विकासन्युज

पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधि

पोखरा । पर्यटकीय नगरी पोखरा साहसिक पर्यटनको सहर पनि हो । सुन्दर सहरको आनन्द लिनुका साथै पोखरा आउने पर्यटक यहाँका विभिन्न साहसिक पर्यटनका गतिविधि पनि रमाउने गर्दछन् । पोखराको सराङ्कोटबाट हावा खाँदै जिपलाइन, प्याराग्लाइडिङसँगै बन्जीजम्प, स्वीङ, अल्ट्रालाइटदेखि माउन्टेन फ्लाइटसम्मका विभिन्न गतिविधिले पोखरामा पर्यटकलाई लोभ्याउने गरेको छ । स्वदेशी एवं विदेशी पर्यटकका साथै उच्चपदस्थ अधिकारी, चर्चित अभिनेता तथा कलाकारको पनि पोखरामा साहसिक पर्यटनका गतिविधिले आकर्षित गर्ने गरेको छ । हालै नेपालको भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायले पोखरामा साहसिक पर्यटनका जिपलाइन, स्वीङ आदिमा रमाएका तस्वीर यतिखेर विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका छन् । पोखराको यही साहसिक पर्यटन प्रतिको आकर्षणलाई दृष्टिगत गरी पर्यटन क्षेत्रका लगानीकर्ता पनि यसतर्फको लगानीमा हौसिएको देखिन्छ । पोखरामा जिपलाइन, बञ्जीजम्प, स्वीङ लगायतका पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको हाइग्राउन्ड एडभेन्चर प्रालि नेपालले पर्यटकलाई लक्षित गरी हालै एटिभी राइडिङ सञ्चालनमा ल्याएको छ । कम्पनीले सुरु गरेको एटिभी राइडिङमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढेको कम्पनीका निर्देशक दिनश महर्जनले बताए । ‘पछिल्ला समयमा पोखरामा आउने पर्यटक यहाँ सञ्चालित जिपलाइन, स्वीङ, बञ्जी आदिमा आकर्षित बन्दै गएका छन्’, उनले भने, ‘हालै नेपाल भ्रमणका क्रममा पोखरामा बलिउड अभिनेता बिबेक ओभरायले जिपलाइन, स्वीङ लगायतका साहसिक पर्यटनका गतिविधि गर्दा त्यसले पोखराको साहसिक पर्यटनलाई थप चर्चामा ल्याएको छ ।’ पोखराको साहसिक पर्यटनको बढ्दो आकर्षणलाई देखेर हाइग्राएनड एडभेन्चर प्रालिले पोखरामा नयाँ गतिविधिका रुपमा एटिभी राइडिङ सञ्चालनमा ल्याएको उनले बताए । उनका अनुसार एटिभी राइडिङमा फोर ह्वीलर चक्का कच्ची रोडमा सहजै गुड्ने गरी बनाइएको हुन्छ । कम्पनीका कर्मचारी राजेश लम्साल मोटरसाइकल चलाउनेले यो सजिलै चलाउन सक्ने बताउँछन् । फेवातालको किनारमा चलाउने गरी व्यवस्था गरेको कम्पनीले आउने पर्यटकलाई प्रारम्भमा सेदीस्थित कार्यालयमा प्राविधिकबाट यसका विधि र प्रत्रियाबारे जानकारी गराउने गरिएको उनले जानकारी दिए । ‘नयाँका लागि हामीले कार्यालय परिसरमा नै टेस्टड्राइभ गराउँछौँ’, निर्देशक महर्जनले भने, ‘टेस्ट ड्राइभका लागि टेस्ट ट्रेल निर्माण गरेका छौँ ।’ अनुभवीका लागि सेदी–भकुण्डे–सेदीको आठ किलोमिटर दूरीको मार्ग निर्धारण गरिएको उनले जानकारी दिए । उक्त सडक भकुण्डेसम्म एक किलोमिटर पक्की छ भने सात किलोमिटर कच्ची रहेको छ । यस मार्ग पार गर्न करिब दुई घण्टा समय लाग्ने र उक्त मार्गमा फेवाताल, जङ्गल, खोलानाला आदिको प्रत्यक्ष अनुभव लिन सकिन्छ । कम्पनीमा हाल एटिभी गाडी आठवटा रहेको बताउँदै उनले बढ्दो आकर्षणलाई दृष्टिगत गरी आठवटा थप्न लागिएको बताए । नयाँ गतिविधिका रुपमा एटिभी राइडिङ सञ्चालन गरिएको उल्लेख गर्दै महर्जनले यसले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन थप सहयोग पुग्ने विश्वास लिइएको बताए ।

मुक्तिनाथ विकास बैंकको १४ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १४.२१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३.५ प्रतिशत बोनस सेयर र ०.७१०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश बैंकको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरू

काठमाडौं । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १०औँ संस्करण आजदेखि सुरू हुँदैछ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा हुन लागेको उक्त महोत्सव यही पुस ६ गतेसम्म चल्ने छ । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ नारासहित आयोजना हुने सो महोत्सवको उद्घाटनका अवसरमा शान्ता नेपालीद्वारा निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्प्रेचर्स, टप अफ द वल्र्ड’ र समापन समारोहमा दीपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ देखाइनेछ । विश्वभरीबाट खुल्ला आवेदनमार्फत सङ्कलन गरिएका नेपालसहित २५ देशका ६४ चलचित्र, वृत्तचित्रलगायत महोत्सवमा देखाइने छन् । नेपालबाट निर्देशक अभिनाश विक्रम शाह, भातरबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टाचार्य, कोरियाबाट मानव अधिकार अभियन्ता तथा महोत्सव निर्देशक सु–ली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा छन् । महोत्सवमा प्रदर्शन गरिने उत्कृष्ट चलचित्रलाई नगदसहित अवार्ड प्रदान गरिने छ । उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवका निर्देशक पाण्डव खत्रीका अनुसार विदेशी चलचित्र कसरी निर्माण भइरहेका छन्, कथा कसरी छनोट गरिएको छ, कथा वाचन गर्ने शैली, पात्र चयन, पात्रको अभिनयलगायत कुरा सिक्न पाइने छ । ‘महोत्सवबाट नेपाली कला, संस्कृतिका साथै नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा समेत सहयोग पुग्ने छ’, उनले भने ।

कृषि विकास बैंककाे अध्यक्षमा रमेश दुवाडी नियुक्त

काठमाडाैं । कृषि विकास बैंककाे अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । बैंककाे संचालकमा रहेका दुवडीलाई मंसिर २९ गते बसेकाे संचालक समितिकाे बैठकले अध्यक्षमा नियुक्ति गरेकाे हाे । उनले राष्ट्र बैंककाे गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गाेपनियताकाे शपथ पनि लिएका छन् ।

तनहुँमा हलगोरु पाल्ने किसानलाई दश हजार अनुदान

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप दश हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । ‘गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले भने । गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान गर्दै आएको छ । औजार खरिद गर्न नसक्ने किसानलाई हलगोरु पाल्न अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको हो । गाउँपालिकाले असहाय रोगीलाई दश हजार रुपैयाँ प्रदान गर्दै आएकामा चालु आवदेखि पन्ध्र हजार रुपैयाँ आर्थिक सहायता प्रदान गर्दैआएको श्रेष्ठले जानकारी दिए । चालु आवको प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ताअन्तर्गत तीन हजार चार सय एघार लाभग्राहीलाई २९ लाख ८६ हजार रुपैयाँँ रकम वितरण गरिएको छ । आकस्मिक बाली संरक्षण सेवा कार्यक्रमअन्तर्गत ५५ किसानलाई करिब एक सय बीस रोपनी क्षेत्रफलको धानमा लागेको कीरा नियन्त्रणका लागि विषादी वितरण गरिएको छ । किसानलाई उत्पादनसँग जोड्न १६ हजार छ सय ५० किलो आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । रासस

सानिमा बैंकको १०.९८ प्रतिशत लाभांश पारित, संचालकमा उपाध्याय र पाेखरेल नियुक्त

काठमाडाैं । सानिमा बैंककाे प्रस्तावित १०.९८ प्रतिशत लाभांश पारित भएकाे छ । बैंककाे १८औँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेकाे हाे । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् । यस्तै, सभाबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल सर्वसाधारण समूहको तर्फबाट निर्वाचित भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १९२.५१ अर्ब, कुल निक्षेप १५८.८८ अर्ब तथा खुद कर्जा सापटी १४१.६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २१.३९, १५.०४ र १९.७५ प्रतिशतले वृद्धि गरेको छ ।

