प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा पुस २४ गते, बुक क्लोज कहिले ?
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले पुस २४ गतेको लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्न पन्ध्रौं साधारणसभा बोलाएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ बाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले लाभांश वितरणको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ७ गते नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका इन्स्योरेन्सका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
हवाई सेवा : ४१ देशसँग सम्झौता, ११ देशमा मात्रै उडान
काठमाडौं । नेपालले हालसम्म विश्वका ४१ देशसँग उडान सम्झौता गरेको छ । उडान सम्झौता भएका उक्त देशमा बिना रोकतोक नेपाली वायुसेवा कम्पनीहरुले उडान भर्न पाउँछन् । नेपालले ४१ वटा देशसँग द्विपक्षीय हवाई उडान सम्झौता गर्दा एउटा देशसँग मल्टिल्याट्रल सम्झौता गरेको छ । नेपालले हवाई उडान सम्झौता गरेका ४० वटा देशमध्ये नेपाली जहाजले ११ देशमा उडान भर्ने गरेका छन् भने बाँकी देशमा उडान गर्न सकेका छैनन् । सन् १९९५ देखि २०२२ सम्म एकल र बहु उडान गर्ने गरी सम्झौता गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । तर, सम्झौता गर्ने काम नगर्ने परिपाटीले नेपाली वायुसेवा कम्पनीहरु कमजोर बन्दै गएका छन् । विशेषगरी समयानुकूल व्यवस्थापनलाई चुस्त बनाउन नसक्दा राष्ट्रिय ध्वजावाहक जहाजले सम्झौता गरेका देशको आकाशसम्म उडान भर्न सकैका छैनन् । लामो दूरीमा उडान भर्ने क्षमताको विमान अभाव त छँदै छ, विदेशी राष्ट्रले समेत उडान अनुमति नदिँदा उडान भर्न समस्या हुँदै आएको निगमका उच्च अधिकारीहरु नै बताउँछन् । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई मध्येनजर गरेर पछिल्लो समयमा सरकारले कुवेत र युएईमा सम्झौता संशोधन गरेर क्षमता विस्तार गर्ने पहल गरेको छ । अष्ट्रेलिया, ओमान, जोर्डन, कतार, कम्बोडिया, बेलायतलगायतका देशमा उडान सम्झौता भएको भएपनि नेपाली एयलाइन्स कम्पनीले भने अहिलेपनि कतार, मलेसिया, हङकङ, चीन, युएई, बंगलादेश, साउदी, जापानको नारिता, चीन तथा भारतमा मात्रै उडान गरिरहेका छन् । हाल नेपालबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्ने नेपाली हवाई कम्पनीहरुमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाईन्स र बुद्ध एयर रहेका छन । यी हुन हवाइ सम्झौता गरेका देश मन्त्रालयको तथ्यांकअनुसार नेपालले सबैभन्दा पहिले सन् १९९५ मा पाकिस्तानसँग उडान सम्झौता गरेको थियो । बहु उडानका रुपमा नेपालले गरेको सम्झौतामा सन् २०१५ को अक्टोबरमा पुनः उडान सम्झौता पुनरवलोकन गरिएको थियो । सम्झौताअनुसार नेपालले वार्षिक रुपमा १ लाख ९७ हजार ६ सय सिट क्षमता बराबरको उडान भर्न पाउँछ । नेपालले अस्ट्रिया, बहराइन, बङ्गलादेश, भुटान, बु्रनाई, चीन, क्रोएसिया, इजिप्ट, फ्रान्स, जर्मनी, हङकङ, इन्डिया, इजरायल, इटाली, जापान, जोर्डन, कुवेत, लक्जेमबर्ग, मकाउ, मलेसिया, माल्दिभ्स, म्यान्मार, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, दक्षिण कोरिया, रसिया, साउदी अरेबिया, सिङ्गापुर, श्रीलङ्का, थाइल्यान्ड, नेदरल्यान्ड, यूएई, बेलायत, टर्की, भियतनाम, न्युजिल्यान्ड, कम्बोडिया, अष्ट्रेलिया, र बेलायत लगायतका देशमा उडानको सम्झौता गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमले ६ देशका ८ स्थानमा मात्रै उडान भर्दै आएको छ । निगमले हाल १ सय ५८ सिट क्षमताको दुईवटा एयरबस ३२० (न्यारोबडी) र २ सय ७४ सिट क्षमताको दुईवटा एयरबस ३३० (वाइडबडी) गरी ४ वटा एयरबसले, दिल्ली, मुम्बई, हङकङ, क्वाललाम्पुर, बैंकक, दुबई, ब्यांग्लोर, कतारको दोहा, साउदीको रियाद, जापानको नारितामा उडान गर्दै आएको छ । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले विभिन्न देशका ११ गन्तव्यमा अन्तर्राष्ट्रिय उडानमा गर्दै आएको छ । हिमालयले हाल युएईको आबुधाबी र दुबई, साउदीको दमाम र रियाद, मलेसियाको क्वाललाम्पुर, कतारको दोहा, दुबई, बंगलादेशको ढाका, चीनको बेइजिङ र कुनमिङ र चोन्चीङ र कुबेतमा उडान भर्दै आएको छ । भारतको नयाँदिल्ली उडानका लागि लामो समयदेखि उडानको अनुमति मागेतापनि अहिलेसम्म पाएको छैन । आन्तरिक उडानमा एकछत्र राज गरेको निजी क्षेत्रको हवाइ सेवा कम्पनी बुद्ध एयरले भारतको बनारसमा उडान गर्दै आएको छ । यसअघि भारतकै कोलकता उडान गरेको बुद्धले कोरोना महामारीका कारण कोलकाता उडान बन्द गरेको थियो । आगामी जनवरी १ तारिखबाट सञ्चालनको तयारी थालिएको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धले कोलकातामा पुन उडान सुरु गर्ने तयारी थालेको छ । यस्तै, पोखराबाटै बुद्धले देहरादुनमा समेत उडानको तयारी थालेको छ । हाल बुद्धले ७२ सिट क्षमतको एटिआरले अन्तराष्ट्रिय उडान गर्दै आएको छ । चीनले दिएन ‘ग्रिन सिग्नल’ नेपाल वायुसेवा निगमले लामो समयदेखि चीन उडानका लागि अनुमति माग्दै आएतापनि चीन सरकारले हालसम्म उडानकोे अनुमति दिएको छैन् । निगमले सन् २०१४ मा पहिलोपटक नेपाली व्यापारी बाक्लै आउजाउ हुने चीनको ग्वान्जाओ सहरमा उडान अनुमति मागेको थियो । तर हालसम्म पनि चीनले अनुमति दिएको छैन । सरकारी ध्वाजावाहक कम्पनीले अनुमति माग गरेको आठ वर्ष वितिसक्दा समेत चीनले बिभिन्न बाहाना बनाउँदै अनुमति रोकेको हो । निगमलाई उडान अनुमति नदिएको चीनका वायुसेवा कम्पनीले हाल दैनिक उडान गर्दै आएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरणको तथ्यांक अनुसार हाल एयर चाइना, चाइना साउथन र चाइना इष्टनले दैनिक उडान गर्दै आएका छन् । नेपाल–चीन हवाइ सम्झौताअनुसार नेपाली वायुसेवा कम्पनीले चीनका ७ वटा सहरमा ७० वटासम्म उडान गर्न पाउँछन् । बेइजिङ, संघाई, ल्हासा, ग्वाङजाओ, कुनमिङ, छेन्दु र जियान नेपाली वायुसेवाले उडान गर्न पाउने गन्तव्य हुन् । गन्तव्य हुँदाहुँदै पनि निगमले उडान अनुमति पाउनसकेको छैन । ईयुको कालोसूचीमा पर्दा समस्या सन् २०१३ देखि युरोपियन युनियन (ईयु) ले सम्पूर्ण नेपाली वायुसेवा कम्पनीलाई कालोसूचीमा राख्दै आएको छ । नेपालले हवाई सेवा सम्झौता गरेकामध्ये केही देशमा युरोपियन मुलुकमा युरोपियन युनियन (ईयु) को कालोसूचीमा भएका कारण निगमले उडान भर्न सकेको छैन । अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपालका तीन एयरलाइन्सले हवाइ सम्झौता भए पनि सबै देशमा उडानका लागि पर्याप्त मात्रामा जहाज तथा यात्रु नभएको भन्दै उडान भर्न नसकिएको बताउँदै आएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले नेपाली वायुसेवा कम्पनीसँग पर्याप्त मात्रामा जहाज नहुँदा उडान गर्न नसकेको जनाएको छ । क्यानका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी नेपालले हवाई सेवा सम्झौता गरेका देशमा जहाज नभएकै कारण नेपाली वायुसेवा कम्पनीले उडान भर्न नसकेको दाबी गर्छन् । ‘अन्तर्राष्ट्रिय रुपमा उडान गर्न नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग पर्र्याप्त मात्रामा जहाज नै छैनन्, जहाज नै छैनन्, कसरी लामो दुरीका गन्तव्यमा उडान भर्न सक्छन्,’ उनले भने । यता निगमका प्रवक्ता अर्चाना खड्का लामो दुरीका उडानका लागि जहाज अभावकै कारण उडान भर्न नसकिएको बताउँछिन् । ‘हामीसँग न्यारोवडी र वाईडबडी जहाज सिमित मात्रामा छन्, जहाज सिमित हुँदा गन्तव्य विस्तारमा समस्या भयो’, उनले भनिन ।
बाक्लो हुस्सु र शितलहरले पश्चिम तराईको जनजीवन प्रभावित
कैलाली । कैलाली सहित पश्चिम तराइमा शीतलहर शुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ । बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित बनेको छ । लम्की बहुमुखी क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत दुर्गा न्यौपाने जाडोका कारण पढ्न जान नसकेको बताए । यस्तै व्यवस्थित नगरकी निर्मला विनाडी किसान बहुउद्देशीय सहकारीमा काम गर्छिन् । उनी सधैँ बिहान घरबाट लम्की हुँदै बौनियासम्म स्कुटर चलाएर जाने गरे पनि आज काममा जान नसकेको बताइन् । बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । शीतलहर शुरु भएपछि कैलालीका तरकारी खेती गर्दैआएका किसान चिन्तित भएका छन् । लम्कीका किसान जगनाथ जैशीले करिब दुई कट्ठा जग्गामा आलु तथा तरकारी खेती लगाएका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण सबै सखाप हुने हो की भन्ने चिन्ताले उनलाई भएको छ । जाडोयाम शुरु भएपछि कसरी आफ्नो छोराछोरी र घरपरिवारलाई न्यानो बनाउने भन्ने चिन्ता लम्कीचुहा –३ वादी बस्तीकी रमा वादीलाई छ । बर्सातको समयमा बाढी र डुबान तथा हिउँदको समयमा जाडोका कारण बल्चौरस्थित वादी बस्तीका बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुँदैआएका छन् । शीतलहरबाट कञ्चनपुरको जनजीवनसमेत प्रभावित बनेको छ । रासस
एकैदिन एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाखमा कारोबार भएको सुन हजार रुपैयाँले बढेर १ लाख १ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ५०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार ४०० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
प्राविधिक शिक्षाले विद्यार्थीको रोजाइमा पर्न थाले सामुदायिक विद्यालय
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको हो । मध्यविन्दु नगरपालिका–७ चोरमारास्थित नवजागरण नमूना माध्यमिक विद्यालयमा पछिल्लो पाँच वर्षमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दोब्बर भएको छ । विसं २०७४ मा आठ सय २२ विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा अहिले एक हजार छ सय ६० भन्दा बढी अध्ययन गर्छन् । यहाँ जिल्लाका सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । पाँच वर्ष अगाडि विकास गुरुयोजना निर्माण गरेर पाँच वर्षभित्रमा विद्यार्थी सङ्ख्या दोब्बर बनाउने योजनासहित अगाडि बढेको विद्यालयले आफ्नो लक्ष्यअनुसारको सफलता हासिल गरेको प्रधानाध्यापक हरिप्रसाद देवकोटाले बताए । ‘विद्यालयको भौतिक र शैक्षिक अवस्थामा सुधार गर्दै करिब दुई हजारसम्म विद्यार्थी अध्यापन गराउने योजना छ’, उनले भने, ‘लक्ष्यअनुसार प्रगति हुँदै गएको छ ।’ विसं २०२९ मा निम्न माध्यमिक तहसम्मको अनुमति प्राप्त गरेर स्थापना भएको सो विद्यालयले २०३८ सालमा माध्यमिक तह अध्यापनको सुरुआत गरेको थियो । विसं २०४० मा विद्यालयले माध्यमिक तहको अनुमति प्राप्त गरेको हो । उच्च शिक्षाका लागि साविकको तमसरिया गाविससहित आसपास क्षेत्रका विद्यार्थी कावासोती वा अन्य जिल्ला पुग्नुपर्ने बाध्यतालाई ध्यानमा राख्दै २०५७ सालमा उच्च माध्यमिक तहसम्मको अध्यापन अनुमतिको लागि प्रक्रिया सुरुआत गरेको थियो । सोही वर्ष उच्च माध्यमिक तह अध्यापन अनुमति प्राप्त गरेको विद्यालयले सोही वर्षदेखि कक्षा ११ को पढाइ सुरुआत गरेको थियो । विसं २०६० को दशकमा सामुदायिक विद्यालयप्रति अभिभावकमा देखिएको वितृष्णा र समय अनुकूल शिक्षालाई ध्यानमा राख्दै विद्यालयले २०६६ सालमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरुआत गरेको थियो । त्यसपश्चात् क्रमशः विद्यालयमा विद्यार्थी सङ्ख्यामा बढोत्तरी हुँदै आएको प्रधानाध्यापक देवकोटा बताउछन् । पञ्चवर्षीय गुरुयोजना निर्माणपछि विद्यालयमा विद्यार्थीको आकर्षण थप बढेको हो । स्थापनाको ५० वर्ष पूरा गर्दा जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था र सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालयको रुपमा आफूलाई स्थापित गर्नसक्ने अवस्थासम्म आइपुग्दा संस्थापकदेखि हालसम्म विभिन्न व्यक्ति, संस्थाको भूमिका महत्वपूर्ण रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिन्दु काफ्लेले बताइन् । यही मङ्सिर २९ देखि पुस ४ गतेसम्म विद्यालयले आफ्नो स्वर्ण महोत्सव मनाउँदैछ । रासस
सरकारले निजी क्षेत्रलाई आर्थिक विकासको साझेदारका रुपमा लिएको छ – अर्थमन्त्री शर्मा
काठमाडौं । सरकारले निजी क्षेत्रलाई आर्थिक साझेदारका रुपमा लिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । आर्थिक पत्रकार संघ(नाफिज) को कार्यक्रममा बोल्दै अर्थमत्री शर्माले सो कुरा बताएका हुन् । ‘निजी क्षेत्रलाई सरकारले आफ्नो अभिन्न अंगका रुपमा लिएको छ, उनले भने, ‘निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको साझेदारका रुपमा लिएको छ ।’ प्राकृतिक विपत्तिको सामना गर्दै सकारात्मक रुपले अर्थतन्त्र अगाडि बढीरहेको बताउँदै अर्थमन्त्री शर्माले अब अर्थतन्त्रलाई गुणात्मक रुपमा बढाउनुपर्ने बताए । कार्यक्रममा बोल्दै उनले उत्पादन मुखी अर्थतन्त्रलाई जोड दिनुपर्ने बताए । ‘आयात भइरहेको छ, उत्पादन भइरहेको छैन, कार्यान्वयन क्षमता आजको आवश्यकता हो, उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिनुपर्छ’, अर्थमन्त्री शर्माले भने । उनले पर्यटन, सूचना र जलविद्युतको क्षेत्रलाई बढावा दिँदै अगाडि बढनुपर्ने बताए ।
लाभांश पारित गर्न गरिमा विकास बैंकले पुस २२ गते बोलायो साधारणसभा
काठमाडौं । गरिमा विकास बैंकले पुस २२ गतेको लागि वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारणसभाले प्रस्ताव पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् । यसको लागि बैंकले पुस ८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ७ गते नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका बैंकका सेयरधीले मात्र लाभांश पाउनेछन् ।
बाँकेमा मागको एक तिहाइ मात्रै मल मौज्दात
नेपालगञ्ज । बाँकेमा हिउँदे यामका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ। तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै मौज्दात छ। यो मागको एक तिहाइ मात्रै हो। जिल्लामा हालसम्म नौ सय ८२ मेट्रिक टन मल मात्रै आएको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख रमेशकुमार पौडेलले जानकारी दिए। उनका अनुसार हालसम्म साल्ट ट्रेडिङबाट एक सय ३१ दशमलव आठ मेट्रिक टन युरिया मल मात्रै किसानसम्म पुगेको छ। साल्ट ट्रेडिङले केही दिनअघि बिक्री सुरु गरे पनि कृषि सामग्री कम्पनी लिमिटेडले सोमबारदेखि सहकारीलाई मल उपलब्ध गराउन सुरु गरेको पौडेलले बताए। हालसम्मको अवस्था हेर्दा यस पटक पनि बाँकेमा मलको अभाव हुने देखिएको छ। मागको ३० प्रतिशत मात्र मल आउँदा सबै किसानले नपाउने अवस्था छ। व्यक्तिगत प्रयोगका लागि भारतीय बजारबाट मल ल्याउने किसानलाई सहजीकरण गर्न प्रशासनसँग अनुरोध गरिएकाले केही राहत हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। कृषि सामग्रीले कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, खजुरा र नरैनापुर गाउँपालिकाका सहकारी संस्थालाई मल वितरण सुरु गरेको छ। जानकी गाउँपालिका र नेपालगञ्जका सहकारी संस्थालाई पनि छिट्टै मल वितरण गरिने कृषि सामग्री कम्पनीले जनाएको छ। बाँकेमा वार्षिक सात हजार मेट्रिक टन युरिया र दुई हजार पाँच सय मेट्रिक टन डिएपी मलको माग रहेको छ। हालसम्म साल्ट ट्रेडिङमा सात सय एक मेट्रिक टन मल आएको छ। उक्त मल गहुँ लगाउने बेला उपलब्ध हुने अवस्था नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। साल्ट ट्रेडिङमा हिउँदे यामका लागि एक सय ७५ मेट्रिक टन डिएपी मलको कोटा रहेकामा हालसम्म ७७ दशमलव ८५ मेट्रिक टन मात्र आएको छ। रासस