विकासन्युज

बालेनद्वारा जरिवाना मिनाहा गर्न माग

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि निवेदन दिनुभएको हो । निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिनाहा गर्न निवेदन दिनुभएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, ‘जरिवाना मिनाहाका लागि निवेदन आएको सुन्यौँ तर उहाँको आग्रह निर्वाचन आयोगको क्षेत्राधिकार बाहिरको विषय हो ।’ उक्त निवेदन आयोग पदाधिकारीको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको आयोग स्रोतको दाबी छ । काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले आयोगमा पठाएको निवेदनको व्यहोराबारे आयोग स्रोतले भनेको छ, ‘निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनलगायतका कार्यमा व्यस्त हुनुपरेकाले समयसीमाभित्र खर्च बुझाउन सकिएन ।’ उहाँले समयसीमा समाप्त भएको भोलिपल्टै खर्च विवरण बुझाएको उल्लेख गर्नुभएको छ। जिल्ला निर्वाचन कार्यालय, काठमाडौँको अभिलेखबमोजिम शाहले असार १२ गते खर्च विवरण बुझाउनुभएको छ । जेठ १२ गते काठमाडौँ महानगरपालिकाको प्रमुख पदको नतिजा सार्वजनिक भएको थियो। त्यसअघि शाहले सामाजिक सञ्जालमा निर्वाचन खर्च विवरण आयोगले तोकेको ढाँचामा नै सार्वजनिक गर्नुभएको थियो । बालेनले आयोगले तोकेको समयसीमाभित्रै असार ६ गते खर्च विवरण सार्वजनिक गर्नुभएको थियो । खर्च विवरण सार्वजनिक गरे पनि निर्वाचन कार्यालयमा भने बुझाउनुभएन। उहाँले निर्वाचनमा कुल तीन लाख ९४ हजार ४८९ रुपियाँ खर्च भएको विवरण बुझाउनुभएको छ । निर्वाचन आयोग ऐनले राजनीतिक दल वा उम्मेदवारले तोकिएको अवधिमा खर्च विवरण पेस नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ, सोही बराबरको रकम जरिवाना गर्न सक्ने व्यवस्था छ । जसबमोजिम काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले खर्च गर्न पाउने साढे सात लाख रुपियाँ जरिवाना तिर्नुपर्ने हुन्छ । स्थानीय निर्वाचन २०७९ वैशाख ३० मा सम्पन्न भएको थियो। स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले निर्वाचन खर्च सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने हो । स्थानीय निर्वाचनमा ३५ हजार २२१ पदका लागि करिब एक लाख ४५ हजार उम्मेदवार थिए । आजको गोरखापत्रमा समाचार छ ।

कृषि विकास बैंकले उद्योग बिक्री गरेर ३ करोड रकम असुल्दै

काठमाडौं । कृषि विकास बैंकले ऋण चुक्ता नगर्ने सूर्या आयुर्वेद उद्योगको धितो लिलाम गर्ने भएको छ । बैंकले कम्पनीले धितोमा राखेको चल अचल सम्पत्ति बिक्री गरेर रकम असुल गर्ने भएको हो । बैंकले बैंकको नाममा रहेको ३ करोड रुपैयाँ बराबरको घरजग्गा र गाडी बिक्री गर्ने जनाएको छ । बैंकले सञ्चालक सुनिता पण्डित रहेको सूर्या आयुर्वेद प्रालिले उद्योग कर्जा र अटो कर्जा वापतको ३ करोड भन्दा बढी कर्जा प्रदान गरेको थियो । तर, विभिन्न कारणले सञ्चालन गर्न नसक्दा कम्पनी नै बन्द गर्नु परेको कम्पनीले जनाएको छ । बैंकले सूर्या आयुर्वेदको नाममा रहेको नवलपरासी कुडियामा रहेको कित्ता नम्बर ६६०, ६१५ र ६१७ को क्रमशः ०–१–०, ०–२–८–५ र ०–२–११.५ क्षेत्रफल भएको जग्गा र उक्त जग्गा बिक्री गर्ने भएको हो । साथै सोही जग्गामा बनेको २६७६.७७ वर्गफिट भएको ३ तले भवन तथा १५१८५.५१ क्षेफल भएको फ्रेम स्ट्रक्चर तयार भएको २ तले भवन बिक्री गर्ने भएको हो । उक्त घरजग्गाको न्यूनतम मूल्य २ करोड ७९ लाख २६ हजार रुपैयाँ रहेको छ । यस्तै, बैंकले रेनोल्ट इण्डिया बा २१ च १८२७ नम्बरको डिजृल गाडी पनि बिक्री गर्ने जनाएको छ । बैंकले साँवा, व्याज, हर्जाना तथा अन्य लेना रकम बुझाउन पटक पटक मौखिक तथा लिखित ताकेता समेत कुनै चासो नदेखाई बेवास्ता गरेकाले धितो बिक्री गर्ने जनाएको छ । अबको ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा कर्जा ग्राहक, धितो सुरक्षण मन्जुरी दिने, जमानत दिने व्यक्ति, संस्थालाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने बैंकले जनाएको छ । साथै बैंकलाई लेखिदिएको धितो लिलाम बिक्री गरिने हुँदा खरिद गर्न ईच्छुक व्यक्ति र संस्थाले आवेदन दिनुपर्नेछ । यदि धितो लिलाम बिक्री हुन नसकेमा धितो सुरक्षणमा रहेको चल अचल सम्पत्ति बैंक आफैले सकार गर्ने भएको छ ।

पुस ८ गतेदेखि इन्टरनेट बन्द हुन सक्ने, प्राधिकरणले दियो तार काट्ने चेतावनी

काठमाडौँ । पुस ८ गतेदेखि तपाईको घर वा अफिसमा इन्टरनेट सेवा बन्द हुन सक्ने छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरु र नेपाल विद्युत प्राधिकरणबीचको विवादका कारण यस्तो समस्या आउन लागेको छ । इन्टरनेट सेवा प्रदायकहरुले प्राधिकरणको पोलहरु प्रयोग गरी तार ग्राहकको घर तथा अफिससम्म पुर्याएका छन् । तर पोल प्रगोग गर्दा प्राधिकरणसँग सम्झौता नगरेको, पोल प्रयोग गरेबाफत प्राधिकरणलाई भाडा नबुझाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको विद्युतीय उपकरण प्रयोग गर्ने सम्झौता गरेका कम्पनीहरुले पनि नियमित भाडा नबुझाएको, सम्झौता नविकरण गरेको विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले इन्टरनेट तथा टेलिफोन सेवा प्रदायकलाई पटक पटक ताकेता गरेको तर उनीहरुले प्राधिकरणलाई अटेर गरेको भन्दै पुस ७ गतेसम्म पनि भाडा बक्यौता नबुझाएमा वा सम्झौता नगरेमा वा सम्झौता नविकरण गरेरमा केबुल तथा तथा अप्टिकल फाइवर सबै काटेर फालिदिने प्राधिकरणले जनाएको छ ।

आजदेखि ३ कम्पनीको ४ करोड कित्ता किनबेच हुने, ओपनिङ रेञ्ज ९०६ रुपैयाँसम्म

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबारदेखि विभिन्न ३ कम्पनीको सेयर कारोबार हुने भएको छ । इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर कम्पनी र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको कूल ३ करोड ९२ लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबार हुने भएका हुन् । मंगलबार इष्टर्न हाइड्रोपावर कम्पनीको ६२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम ७२.३३ रूपैयाँदेखि अधिकतम २१६.९९ रूपैयाँसम्म ओपनिङ रेञ्ज प्राप्त गरेको छ । जसको स्टक सिम्बोल ‘ईएचपीएल’ निर्धारण गरिएको छ । यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनीको ३ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १ सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्म ओपनिङ रेञ्ज पाएको छ । यससँगै दोश्रो बजारमा कम्पनीको सेयर ‘पीएचसीएल’ को सिम्बोलबाट किनबेच हुनेछ । यस्तै, श्रृजनशिल लघुवित्त वित्तीय संस्थाको १० लाख ९३ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम ३०२ रूपैयाँदेखि अधिकतम ९०६ रूपैयाँसम्म ओपनिङ रेञ्ज पाएको छ । यससँगै बजारमा कम्पनीको सेयर ‘एसएचएलबी’को स्टक सिम्बोलबाट किनबेच हुने छ । यीन तीनै कम्पनीको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ । सर्वसाधारणलाई सेयर जारी गरेसकेपछि नेप्सेमा सूचीकृत भएका हुन् ।

प्रभु बैंकले १२६ रुपैयाँमा ४० लाख कित्ता सेयर बेच्दै

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४० लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको ४० लाख कित्ता सेयर बिक्री गर्ने जनाएको छ । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम १२६ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नेछ । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् । बैंकको उक्त सेयरमा न्यूनतम १० हजार कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ ।

वीरगञ्ज महानगरले फोहोर व्यवस्थापन गर्न मोबाईल एप्लिकेशन ल्याउँदै

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउने भएको छ । द एसिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउने महानगरपालिकाले जनाएको छ । महानगर र क्लिन अप नेपाल बीच सम्झौता भएसँगै केही दिनमै एप्लिकेशन प्रयोगमा आउने मेयर राजेशमान सिंहले जानकारी दिए । क्लिन अप नेपालले निर्माण गरेको ‘सफा नेपाल’ नामक एप्लिकेशन एण्ड्रोइड भर्सनमा अहिले उपलब्ध रहेको छ । आउँदा दिनमा आइओएस भर्सनमा पनि निर्माण गरेर प्रयोगमा ल्याइने क्लिन अप नेपालका रविन्द्र लामिछानेले जानकारी दिए । यो एप्लिकेशन प्रयोगकर्ताले नगरको कुनै पनि ठाउँमा जथाभावी फोहोर फालेको देखेमा वा फोहोर जम्मा भएको देखेमा फोटो खिचेर एप्लिकेशनमा रिपोर्ट गर्न सक्ने छन् । यसरी रिपोर्ट गरेको फोटोको आधारमा स्थान निर्धारण गरेर फोहोर व्यवस्थापनका लागि तत्कालै महानगरको टोली खटिने छ । साथै फोहोर फाल्दै गरेको व्यक्तिसहितको फोटो पठाए फोहोर फाल्नेको पनि पहिचान गरेर दण्डित गरिने मेयर सिंहले बताए । फोटो पठाउनेलाई भने नगर सफाई अभियानमा सहयोग गर्ने अभियन्ताको रुपमा हौसला बढाउन जरिवानाबाटै पुरस्कारको व्यवस्था मिलाउने उनको भनाइ छ । यसरी फोहोर फाल्नेको फोटो खिचेर सूचना दिनेको पहिचान भने गोप्य राखिने महानगरपालिकाले जनाएको छ । उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, सबै वडाका वडाअध्यक्ष र सचिवहरु तथा महानगरका कर्मचारीलाई एप्लिकेशन प्रयोगका बारेमा जानकारी गराईएको छ । सर्वसाधारणले फोटो खिचेर पठाएका समस्या कसरी थाहा पाउने र समाधान कसरी गर्ने भन्ने बारेमा कर्मचारीहरुलाई प्रशिक्षित गराइएको छ ।

निर्वाचन आयोगले अन्तिम नतिजा घोषणा गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज अन्तिम नतिजा घोषणा गर्ने भएको छ । गत मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको बुधबार अन्तिम नतिजा घोषणा गर्ने निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगका अनुसार बुधबार दिउसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको जनाएको छ । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् । आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने बताएको छ । राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्नेछ ।

हस्तकला मेला सम्पन्न, १० करोडको कारोबार

काठमाडौं । नेपाल हस्तकला महासङ्घद्वारा आयोजित १९ औँ हस्तकला व्यापारमेला तथा १७ औँ हस्तकला प्रतियोगिता आज सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् । मेलामा बिक्री तथा बुकिङसमेत गरी कूल १० करोड बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार भएको मेला आयोजक समितिका संयोजक तथा महासङ्घ उपाध्यक्ष दिल्लीरत्न तुलाधरले जानकारी दिए । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेला समुद्घाटन गरेका थिए । आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मेला अवलोकन गर्दै हस्तकला क्षेत्रमा योगदान पु¥याउने विभिन्न विशिष्ट व्यक्तित्वसहित हस्तकला प्रतियोगितामा पुरस्कृत कलाकारलाई सम्मान र पुरस्कार प्रदान गरे। मन्त्री बडूले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उत्पादनमा वृद्धि, मुलुक विकास र समृद्धि विशेष अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै हस्तकला क्षेत्र यसको लक्ष्य प्राप्तिको माध्यम भएको धारणा राखे। उनले हस्तकला क्षेत्रका समस्या सम्बोधन गर्न सरकार तयार रहेको उल्लेख गर्दै व्यवसायीसँग सरकारी लक्ष्य प्राप्तीमा हातेमालो गर्न आग्रह पनि गरे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, वागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलगायत नेपाल सरकार र प्रदेश सरकारका विशिष्ठ व्यक्तिहरूले मेलाको अवलोकन गर्दै कलाकारको हौसला बढाएको महासङ्घले जनाएको छ । मेलामा १० ज्येष्ठ कलाकारलाई औषद्योउपचार खर्चसहित सम्मान गरिएको थियो भने महासङ्घको स्थापनाकालदेखि हालसम्म बहालवाला ज्येष्ठ ५० जना सदस्यलार्ई पनि सम्मान गरिएको थियो । कोभिड महामारीपछि हस्तकला व्यवसाय सङ्कटमा परे पनि मेलाले कलाकार र व्यवसायीलाई पुनर्जागरण गरेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार हस्तकलाको निकासी विस्तारै लयमा फर्कन थालेको छ भने पर्यटक आगमनको वृद्धिसँगै आन्तरिक बजारमा पनि बिक्री हुन थालेको छ । सरकारले निकासी अनुदान तथा स्वदेशी वस्तु अनिवार्य खरिदसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सकेमा यो क्षेत्र आर्थिक विकासको मूलप्रवाह आउन सक्ने विश्वास गरिएको छ ।