विकासन्युज

सेनाले स्तरोन्नति गरेको प्रसूतिगृह भवन वडालाई हस्तान्तरण

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-७ काठुगणेशस्थित नेपाली सेनाले स्तरोन्नति गरेको प्रसूतिगृह भवन मंगलबार वडालाई हस्तान्तरण गरिएको छ ।  नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलको व्यवस्थापन तथा श्रमदानमा स्तरोन्नति गरिएको उक्त भवन उपत्यका पृतनापति उपरथी योगराज शर्माले उद्घाटन गर्दै वडालाई हस्तान्तरण गरेका हुन् । पृतनापति शर्माले स्थानीय सरकार र समुदायले  आवश्यकता महसुस गरेपछि सेनाले भवनको स्तरोन्नति गरेको बताए । स्तरोन्नतिपछि स्थानीय तथा छिमेकी खानीखोला र बेथानचोक गाउँपालिकाका बासिन्दाले समेत सहजताका साथ प्रसूति सेवा लिन सक्नेछन् ।  ‘सेनाले सामाजिक कार्य गरेर नागरिक र सैनिकबीच सम्बन्ध सुदृढ गर्दैआएको छ’, उनले भने। सो अवसरमा पृतनापति शर्माले सेनाले गरेका कार्यबारे जानकारी गराएका थिए । प्रसूतिगृहमा आवश्यक सामग्री सैनिक श्रीमती सङ्घले छिट्टै उपलब्ध गराउने  उनले बताए । कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सेनासँग समन्वय गरेर विभिन्न कार्य गरिने  बताए । कार्यक्रममा पनौती नगरपालिका-७ का वडाध्यक्ष सविन ताम्राकारले प्रसूतिगृहको स्तरवृद्धि गरी दश शय्याको अस्पताल निर्माण गर्ने योजना रहेको बताए । वडा नं ७ स्थित उक्त भवन दुई महिना लगाएर स्तरोन्नति गरिएको थियो । रासस

दूरसञ्चार कोषद्वारा ब्रोडब्यान्ड उपलब्ध, १८ प्याकेज मार्फत ७४ जिल्लामा जडान सम्पन्न

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ‘ब्रोडब्यान्ड’उपलब्ध गराइरहेको छ । हालसम्म १८ प्याकेज मार्फत ७४ जिल्लाका विभिन्न स्थानमा जडान सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म १० परियोजनाको मनिटरिङ तथा भेरिफिकेसन सम्पन्न भइसकेको र आठ परियोजनाको तेस्रो चरण अन्तर्गतको मनिटरिङ र भेरिफिकेसन बाँकी रहेको प्राधिकरणले जनाएको छ । त्यसैगरी सो कोष परिचालन गरी सञ्चालित परियोजनाहमध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्लाहरु काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा मा तीव्र गतिको इन्टरनेट पुर्याउनेबारे ७३ गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भइसकेका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । सरकारले भूकम्प प्रभावित आठ जिल्लाका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, स्वास्थ्य संस्थानहरुमा क्षमता अभिवृद्धि गर्न सम्पूर्ण आधारभूत विद्यायय गरी करिब चार हजार दुई सय ५१ स्थानमा कम्तीमा २० एमबिपिएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरी दुई वर्षसम्म महसुल बापतको रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुरुप हालसम्म कूल ७६ मध्ये ७३ गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । साथै भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा २० एमबिएस क्षमताको ब्रोडब्यान्ड सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अघि बढाइएकामा हालसम्म कूल ६ सय ५६ मध्ये तीन सय २६ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ । अति प्रभावित ती जिल्लाको तोकिएका स्थानमा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमअन्तर्गत हालसम्म चार करोड १५ लाख ३८ हजार चार सय ७९ रुपैयाँ करबाहेक अग्रिम भुक्तानीसहित भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । साथै आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यअन्तर्गत हालसम्म स्थानीय तहलाई पहिलो चरणको भुक्तानीबापत १२ करोड ८६ लाख ५३ हजार एक सय ८२ रुपैयाँ करसहित भुक्तानी गरिएको छ ।

