विकासन्युज

मर्जर प्रकृयामा रहेका १३ बीमा कम्पनी : एकीकृत कारोबारको लागि कसको तयारी के ?

काठमाडौं । बीमा कम्पनीहरुमध्ये हाल १३ वटा कम्पनी मर्जर प्रकृयामा रहेका छन् । जीवन र निर्जीवन गरी कूल १३ कम्पनी प्रारम्भिक सम्झौता गरी मर्जरको अन्तिम चरणमा छन् । नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) ले चुक्ता पुँजी बढाउन निर्देशन दिएसँगै कम्पनीहरुले मर्जरको बाटो रोजेका हुन् । बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुमध्ये हिमालयन एभरेष्ट (हिमालयन र एभरेष्ट इन्स्योरेन्स) र सानिमा जीआईसी (सानिमा जनरल र जनरल इन्स्योरेन्स) ले भने एकीकृत कारोबार समेत शुरु गरिसकेका छन् । त्यस्तै, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ र प्रिमियर, ज्योति लाइफ र सुर्या लाइफ, प्रभु र महालक्ष्मी लाइफ, रिलायन्स र सानिमा लाइफ, प्राइम, गुराँस र युनियन लाइफ एक आपसमा मर्जमा जाँदै छन् । यीमध्ये केहीले एकीकृत कारोबारको लागि मिति तय गरिसकेका छन् भने केही गर्ने तयारीमा छन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्ज हुँदैछन् । हाल यी कम्पनीले मर्जरको प्रकृया लगभग टुङ्ग्याइ एकीकृत कारोबारकोे लागि मिति समेत तय गरिसकेको कम्पनी उच्च श्रोतले बतायो । ‘मर्जरको लागि डीडीएको काम सम्पन्न भइसकेको छ, अब आगामी माघ २ गतेदेखि एकीकृत कारोबार गर्ने योजना छ,’ उक्त श्रोतले विकासन्युजसँग बतायो । मर्जरमा जानको लागि दुबै कम्पनीले गत असार ३० गते नै प्राथमिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीले १०० बराबरका ८० को अनुपातमा मर्जरमा जान सहमति जनाएका थिए । जसअनुसार मर्जपछि लुम्बिनी जनरलको १०० कित्ता सेयर हुने सेयरधनीले सगरमाथा इन्स्योरेन्सको ८० कित्ता सेयर पाउने छन् । त्यस्तै, मर्जपछि बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी हुने छ । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । १००ः८० को स्वाप रेसियोमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ । जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम पुँजीभन्दा कम हो । प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । सिद्धार्थ र प्रिमियर निर्जीवन बीमा व्यवसाय गर्दै आएका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले पनि मर्जरमा जान प्रारम्भिक सम्झौता गरिसकेका छन् । यी कम्पनीले गत असार २७ गते बराबरी हैसियतमा एक आपसमा मर्ज हुने गरी सम्झौता गरेका हुन् । तर हालसम्म पनि यी कम्पनीको मर्जर प्रकृया भने टुङ्गि सकेको छैन । ‘मर्जरको काम सेड्युल अनुसार नै भइरहेको छ, सबै प्रकया सकेर छिट्टै एकीकृत कारोबार गर्ने गरी मर्जर टीम लागिरहेको छ,’ प्रिमियर इन्स्योरेन्सका डीसीईओ सहदेव तिवारीले बताए । हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सको १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ । १ बराबर १ को अनुपातमा मर्ज भएपछि बन्ने इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । जुन बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा बढी हो । ज्योति लाइफ र सुर्या लाइफको कहिले ? यता जीवन बीमा तर्फका दुई कम्पनी ज्योति लाइफ इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्स पनि मर्जरको अन्तिम चरणमा पुगिसकेका छन् । अब खाली कम्पनी रजिष्ट्रारको काम मात्र बाँकी रहेको ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री बताउँछन् । मर्जरमा जान गत असार १२ गते प्रारम्भिक समझदारी गरेका यी दुई कम्पनी एक बराबर ०.८२४५ को अनुपातको रेसियोमा मर्ज हुने भएका हुन् । मर्जपश्चात बन्ने कम्पनीको नाम सुर्यज्योति लाइफ इन्स्योरेन्स हुनेछ । त्यसैगरी, मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सुर्याका सीईओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुनेछन् । हाल ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ र सुर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । १ बराबर ०.८२४५ को अनुपातमा मर्ज भएपश्चात बन्ने सुर्यज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी करिब ४ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । प्राइम, गुराँस र युनियन लाइफ जीवन बीमा कम्पनीमध्ये प्राइम, गुराँस र युनियन लाइफले सबैभन्दा पहिले मर्जर सम्झौता गरेका हुन् । यी कम्पनीले गत बैशाख २९ गते नै एक आपसमा गाभिने सम्झौता गरेका थिए । तर हालसम्म पनि यी कम्पनीले मर्जरको प्रकृया टुङ्गाउन सकेका छैनन् । भ्यालुएसनको कामले नै मर्जरको काम सक्न ढिलाई भइरहेको एक कम्पनीको उच्च श्रोतले बतायो । ‘मर्जरको प्रकृया अगाडि बढी रहेको छ, गुराँस लाइफको आर्थिक वर्ष २०७७/७८ को भ्यालुएसन हुन बाँकी छ, त्यो स्वीकृत हुने बित्तिकै भइहाल्छ,’ ती श्रोतले विकासन्युजसँग भन्यो । उनका अनुसार प्राइम लाइफ र युनियन लाइफको भने उक्त आवको भ्यालुएसनको काम सम्पन्न भइसकेको छ । कम्पनीहरुको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड रुपैयाँ, युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब २३ करोड रुपैयाँ छ । तीन वटै बीमा कम्पनी १ बराबर १ को अनुपातमा गाभिए चुक्ता पुँजी कूल ७ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, मर्जरपछि बन्ने कम्पनीको नाम, अध्यक्ष, सीईओ लगायतको विषयहरुको पनि टुङ्गो लागिसकेको छैन । प्रभु र महालक्ष्मी प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि मर्जर प्रकृयामा छन् । मर्जरमा जान गत असार ३० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका यी दुबै कम्पनीले मर्जर प्रकृया अघि बढाइरहेका छन् । ‘दुबै कम्पनीको एक्चुरीको भ्याल्युएसन पास भइसकेको छैन, यो पास भइसकेपछि मर्जर प्रकृया अघि बढ्छ, अन्य आन्तरिक काम त भइरहेको छ,’ प्रभु लाइफका सीईओ सन्तोष पर्साईंले बताए । यी दुबै कम्पनी बराबरी हैसियत (स्वाप रेसियो १ः१) मा मर्ज हुन लागेका हुन् । मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ । मर्जपछि बन्ने कम्पनीमा अध्यक्ष प्रभु लाइफका सुभाव अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने भएका छन् । त्यस्तै, मर्जर पछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । रिलायन्स र सानिमा लाइफ रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स पनि मर्जरको अन्तिम चरणमा छन् । यी दुई कम्पनी समान हैसियत अर्थात स्वाप रेसियो १ बराबर १ को अनुपातमा मर्ज हुन लागेका हुन् । सो सम्बन्धमा दुई कम्पनीबीच गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यद्दपि, मर्जर प्रकृयामा रहेका सबै कम्पनीहरुले नेपाल बीमा प्राधिकरणले दिएको समय भित्रमा काम सक्ने गरी अघि बढीरहेका छन् । प्राधिकरणले २०७८ चैतभित्रमा तोकिएको पुँजी पुर्याउन जीवन र निर्जीवन बीमा दुबैलाई निर्देशन दिएको छ । जसअनुसार जीवन बीमाले न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले न्यूनतम साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने छ । उक्त पुँजी पुर्याउनको लागि नै अधिकांश कम्पनीले मर्जरको बाटो रोजेका हुन् ।

तनहुँको घिरिङ सबस्टेसन निर्माण सम्पन्न

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ मा ३३/११ केभीको घिरिङ सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरेको एक सय ४० मेगावाट तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत घिरिङ सबस्टेसन निर्माण गरिएको हो । तनहुँ जलविद्युत् आयोजना प्रमुख राजाभाई शिल्पकारकाअनुसार तनहुँका भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिका अन्तर्गतका भेगमा यसअघि खैरेनी सबस्टेशनबाट बिजुली पु¥याइएको थियो । ‘ती क्षेत्रमा बिजुली खैरनी सबस्टेसनबाट आइरहेकोमा अब घिरिङ सबस्टेसन निर्माण सम्पन्न भइसकेपछि यतैबाट बिजुली आपूर्ति गरिनेछ’, उनले भने । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयमार्फत् कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना’ अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । प्राधिकरणका अनुसार घिरिङ सबस्टेसनमा ६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ । ११ केभीको एउटा फिडर लाइन जगेडामा राखिएको छ । सबस्टेसनमार्फत् तनहुँका भीमाद नगरपालिका तथा घिरिङ गाउँपालिको सम्पूर्ण क्षेत्र र ऋषिङ गाउँपालिका तथा नवलपरासी बर्दघाट सुस्ता पूर्वको केही भागमा विद्युत् आपूर्ति हुने छ । तनहुँ विद्युतीकरण आयोजनाका इन्जिनियर कपिल पाण्डेका अनुसार आयोजना अन्तर्गत नै तनहुँको बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीको सबस्टेसन निर्माणा अन्तिम चरणमा छ । यसैगरी, तनहुँको मार्किचोक सबस्टेसनदेखि डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्याउने ३३ केभी लाइनको निर्माण पनि अन्तिम चरणमा छ । आयोजना अन्तर्गत तनहुँ जिल्लाका विभिन्न ठाउँमा विभिन्न क्षमताका ७० वटा नयाँ वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ । दुई वटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इण्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग २०७५को मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । ग्रामीण विद्युतीकरण अन्तर्गतका सम्पूर्ण कार्य चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो । रासस

प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा, समता शैक्षिक गुठीलाई दियो ५ लाख सहयोग

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्स आज (मंसिर २८ गते) देखि स्थापनाको पाचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको हो । यो अवसरमा इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गुठीलाई उक्त सहयोग गरेको हो । समता शैक्षिक गुठी अन्तर्गतको समता विद्यालय, जोरपाटीमा बुधबार एक कार्यक्रमबीच गुठीका कार्यकारी निर्देशक दिपक संजेललाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरेका थिए । गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीले  नेपालका ७७ जिल्ला भरी कूल ८४ विद्यालय संचालन गरिरहेको छ । गत वर्ष पनि कम्पनीले यसै गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलाई पाँच लाख रकम सहयोग प्रदान गरेको थियो । यस गुठीले संचालन गरेको शैक्षिक संस्थाहरुमा न्यूनतम रकम (मासिक १००) मै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको र सो संस्थालाई आर्थिक अभाव रहेको आसयपत्रका आधारमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक सहयोगलाई निरन्तरता दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए ।

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट पुर्याउने कार्य अन्तिम चरणमा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड उपलब्ध गराएको छ । प्राधिकरणले १८ प्याकेज मार्फत ७४ जिल्लाका तोकिए बमोजिमका स्थानमा ब्रोडब्याण्ड जडान कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म १० परियोजनाको ‘मनिटरिङ’ तथा ‘भेरिफिकेशन’को कार्य सम्पन्न भइसकेको र आठ परियोजनाको तेस्रो चरणअन्तर्गतको मनिटरिङ र भेरिफिकेशनको कार्य बाँकी रहेको प्राधिकरणले जनाएको छ । त्यसैगरी ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनामध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्ला (काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) मा तीव्र गतिको इन्टरनेट पुर्याउनेबारे ७३ गाउँपालिका/नगरपालिकासँग समझदारी–पत्रमा हस्ताक्षर भइसकेका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । सरकारले भूकम्प प्रभावित आठ जिल्लाका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, स्वास्थ्य संस्थामा क्षमता अभिवृद्धि गर्न सम्पूर्ण आधारभूत विद्यालय गरी करिब चार हजार दुई सय ५१ स्थानमा इन्टरनेट जडान गर्ने जनाइएको छ । उक्त निकायमा कम्तीमा २० एमबिपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गरी दुई वर्षसम्म महसुलबापतको रकम उपलब्ध गराउने निर्णय सरकारले गरेको थियो । सोहीअनुरुप हालसम्म कूल ७६ मध्ये ७३ गाउँपालिका/नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । साथै भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा २० एमबिएस क्षमताको ब्रोडब्याण्ड सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएको छ । भूकम्पबाट अति प्रभाववित आठ जिल्लाका तोकिएका स्थानमा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमअन्तर्गत हालसम्म रु चार करोड १५ लाख ३८ हजार चार सय ७९ (कर बाहेक) भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । भूकम्पबाट अति प्रभाववित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यअन्तर्गत हालसम्म स्थानीय तहलाई पहिलो चरणको भुक्तानीबापत  १२ करोड ८६ लाख, ५३ हजार एक सय ८२ (करसहित) भुक्तानी गरिएको बताइएको छ । रासस

नेप्से सामान्य अंकले घट्दा तीन कम्पनीको सेयरमा लाग्यो सर्किट

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को अनुसार बुधबार सेयर बजार २‍‍.६२ अंकले घट्दा सेयर विन्दु १८९७.०८ मा पुगेको छ । नेप्सेको अनुसार आज तीन कम्पनीको सेयरमा सर्किट लागेको छ जसमा दुई कम्पनीको सेयरमा सकारात्मक र एकमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा सिवाइसी नेपाल लघुवित्त र इस्टर्न हाइड्रोपावर रहेको छ । यस्तै, नकारत्मक सर्किट लाग्नेमा पिपुल्स हाइड्रोपावर रहेको छ । आज कुल २० लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा ७२ करोडको कारोबार भएको छ ।

४० दलका ४ हजार २८५ उम्मेदवारको जमानत जफत

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ४० दलका ४ हजार बढी उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै १० प्रतिशत मत कटाउन नसक्ने ४ हजार ८५ जना उम्मेदवारको धरौटी जफत भएको हो । १० प्रतिशत मत नल्याउने प्रतिनिधिसभातर्फका १७ सय ७२ पुरुषसहित १९ सय ६१ जना र प्रदेशसभातर्फ २ हजार ८६ पुरुष र २३७ महिला उम्मेदवारको जमानत जफत भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेशसभाको दुबैतर्फ गरी ४ हजार ८५ जना उम्मेदवारको धरौटी जफत भएको हो । यस्तै आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुनै एक सिट नपाएका दलहरुको पनि धरौटी समेत जफत गरेको छ । समानुपातिकतर्फ बन्द सूची पेश गर्ने ४७ मध्ये ४० दलको धरौटी जफत भएको आयोगले जनाएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्छ भने पहिलो हुने निर्वाचनतर्फ १ सिट पाउनै पर्छ। यस्तोमा सातवटा दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन्।

काठमाडौं भ्यू टावरको काम १६ महिनामा ७० प्रतिशत सकियो

काठमाडौं । समयसीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाडौं भ्यू टावर दृश्यावलोकन स्तम्भ निर्माणको हालसम्म ७० प्रतिशत मात्र सकिएको छ । स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनबाट निर्माणको काम सुरु गरेको हो । स्तम्भ निर्माणका लागि काठमाडौँ महानगरपालिका कामपा र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख छ । निर्माणको कामअन्तर्गत अहिले नवौँ तलाको काम भइरहेको छ । सम्झौताअनुसार पाँच वर्षमा निर्माण सम्पन्न गरिसक्ने भने पनि निर्माण नभए के गर्ने भन्ने विषय सम्झौतामा उल्लेख नभएकाले अर्को निर्माण कम्पनीलाई जिम्मा दिने अवस्था नरहेको कामपाको भनाइ छ । सम्झौताअनुसार २०७८ साल साउनमा निर्माण सम्पन्न गरिसक्नुपर्ने हो । निर्माणका लागि तोकिएको समयसीमा सकिएको १६ महिना भइसकेको छ । कामपाले निर्माण सुरु गरेको समयदेखि ३० वर्षका लागि दिइएको हो, निर्माणको अवधि पाँच वर्ष राखेको भए पनि पाँच वर्षमा निर्माण सम्पन्न नभएको अवस्थामा के गर्ने भन्ने विषय सम्झौतामा उल्लेख नगरेकाले कामपाले कारबाही गर्ने अवस्था नरहेको जनाएको छ । अर्को कम्पनीलाई दिइहाल्ने अवस्था छैन, कम्पनीले कामपालाई सुरुको समयदेखि नियमितरूपमा बुझाउनुपर्ने सम्झौता अनुरुपको कर दिइरहेको छ । सम्झौताअनुसार निर्माण कम्पनीले वार्षिक एक करोड रुपैयाँ रकम कामपालाई तिर्नुपर्ने हुन्छ । उक्त रकम आजसम्म तिरिरहेको कामपाको भनाइ छ । कामपाको निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेका अनुसार कामपाले निर्माणको जिम्मा दिन्न भन्ने अवस्था छैन, जेनतेन काम गरिरहेको छ । सम्झौता भएअनुसार काम सकिसक्नुपर्ने भए पनि नसक्दा के गर्ने उल्लेख नभएको र समग्रमा तीस वर्षका लागि दिएकाले निर्माण कम्पनीलाई कारबाही गर्न मिल्ले अवस्था नरहेको हो । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । उक्त भ्यू टावर नेपाली कलासंस्कृति झल्किने किसिमको हुनेछ । कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुरुप निर्माणको काम अघि बढाइएको हो । त्यसैगरी टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा तीन सय सवारी अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ भने पहिलो तलामा बसपार्कको काउन्टर हुनेछ । दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुने बताइएको छ । टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, स्विमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालयसमेत रहनेछ । सो भवनमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री राखिने योजना छ । सार्वजनिक निजी साझेदारी मोडेलमा निर्माण सम्पन्न हुने टावर सुरुमा २९ तले बन्ने सम्झौता भएको थियो । तर २०७२ सालको भूकम्पपछि टावर निर्माणले १२ तलाभन्दा बढीको स्वीकृत पाएन । सोही अनुसार १२ तले भ्यू टावरको सोही वर्षको कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए । बसपार्क सञ्चालन गर्न समस्या हाल भ्यू टावर निर्माण भइरहेको स्थानबाट लामो तथा छोटो दूरीका सवारी साधन आवतजावत हुने गरेका थिए । साबिक पुरानो बसपार्क काठमाडौं भ्यू टावर निर्माण भए पनि निर्माणको काम समयमा नै सम्पन्न हुन नसकेपछि बसपार्क व्यवस्थापनमा फेरि समस्या भएको छ । निर्धारित समयमा टावर नबन्दा बसपार्क सञ्चालनमा समस्या आएको भन्दै कामपाले यस विषयमा छलफल सुरु भएको जनाएको छ । २०७२ साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो । पाँच वर्षमा भ्यू टावर निर्माणको काम सम्पन्न गर्ने र साबिककै बसपार्क रहेको स्थानबाट थप व्यवस्थित रूपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्मााणको काम सम्पन्न नहुँदा समस्या भएको एकाइका प्रमुख न्यौपानेको भनाइ छ । टावर निर्माणको कामअन्तर्गत सुरुको ६ महिनामै अन्डरग्राउन्ड निर्माण सकेर बसपार्कलाई पुरानै ठाउँमा सार्ने भनिए पनि अझै कहिले बसपार्क सर्ने हो टुङ्गो लागेको छैन । आगामी दिनमा काठमाडौं उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु निर्माणाधीन दृश्यावलोकन स्तम्भमा निर्माण हुने बस बिसौनीबाट आवतजावत गर्नेछन् ।

चुनाव भएको २३ दिनपछि निर्वाचन आयोगले गर्यो अन्तिम परिणाम सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले तीन सातापछि मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम आयोगले २३ दिनपछि सार्वजनिक गरेको हो । आयोगले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाका अुनसार आयोगले बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने छ । र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउनेछन् । प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ ।