न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध
न्युजिल्याण्ड । न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार अब सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कसैलाई पनि सुर्ती वा चुरोट बेच्न पाइने छैन । यसको अर्थ अब चुरोट किन्न न्यूनतम उमेर बढ्दै जानेछ । सैद्धान्तिक रूपमा, अब ५० वर्ष पछि चुरोटको प्याकेट किन्न खोज्ने जोकोहीले आफू कम्तीमा ६३ वर्ष पुगेको परिचयपत्र देखाउनुपर्नेछ । स्वास्थ्य अधिकारीहरूले त्यो भन्दा पहिले देशबाट धुमपानको अम्मल हराउने विश्वास गरेका छन् । उनीहरुले सन् २०२५ सम्ममा न्युजिल्याण्डलाई धुमपानमुक्त बनाउने लक्ष्य लिएका छन् । नयाँ कानूनले चुरोट बेच्न अनुमति दिने खुद्रा बिक्रेताको सङ्ख्या पनि छ हजारबाट घटाएर छ सय पु¥याएको छ भने सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्यरूपमा घटाएको छ । मानिस मार्ने उत्पादन बेच्ने अनुमति दिनुपर्ने कुनै उपयुक्त कारण नभएको तथा त्यसलाई प्रयोग गर्ने आधा मानिस त्यसबाट मर्ने जोखिम उच्च रहेको स्वास्थ्य मन्त्री डा। आयशा भेरलले संसद्मा बताइन् । उनले प्रतिबन्ध लगाउने कानुन पारित भएपछि धूमपानको अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताइन् । ‘धूमपानबाट हुने क्यान्सर, हृदयाघातलगायत जटिल रोगको उपचार गर्ननपर्ने भएपछि अर्बौं डलर जोगिने छ, अहिलेको युवापुस्ताको स्वास्थ्य स्वस्थ रहनेछ । र, त्यसले भावी पुस्तालाई धूमपानरहित जीवन जिउन प्रेरित गर्नेछ,’ उनले भनिन् । रासस
विकासन्युजकर्मी रोकाया र शिलापत्रकर्मी घिमिरे पुरस्कृत
काठमाडौं । विकासन्युजकर्मी सन्तोष रोकाया र शिलापत्रकर्मी सम्झना घिमिरे पुरस्कृत भएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १३औं वार्षिक साधारणसभा तथा छैटौं महासभाले उनीहरुलाई जनही ५० हजार रुपैयाँको राशीसहित पुरस्कृत गरेको हो । विकासन्युज डटकमका सह-सम्पादक समेत रहेका रोकाया भरतमोहन अधिकारी-नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् भने घिमिरे भरतमोहन अधिकारी-नाफिज आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन् । उक्त पुरस्कारका लागि डेढ दर्जन पत्रकारहरुले आवेदन दिएका थिए । सोमध्ये उत्कृष्ट समाचारलाई छनोट गरेर पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका श्रीधर खनालले बताए । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल लगायतले संयुक्त रुपमा उनीहरुलाई प्रमाणत्रसहित चेक हस्तान्तरण गरेका छन् । विकासन्युजकर्मी रोकाया बैंकिङ र सहकारी क्षेत्रलाई मुख्य विधा बनाएर कलम चलाउँदै आएका छन् । रोकायाले पछिल्लो समय सहकारीमा भइरहेको विकृति र सकारात्मक अभ्यासको विषयमा पनि नियमित रुपमा कलम चलाइहरेका छन् । नाफिजले भरतमोहन अधिकारी-नाफिज सहकारी पत्रकारिता पुरस्कार र भरतमोहन अधिकारी-नाफिज आर्थिक पत्रकारिता पुरस्कार पहिलो पटक घोषणा गरेको थियो । पूर्व अर्थमन्त्री समेत रहेका स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा ‘भरतमोहन अधिकारी स्मृति