लघुबीमा कम्पनीले बैंकसँगै सेयर बजारमा पनि लगानी गर्न पाउने, घर जग्गामा भने नपाउने

काठमाडौं । लघुबीमा कम्पनीले विभिन्न ८ वटा क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । लघुबीमा व्यवसाय सञ्चालन गर्ने जीवन र निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा कम्तीमा ५ प्रतिशतभन्दा बढी लगानी गर्न पाउने भएका हुन् । नेपाल बीमा प्राधिकरणले लघुजीवन तथा निर्जीवन बीमकको लगानी निर्देशिका सार्वजनिक गर्दै कम्पनीहरुलाई विभिन्न क्षेत्रमा लगानी गर्न शर्तसहित लगानीको सीमा समेत तोकिदिएको हो । जसमध्ये वाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा कम्तीमा ३० प्रतिशत लगानी गर्नैपर्ने छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने), बन्ड, डिबेन्चर र ऋणपत्रमा भने बढीमा ३० प्रतिशतसम्म मात्रै लगानी गर्न पाइने छ । तर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी हुनेगरी लगानी गर्न पाइने छैन । यता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त बचतपत्र वा ऋणपत्रमा कूल लगानीको कम्तीमा २५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् । यदि यो क्षेत्रमा लगानी गर्न नसकेमा वाणिज्य बैंक वा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा भने लगानी गर्नुपर्ने छ । त्यस्तै, धितोपत्र विनिमय बजारमा सूचीकृत कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा कूल लगानीको बढीमा २० प्रतिशतसम्म लगानी गर्न पाइने सीमा छ । त्यस्तै, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति र सेयर बजारमा बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाइने व्यवस्था छ । त्यसैगरी, ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति र नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाइने छ । प्राधिकरणका अनुसार लघुबीमा कम्पनीले यी क्षेत्रबाहेक अन्य क्षेत्रमा भने लगानी गर्न नपाउने भएका छन् । त्यस्तै, सहायक कम्पनीमा लगानी गर्नुअघि प्राधिकरणको स्वीकृति भने लिनु पर्ने व्यवस्था छ । तोकिएको सीमाभन्दा कम वा बढी लगानी गरेमा के हुन्छ ? लघुबीमा कम्पनीहरुले बीमा प्राधिकरणले तोकिदिएको लगानी सीमा प्रत्येक दिन कायम गर्नुपर्ने छ । यदि कुनै कारणले तोकिएको सीमाभन्दा कम वा बढी लगानी भएमा सीमा नाघेको तीस कार्यदिनभित्र त्यस्तो लगानीलाई सीमाभित्र ल्याई सक्नु पर्ने प्राधिकरणको निर्देशन छ । तर मुद्दति निक्षेप वा डिबेन्चरमा गरिएको लगानी परिपक्व नभएसम्म सो रकम बराबरको लगानी यस निर्देशन बमोजिम भएको मानिने समेत प्राधिकरणले खुलाएको छ । बैंक तथा वित्तीय संस्थामा लगानी गर्न तीन शर्त लघुबीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा कम्तीमा तीन वटा शर्त पालना गर्नुपर्ने छ । राष्ट्र बैंकले तोकेको पुँजीकोष कायम गरेको, तोकेको सीमाभन्दा बढी निष्कृय कर्जा नरहेको र शीघ्र सुधारात्मक कारवाहीमा नपरेको हुनुपर्ने छ ।  

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन आइपीओको बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयरको बाँडफाँड गरिएको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँँ अङ्कित दरका कूल पाँच लाख ५४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धककाअनुसार साधारण शेयरमा कूल १२ लाख ५८ हजार चार सय २१ आवेदकले एक करोड ४३ लाख ५१ हजार आठ सय ३० कित्ता शेयरका लागि आवेदन दिएका थिए । कम्पनीले योग्य ११ लाख ९१ हजार दुई सय ८४ मध्ये ५१ हजार पाँच सय २२ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । निष्कासित शेयरमा २७ हजार सात सय कित्ता सामूहिक लगानी कोषलाई र ११ हजार ८० कित्ता कर्मचारीलाई बाँडफाँट गरिएको छ । लगानीकर्ताले गत मङ्सिर २१ गतेदेखि २६ गतेसम्म शेयर खरिदका लागि आवेदन दिएका थिए । बाँडफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट मेरो शेयर मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।