विकासन्युज

पोखरा विमानस्थलबाट बुद्धले बनारस र हिमालयले परीक्षण उडान गर्ने

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले चासो देखाउन थालेका छन् । विमानस्थलबाट उडानका लागि भारतीय र चिनियाँ विमान कम्पनीले चासो देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । चिनियाँ तथा नेपाली निजी क्षेत्रको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट परीक्षण उडान गर्ने भएको छ । आगामी जनवरी १ तारिखबाट सञ्चालनको तयारी थालिएको उक्त विमानस्थलमा हिमालयले परीक्षण उडानको तयारी भएको जनाएको छ । ‘हामीले सुरुवाती चरणमा काठमाडौं–पोखरा परीक्षण उडान गछौँ, परीक्षण उडान पश्चात मात्रै अन्य गन्तव्यमा उडानको तयारी थाल्छौँ, हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने । उनका अनुसार परीक्षण उडानको तयारी थालिएतापनि कहिने गर्ने भनेर मिति भने तय भैसकेको छैन् । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले पोखरा विमानस्थलबाट बुद्ध एयर र जजिरा एयरवेजले उडानमा चासो देखाएको जानकारी दिए । पुस १७ गतेकै दिन बुद्धले भारतको बनारस उडानका लागि अनुमति मागिसकेको छ । पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’ बाट हुनेछ । विमानस्थलको पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेछन् भने आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्ने क्यानको भनाइ छ । विमानस्थलमा साना र ठूला गरी ११ वटा विमान पार्किङ गर्न सकिन्छ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ छ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक ८ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ । उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटरडाँडा काटेर समतल बनाइनेछ । बाँकी २४ मिटर काट्न बाँकी छ ।

रेमिट टु नेपालले विजेता हिरा बिकलाई हस्तान्तरण गर्यो १० ग्राम सुन

काठमाडौं । रेमिट टु नेपालले ‘चाड पर्वको बहार सुन चाँदी र नगद उपहार’ का विजेता हिरा बिकलाई १० ग्राम सुन हस्तान्तरण गरेको छ । कम्पनीले चाड पर्व लक्षित उपहार योजनाका विजेता बिकलाई एक कार्यक्रमकाबीच उक्त पुरस्कार हस्तान्तरण गरेको हो । हाल दुबईमा कार्यरत बिकले फेडरल एक्सचेन्जबाट रेमिट टु नेपाल मार्फत रकम पठाउँदा उक्त योजना अन्तगर्त १० ग्राम सुन उपहार पाएका थिए । कम्पनीले सो योजना भदौ १५ गतेदेखि कार्तिक १५ गतेसम्म सञ्चालन गरेको थियो । जसअन्तर्गत रेमिट टु नेपाल मार्फत रकम पठाउँदा ९ जनाले १० ग्राम चाँदी र बम्परमा एकजनाले १० ग्राम सुन प्राप्त गरेका हुन् । त्यस्तै, कम्पनीका अनुसार यो उपहार योजनाअन्तर्गत उत्कृष्ट कारोबार गर्ने १६ सहकारी तथा निजी सब-एजेन्टलाई सुन, चाँदी र नगद उपहारद्वारा पुरस्कृत गरिएको छ । रेमिट टु नेपालले विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । जसले पछिल्लो समय आफ्नो सेवा विस्तारसंगै ग्राहक तथा साझेदारहरुको सेवा सुबिधालाई पनि प्राथमिकतामा राखेको छ । सम्बन्धित समाचार रेमिट टु नेपालबाट पैसा पठाउने हिरा बिकले पाए १० ग्राम सुन, ९ जनाले पाए चाँदी

महिला लघुवित्तको संचालकमा माया भण्डारी नियुक्त

काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको संचालकमा माया भण्डारी नियुक्त भएकी छिन् । लघुवित्तको बिहीबार ३ बजे बसेको बैठकले भण्डारीलाई संचालकमा नियुक्त गरेको हो । यसअघि लघवित्तको संचालकमा रहेकी निरु कुथुम राईलाई हटाई समितिले भण्डारीलाई नियुक्त गरेको हो । राईको शैक्षिक योग्यता र अनुभवमा नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सपरिवेक्षण विभागको निरिक्षणको क्रममा परिवर्तन गर्न निर्देशन दिएपछि नयाँ संचालक नियुक्त गरिएको संस्थाले जनाएको छ ।