फाउन्डेसन’को सहकार्यमा नाफिजले यो पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा बोल्दै फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले स्वर्गीय भरतमोहन अधिकारीको सम्झनामा यो फाउण्डेसन स्थापना भएको जानकारी गराउँदै आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका साथसाथै असल पत्रकारिता अभ्यासमा प्रोत्साहन लागि नाफिजसँग सहकार्य गरर पुरस्कारको स्थापना गरिएको बताइन् ।
पक्राउ परे श्रीमती कुट्ने डाक्टर चौधरी
काठमाडौं । दाइजोको निहुँमा श्रीमतीलाई कुटपिट गरी घर निकाला गरेको आरोप लागेका डा. पंकज चौधरी पक्राउ परेका छन् । मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई पक्राउ गरेको हो । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए । उनलाई हाल जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ । श्रीमान् चौधरीविरुद्ध नेहाले एक साताअघि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी थिइन् । तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । दाइजोको निहुँमा श्रीमतीलाई घरेलु हिंसा गरेको आरोप लागेपछि डा चौधरीलाई टोखास्थित ग्राण्डी अस्पतालले सेवाबाट बर्खास्त गरिसकेको छ । डा।चौधरीले नर्भिक अस्पतालमा नयाँ नियुक्ति लिने तयारी थिए तर उनको विरुद्ध समाचारआएसँगै नियुक्ति समेत रोकिएको छ ।
मेलम्चीको साढे ११ करोड लिटर पानी राजधानीमा वितरण
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो । जसका कारण सबै पानी अझै राजधानीमा वितरण हुनसकेको छैन । आज बेलुकीदेखि भने १२ करोड लिटर पानी वितरण गरिने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्याङ्कीमध्ये हालसम्म आठ वटामा पानी पुगिसकेको छ । हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाङ्कालचौर, पानीपोखरी, अनामनगर र बालाजुका पानी ट्याङ्कीमा मेलम्चीको पानी पुगेको छ । कीर्तिपुर र बाँसबारीका ट्याङ्कीमा चार दिनभित्र पानी पुग्ने उनले सुनाए । चार दिनभित्रमा १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्ने छ । मेलम्ची खानेपानी आयोजनाले भने मङ्सिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । सुरुङ् सफा गरेर मङ्सिर २३ गते शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ । कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको छ । त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ ।
बझाङमा कक्षा छसम्म पढाउने शिक्षक मात्र तीन जना
बझाङ । विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पिपल चौतारा र मन्दिर । अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिइरहेको थियो । लहरै बालकक्षादेखि ५ कक्षामा पढ्ने बालबालिका आफ्नै धुनमा किताब पल्टाइरहेका थिए । शिक्षकले कक्षालाई समय दिएर कसैलाई लेख्न त कसैलाई पढ्न लगाएका थिए । त्यतिकैमा एउटा अनुगमन टोली आइपुग्यो र बाहिर चौरमै बसेर अनौपचारिक रूपमा शिक्षकसँग जानकारी लियो । यता विद्यार्थीलाई भने विद्यालयमा नयाँ मान्छे आएकोमा कुनै चासो थिएन । जब टोली भान्छाकोठा हुँदै कक्षा कोठातिर गयो, त्यसपछि पनि विद्यार्थी त्यही गतिमा थिए । टोलीले विद्यार्थी अनुशासित हुन् या अल्छी हुन् भन्दै कानाखुसी गर्न थाले । कक्षा कोठाबाट फर्केपछि टोलीको निष्कर्ष रह्यो विद्यार्थी अनुशासित छन् । कक्षा कोठाको अनुगमनपछि शिक्षक शिक्षिकासँगका छलफलमा प्रधानाध्यापक मायादेवी मल्लले सिद्धीगणेशको बाहिरी वातावरण जति सुन्दर भए पनि भित्र त्यस्तो नभएको बताइन् । ‘बाहिर हेर्दा त धेरै नै मन पराउँछन् । तर, भित्री रूपमा विद्यालय सोचेभन्दा धेरै नै फरक छ ।’ उनले भनिन् । प्रअ मल्लले गाउँपालिकामा पटक–पटक विद्यालयमा शिक्षकका लागि माग गर्दा पनि गाउँपालिकाले बेवास्ता गरेको आरोप लगाइन् । अनुगमनमा आएको गाउँपालिकाको टिमकै अगाडि उनले भनिन्, ‘सरहरूलाई थाहा छ, हामीले शिक्षक चाहियो भनेको दुई’तीन वर्ष नै भइहाल्यो । हामी तीन जना शिक्षकले छ कक्षासम्म कसरी पढाउने र ?’ प्रअ मल्लका अनुसार कार्यतालिकामै एउटै कक्षामा ४/५ कक्षासम्म राखिएका छन् । ‘तर, तीन जना कता शिक्षकले कता पो हेर्नु ? एक जना शिक्षक पालिकाले पठाइदिए भने राति निन्द्रा लाग्ने थियो ।’ उनले दुखेसो पोखिन् । ‘आज त प्रत्यक्ष आफ्नै विद्यालयमा भन्ने मौका पाएँ,’ उनले भनिन्,’यसभन्दा अगाडि पालिकाका सबै प्रतिनिधिलाई शिक्षकको याचना गरेँ, हुन्छ धेरैले भने, तर अहिलेसम्म शिक्षक पाएनौँ । हामीले नै शिक्षक थप्न आन्तरिक स्रोतको अभाव छ । अहिले भएका शिक्षकमध्ये पनि एक जना मात्रै बिदामा बसे भने यहाँ बेहाल हुन्छ ।’ उनले शिक्षककै अभावले पढाइको गुणस्तर पनि खस्किएको बताइन् । उनले भनिन्, ‘विद्यालयको वातावरणका लागि त धेरैले सहयोग गरेका छन् । सङ्घ संस्था नभइदिएको भए यस्तो वातावरण पनि हुने थिएन । कसैले खानेपानी, कसैले खाद्यान्न, कसैले तरकारी त कसैले भवन पनि सहयोग गरेका छन् । त्यसैले वातावरण राम्रो देखिएको हो । तर, यो सबैभन्दा पनि विद्यार्थीको पढाइ हेरिन्छ, त्यसमा हामीले निकै चुक्नु परेको छ ।’ उनका अनुसार यसै शैक्षिक सत्रमा मात्रै २५ जना बालबालिका निजी विद्यालयमा पढ्न गए ।’उनीहरूलाई हामीले रोक्न सकेनौँ,’ उनले भनिन्, ‘पढाइ बिग्रिएको भन्दै अभिभावक यो विद्यालय छुटाए । शिक्षककै कमीले यस्तो अवस्था आएको हो । हामी एउटै शिक्षक थपिए पनि त्यो अवस्था आउन दिने थिएनौँ ।’ विद्यालयमा समस्या थुप्रै भए पनि शिक्षक अति आवश्यक भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज भारतीले बताए । ‘म अध्यक्ष भएको दुई वर्ष भयो,’ उनले भने,’दुई वर्षको अवधिमा शिक्षकका लागि दजनौँ पटक पालिकालाई याचना गरेँ, उनले सुनाए तर, कार्यान्वयन गरेनन् । यसपटक पालिकाको टोली विद्यालयमै पुगेको छ । अब त बिर्सनु हुनेछैन भन्ने सोचेको छु ।’ अध्यक्ष भारतीका अनुसार विद्यालयमाभित्र नदेखिने समस्या धेरै छ । अहिले डिजिटल युगमा कम्प्युटर त के विद्यालयमा एउटा फोटोकपी गर्ने मेसिनसमेत छैन । ‘केही फोटोकपी गर्नुपरे बागथला दौडनुपर्छ’ अध्यक्ष भारतीले भने, ‘हामीलाई फोटोकपी, शैक्षिक सामग्री, विद्यालयको घेरबारभन्दा पनि शिक्षक बढी आवश्यक छ ।’ अहिले सिद्धिगणेश आधारभूत विद्यालयमा एक सय ५० जनाभन्दा बढी विद्यार्थी छन् । बालकक्षादेखि ५ कक्षासम्म अध्ययन हुने विद्यालयमा अभिभावकले पनि खासै चासो राखेका छैनन् । ‘अभिभावक खासै आउँदैनन् । अन्तिममा नतिजा हेर्छन् । नतिजा ठीक नभए, पढाइ भएन भन्दै बालिबालिका अर्कै विद्यालयमा पठाउँछन् ।’ भारतीले भने उनका अनुसार एक जना शिक्षक थपिए पनि धेरै राम्रो नतिजा त आउँदैन तर, विद्यार्थीलाई ओगट्न सकिन्छ । ‘एक शिक्षक थप्ने वित्तिकै धेरै राम्रो हुने भन्ने त हुँदैन तर पनि विद्यार्थीको रेखदेख, कक्षा समाल्न निकै राहत हुन्थ्यो ।’ यता गाउँपालिकाका उपाध्यक्ष मनिषा धामी, प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्याय, शिक्षा संयोजक केशवराज भट्ट, स्वास्थ्य संयोजक कैलाश बलायरलगायतको टोलीले भने अब पुस महिनाभित्रै सिद्धिगणेशमा शिक्षक राख्ने बताउँछन् । ‘योभन्दा अगाडि विभिन्न कारणले शिक्षक पठाउन सकिएन । अब भने दोस्रो हप्ता नै शिक्षक उपलब्ध गराउँछौँ’, प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने, ‘हामी सबै यस्तै विद्यालयबाट पढेर आएका हौँ । पर्याप्त शिक्षक नभएर केही हुँदैन । पालिकामा पनि हामी नयाँ आएको हुँदा ढिलाई भएको हो । अब दोस्रो महिना नै सिद्धिगणेशमा शिक्षक पुर्याउँछौँ ।’ विद्यालयमा नयाँ शिक्षक आएपछि शिक्षाको गुणस्तर पनि सुधार हुने उपाध्यक्ष धामीले बताए । ‘हामी सबै शिक्षक पेसा सम्हालेर आएका हौँ, शिक्षकलाई विद्यार्थी सम्हाल्न कति हम्मेहम्मे हुन्छ भन्ने कुरा बुझेका छौँ । पर्याप्त शिक्षक नभएर केही हुँदैन । त्यसैले यसपटक पालिकाले तत्कालै एक जना शिक्षक उपलब्ध गराउने र अर्को वर्षसम्म पुग्ने गरी शिक्षकको व्यवस्था गर्नेछौँ ।’ उनले भने । रासस
सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन् : रञ्जिता चौधरी
टीकापुर । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो गरेकी छिन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट विजयी उनले भनिन्, ‘हाम्रो पार्टीका संस्थापक रेशम चौधरीलगायत टीकापुर घट्नाका आरोपीहरु निर्दोष रहेकाले तिनको रिहाइका लागि यसअघिका सरकारहरुले पटक पटक लिखित एवं मौखिक प्रतिबद्धता गरेपनि कार्यान्वयन भने गरेनन् ।’ अध्यक्ष चौधरीले उनीहरु निर्दोष हुँदाहुँदै पनि जेल जीवन बिताउन बाध्य हुनुपरेको जिकीर गरिन् । नेता तथा मन्त्रीहरुले यो राजनीतिक प्रकृतिको घटना हो, त्यसैले उनीहरु रिहा हुनुपर्छ भनिरहेका तर रिहाइको पहल भने नगरेको उनको गुनासो थियो । उनले भनिन् ‘यसअघिका सरकारले पनि छुटाउने आश्वासन दिएका थिए । अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीका पालामा त सरकार र हामीबीच लिखित सम्झौता नै भएको हो, त्यो सार्वजनिक नै छ सबैले हेर्दा पनि हुन्छ । माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा पनि छुटाउने आश्वासन दिएका थिए । हाम्रो भेटमा उनले यो राजनीतिक प्रकृतिको मुद्दा भएकाले रेशमलाई न्याय हुन्छ भनेका थिए । तर सबै सरकारले आश्वासन मात्र दिए, काम कसैले गरेनन् ।’ सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्ने निर्णय गरेकाले राजनीतिक क्षेत्रमा यसको पक्ष र विपक्षमा विभिन्न धारणाहरु आइरहेका बेला नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष चौधरीको यो भनाई आएको हो । अघिल्लो अर्थात् केपी ओलीको सरकारका पालामा विसं २०७७ फागुन २० गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा र विप्लव नेतृत्वको नेकपाबीच तथा विसं २०७८ जेठ १८ गते नेपाल सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ र थारु कल्याणकारिणी सभा थारुवान संघर्ष समितिका प्रमुख रुकमिणी चौधरीसहितको टोलीबीच टीकापुर घटनाका आरोपीहरुलाई रिहा गर्ने विषयमा लिखित सम्झौता भएको थियो । आफूहरुले निर्वाचन अघि पनि यस क्षेत्रका सबै दलका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर टीकापुर घटना राजनीतिक घटना भएकाले निर्दोषलाई न्याय दिन आग्रह गरेको अध्यक्ष चौधरीले बताउनुभयो । रेशमलगायतकाको रिहाइको पहलमा प्रधानमन्त्री सकारात्मक देखिएका उनले बताइन् । बोल्ने बेलामा सबै नेताहरुले रेशमसहित जेलमा रहेकाहरु निर्दोष छन् भन्ने गरेका तर पनि उनीहरुलाई न्याय दिने काममा भने कोही पनि अग्रसर नभएको देखिएको उनको गुनासो छ । उनको जिज्ञासा थियो ‘यसपटक पनि सरकारले न्याय दिन्छु भनेको छ, सरकारले अध्यादेश जारी गरेको हामीले सुनेका छौँ, पहिलेजस्तै आश्वासन मात्र हो कि वास्तवमै सरकारले न्याय दिन्छ हेरौँ ।’ उनले आफू र आफ्नो पार्टीले अरु केही नमागेर निर्दोषहरुलाई जेलबाट रिहाइ मात्र मागेको बताउँछन् । जनताले भने आफू र रेशम चौधरीलाई न्याय दिएको उनको भनाईछ । आफ्नो निर्वाचन प्रचारप्रसारका क्रममा पनि नागरिकले रेशम निर्दोष रहेको र यसका लागि आवश्यक परे आफूहरुले आन्दोलन पनि सुरु गर्ने बताएका उनले सुनाइन् । चौधरीले भनिन, ‘कैलालीका जनताले अन्यायका विरुद्धमा मतदान गरेका छन्, सबैले रेशमलाल चौधरीसहित जेलमा रहेका निर्दोष युवाको रिहाइका लागि जनमत प्रकट गरेका छन् । मत माग्दै जाँदा मलाई लाग्छ सबैको चासो पनि यही थियो । उनीहरुले यो अन्यायका विरुद्धमा मत प्रकट गरेर मतमार्फत् रेशमलगायतका बन्दीहरुको रिहाइको अपिल गरेका छन् ।’ उनले अघिल्लो निर्वाचनमा पनि नागरिकले रेशम जीलाई न्याय गरेको प्रसंग उल्लेख गरिन् । तर पनि उनलाई जेलमुक्त गरिएन र यसका कारण कैलालीको यो क्षेत्र पाँच वर्ष नै जनप्रतिनिधि विहीन भयो । रेशमलाई जस्तै नागरिकले आफूलाई पनि न्याय दिएको उनको भनाई छ । यहाँका सबै नागरिक रेशमलाल चौधरीसहितका बन्दी जीवन बिताइरहेकाहरु निर्दोष हुन् भनेर आवाज उठाएको र मत माग्दै जाँदा सबैले रेशमको रिहाइको अपिल गरेको उनले सुनाइन् । अघिल्लो निर्वाचनमा पनि नागरिकले रेशम जीलाई न्याय गरेका उनको अनुभव छ । उनी भन्छिन् ‘यहाँका नागरिकले रेशमजीलाई मत दिएर जिताएकै हुन् । नागरिकले रेशम चौधरीलाई सांसद विजयी गराउनुको अर्थ उनी निर्दोष हो रिहाइ गर्नुपर्छ भन्ने होइन र रु तर पनि सरकारले गरेको छैन ।’ आफूले निर्वाचनका क्रममा मतदाताहरुबाट सकारात्मक प्रतिक्रिया पाएको उनको अनुभव छ । धेरै माया र उत्साह आफूलाई मतदाताले दिएको उनले बताइन् । सबैको चाहना परिवर्तन र न्याय चाहिन्छ भन्ने रहेको तथा यहाँका नागरिकले आफूलाई मत दिनु भनेकै न्याय र परिवर्तनका लागि हो भनेर बुझेको उनले बताइन् । आफ्नो क्षेत्रमा शान्ति, अमनचयन, विकास र समृद्धिका लागि आफु लाग्ने पनि उनले प्रण गरिन् । निर्वाचित भएपछिका दिनहरु उनले आफ्ना मतदातालाई धन्यवाद दिएर बिताइरहेकी छिन् । यसअघिको प्रतिनिधिसभा निर्वाचनमा टीकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरी निर्वाचित भएका थिए । निर्वाचित भएपछि कैलालीमा आत्मसर्मपण गरेका चौधरी हाल जेल जीवन बिताइरेका छन् । उनी जेलमा रहेकाले यस क्षेत्र पाँच वर्षसम्म नेतृत्वविहीन भयो । यसपटक भने रेशमकै धर्मपत्नी रञ्जिता श्रेष्ठ यसै क्षेत्रबाट भारी मतान्तरले विजयी भइन् । गत सातामात्रै नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा पत्रकार सम्मेलन गरी टीकापुर घटनाको मुद्दा सरकारले फिर्ता लिनुपर्ने प्रमुख माग राखेको छ । नागरिक उन्मुक्तिले कैलालीका एक, दुई र तीनगरी तीन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितको छ । आफ्नो निर्वाचन क्षेत्रबारे उनी भन्छिन्, ‘मेरो निर्वाचन क्षेत्रमा धेरै समस्याको चाङ छ । म निर्वाचनका बेला जहाँ पुगे समस्या मात्रै देखेका छु । यहाँ अभाव, गरिबी, समस्या धेरै छन् । यी सबै कुरा पाँच वर्षमा एकएक गर्दै सुधार्नु छ । जहाँ जहाँ पुगे त्यहाँ स्वास्थ, बाल शिक्षा, शुद्ध खानेपानीको अभाव, रोजगारीका अवसरको कमी, विपद्को जोखिम, बाढीको पीडा, सडक विस्तार नभएका जस्ता विविध समस्या छन् । यी धेरै समस्यालाई पाँच वर्षमा विस्तारै पूरा गर्दै जाने योजना छ ।’ रासस
उपत्यकामा बहुतले पार्किङ बनाउने नगर विकास कोषको प्रयास विफल
काठमाडौं । नगर विकास कोषले उपत्यकामा अगाडि सारेका बहुतले मेकानिकल पार्किङ्ग आयोजनाको काम स्थगित गरेको छ । कुनै पनि संघ संस्थाले पार्किङ निर्माणमा चासो नदेखाएपछि कोषले सो आयोजनालाई स्थगित गरेका हो । गत वर्ष नगर विकास कोषले बहुतले मेकानिकल पार्किङ्ग आयोजना लगानीका लागि स्थानीय तह, निजी क्षेत्र र संस्थाहरूलाई प्रस्ताव आह्वान गरेको थियो । कोषले काठमाडौं उपत्यकामा बहुतले पार्किङ बनाउने भनेर लगानीका लागि प्रस्ताव आह्वान गरे पनि हालसम्म कुनै संस्थाले प्रस्ताव पेस गरेनन् । पार्किङ्ग बनाउन इच्छुक संघ संस्थाले प्रस्ताव पेस गर्न सक्ने भनेर नगर विकास कोषले २०७८ माघ ७ गते १५ दिने सूचना प्रकाशन गरेको थियो । साे विषयमा कसैले प्रस्ताव पेस नगरेपछि नगर विकास कोष उपत्यका पार्किङ्ग बनाउने योजनाबाट पछि हटेको छ । साथै उपत्यका भित्र बहुतले पार्किङ बनाउनका लागि उपयुक्त जग्गा नभेटेपछि उक्त आयोजनालाई स्थगित गरेको कोषका सूचना अधिकारी सूर्य बहादुर कार्कीले बताए । पार्किङ बनाउन कुनै पनि संस्थाले चासो नदेखाएपछि कोषको प्रयास विफल बन्न पुगेकाे हाे । याेजना कार्यान्वयनमा अगाडि बढाउन सकेकाे भए कोषले काठमाडौं उपत्यकामा बहुतले पार्किङ निर्माणमा ९० प्रतिशत लगानी गर्ने भएको थियो । जसमध्ये १० प्रतिशत लगानी सम्बन्धित स्थानीय तह, निजी क्षेत्र र संस्थाहरूले गराउने काेषकाे याेजना रहेकाे थियाे । पार्किङ बनाउनको लागि कोषसँग पर्याप्त पैसा भए पनि उपत्यकामा जग्गा अभावका कारण पार्किङ बनाउन नसकेको कोषले जानकारी दिएको छ । ‘उपत्यकाभित्र सवारीको चाप बढ्दो छ, पार्किङ गर्ने कुनै पनि स्थान छैन, खुला ठाउँमा पार्किङ गरेर धेरै मानिसहरू हिँड्छन्, पार्किङ नहुँदा सवारीको चापले जाम हुने गरेको छ, यस्तो अवस्था भएकाले पार्किङ निर्माणको अवधारण कोषले ल्याएको थियो, पार्किङ बनाउन योजना भए पछि काम भने सुरु भएन,’ कार्कीले विकासन्युजसँग भने । कोषले थापाथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कंसकी, कुलेश्वर, बल्खु, नयाँ सडक, ठमेल, नयाँबजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, चाबहिल, मित्रपार्क, लैनचौर, लाजिम्पाट, महाराजगंज, बालुवाटार लगायतका ठाउँहरूमा पार्किङ बन्नेछ । यस्तै, विशालनगर, भाटभाटेनी, ज्ञानेश्वर, नक्साल, गैरीधारा, हाडिगाँउ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपन्डोल लगायतका मुख्य व्यवसायिक सडक छेउ वा दोहोरो प्रवेशमार्ग भएको भित्री जग्गाहरुमा यो पार्किङ निर्माण गर्न मिल्ने गरी प्रस्ताव पेसको गर्न सक्ने भन्दै सूचना निकालेको थियो । कोषले तोकेको ठाउँमा जग्गा पर्याप्त नहुँदा पनि पार्किङ निर्माण गर्न समस्या भएको कार्कीले बताए । सूचना अधिकारी कार्कीका अनुसार काेषले साे आयोजनालाई वैधानिक रूपमा भने खारेज गरेकाे छैन् । उपत्यका भित्र सवारी साधनको चाप र अव्यवस्थित सवारीसाधनको पार्किङलाई व्यवस्थित गर्नको लागि उक्त पार्किङ बनाउने योजना कोषले अगाडि सारेको थियो । कोषले सम्बन्धित निकाय मार्फत् आगामी दिनमा पनि इच्छुक संस्था आए भने लगानी गर्न तयार रहेको पनि कार्कीले बताए । ‘लगानी गर्नको लागि कोषलाई कुनै पनि समस्या छैन, योजना आयो भने ठाउँ र जग्गा हेरेर काम अगाडि बढ्ने छ, पार्किङ बनाउनको लागि सबै भन्दा बढी इच्छुक हुने नगरपालिका हुन्, नगरपालिकासँग पर्याप्त जग्गा छैन, उपत्यका भित्र जग्गाको समस्याका छ, यसको कारणले पनि समस्या भयो,’ उनले भने । उपत्यकामा पार्किङ बनाउन नसके पनि कोषले अहिले बुटवल उपमहानगर र बनेमा नगरपालिकामा बहुतले पार्किङ बनाउने योजना अगाडि सारेको छ ।
प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा पुस २४ गते, बुक क्लोज कहिले ?
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले पुस २४ गतेको लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्न पन्ध्रौं साधारणसभा बोलाएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ बाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले लाभांश वितरणको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ७ गते नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका इन्स्योरेन्सका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।