विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकले दियो नयाँ अधिकृतलाई तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २०० जना अधिकृतलाई तालिम दिएको छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट छनौट भएका नवनियुक्त अधिकृतहरुलाई दिने दश दिने तालिम काठमाडौंमा सुरु गरेको हो । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक रुपान्तरणको प्रक्रियामा रहेकाले प्रतिस्पर्धी बजारमा बैंकले लिएको रणनीति कार्यन्वयनमा यो ठुलो संख्याको जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताए । उनले विभिन्न प्रक्रिया पश्चात बैंकले एकपटक ठुलो संख्यामा युवा अधिकृतहरुलाई नियुक्ति दिएर बैंकिङ्ग क्षेत्र मार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको बताए । उनले अरु छ सयभन्दा बढी सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी बैंकको उत्पादकत्व बढ्नेमा जोड दिए । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नवनियुक्त सहायक प्रबन्धक, तह ६ र उपप्रबन्धक, तह ७ का जम्मा दुईसय जना अधिकृतहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

रियलमी १० प्रो प्लस फाइभ जी नेपाल आउँदै

काठमाडाैं । स्मार्टफोन ब्रान्ड रियलमीले मिड रेन्जको २०२२ कै सबैभन्दा प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ । यो नेपालमा आउन लागेको रियलमी १० प्रो सिरिजकै पहिलो फोन हो जुन भारतमा एकदमै रुचाइएको छ । र, यसको कारण हो यसको आकर्षक डिजाइन । रियलमी १० प्लस प्रो छन् नाम दिइएको यो स्मार्ट फोनको कभ्र्ड डिस्प्ले झट्ट हेर्दाखेरि अत्यन्तै आकर्षक र स्टाइलिश देखिन्छ । डिस्प्ले टेक्नोलोजी सुधार्नमा मात्र लगभग साढे एक करोड खर्च गरिएको कम्पनीले जनाएको छ । यो फोनको अर्को आकर्षक पक्ष भनेको यसको डाइमेन्सिटी १०८० छन् चिपसेट हो जुन नेपालमै पहिलो भएको र यो सेगमेन्टकै बेस्ट भएको दावी गरिएको छ । यसको ६ इन्चको कर्भ डिस्प्ले हेर्नमा अत्यन्तै आकर्षक छ त नै, साथै यसको कलर गेमुट पनि उत्तिकै वाइड छ (एक करोडभन्दा माथि) । एचडिआर १० प्लस सर्टिफाइड भएकोले यसमा मज्जाले एचडिआर कन्टेन्टहरु हेर्न सकिन्छ । त्यस्तै रियलमी १० प्लस प्रो छन् लाई अघिल्ला सेटहरु भन्दा अझै बढी टिकाउ बनाउन विशेष तरिकाले डिजाइन गरिएको ०.६५ एमएमको सेकेन्डरी टेम्पर्ड ग्लासको प्रयोग गरिएको छ जुन अत्यन्तै बलियो हुन्छ । त्यस्तै स्मार्ट फोनहरुको ग्लासको मजबुती जाँच गर्न गरिने वान मिटर ड्रप टेस्ट पनि पास गरेको हुँदा १० प्रो प्लस फाइभ जि ड्रप रेसिस्टान्ट पनि छ । १०८० को मिडिया टेक डाइमेन्सिटी सिपियु भएको यस रियलमी १० प्रो प्लस फाइभ जि मा गेमर्सहरुको लागि विशेष गरी फारडि गेम भाईब्रेसन मोटर पनि राखिएको छ । सफ्टवेयरको कुरा गर्दा यसमा लेटेस्ट एन्ड्रोइड १३ र यु आइ ४.० रहेको छ । यसमा १०८ एमपिको मेन सेन्सर लगायत तीनवटा क्यामरा पछाडिपट्टि राखिएको छ भने ६७ वाट सम्म सुपरभोक चार्जिङ सपोर्ट गर्ने ५००० एमएएचको ब्याट्रि रहेको छ ।

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधीसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ । चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संबिधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दावी गरिएको छ ।