आफूखुसी औषधिको प्रयोगले प्रतिजैविक प्रतिरोधको समस्या बढ्यो

रुपन्देही । कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ । तर त्यही औषधिको प्रयोग गलत तरिकाले भएमा झनै बढी बेफाइदा गर्छ । त्यसैले कुनै पनि औषधिको प्रयोग चिकित्सकको सिफारिसमा मात्र गर्नुपर्ने हो । तर हामीकहाँ जथाभावी एन्टिमाइक्रोबियल अर्थात् प्रतिजैविक औषधिको प्रयोग गर्ने प्रवृत्ति छ । यसले जनस्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । साधारण औषधिको तुलनामा एन्टिबायोटिक र एन्टिमाइक्रोबियलजस्ता औषधिको जथाभावी प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर गर्छ । चिकित्सकले सिफारिस गरेको औषधिको पूरा डोज नखाने, औषधि पसलेले उमेर र तौलको अनुपातमा मात्रा मिलाएर औषधि दिन नसक्ने, कतिपय चिकित्सकले किटाणुको जाँच नगरीकनै यस्ता औषधि दिँदा समस्या हुने गरेको हो । चिकित्सकका अनुसार जीवाणु, भाइरस, परजिवी र फङ्गीजस्ता किटाणुबाट मानवलाई हुने सङ्क्रमण रोक्न प्रयोग गरिने औषधिलाई एन्टिमाइक्रोबियल भनिन्छ । यस्ता औषधिको अवाञ्छित प्रयोग हुँदा लक्षित सुक्ष्मजीवले प्रतिरोध क्षमता विकास गर्ने र तिनले गराउने रोग निको नहुने तथा बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले यसलाई गम्भीररूपमा लिनुपर्ने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा बताउछन् । उनका अनुसार विश्वमा एन्टिमाइक्रोबियल रेजिस्टेन्स अर्थात् प्रतिजैविक प्रतिरोध विश्वव्यापी जनस्वास्थ्यको मात्र नभई चिकित्सा विज्ञानको पनि प्रमुख चुनौतीका रूपमा देखापरेको छ । यस जटिल समस्याले गर्दा हाल उपलब्ध एन्टिबायोटिक्सलगायत एन्टिमाइक्रोबियल औषधिको प्रभावकारिता कम हुँदै गएको छ । ‘सकेसम्म यस्ता औषधिको प्रयोग कम गर्नुपर्छ, कहिलेकाहीँ गर्नैपरे चिकित्सकको सल्लाहबमोजिम कति दिन खाने, कति पटक खाने मात्रा मिलाएर खानुपर्छ’, सचिव देवकोटा भन्छन्, ‘मात्रा मिलाएर औषधि सेवन गरिएन भने अर्कोपटक यही औषधिले काम नगर्न सक्छ ।’ मानिस, पशुपक्षी तथा वनस्पतिका सङ्क्रामक तथा सरुवा रोगका जीवाणुविरुद्ध प्रयोग हुने यी औषधिको सही तरिकाले प्रयोग नहुनाले प्रतिरोध विकास भई सङ्क्रामक रोगको उपचारमा बाधा उत्पन्न हुनजाने देवकोटा बताउछन् । विज्ञका अनुसार पछिल्लो १६ वर्षदेखि ब्याक्टेरिया मार्ने नयाँ औषधि (एन्टिबायोटिक)को खोज हुनसकेको छैन । त्यसअघि बनाइएका एन्टिबायोटिकलाई ब्याक्टेरियाले पचाउँदै गएका छन्, जसलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) भनिन्छ । यही क्रम जारी रह्यो भने सन् २०५० मा बिरामीलाई एन्टिबायोटिकले काम नगरेर मृत्यु हुनेको सङ्ख्या प्रतिवर्ष एक करोड हुने अनुमान विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । जसलाई महामारीकै सङ्ज्ञा दिइएको छ । यसको चपेटामा नेपालजस्ता विकासशील देश बढी पर्ने देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा बर्सेनि एक अर्ब अमेरिकी डलर बराबरको एन्टिबायोटिक्स आयात हुन्छ जुन कूल औषधि आयातको ३० प्रतिशत हो । नेपाली बजारमा करिब तीन सय ६५ ब्राण्डका एन्टिबायोटिक औषधि उपलब्ध छन् र देशभित्रै लगभग ५० कम्पनीले एन्टिबायोटिक औषधि उत्पादन गर्छन् । पशुपक्षीपालनबाट छिट्टै लाभ लिने उद्देश्यले एन्टिबायोटिकको गलत प्रयोग गर्ने र यस्ता मासु र दूधजन्य पदार्थको उपभोगले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने गर्छ । यस्ता मासु र दूधबाट प्रतिरोधी जिवाणु सिर्जना गर्ने सम्भावना हुन्छ, जुन मानिसमा समेत सर्न सक्ने भएकाले यस्तो औषधिको गलत प्रयोगलाई रोक्नुपर्छ भन्छन् पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा परवेज आलम । एन्टिमाइक्रोबियल औषधि रेजिस्टेन्सले गर्दा मानव स्वास्थ्यमा देखिने प्रतिकूल असर न्यूनीकरणका लागि सबै क्षेत्र र समुदायले समयमा नै प्रभावकारी कदम चाल्न आवश्यक रहेको उनको भनाइ छ । निर्देशक आलमका अनुसार एन्टिमाइक्रोबियल अन्तर्गत एन्टिबायोटिक्सर, एन्टिब्याक्टेरियल, एन्टिप्यारासाइटिक, एन्टिभाइरल र एन्टिफङ्गलजस्ता औषधि पर्दछन् । विभिन्न कारणले किटाणु बलियो भई एन्टिमाइक्रोबियल औषधिले शरीरमा काम गर्न छाडेको अवस्था अर्थात् किटाणुलाई औषधिले जित्न नसकेको अवस्थालाई एन्टिमाइक्रोबियल रेजिस्टेन्स वा प्रतिजैविक प्रतिरोध भनिन्छ । जुनसुकै उमेर समूहका र जुन कुनै ठाउँमा बसोबास गर्ने व्यक्तिलाई एन्टिमाइक्रोबियल रेजिस्टेन्स हुनसक्छ । हर्ड इन्टरनेशनलका कार्यकारी निर्देशक डा सुशील बरालका अनुसार एन्टिमाइक्रोबियलको जथाभावी प्रयोग, कमजोर स्वास्थ्य प्रणाली, कमजोर सङ्क्रमण नियन्त्रण तथा रोकथाम व्यवस्था, सबैको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचको अभाव, आफूखुसी औषधि प्रयोग गर्ने चलन र समुदायमा एन्टिमाइक्रोबियल रेजिस्टेन्सबारे उपयुक्त ज्ञान र सचेतनाको अभाव नै समुदायमा एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई बढाउने प्रमुख कारण हुन् । एन्टिमाइक्रोबियल प्रतिरोधी सुक्ष्म जीवाणु फैलिन नदिन चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक आदि औषधिको प्रयोग जथाभावी नगर्ने, असल कृषि र पशुपालन र उत्पादन अभ्यास गर्न उनको सुझाव छ । औषधिको जथाभावी प्रयोग र आफुखुसी औषधिको प्रयोगका कारण नै समस्या बढेको स्वास्थ्यकर्मीको भनाइ छ । ‘चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गरी कति दिन औषधि खाएपछि ब्याक्टेरिया मर्छ भन्ने भनेर हिसाब–किताब गरेर नै औषधिको सिफारिस गर्छन् । तर प्रायः बिरामीले पाँच दिन लेखेको औषधि सञ्चो भयो भने तीन दिनमात्रै खाएर छोड्छन्’, स्वास्थ्यकर्मी मैना सुवेदी भन्छन् । चिकित्सकले भनेअनुसार औषधि प्रयोग नगर्ने आमप्रवृत्ति भएकाले यसलाई बदल्नु जरुरी रहेको उनि बताउछन् । सकेसम्म एन्टिमाइक्रोबियल औषधिको प्रयोग नगर्ने र गर्नैपरे बीचमै छाड्न हुँदैन भन्ने कुराको सचेतना जगाउन आवश्यक रहेको उनको सुझाव छ । विश्व स्वास्थ्य सङ्गठनले एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई १० प्रमुख स्वास्थ्य खतराको सूचीमा राखेको छ । त्यसैले नेपालले पनि यस विषयमा चासो दिँदै सरकारका नीति र कार्यक्रममा यसलाई समावेश गरेको लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुष्पराज पौडेलको भनाइ छ । नेपालमा बढ्दो जनस्वास्थ्य चुनौतीका रूपमा देखा परिसकेको एन्टिमाइक्रोबियल रेजिस्टेन्सको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न नीति–निर्माण गर्नुका साथै सप्ताहव्यापी कार्यक्रम गरेर जनचेतना जगाउने काम गरेको पौडेल बताउछन् । ‘नेपालले १९९० को दशकबाट एन्टिमाइक्रोबियल रेजिस्टेन्सबारे चासो दिँदै आएको हो, तर ठोस प्रगति अझै देखिएको छैन’, मन्त्रालयका प्रवक्ता पौडेल भन्छन् । यसको नियन्त्रणमा सरकारमात्र होइन स्वास्थ्यकर्मी, कृषक तथा पशुपालक तथा सबै सरोकारवाला जिम्मेवार रहेको उनि बताउछन् । ‘हामीले एन्टिमाइक्रोबियल रेजिस्टेन्सको रोकथामका लागि सचेतना अभियान चलाएका छौँ । सरोकारवालासँग यो विषयमा छलफल गरेका छौँ, अगामी दिनमा सबैसँग सहकार्य अघि बढ्छौँ’, प्रवक्ता पौडेल भन्छन् । रासस

लाभांश पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, मर्जरमा जाने प्रस्तावलाई निरन्तरता दिने

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले आगामी पुस २२ गते वार्षिक साधारण सभा डाकेको छ । इन्स्योरेन्सले आफ्नो ७४औं वार्षिक साधारण सभा सो दिन बिहानको ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बोलाएको हो । उक्त सभाले सेयरधनीलाई कूल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सभाले पारित गरेसँगै कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । त्यस्तै, इन्स्योरेन्सले मर्जरमा जाने प्रस्तावलाई नै निरन्तरता दिने विशेष प्रस्ताव गरेको छ । कम्पनीले उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकारलाई निरन्तरता दिने छ । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी पुस ८ गते बुक क्लोज गर्दै छ । यससँगै पुस ७ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउने छन् । यससँगै उक्त आवको सभा बोलाउनेमा नेपाल इन्स्योरेन्स पहिलो भएको छ । हालसम्म निर्जीवन बीमा व्यवसाय गर्दै आएका कुनै पनि कम्पनीले आर्थिक वर्ष २०७८/७९ को साधारण सभा डाकेका छैनन् ।

दमकमा फोहरबाट दैनिक एक हजार ८४ केजी ग्यास उत्पादन गर्न सकिने

दमक । दमक नगरपालिकामा जैविक फोहरबाट उत्पादित ग्यास प्रयोग गरिने भएको छ । यसका लागि नगरपालिकाले जग्गा व्यवस्थापन समेत गरेको छ । दमक–२ मा सञ्चालित ग्यास प्लान्टबाट उत्पादन हुने ग्यासलाई ‘रिफिल’ गर्नका लागि दमक– ८ मा ‘रिफिल सेन्टर’ स्थापना हुने भएको हो । नगरपालिकाको कार्यपालिका बैठकले दमक ८ स्थित सरस्वती माविको जग्गामा ‘रिफिल स्टेसन’ बनाउने निर्णय थियो । यसका लागि जग्गा उपलब्ध गराउने निर्णय पनि भएको छ । नगरपालिकाले गत कात्तिक १९ गते रिफिलिङ सेन्टरका लागि जग्गा खोजी गर्न वडाध्यक्ष टेकबहादुर थापाको संयोजकत्वमा समिति बनाएको थियो । सोही समितिको प्रतिवेदनअनुसार रिफिल सन्टर बनाउन जग्गा दिने निर्णय गरिएको हो । उत्पादित ग्यास खेर गइरहेको भनेर नेक्स्टइरा इनर्जी प्रालि र रोहन ट्रेडर्सले नगरपालिकासमक्ष जग्गा उपलब्ध गराइदिन माग गरेको थियो । दमकमा नमूनाको रूपमा रहेको फोहरबाट ऊर्जा उत्पादनको परियोजनाबाट ग्यास उत्पादन भए पनि अहिले यसलाई त्यसै डढाएर फ्याँक्ने गरिएको छ । दमक तथा आसपासका क्षेत्रमा कुद्ने सिटी सफारीलगायतका हलुका सवारी साधनलाई ग्यासबाट चल्ने बनाएर रिफिल गर्न सकिने छ । नेक्स्टइरा इनर्जी प्रालिका प्रबन्ध सञ्चालक विमल खतिवडाले यस परियोजनाअन्तर्गत दैनिक एक हजार ८४ केजी ग्यास उत्पादन गर्न सकिने अवस्था रहेको बताए । दमकमा उत्पादित फोरबाट ऊर्जा अर्थात् ग्यास उत्पादन गरेर कम्तीमा १५ सय परिवारलाई पाइपलाइनमार्फत वितरण गर्ने उद्देश्य राखिएको छ । रासस

बसको ठक्करबाट कञ्चनपुरमा विद्यार्थीको मृत्यु

काठमाडौं । बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो । बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे । घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए । घटनाको विरोधमा आक्रोशित स्थानीयवासीले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् । प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ ।

रसुवागढी हाइड्रोपावरको अध्यक्षमा प्रदिप कुमार थिके नियुक्त

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको अध्यक्षमा प्रदिप कुमार थिके नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनीको संचालक समितिको बैठकले चिलिमे जल्यविद्युतका थिकेलाई अध्यक्षमा नियुक्त गरेको हो । थिके अघि कम्पनीको अध्यक्षमा चिलिमे जल्यविद्युतकै माधव प्रसाद कोइराला थिए । हाल कम्पनीको संचालकमा विद्युत प्राधिकरणका प्रबल अधिकारी र सुबास कुमार मिश्र, चिलिमे जल्यविद्युतका राम प्रसाद रिमाल र भिम प्रसाद तिमिल्सिना र कमर्चारी संचय कोषका धुर्व प्रसाद अधिकारी रहेका छन् ।