विकासन्युज

४० दलका ४ हजार २८५ उम्मेदवारको जमानत जफत

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ४० दलका ४ हजार बढी उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै १० प्रतिशत मत कटाउन नसक्ने ४ हजार ८५ जना उम्मेदवारको धरौटी जफत भएको हो । १० प्रतिशत मत नल्याउने प्रतिनिधिसभातर्फका १७ सय ७२ पुरुषसहित १९ सय ६१ जना र प्रदेशसभातर्फ २ हजार ८६ पुरुष र २३७ महिला उम्मेदवारको जमानत जफत भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेशसभाको दुबैतर्फ गरी ४ हजार ८५ जना उम्मेदवारको धरौटी जफत भएको हो । यस्तै आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुनै एक सिट नपाएका दलहरुको पनि धरौटी समेत जफत गरेको छ । समानुपातिकतर्फ बन्द सूची पेश गर्ने ४७ मध्ये ४० दलको धरौटी जफत भएको आयोगले जनाएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्छ भने पहिलो हुने निर्वाचनतर्फ १ सिट पाउनै पर्छ। यस्तोमा सातवटा दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन्।

काठमाडौं भ्यू टावरको काम १६ महिनामा ७० प्रतिशत सकियो

काठमाडौं । समयसीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाडौं भ्यू टावर दृश्यावलोकन स्तम्भ निर्माणको हालसम्म ७० प्रतिशत मात्र सकिएको छ । स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनबाट निर्माणको काम सुरु गरेको हो । स्तम्भ निर्माणका लागि काठमाडौँ महानगरपालिका कामपा र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख छ । निर्माणको कामअन्तर्गत अहिले नवौँ तलाको काम भइरहेको छ । सम्झौताअनुसार पाँच वर्षमा निर्माण सम्पन्न गरिसक्ने भने पनि निर्माण नभए के गर्ने भन्ने विषय सम्झौतामा उल्लेख नभएकाले अर्को निर्माण कम्पनीलाई जिम्मा दिने अवस्था नरहेको कामपाको भनाइ छ । सम्झौताअनुसार २०७८ साल साउनमा निर्माण सम्पन्न गरिसक्नुपर्ने हो । निर्माणका लागि तोकिएको समयसीमा सकिएको १६ महिना भइसकेको छ । कामपाले निर्माण सुरु गरेको समयदेखि ३० वर्षका लागि दिइएको हो, निर्माणको अवधि पाँच वर्ष राखेको भए पनि पाँच वर्षमा निर्माण सम्पन्न नभएको अवस्थामा के गर्ने भन्ने विषय सम्झौतामा उल्लेख नगरेकाले कामपाले कारबाही गर्ने अवस्था नरहेको जनाएको छ । अर्को कम्पनीलाई दिइहाल्ने अवस्था छैन, कम्पनीले कामपालाई सुरुको समयदेखि नियमितरूपमा बुझाउनुपर्ने सम्झौता अनुरुपको कर दिइरहेको छ । सम्झौताअनुसार निर्माण कम्पनीले वार्षिक एक करोड रुपैयाँ रकम कामपालाई तिर्नुपर्ने हुन्छ । उक्त रकम आजसम्म तिरिरहेको कामपाको भनाइ छ । कामपाको निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेका अनुसार कामपाले निर्माणको जिम्मा दिन्न भन्ने अवस्था छैन, जेनतेन काम गरिरहेको छ । सम्झौता भएअनुसार काम सकिसक्नुपर्ने भए पनि नसक्दा के गर्ने उल्लेख नभएको र समग्रमा तीस वर्षका लागि दिएकाले निर्माण कम्पनीलाई कारबाही गर्न मिल्ले अवस्था नरहेको हो । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । उक्त भ्यू टावर नेपाली कलासंस्कृति झल्किने किसिमको हुनेछ । कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुरुप निर्माणको काम अघि बढाइएको हो । त्यसैगरी टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा तीन सय सवारी अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ भने पहिलो तलामा बसपार्कको काउन्टर हुनेछ । दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुने बताइएको छ । टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, स्विमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालयसमेत रहनेछ । सो भवनमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री राखिने योजना छ । सार्वजनिक निजी साझेदारी मोडेलमा निर्माण सम्पन्न हुने टावर सुरुमा २९ तले बन्ने सम्झौता भएको थियो । तर २०७२ सालको भूकम्पपछि टावर निर्माणले १२ तलाभन्दा बढीको स्वीकृत पाएन । सोही अनुसार १२ तले भ्यू टावरको सोही वर्षको कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए । बसपार्क सञ्चालन गर्न समस्या हाल भ्यू टावर निर्माण भइरहेको स्थानबाट लामो तथा छोटो दूरीका सवारी साधन आवतजावत हुने गरेका थिए । साबिक पुरानो बसपार्क काठमाडौं भ्यू टावर निर्माण भए पनि निर्माणको काम समयमा नै सम्पन्न हुन नसकेपछि बसपार्क व्यवस्थापनमा फेरि समस्या भएको छ । निर्धारित समयमा टावर नबन्दा बसपार्क सञ्चालनमा समस्या आएको भन्दै कामपाले यस विषयमा छलफल सुरु भएको जनाएको छ । २०७२ साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो । पाँच वर्षमा भ्यू टावर निर्माणको काम सम्पन्न गर्ने र साबिककै बसपार्क रहेको स्थानबाट थप व्यवस्थित रूपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्मााणको काम सम्पन्न नहुँदा समस्या भएको एकाइका प्रमुख न्यौपानेको भनाइ छ । टावर निर्माणको कामअन्तर्गत सुरुको ६ महिनामै अन्डरग्राउन्ड निर्माण सकेर बसपार्कलाई पुरानै ठाउँमा सार्ने भनिए पनि अझै कहिले बसपार्क सर्ने हो टुङ्गो लागेको छैन । आगामी दिनमा काठमाडौं उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु निर्माणाधीन दृश्यावलोकन स्तम्भमा निर्माण हुने बस बिसौनीबाट आवतजावत गर्नेछन् ।

चुनाव भएको २३ दिनपछि निर्वाचन आयोगले गर्यो अन्तिम परिणाम सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले तीन सातापछि मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम आयोगले २३ दिनपछि सार्वजनिक गरेको हो । आयोगले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाका अुनसार आयोगले बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने छ । र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउनेछन् । प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ ।

विरगञ्जमा सेन्ट्रल फाईनान्सको शाखा विस्तार

काठमाडौं । सेन्ट्रल फाईनान्सले पर्साको विरगञ्जमा बुधबारबाट विरगञ्ज शाखा सञ्चालनमा ल्याएको छ । संस्थाको १७ औं शाखाको रुपमा उक्त शाखा सञ्चालनमा आएको हो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको छ । संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, आरटिजियस, मरचेन्ट क्युआर पेमेन्ट, क्युआर टेलर, रेमिट्यान्स सेवा, सी–आास्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको छ । ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुंचको व्यवस्था पनि मिलाएको संस्थाले विभिन्न शाखा कार्यालयहरुमा एटीएम सेवा पनि सञ्चालन गरिरहेको छ । चुक्ता पूंजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाको हाल निक्षेप ६ अर्व ११ करोड रुपैयाँ र कर्जा ५ अर्व २० करोड रुपैयाँ रहेको छ ।

प्रभु क्यापिटलमा खाता खोल्ने १० जनालाई निःशुल्क डिम्याट सेवा

काठमाडौं । प्रभु क्यापिटलले अनलाईनबाट प्रभु क्यापिटलमा खाता खोल्न चाहने ग्राहकहरुको लागि हेली राइड अफर ल्याएको छ । पुस १ गतेबाट चैत्र ३० गतेसम्म लागू हुने यस योजनामा ग्राहकले १ वर्षका लागि नि:शुल्क डिम्याट खाता र मेरो सेयर प्राप्त गर्ने क्यापिटलले जनाएको छ । क्यापिटलकाे अनुसार यस योजना अवधिभर खाता खोल्ने ग्राहकमध्ये १० जनाले आजिवन निःशुल्क डिम्याट खाता सेवा पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क गोसाइकुण्ड हेली राइड जित्नेछन् । यो योजनामा देश विदेशमा रहने नेपालीहरुले वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसी सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । क्यापिटलको अनुसार अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनौट गरी आफु अनुकूल समयमा समय लिई तुरुन्तै अनलाईन डिम्याट खाताको सुविधा पाउनेछन् ।

समृद्धि फाइनान्सद्धारा बनेपाका विद्यार्थीलाई न्यानो लुगा वितरण

काठमाडौं । समृद्धि फाइनान्सले बुधबार बनेपामा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयकाे विधार्थीलाई न्यानो लुगा वितरण गरेकाे हाे । यस कार्यक्रम अन्तरगत २६ जना विधार्थीहरुलाई यस संस्थाका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र चैतन्य माध्यमिक विद्यालय प्रधानाध्यापक निशा देवी मानन्धरको उपस्तिथिमा ज्याकेट वितरण गरिएको संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए । फाइनान्सले हाल आठ ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

नेपाल एसबिआई बैंककी अध्यक्ष जयती बन्सलले गरिन् शपथ ग्रहण

काठमाडौं । नेपाल एसबिआई बैंककी नवनियुक्त अध्यक्षले पद तथा गोपनियताको शपथ लिएकी छिन् । बन्सालले बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । बन्साल मंसिर २६ गते बसेको बैंकको ४९३औं बैठकबाट बैंकको संचालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट नियुक्त भएकी हुन् । बन्सल एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छिन् । उनले एसबीआईको विदेशी रणनीति, व्यवसाय प्रवर्धन, संचालन प्रभावकारीता तथा विश्वभरिका विदेशी सहायक एवं संयुक्त लगानीका बैंकहरुको संचालन लगायतका मामिला हेर्छिन् ।

सेनाले स्तरोन्नति गरेको प्रसूतिगृह भवन वडालाई हस्तान्तरण

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-७ काठुगणेशस्थित नेपाली सेनाले स्तरोन्नति गरेको प्रसूतिगृह भवन मंगलबार वडालाई हस्तान्तरण गरिएको छ ।  नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलको व्यवस्थापन तथा श्रमदानमा स्तरोन्नति गरिएको उक्त भवन उपत्यका पृतनापति उपरथी योगराज शर्माले उद्घाटन गर्दै वडालाई हस्तान्तरण गरेका हुन् । पृतनापति शर्माले स्थानीय सरकार र समुदायले  आवश्यकता महसुस गरेपछि सेनाले भवनको स्तरोन्नति गरेको बताए । स्तरोन्नतिपछि स्थानीय तथा छिमेकी खानीखोला र बेथानचोक गाउँपालिकाका बासिन्दाले समेत सहजताका साथ प्रसूति सेवा लिन सक्नेछन् ।  ‘सेनाले सामाजिक कार्य गरेर नागरिक र सैनिकबीच सम्बन्ध सुदृढ गर्दैआएको छ’, उनले भने। सो अवसरमा पृतनापति शर्माले सेनाले गरेका कार्यबारे जानकारी गराएका थिए । प्रसूतिगृहमा आवश्यक सामग्री सैनिक श्रीमती सङ्घले छिट्टै उपलब्ध गराउने  उनले बताए । कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सेनासँग समन्वय गरेर विभिन्न कार्य गरिने  बताए । कार्यक्रममा पनौती नगरपालिका-७ का वडाध्यक्ष सविन ताम्राकारले प्रसूतिगृहको स्तरवृद्धि गरी दश शय्याको अस्पताल निर्माण गर्ने योजना रहेको बताए । वडा नं ७ स्थित उक्त भवन दुई महिना लगाएर स्तरोन्नति गरिएको थियो । रासस