काठमाडौं महानगरद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

काठमाडौं । काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसका उपलक्ष्यमा ‘बृहत् स्वास्थ्य शिविर तथा निःशुल्क औषधि वितरण’ कार्यक्रम सञ्चालन गरिएको छ । दिवसका अवसरमा कामपा र नेपाली सेनाको सहकार्यमा आज र बिहीबार दुई दिन शहीद गेट नजिकै रहेको नेपाली सेनाको खेलमैदानमा शिविर सञ्चालन गरिएको हो । महानगर प्रमुख बालेन्द्र शाहले आज उद्घाटन गरेको सो शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड, बालरोग, आँखा रोग, नाक, कान, घाँटी रोग, नसा हाडजोर्नी रोग, फिजियोथेरापी, छाला रोग, नसा तथा मानसिक रोग र दन्त रोगको निःशुल्क परीक्षण तथा औषधि वितरण गरिनेछ । बिहान ८ देखि दिउँसो १२ बजेसम्म बिरामीको नाम दर्ता गर्ने र बिहान १० देखि दिउँसो १ बजेसम्म स्वास्थ्य परीक्षण गरिनेछ । काठमाडौं महानगरपालिका बसोबास गर्ने सबै व्यक्तिलाई लक्षित गरेर सञ्चालन गरिएको शिविरमा अल्ट्रासाउन्ड, मुटुको भिडियो एक्स–रे, एक्स–रे र मोबाइल हस्पिटल भेहिकल लगायतका मेडिकल उपकरण र साधन प्रयोग गरिएको छ । शिविरमा सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन अनुसारको औषधि वितरण गर्नाका साथै आवश्यकताअनुसार बिरामीको अन्य अस्पतालमा सिफारिस पनि गरिनेछ । कार्यक्रममा सेनापति प्रभुराम शर्मा, नेपाली सेनाका उच्च पदस्थ अधिकृत, कामपाका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

भ्याली एक्सप्रेसको सातौं चेन पुल्चोकमा

काठमाडौं । भ्याली ग्रुपको भगिनी संस्था भ्याली एक्सप्रेसले सातौं आउटलेट खोलेको छ । भ्याली एक्सप्रेसले बुधबार पुल्चोकमा सातौं आउटलेट खोलेको हो । सुपथ मुल्यमा गुणस्तरिय मासुजन्य व्यापारको उदेश्यले २०४१ मा स्थापित भ्याली ग्रुप ३१ वर्षपछि फाष्टफुडको व्यापारमा प्रवेश गर्दै पहिलो आउटलेट चितवनमा खोलेको थियो । प्रारम्भमा मासुजन्य व्यापारको उदेश्यले स्थापना भएको प्रालिले ३७ वर्षको दौरानमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योग समेत गरी पोल्ट्री व्यवसायलाई एकिकृत रुपमा सञ्चालन गर्दै फाष्टफुड चेन रेष्टुरेन्टको क्षेत्रमा ६ वर्ष अघि प्रवेश गरेको थियो । चितवनमा परिक्षणका रुपमा ७ वर्ष अगाडि शुरु भएको भ्याली एम्सप्रेसले बालाजुमा दोस्रो शाखा खोली उपत्यकामा व्यवसाय विस्तार गरेको हाे । भ्याली एक्सप्रेसका निर्देशक बाबुराजा रावलले अन्तराष्ट्रिय चेन रेष्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन बर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका परिकार उपभोक्तालाई दिने लक्ष्य राखेको बताए । ‘नेपालमा उत्पादन बढाई रोजगारको अवसर निर्माण गर्ने र सुपथ मुल्यमा स्वस्थकर मासुजन्य सामाग्रि उत्पादन गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने । भ्याली ग्रुपमा अहिले मासुजन्य व्यापारसँग सम्बन्धित मुलुकका विभिन्न स्थानमा कोल्ड स्टोर, फिड ईण्डष्ट्रीहरु, ह्याचरी उद्योगहरु, आधुनिक वधशाला र फाष्ट फुड चेनहरु सञ्चालनमा छन् ।

पौने तीन करोड लगानीमा माछापालनबाट मनग्य आम्दानी गर्दै नगरप्रमुख वीरेन्द्र भट्ट

कैलाली । कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले माछा व्यवसाय अँगालेका छन् । नगरलाई समृद्ध बनाउने सपना साकार पार्न नै उनले उक्त व्यवसाय गरिरहेको हो । जनप्रतिनिधि सबैले आ–आफ्नो व्यवसाय गर्न जरुरी रहेको उनको बुझाइ रहेको छ । उनि नगरपालिकाकै वडा नं ९ सेहरीमा नौ बिघा जमिन भाँडामा लिएर माछा व्यवसाय सञ्चालन गरिरहेका छन् । ‘डोटीस्थित निरौली विद्यालयको जग्गा हो । विसं २०७८ मा जग्गाको सम्झौता गरेर काम सुरु गरेका थियौँ’ उनले भने ‘हामी दाजुभाइ मिलेर यो काम गरिरहेका छौँ । निर्वाचनका कारण केही ढिलाइ हुँदा माछा हाल्न ढिला भयो, अहिले आधा माछा निकालिसकेका छौँ, केही अझै निकाल्न बाँकी छ ।’ उनले आफूले माछापोखरी पनि फरक तरिकाले निर्माण गरेको बताए । ‘यसमा जेसिवी प्रयोग गरेको भए आठदेखि १० लाख कम खर्चमा पोखरी निर्माण गर्न सकिन्थ्यो’ उनले भने,’हामीले ट्र्याक्टर प्रयोग गरेर नयाँ प्रविधिबाट निर्माण गरेका छौँ । यसले पोखरी दिगो बन्न मदत गर्छ ।’ उनले यस वर्ष केही ढिलो हुँदा सबै पोखरीमा माछा राख्न नसकेको बताए । उनले राजनीतिलाई सेवाका रुपमा बुझी स्वयम् आत्मनिर्भर बन्ने लक्ष्यका साथ माछा व्यवसाय सुरु गरेको बताए । २०७८ सालमै सञ्चालनमा ल्याइएको बिपी एग्रिगेट एग्रो फर्ममार्फत उनले माछा व्यवसाय सुरु गरेको हो । नगरप्रमुख हुनु अगावैदेखि सञ्चालनमा ल्याइएको उक्त फर्ममा उहाँले विभिन्न जातका माछा उत्पादन गरी बिक्रिवितरण गर्ने योजना बनाएका छन् । ‘यो सबै जमिनमा माछा पोखरी बनेका छन्, यहाँ प्रायःजसो सबै प्रकारका माछा उत्पादन हुनेछन्’ उनले भने,’सानो पोखरीमा हामीले पङगास जातको माछा राखेका छौँ, यो माछा चारो मात्रै खाएर हुर्किने गर्छ, यसलाई वर्षको दुई पटकसम्म उत्पादन गर्न सकिन्छ ।’ उनले फागुनदेखि नौ बिघामा निर्माण गरिएका सबै पोखरीमा पूरै क्षमतामा माछाका भुरा राख्ने बताए । उनले माछाका भुरा पनि आफ्नै ‘स्टक’ राख्ने र आवश्यकपरे बेचबिखन गर्नेसमेत योजना रहेको सुनाए । उनले त्यसका लागि पाँच पोखरी निर्माण गरिएको बताए । उनले सामाजिक क्षेत्रमा लागेपनि रोजगारी आवश्यक भएकाले कृषि पेसा अगालेको बताए । ‘यो व्यवसाय पनि हो । सामाजिक क्षेत्रमा लागे पनि मान्छेलाई काम त चाहिन्छ । रोजगारको बाटो चाहिन्छ नै । तसर्थ कृषि पेसामा आवद्ध भएको हुँ’ उनले भने । उनले आफ्नो उक्त फर्मबाट स्थानीय १० जनाले रोजगार पाएको बताउँदै विस्तारै उक्त सङ्ख्या बढ्दै जाने बताए । उनले उक्त फर्ममा करिब पौने तीन करोड लगानी लागिसकेको बताए । ‘करिब पौने तीन करोड लगानी लागिसकेको छ, सबै बैंकबाट नै ऋण लिएर हो’ उनले भने ‘अझै यसमा लगानी लाग्नेछ । बस्ने र स्टक घर बन्न बाँकी छ । बत्ती, सिसिटिभी क्यामेरा जडान गर्नुका साथै तारबार पनि गर्न बाँकी छ ।’ उनले उक्त माछा पोखरीलाई नै भविष्यमा पर्यटकीयस्वरुप दिने किसिमको योजना सुनाए । उनले कृषि पेसामा सरकारी तबरबाट आवश्यक मात्रामा सहजता हुन नसकेको बताए । ‘म आफै पनि स्थानीय सरकारको नेतृत्व गरिरहेको छु, कृषि पेसामा पनि आवद्ध भएकाले यसका कठिनाई महसुस गरेको छु ‘ उनले भने ‘यसमा ठूलो लगानी गरेर काम गर्दा त यति समस्या छ भने सानो लगानी गर्नेलाई झन बढी समस्या छ । किसानले अहिले मलखाद पनि नपाएको समस्या छ । त्यसैले हामीले यस क्षेत्रको कृषिलाईमाथि उठाउनका लागि के गर्न सकिन्छ भनेर योजना बनाएका छौँ । त्यही अनुसार अगाडि बढ्छौँ ।’ बजारीकरणको समस्या भारतबाट अवैध रुपमा भित्रिने माछाका कारण नेपालका माछा व्यवसायीलाई बजारीकरणको समस्या रहेको नगरप्रमुख भट्टले बताए । ‘अहिले भारतबाट फर्मालिन प्रयोग गरेर अवैध रुपमा नेपालमा माछा भित्रिरहेका छन् । यसले गर्दा यहाँका उपभोक्ताको स्वास्थ्यमा समस्या ल्याइरहेको छ । अवैध रुपमा भारतबाट माछा भित्रिने गरेका कारण यहाँका माछा व्यवसायीले उचित मूल्य पाउन सकेका छैनन्’ उनले भने । उनले अवैध रुपमा भित्रिने वस्तुको रोकथामका लागि प्रमुख जिल्ला अधिकारीसँग छलफल भए पनि नतिजा फलदायी हुन नसकेको बताए । अवैध रुपमा भित्रिने माछाका कारण यस क्षेत्रका माछा व्यवसायी धरासायी हुने अवस्थामा रहेको उनको भनाइ रहेको छ । उनले सोही कारण स्थानीय किसानले लगानी नउठ्ने गरी माछा बेच्नुपर्ने बाध्यता रहेको पनि बताए । रासस

मर्जर प्रकृयामा रहेका १३ बीमा कम्पनी : एकीकृत कारोबारको लागि कसको तयारी के ?

काठमाडौं । बीमा कम्पनीहरुमध्ये हाल १३ वटा कम्पनी मर्जर प्रकृयामा रहेका छन् । जीवन र निर्जीवन गरी कूल १३ कम्पनी प्रारम्भिक सम्झौता गरी मर्जरको अन्तिम चरणमा छन् । नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) ले चुक्ता पुँजी बढाउन निर्देशन दिएसँगै कम्पनीहरुले मर्जरको बाटो रोजेका हुन् । बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुमध्ये हिमालयन एभरेष्ट (हिमालयन र एभरेष्ट इन्स्योरेन्स) र सानिमा जीआईसी (सानिमा जनरल र जनरल इन्स्योरेन्स) ले भने एकीकृत कारोबार समेत शुरु गरिसकेका छन् । त्यस्तै, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ र प्रिमियर, ज्योति लाइफ र सुर्या लाइफ, प्रभु र महालक्ष्मी लाइफ, रिलायन्स र सानिमा लाइफ, प्राइम, गुराँस र युनियन लाइफ एक आपसमा मर्जमा जाँदै छन् । यीमध्ये केहीले एकीकृत कारोबारको लागि मिति तय गरिसकेका छन् भने केही गर्ने तयारीमा छन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्ज हुँदैछन् । हाल यी कम्पनीले मर्जरको प्रकृया लगभग टुङ्ग्याइ एकीकृत कारोबारकोे लागि मिति समेत तय गरिसकेको कम्पनी उच्च श्रोतले बतायो । ‘मर्जरको लागि डीडीएको काम सम्पन्न भइसकेको छ, अब आगामी माघ २ गतेदेखि एकीकृत कारोबार गर्ने योजना छ,’ उक्त श्रोतले विकासन्युजसँग बतायो । मर्जरमा जानको लागि दुबै कम्पनीले गत असार ३० गते नै प्राथमिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीले १०० बराबरका ८० को अनुपातमा मर्जरमा जान सहमति जनाएका थिए । जसअनुसार मर्जपछि लुम्बिनी जनरलको १०० कित्ता सेयर हुने सेयरधनीले सगरमाथा इन्स्योरेन्सको ८० कित्ता सेयर पाउने छन् । त्यस्तै, मर्जपछि बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी हुने छ । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । १००ः८० को स्वाप रेसियोमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ । जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम पुँजीभन्दा कम हो । प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । सिद्धार्थ र प्रिमियर निर्जीवन बीमा व्यवसाय गर्दै आएका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले पनि मर्जरमा जान प्रारम्भिक सम्झौता गरिसकेका छन् । यी कम्पनीले गत असार २७ गते बराबरी हैसियतमा एक आपसमा मर्ज हुने गरी सम्झौता गरेका हुन् । तर हालसम्म पनि यी कम्पनीको मर्जर प्रकृया भने टुङ्गि सकेको छैन । ‘मर्जरको काम सेड्युल अनुसार नै भइरहेको छ, सबै प्रकया सकेर छिट्टै एकीकृत कारोबार गर्ने गरी मर्जर टीम लागिरहेको छ,’ प्रिमियर इन्स्योरेन्सका डीसीईओ सहदेव तिवारीले बताए । हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सको १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ । १ बराबर १ को अनुपातमा मर्ज भएपछि बन्ने इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । जुन बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा बढी हो । ज्योति लाइफ र सुर्या लाइफको कहिले ? यता जीवन बीमा तर्फका दुई कम्पनी ज्योति लाइफ इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्स पनि मर्जरको अन्तिम चरणमा पुगिसकेका छन् । अब खाली कम्पनी रजिष्ट्रारको काम मात्र बाँकी रहेको ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री बताउँछन् । मर्जरमा जान गत असार १२ गते प्रारम्भिक समझदारी गरेका यी दुई कम्पनी एक बराबर ०.८२४५ को अनुपातको रेसियोमा मर्ज हुने भएका हुन् । मर्जपश्चात बन्ने कम्पनीको नाम सुर्यज्योति लाइफ इन्स्योरेन्स हुनेछ । त्यसैगरी, मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सुर्याका सीईओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुनेछन् । हाल ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ र सुर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । १ बराबर ०.८२४५ को अनुपातमा मर्ज भएपश्चात बन्ने सुर्यज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी करिब ४ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । प्राइम, गुराँस र युनियन लाइफ जीवन बीमा कम्पनीमध्ये प्राइम, गुराँस र युनियन लाइफले सबैभन्दा पहिले मर्जर सम्झौता गरेका हुन् । यी कम्पनीले गत बैशाख २९ गते नै एक आपसमा गाभिने सम्झौता गरेका थिए । तर हालसम्म पनि यी कम्पनीले मर्जरको प्रकृया टुङ्गाउन सकेका छैनन् । भ्यालुएसनको कामले नै मर्जरको काम सक्न ढिलाई भइरहेको एक कम्पनीको उच्च श्रोतले बतायो । ‘मर्जरको प्रकृया अगाडि बढी रहेको छ, गुराँस लाइफको आर्थिक वर्ष २०७७/७८ को भ्यालुएसन हुन बाँकी छ, त्यो स्वीकृत हुने बित्तिकै भइहाल्छ,’ ती श्रोतले विकासन्युजसँग भन्यो । उनका अनुसार प्राइम लाइफ र युनियन लाइफको भने उक्त आवको भ्यालुएसनको काम सम्पन्न भइसकेको छ । कम्पनीहरुको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड रुपैयाँ, युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब २३ करोड रुपैयाँ छ । तीन वटै बीमा कम्पनी १ बराबर १ को अनुपातमा गाभिए चुक्ता पुँजी कूल ७ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, मर्जरपछि बन्ने कम्पनीको नाम, अध्यक्ष, सीईओ लगायतको विषयहरुको पनि टुङ्गो लागिसकेको छैन । प्रभु र महालक्ष्मी प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि मर्जर प्रकृयामा छन् । मर्जरमा जान गत असार ३० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका यी दुबै कम्पनीले मर्जर प्रकृया अघि बढाइरहेका छन् । ‘दुबै कम्पनीको एक्चुरीको भ्याल्युएसन पास भइसकेको छैन, यो पास भइसकेपछि मर्जर प्रकृया अघि बढ्छ, अन्य आन्तरिक काम त भइरहेको छ,’ प्रभु लाइफका सीईओ सन्तोष पर्साईंले बताए । यी दुबै कम्पनी बराबरी हैसियत (स्वाप रेसियो १ः१) मा मर्ज हुन लागेका हुन् । मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ । मर्जपछि बन्ने कम्पनीमा अध्यक्ष प्रभु लाइफका सुभाव अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने भएका छन् । त्यस्तै, मर्जर पछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । रिलायन्स र सानिमा लाइफ रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स पनि मर्जरको अन्तिम चरणमा छन् । यी दुई कम्पनी समान हैसियत अर्थात स्वाप रेसियो १ बराबर १ को अनुपातमा मर्ज हुन लागेका हुन् । सो सम्बन्धमा दुई कम्पनीबीच गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यद्दपि, मर्जर प्रकृयामा रहेका सबै कम्पनीहरुले नेपाल बीमा प्राधिकरणले दिएको समय भित्रमा काम सक्ने गरी अघि बढीरहेका छन् । प्राधिकरणले २०७८ चैतभित्रमा तोकिएको पुँजी पुर्याउन जीवन र निर्जीवन बीमा दुबैलाई निर्देशन दिएको छ । जसअनुसार जीवन बीमाले न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले न्यूनतम साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने छ । उक्त पुँजी पुर्याउनको लागि नै अधिकांश कम्पनीले मर्जरको बाटो रोजेका हुन् ।

तनहुँको घिरिङ सबस्टेसन निर्माण सम्पन्न

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ मा ३३/११ केभीको घिरिङ सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरेको एक सय ४० मेगावाट तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत घिरिङ सबस्टेसन निर्माण गरिएको हो । तनहुँ जलविद्युत् आयोजना प्रमुख राजाभाई शिल्पकारकाअनुसार तनहुँका भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिका अन्तर्गतका भेगमा यसअघि खैरेनी सबस्टेशनबाट बिजुली पु¥याइएको थियो । ‘ती क्षेत्रमा बिजुली खैरनी सबस्टेसनबाट आइरहेकोमा अब घिरिङ सबस्टेसन निर्माण सम्पन्न भइसकेपछि यतैबाट बिजुली आपूर्ति गरिनेछ’, उनले भने । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयमार्फत् कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना’ अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । प्राधिकरणका अनुसार घिरिङ सबस्टेसनमा ६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ । ११ केभीको एउटा फिडर लाइन जगेडामा राखिएको छ । सबस्टेसनमार्फत् तनहुँका भीमाद नगरपालिका तथा घिरिङ गाउँपालिको सम्पूर्ण क्षेत्र र ऋषिङ गाउँपालिका तथा नवलपरासी बर्दघाट सुस्ता पूर्वको केही भागमा विद्युत् आपूर्ति हुने छ । तनहुँ विद्युतीकरण आयोजनाका इन्जिनियर कपिल पाण्डेका अनुसार आयोजना अन्तर्गत नै तनहुँको बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीको सबस्टेसन निर्माणा अन्तिम चरणमा छ । यसैगरी, तनहुँको मार्किचोक सबस्टेसनदेखि डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्याउने ३३ केभी लाइनको निर्माण पनि अन्तिम चरणमा छ । आयोजना अन्तर्गत तनहुँ जिल्लाका विभिन्न ठाउँमा विभिन्न क्षमताका ७० वटा नयाँ वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ । दुई वटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इण्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग २०७५को मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । ग्रामीण विद्युतीकरण अन्तर्गतका सम्पूर्ण कार्य चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो । रासस