विद्युत प्राधिकरणको चेतावनीः इन्टरनेट कम्पनीले ७ पुसभित्र बक्यौता नबुझाए तार काट्छौँ

काठमाडौं । आगामी पुस ७ गतेभित्र इन्टरनेट सेवा प्रदायक कम्पनीले प्रयोग गरेको पोेलको भाडा भुक्तानी नगरे नेपाल विद्युत प्राधिकरणले तार काटिने चेतावनी दिएको छ । पटक/पटक पोल भाडाको रकम भुक्तानी गर्न ताकेता गर्दै आएको प्राधिकरणले पुस ७ गतेसम्मको समय दिएर बुधबार पुनः सूचना प्रकाशन गरेको छ । प्राधिकरणले संरचनाहरू प्रयोग गर्ने टेलिफोन, केबल टीभी र इन्टरनेट सेवा प्रदायकलाई आगामी ९ दिनभित्र नविकरण र सम्झौता गर्न निर्देशन दिदै सम्झौता नभए तार काटिदिने चेतावनी दिएको हो । आगामी पुस ७ गतेभित्र विद्युत प्राधिकरणको सम्बन्धित क्षेत्रको प्रदोशिक कार्यालयमा सम्पर्क गरी नियमानुसार सम्झौता गर्न, सम्झौता नवीकरण गर्न एवं हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्न आग्रह गरेको छ । पोल भाडा बक्यौता रकम भुक्तानी गर्न प्राधिकरणले यसअघि मंसिर ६ गते सूचना जारी गरेको थियो । उक्त सूचना अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीले पोलभाडा सम्झौता नवीकरण तथा बक्यौता रकम भुक्तानीमा आनाकानी नगरेपछि प्राधिकरणले तार काट्ने चेतावनी दिएको हो । तोकिएको अबधिमा सम्झौता तथा बक्यौता रकम भुक्तानी नभए सेवा प्रदायक संस्थाहरुको केबल/अप्टिकल फाइबर हटाउने लगायत निजहरुलाई नेपाल विद्युत प्राधिकरणको प्रचलित विनियमानुसार कारवाही गरिने सूचनामा उल्लेख गरिएको छ । प्राधिकरणका अनुसार केही सेवा प्रदायकहरूले अहिलेसम्म भाडा दर भुक्तानी गरेका छैनन् । सेवा प्रदायकहरूलाई प्राधिकरणसँग सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको काम नगर्न सूचनामा भनिएको छ । प्राधिकरणले २०७५ मा विद्युतीय पोल र अप्टिकल फाइबरको भाडा दर बढाएपछि सेवा प्रदायकले त्यसको विरोध जनाउँदै भाडा तिर्न अटेर गर्दै आएका छन् । यता इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले इन्टरनेट सेवा प्रदायक कम्पनीले बक्यौता रकम भुक्तानी गर्दै आएको जनाएको छ । अध्यक्ष सुधिर भण्डारी पोल भाडा प्रयोग गरे बापतको रकम भुक्तानी भैरहेको बताउँछन् । ‘सरकारले तयार पारेको रिपोट प्राधिकरणको बोर्डमा गएर रोकिएको छ, बोर्डले रिपोट पास नगर्दासम्म बक्यौता रकम निक्यौल गर्न सकिदैन । प्राधिकरण खालि तार मात्र काट्छौँ भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई धक्मी मात्र दिदै आएको छ, तर तार कसरि व्यवस्थापन गर्न सकिन्छ भन्ने तर्फ कुनै ध्यान गएको छैन’, उनले भने, ‘हामीले तार व्यवस्थापनको काम निरन्तर रुपमा गर्दै आएका छौँ, बक्यौता रकमको कुरा बोर्डले पास गरेपछि मात्र भुक्तानी गछौँ ।’ प्राधिकरणले यसअघि पटक/पटक सार्वजनिक सूचना आह्वान गर्दै सेवा प्रदायक कम्पनीलाई पोल भाडा भुक्तानी तथा नवीकरणका लागि आउन आग्रह गर्दै आएको छ । प्राधिकरणले २०७७ मा काठमाडौँ लगायतका सहरी क्षेत्रमा दोब्बर र ग्रामीण भेगमा आठ गुणाभन्दा बढीले पोलको भाडा बढाएको भन्दै सेवाप्रदायक कम्पनीहरुले बढेको मूल्य फिर्ताको माग गर्दै आएका छन् । बढेको मूल्य फिर्ता नहुँदासम्म बक्यौता रकम भुक्तानी नगर्ने सेवाप्रदायक कम्पनीले अडान राख्दा विद्युत प्राधिकरणले इन्टरनेटको तार समेत काटेको थियो । पटक/पटक सूचना प्रकाशन गरी बक्यौता रकम भुक्तानी गर्न आग्रह गर्दा समेत वेवास्ता गरेकोभन्दै प्राधिकरणले इन्टरनेटको तार काटेको थियो । इन्टरनेटको तार काटिएपछि पोलभाडा विवादलाई दीर्घकालीन समाधान गर्न सञ्चार मन्त्रालयले सहसचिवको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिले बुझाएको प्रतिबेदन हाल प्राधिकरण बोर्डमै रोकिएको छ ।

समलिङ पावरले सेयरधनीलाई पहिलो वर्ष लाभांश नदिने

काठमाडौं । समलिङ पावर कम्पनीले सेयरधनीको पहिलो वर्ष हाल खाली हुने भएको छ । कम्पनीले संचालक समितिले लाभांश प्रस्ताव नगरी वार्षिक साधारणसभा बोलाएपछि कम्पनीका सेयरधनीको पहिलो वर्ष हाल खाली हुने भएको हो । कम्पनीले पुस २१ गते बिहीबार बिहान ११ बजे साधारण सभा बोलाएको छ । यस्तै, कम्पनीले पुस ७ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । सभाले संचालक समितिको प्रतिवेदन उपर छलफल पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने जस्तो निर्णय गर्नेछ ।    

न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध

न्युजिल्याण्ड । न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार अब सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कसैलाई पनि सुर्ती वा चुरोट बेच्न पाइने छैन । यसको अर्थ अब चुरोट किन्न न्यूनतम उमेर बढ्दै जानेछ । सैद्धान्तिक रूपमा, अब ५० वर्ष पछि चुरोटको प्याकेट किन्न खोज्ने जोकोहीले आफू कम्तीमा ६३ वर्ष पुगेको परिचयपत्र देखाउनुपर्नेछ । स्वास्थ्य अधिकारीहरूले त्यो भन्दा पहिले देशबाट धुमपानको अम्मल हराउने विश्वास गरेका छन् । उनीहरुले सन् २०२५ सम्ममा न्युजिल्याण्डलाई धुमपानमुक्त बनाउने लक्ष्य लिएका छन् । नयाँ कानूनले चुरोट बेच्न अनुमति दिने खुद्रा बिक्रेताको सङ्ख्या पनि छ हजारबाट घटाएर छ सय पु¥याएको छ भने सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्यरूपमा घटाएको छ । मानिस मार्ने उत्पादन बेच्ने अनुमति दिनुपर्ने कुनै उपयुक्त कारण नभएको तथा त्यसलाई प्रयोग गर्ने आधा मानिस त्यसबाट मर्ने जोखिम उच्च रहेको स्वास्थ्य मन्त्री डा। आयशा भेरलले संसद्मा बताइन् । उनले प्रतिबन्ध लगाउने कानुन पारित भएपछि धूमपानको अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताइन् । ‘धूमपानबाट हुने क्यान्सर, हृदयाघातलगायत जटिल रोगको उपचार गर्ननपर्ने भएपछि अर्बौं डलर जोगिने छ, अहिलेको युवापुस्ताको स्वास्थ्य स्वस्थ रहनेछ । र, त्यसले भावी पुस्तालाई धूमपानरहित जीवन जिउन प्रेरित गर्नेछ,’ उनले भनिन् । रासस

विकासन्युजकर्मी रोकाया र शिलापत्रकर्मी घिमिरे पुरस्कृत

काठमाडौं । विकासन्युजकर्मी सन्तोष रोकाया र शिलापत्रकर्मी सम्झना घिमिरे पुरस्कृत भएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १३औं वार्षिक साधारणसभा तथा छैटौं महासभाले उनीहरुलाई जनही ५० हजार रुपैयाँको राशीसहित पुरस्कृत गरेको हो । विकासन्युज डटकमका सह-सम्पादक समेत रहेका रोकाया भरतमोहन अधिकारी-नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् भने घिमिरे भरतमोहन अधिकारी-नाफिज आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन् । उक्त पुरस्कारका लागि डेढ दर्जन पत्रकारहरुले आवेदन दिएका थिए । सोमध्ये उत्कृष्ट समाचारलाई छनोट गरेर पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका श्रीधर खनालले बताए । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल लगायतले संयुक्त रुपमा उनीहरुलाई प्रमाणत्रसहित चेक हस्तान्तरण गरेका छन् । विकासन्युजकर्मी रोकाया बैंकिङ र सहकारी क्षेत्रलाई मुख्य विधा बनाएर कलम चलाउँदै आएका छन् । रोकायाले पछिल्लो समय सहकारीमा भइरहेको विकृति र सकारात्मक अभ्यासको विषयमा पनि नियमित रुपमा कलम चलाइहरेका छन् । नाफिजले भरतमोहन अधिकारी-नाफिज सहकारी पत्रकारिता पुरस्कार र भरतमोहन अधिकारी-नाफिज आर्थिक पत्रकारिता पुरस्कार पहिलो पटक घोषणा गरेको थियो । पूर्व अर्थमन्त्री समेत रहेका स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा ‘भरतमोहन अधिकारी स्मृति फाउन्डेसन’को सहकार्यमा नाफिजले यो पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा बोल्दै फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले स्वर्गीय भरतमोहन अधिकारीको सम्झनामा यो फाउण्डेसन स्थापना भएको जानकारी गराउँदै आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका साथसाथै असल पत्रकारिता अभ्यासमा प्रोत्साहन लागि नाफिजसँग सहकार्य गरर पुरस्कारको स्थापना गरिएको बताइन् ।

पक्राउ परे श्रीमती कुट्ने डाक्टर चौधरी

काठमाडौं । दाइजोको निहुँमा श्रीमतीलाई कुटपिट गरी घर निकाला गरेको आरोप लागेका डा. पंकज चौधरी पक्राउ परेका छन् । मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई पक्राउ गरेको हो । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए । उनलाई हाल जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ । श्रीमान् चौधरीविरुद्ध नेहाले एक साताअघि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी थिइन् । तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । दाइजोको निहुँमा श्रीमतीलाई घरेलु हिंसा गरेको आरोप लागेपछि डा चौधरीलाई टोखास्थित ग्राण्डी अस्पतालले सेवाबाट बर्खास्त गरिसकेको छ । डा।चौधरीले नर्भिक अस्पतालमा नयाँ नियुक्ति लिने तयारी थिए तर उनको विरुद्ध समाचारआएसँगै नियुक्ति समेत रोकिएको छ ।

मेलम्चीको साढे ११ करोड लिटर पानी राजधानीमा वितरण

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो । जसका कारण सबै पानी अझै राजधानीमा वितरण हुनसकेको छैन । आज बेलुकीदेखि भने १२ करोड लिटर पानी वितरण गरिने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्याङ्कीमध्ये हालसम्म आठ वटामा पानी पुगिसकेको छ । हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाङ्कालचौर, पानीपोखरी, अनामनगर र बालाजुका पानी ट्याङ्कीमा मेलम्चीको पानी पुगेको छ । कीर्तिपुर र बाँसबारीका ट्याङ्कीमा चार दिनभित्र पानी पुग्ने उनले सुनाए । चार दिनभित्रमा १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्ने छ । मेलम्ची खानेपानी आयोजनाले भने मङ्सिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । सुरुङ् सफा गरेर मङ्सिर २३ गते शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ । कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको छ । त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ ।