विकासन्युज

सनराइज बैंकमा काम गर्ने अवसर, यी ४ पदका लागि माग्यो कर्मचारी

काठमाडौं । सनराइज बैंकले कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा तथा केन्द्रीय कायाृलयका लागि कर्मचारीको माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, अप्रेसन म्यानेजर र जुनिएर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिन मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको हो । यि विभिन्न पदको लागि अनलाइनमार्फत आवेदन दिन सकिने बैंकले जनाएकाे छ ।

स्वरोजगार लघुवित्तको सीइओमा पुन: मनोज कृष्ण उप्रेती

काठमाडौं । स्वरोजगार लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा मनोज कृष्ण उप्रेती नियुक्त भएका छन् । कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले पुस ४ गतेदेखि लागु हुने गरी उप्रेतीलाई सीइ‌ओमा नियुक्त गरेको हो । भरतपुर महानगरपालिका वडा नं ७ बस्ने ४७ वर्षिय उप्रेतीको यो दोस्रो कार्यकाल हो ।  

ग्रामिण विकास लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृतको लागि कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको प्रधान कार्यालय बुटवल वा शाखा कार्यालयबाट माघ २ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक दिने केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सात प्रदेशका ११ वटा शाखा कार्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाको परिचय, संस्थाले प्रदान गर्दै आएको सेवा सुबिधामा उठेका जिज्ञासाहरुको समाधान गर्दै वित्तीय ज्ञान, सीप, मनोबृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिबृद्धिका माध्यमले विवेकशिल वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक ब्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु कार्यक्रमको उदेश्य रहेको बताए । संस्थाले कर्जा तर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको छ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था देशका गणनीय ७ वटा बाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा, परासी क्षेत्रको विद्युत आपूर्तिमा सुधार

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हाे । हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत आपूर्ति दिइएको छ । सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित स्टील, सिमेन्टलगायतका उद्योगहरु तथा स्थानीय उपभोक्ताहरुले पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति पाएका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परासी क्षेत्रका सिमन्ट, स्टीललगायतका ठूला उद्योगहरु र स्थानीय उपभोक्तालाई विद्युत आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड भएको बताए । ‘अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी लाइनमार्फत आपूर्ति दिंदा सुनवल तथा परासी क्षेत्रका उपभोक्ताहरुबाट पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको, पटक–पटक ट्रिपिङ हुन जस्ता गुनासाहरु आउने गरेका थिए, बुटवल सबस्टेसन पनि माग धान्न नसक्ने अवस्थामा पुगी ओभरलोडेड थियो’, कार्यकारी निर्देशक घिसिङले भने । ‘सुनवल सबस्टेसन सञ्चालनमा आएसँग बुटवल सबस्टेसनको चाप घटेको छ, सुनवल तथा परासी क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय भएको छ, उपभोक्ताहरुले मागेजति विद्युत पाउने छन् भने प्राविधिक चुहावटसमेत घट्ने छ ।’ सबस्टेसनमा १३२/३३, ६३ एमभिएका दुईवटा र १३२/११ केभी,२२.५ एमभिएको एकवटा पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि निकालिने ३३ केभीका ७ वटा फिडरहरुमध्ये ३ वटा सञ्चालनमा ल्याइएको छ । ३३ केभीका तीन वटा फिडरहरुमध्ये एउटाबाट सर्वोत्तम सिमन्ट तथा परासी बजार क्षेत्र, अर्कोबाट पाल्पा सिमेन्ट तथा रुपन्देहीको शित्तलनगर सबस्टेसन र लक्ष्मी स्टीलमा विद्युत आपूर्ति दिइएको प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले उल्लेख गरे । अहिले सुनवल सबस्टेसनबाट त्यस क्षेत्रमा करिब २० मेगावाट विद्युत आपूर्ति भइरहेको छ । परासीतर्फ जाने बाँकी ३३ केभीका चारवटा र सबस्टेसनको वरिपरि विद्युत आपूर्तिका लागि ११ केभीका चारवटा फिडरहरु निर्माणाधीन छन् । औद्योगिक करिडोरमा विद्युत आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेट करिब ६९ करोड रुपैयाँमा सुनवल सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसन निर्माणका लागि इनर्जी प्याक तथा सिग्माकोनको उपक्रमसँग गरिएको ठेक्का सम्झौता २४ कात्तिक २०७६ मा कार्यान्वयनमा आएको थियो । प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युतको बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता बृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल (भुमही)–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । प्राधिकरणले भैरहवा क्षेत्रको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । मैनहिया सबस्टेसनबाट विद्युत दिन थालेपछि भैरहवा क्षेत्रको क्षेत्रको भोल्टेज सुधार भई आपूर्ति भरपर्दो र गुणस्तरीय भएको छ ।

समृद्धि फाइनान्सद्धारा इटहरीमा न्यानो लुगा वितरण

काठमाडौं । समृद्धि फाइनान्सले आइतबार  इटहरीमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले इटहरीमा रहेको ॐ श्री पिपलबोटे खूल्ला विद्यालयका १ जना शिक्षक र २५ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गर्न कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत शिक्षक १ जना र विद्यार्थीहरु २५ जनालाई यस संस्थाका इटहरी का।मु।शाखा प्रमुख जनक पोखरेल र इटहरी वडा न। ६ वडा अध्य्क्ष दिवस पोखरेलको उपस्तिथिमा ज्याकेट वितरण गरिएको व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् । हाल त्यहाँ विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने र नगर्ने समेत गरी कक्षा १ देखी ७ सम्मका २५ जना विद्यार्थीहरु अध्ययन गर्छन् । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ । फाइनान्सले हाल आठ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

एमएस ग्रुपले कमलादीमा एशियाकै दोस्रो ‘मोक्सी’ होटल खोल्दै, अर्ब बढी लगानीमा सयलाई रोजगारी

फाइल तस्वीर काठमाडौं । काठमाडौंको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण हुने भएको छ । व्यापारिक घराना एमएस समूहले भने काठमाडौंमा तारे होटल बनाउन लागेको हो । कूल एक अर्ब ३५ करोड लागतमा निर्माण हुने होटल अन्तर्राष्ट्रिय स्तरको हुनेछ । समूहले मोक्सी ब्रान्डको अन्तर्राष्ट्रिय चेन होटल काठमाडौंको कमलादीमा बनाउन लागेको हो । यस सम्बन्धमा मेरियट इन्टरनेसनल र हिमालय हस्पिटालिटीबीच सम्झौता भइसकेको छ । काठमाडौंमा बन्ने मोक्सी एसियाकै दोस्रो हुने बताइएको छ । यस्तो होटल पहिलो जापानमा बनिसकेको छ भने युरोप र अमेरिका पनि फैलिसकेको छ । संसारका जुनसुकै कुनामा ठूला होटल निर्माण सक्न कम्तीमा तीन–चार वर्ष लाग्छ । सन् २०२५ भित्र होटलको निर्माण सकेर सञ्चालनमा ल्याउने योजना छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको दुई रोपनी जग्गामा बन्ने यो होटलमा डाइनिङ आउटलेट, टेक अवे, रूफटप बार, लगायत सेवा हुनेछ । होटलमा रेष्टुराँ, व्यायाम हल, स्वीमिङ पुललगायतका सेवा सुविधा उपलब्ध हुनेछन् । होटलमा कूल ९४ कोठामा दुई सय शय्या हुनेछन् । जसमा आठ वटा स्वीट रुम हुनेछन् । बेसमेन्ट दुई र भुई तल्ला गरी कूल नौ तले सो होटल इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटल प्रालिले निर्माण गर्न लागेको हो । होटलको वातावरणीय प्रभाव मूल्याङ्कनका लागि केही दिन पहिले वन तथा वातावरण मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको छ । होटल निर्माण क्षेत्र वरपरको वातावरणीय प्रभावका बारेमा आवश्यक जानकारी दिन मन्त्रालयले सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ । सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम ईन्भाइरोन्मेन्टल सर्भिसेज प्रालिले गरिरहेको छ । होटल सञ्चालन आएपछि करिब एक सय जनाले रोजगारी पाउने छन् । होटलमा आठ तलासम्म चार वटा ट्वीन रुम, छ वटा क्वीन रुम र एउटा स्वीट रुम रहनेछन् भने नवौँ तलामा दुई वटा ट्वीन रुम र चार वटा क्वीन रुम रहनेछन् । होटलमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचका लागि ¥यामका साथै दुई वटा कोठा निर्माण गरिनेछ ।

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

चितवन । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जीनियर सागर ज्ञवालीले जानकारी दिए । यी दुइ स्टेशन करिब  ९० लाखको लागतमा निर्माण गरिएको हो । दुईवटा स्टेशनमा एकपटकमा छ वटासम्म गाडी चार्ज गर्न मिल्छ । आन्तरिकरूपमा खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेशन निर्माण गरिएको इञ्जीनियर ज्ञवालीले बताए । बसपार्कमा दुईवटा फरक टेक्नोलोजी सिसीएच र जिबिटीका चार्जर स्टेशन निर्माण गरिएको चार्जिङ स्टेशन निर्माणको जिम्मा पाएको दिगोका प्रोजेक्ट म्यानेजर शिव अधिकारीले जानकारी दिए । उनका अनुसार यहाँ साना–ठूला सबै सवारीसाधनको चार्ज गर्न मिल्छ । नेपालमा उपलब्ध रहेका सवारीसाधनको क्षमताअनुसार एकदेखि डेढ घण्टासम्ममा चार्ज पूर्ण हुन्छ । चार्जिङ स्टेशनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएको छ । यसबाट ठूला बससहित तीनवटा सवारीसाधनले एकसाथ चार्ज गर्न सक्नेछन् । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । चार्जिङ स्टेशनमा पेट्रोलपम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन । चार्जिङ स्टेशनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारीधनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्छ । कति मिनेटसम्म वा कति रुपैयाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ । समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन । बिहान ५ देखि साँझ ५ बजेसम्म आठ रुपैयाँ २८ पैसा प्रतियुनिट, बेलुका ५ देखि राति ११ बजेसम्म १० रुपैयाँ ४४ पैसा प्रतियुनिट र राति ११ देखि बिहान ५ बजेसम्म नौ रुपैयाँ छ पैसा चार्ज शुल्क तोकिएको अधिकारीले जानकारी दिए । बसपार्कमा सञ्चालनमा आएका चार्जिङ स्टेशनमा दैनिक चारदेखि पाँचवटा सवारीसाधनले चार्जिङ गर्ने गरेको बसपार्क सञ्चालनको जिम्मा लिएको आरजन कन्स्ट्रक्शन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक असिम भट्टराईले जानकारी दिए । उनले धेरैलाई चार्जिङ स्टेशनका बारेमा जानकारी नभएको भन्दै क्रमशः सवारीसाधनको चाप बढ्दै जाने बताए । प्राधिकरणले देशभर ५१ चार्जिङ स्टेशन निर्माणको लक्ष्य राखेर काम गरिरहेको छ । जसमा १२ वटा सञ्चालनमा आइसकेका छन् भने ३२ वटा जडान सम्पन्न भइसकेका छन् । बाँकी चार्जिङ स्टेशन निर्माणको अन्तिम चरणमा पुगेको प्रधिकरणले जानकारी दिएको छ ।