामा बसेर दिउँसोको समय ढाका बुन्ने त्यसैबाट आर्जन गरेको रकमले परिवार पाल्ने गर्छिन् । आफूले यस क्षेत्रमा काम गर्न थालेपछि आर्थिक क्षेत्रमा अरुको निर्भर रहनु नपरेको गाहाको भनाई छ । उनले भनिन्, ‘हातमा सीप भयो भने जहाँ बसेर पनि जीवन धान्न सकिन्छ, ढाकाको सीपले मलाई आत्मनिर्भर बनाएको छ, दुई चार पैसाका लागि अरुसंग हात थाप्नुपरेको छैन, आफैँले कमाउन सुरु गरेपछि कसैको तनाव भएन ।’ तानसेन–६ बर्तुङ बस्ने सानु केसीको ढाका सारीमा नयाँ नयाँ बुट्टा, डिजाइन राखेर तयार पार्ने राम्रो कला छ । ढाकाका सबैजसो कपडा बुन्ने गरे पनि सारी बुन्न उनी बढी मन पराउन्छिन् । ढाका बुनाइसम्बन्धी तीन महिनाको सीप विकास तालिम लिएकी उनी तानमा बसेर ढाका बुन्न थालेपछि सीप वृद्धिसँगै आयआर्जनको क्षेत्रमा पनि अब्बल बन्दै गएको बताउन्छिन् । ‘पछिल्लो समय ढाकाका सारी प्रयोग गर्ने बढ्दै गएका छन्, ग्राहकको रोजाइअनुसार विभिन्न डिजाइन भरेर सारी तयार पार्ने गरेको छु, तानमा बसेर ढाका बुन्दा आनन्द लाग्दछ’, उनले भनिन्। रिब्दिकोट गाउँपालिका–६ ठिमुरेकी विष्णु पुलामी छोराछोरी पढाउन सदरमुकाम तानसेनमा भाडामा बस्दै आएकी छन् । दुई जना छोराछोरीको भविष्य उज्वल बनाउन उचित शिक्षाको खोजीमा पाल्पा सदरमुकाम तानसेनमा भाडामा बसेकी उनलाई ढाका कपडा बुनाइले भुलाएको छ । बिहान छोराछोरीको स्याहारसुसारमा व्यस्त रहने उनी छोराछोरीलाई स्कुल पठाएपछि दिउँसोको समय ढाका बुनाइमा खर्चने गरेकी छन् । उनका श्रीमान् शिक्षण पेसामा गाउँमै कार्यरत छन् । ढाका कपडा बुनाइमा संलग्न हुन थालेपछि सामान्य खर्चका लागि श्रीमानको हात थाप्नु नपरेको उनको भनाई छ ।
काभ्रे बस दुर्घटनामा मृतक १३ जनाको पहिचान खुल्यो
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका छन् । त्यस्तै बनेपा नपा–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि सो बस दुर्घटनामा मृत्यु भएको छ । यस्तै बस चालक ललितपुरको महाँकाल–४ घर भई हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको जोशीले जानकारी दिए । घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये चार जनाको नाम खुल्न बाँकी छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस अत्यधिक गतिमा गुडेर दुर्घटना भएको हो । बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो । बसमा सवार ३९ यात्रु सवार थिए । घाइतेको धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, वीर अस्पताल, न्यूरो अस्पताल बाँसबारीलगायतमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । बा३ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । मृत्यु भएकामध्ये सात जना बनेपाको एउटै वडाका छन् । बनेपा नगरपालिका–११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो । रासस
विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । अफ्रिकी राष्ट्र मोरक्को भने विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को फ्रान्सलाई पराजित गर्दै एतिहासिक उपलब्धि हासिल गर्न चाहन्छ । यी दुई टोलीबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएर मोरक्कोले सेमिफाइनलमा स्थान बनाएको हो । आजको विजेताले उपाधिका लागि फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । गए राति अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलले हराएर फाइनल यात्रा तय गरेको छ ।
अनलाइन जुवा र सट्टेबाजी गर्नेको बैंक खाता र विद्युतीय कारोबार रोक्ने राष्ट्र बैंक चेतावनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन जुवा नखेल्न निर्देशन दिएको छ । विश्वकप फुटबल सुरु भएपछि विद्युतीय भुक्तानीमा शंकास्पद कारोबारहरु देखिन थालेपछि राष्ट्र बैंकले सूचना नै जारी गरेर अनलाइन जुवा तथा बेटिङ कार्यमा सहभागी नहुन अनुरोध गरेको हो । ‘विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति/समुह/संस्थालाई कानूनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिनेछ,’ राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकले अनलाइन जुवाहरुको भुक्तानी नहुने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्था, मोबाइल बैंकिङ सेवा प्रदायक, मोबाइल वालेटहरुलाई पनि निर्देशन दिएको हो । विश्वकप फुटवल लक्षित अनलाइन जुवा तथा बेटिङ सञ्चालन गर्ने क्रम बढेपछि राष्ट्र बैंकले नियमनको प्रक्रिया थालेको हो । ‘जुवा तथा बाजीजन्य कार्यहरु गैर कानूनी हुन्, यस्ता प्रकृतिका कारोबारहरुमा सहभागी नहुन सर्वसाधारणमा सूचित गरिन्छ, विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति समूहरसंस्थालाई कानूनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिनेछ,’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ । जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले इजाजत र अनुमतिपत्रप्राप्त संस्थाहरुलाई निर्देशन दिएको छ । कसैले विद्युतीय भुक्तानीका माध्यमवाट जुवा तथा बाजीजन्य कार्य गरेको थाहा भएमा जानकारी गराउन पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।
बालेनद्वारा जरिवाना मिनाहा गर्न माग
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि निवेदन दिनुभएको हो । निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिनाहा गर्न निवेदन दिनुभएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, ‘जरिवाना मिनाहाका लागि निवेदन आएको सुन्यौँ तर उहाँको आग्रह निर्वाचन आयोगको क्षेत्राधिकार बाहिरको विषय हो ।’ उक्त निवेदन आयोग पदाधिकारीको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको आयोग स्रोतको दाबी छ । काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले आयोगमा पठाएको निवेदनको व्यहोराबारे आयोग स्रोतले भनेको छ, ‘निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनलगायतका कार्यमा व्यस्त हुनुपरेकाले समयसीमाभित्र खर्च बुझाउन सकिएन ।’ उहाँले समयसीमा समाप्त भएको भोलिपल्टै खर्च विवरण बुझाएको उल्लेख गर्नुभएको छ। जिल्ला निर्वाचन कार्यालय, काठमाडौँको अभिलेखबमोजिम शाहले असार १२ गते खर्च विवरण बुझाउनुभएको छ । जेठ १२ गते काठमाडौँ महानगरपालिकाको प्रमुख पदको नतिजा सार्वजनिक भएको थियो। त्यसअघि शाहले सामाजिक सञ्जालमा निर्वाचन खर्च विवरण आयोगले तोकेको ढाँचामा नै सार्वजनिक गर्नुभएको थियो । बालेनले आयोगले तोकेको समयसीमाभित्रै असार ६ गते खर्च विवरण सार्वजनिक गर्नुभएको थियो । खर्च विवरण सार्वजनिक गरे पनि निर्वाचन कार्यालयमा भने बुझाउनुभएन। उहाँले निर्वाचनमा कुल तीन लाख ९४ हजार ४८९ रुपियाँ खर्च भएको विवरण बुझाउनुभएको छ । निर्वाचन आयोग ऐनले राजनीतिक दल वा उम्मेदवारले तोकिएको अवधिमा खर्च विवरण पेस नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ, सोही बराबरको रकम जरिवाना गर्न सक्ने व्यवस्था छ । जसबमोजिम काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले खर्च गर्न पाउने साढे सात लाख रुपियाँ जरिवाना तिर्नुपर्ने हुन्छ । स्थानीय निर्वाचन २०७९ वैशाख ३० मा सम्पन्न भएको थियो। स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले निर्वाचन खर्च सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने हो । स्थानीय निर्वाचनमा ३५ हजार २२१ पदका लागि करिब एक लाख ४५ हजार उम्मेदवार थिए । आजको गोरखापत्रमा समाचार छ ।
कृषि विकास बैंकले उद्योग बिक्री गरेर ३ करोड रकम असुल्दै
काठमाडौं । कृषि विकास बैंकले ऋण चुक्ता नगर्ने सूर्या आयुर्वेद उद्योगको धितो लिलाम गर्ने भएको छ । बैंकले कम्पनीले धितोमा राखेको चल अचल सम्पत्ति बिक्री गरेर रकम असुल गर्ने भएको हो । बैंकले बैंकको नाममा रहेको ३ करोड रुपैयाँ बराबरको घरजग्गा र गाडी बिक्री गर्ने जनाएको छ । बैंकले सञ्चालक सुनिता पण्डित रहेको सूर्या आयुर्वेद प्रालिले उद्योग कर्जा र अटो कर्जा वापतको ३ करोड भन्दा बढी कर्जा प्रदान गरेको थियो । तर, विभिन्न कारणले सञ्चालन गर्न नसक्दा कम्पनी नै बन्द गर्नु परेको कम्पनीले जनाएको छ । बैंकले सूर्या आयुर्वेदको नाममा रहेको नवलपरासी कुडियामा रहेको कित्ता नम्बर ६६०, ६१५ र ६१७ को क्रमशः ०–१–०, ०–२–८–५ र ०–२–११.५ क्षेत्रफल भएको जग्गा र उक्त जग्गा बिक्री गर्ने भएको हो । साथै सोही जग्गामा बनेको २६७६.७७ वर्गफिट भएको ३ तले भवन तथा १५१८५.५१ क्षेफल भएको फ्रेम स्ट्रक्चर तयार भएको २ तले भवन बिक्री गर्ने भएको हो । उक्त घरजग्गाको न्यूनतम मूल्य २ करोड ७९ लाख २६ हजार रुपैयाँ रहेको छ । यस्तै, बैंकले रेनोल्ट इण्डिया बा २१ च १८२७ नम्बरको डिजृल गाडी पनि बिक्री गर्ने जनाएको छ । बैंकले साँवा, व्याज, हर्जाना तथा अन्य लेना रकम बुझाउन पटक पटक मौखिक तथा लिखित ताकेता समेत कुनै चासो नदेखाई बेवास्ता गरेकाले धितो बिक्री गर्ने जनाएको छ । अबको ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा कर्जा ग्राहक, धितो सुरक्षण मन्जुरी दिने, जमानत दिने व्यक्ति, संस्थालाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने बैंकले जनाएको छ । साथै बैंकलाई लेखिदिएको धितो लिलाम बिक्री गरिने हुँदा खरिद गर्न ईच्छुक व्यक्ति र संस्थाले आवेदन दिनुपर्नेछ । यदि धितो लिलाम बिक्री हुन नसकेमा धितो सुरक्षणमा रहेको चल अचल सम्पत्ति बैंक आफैले सकार गर्ने भएको छ ।