समृद्धि फाइनान्सद्धारा इटहरीमा न्यानो लुगा वितरण
काठमाडौं । समृद्धि फाइनान्सले आइतबार इटहरीमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले इटहरीमा रहेको ॐ श्री पिपलबोटे खूल्ला विद्यालयका १ जना शिक्षक र २५ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गर्न कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत शिक्षक १ जना र विद्यार्थीहरु २५ जनालाई यस संस्थाका इटहरी का।मु।शाखा प्रमुख जनक पोखरेल र इटहरी वडा न। ६ वडा अध्य्क्ष दिवस पोखरेलको उपस्तिथिमा ज्याकेट वितरण गरिएको व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् । हाल त्यहाँ विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने र नगर्ने समेत गरी कक्षा १ देखी ७ सम्मका २५ जना विद्यार्थीहरु अध्ययन गर्छन् । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ । फाइनान्सले हाल आठ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।
एमएस ग्रुपले कमलादीमा एशियाकै दोस्रो ‘मोक्सी’ होटल खोल्दै, अर्ब बढी लगानीमा सयलाई रोजगारी
फाइल तस्वीर काठमाडौं । काठमाडौंको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण हुने भएको छ । व्यापारिक घराना एमएस समूहले भने काठमाडौंमा तारे होटल बनाउन लागेको हो । कूल एक अर्ब ३५ करोड लागतमा निर्माण हुने होटल अन्तर्राष्ट्रिय स्तरको हुनेछ । समूहले मोक्सी ब्रान्डको अन्तर्राष्ट्रिय चेन होटल काठमाडौंको कमलादीमा बनाउन लागेको हो । यस सम्बन्धमा मेरियट इन्टरनेसनल र हिमालय हस्पिटालिटीबीच सम्झौता भइसकेको छ । काठमाडौंमा बन्ने मोक्सी एसियाकै दोस्रो हुने बताइएको छ । यस्तो होटल पहिलो जापानमा बनिसकेको छ भने युरोप र अमेरिका पनि फैलिसकेको छ । संसारका जुनसुकै कुनामा ठूला होटल निर्माण सक्न कम्तीमा तीन–चार वर्ष लाग्छ । सन् २०२५ भित्र होटलको निर्माण सकेर सञ्चालनमा ल्याउने योजना छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको दुई रोपनी जग्गामा बन्ने यो होटलमा डाइनिङ आउटलेट, टेक अवे, रूफटप बार, लगायत सेवा हुनेछ । होटलमा रेष्टुराँ, व्यायाम हल, स्वीमिङ पुललगायतका सेवा सुविधा उपलब्ध हुनेछन् । होटलमा कूल ९४ कोठामा दुई सय शय्या हुनेछन् । जसमा आठ वटा स्वीट रुम हुनेछन् । बेसमेन्ट दुई र भुई तल्ला गरी कूल नौ तले सो होटल इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटल प्रालिले निर्माण गर्न लागेको हो । होटलको वातावरणीय प्रभाव मूल्याङ्कनका लागि केही दिन पहिले वन तथा वातावरण मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको छ । होटल निर्माण क्षेत्र वरपरको वातावरणीय प्रभावका बारेमा आवश्यक जानकारी दिन मन्त्रालयले सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ । सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम ईन्भाइरोन्मेन्टल सर्भिसेज प्रालिले गरिरहेको छ । होटल सञ्चालन आएपछि करिब एक सय जनाले रोजगारी पाउने छन् । होटलमा आठ तलासम्म चार वटा ट्वीन रुम, छ वटा क्वीन रुम र एउटा स्वीट रुम रहनेछन् भने नवौँ तलामा दुई वटा ट्वीन रुम र चार वटा क्वीन रुम रहनेछन् । होटलमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचका लागि ¥यामका साथै दुई वटा कोठा निर्माण गरिनेछ ।
चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा
चितवन । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जीनियर सागर ज्ञवालीले जानकारी दिए । यी दुइ स्टेशन करिब ९० लाखको लागतमा निर्माण गरिएको हो । दुईवटा स्टेशनमा एकपटकमा छ वटासम्म गाडी चार्ज गर्न मिल्छ । आन्तरिकरूपमा खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेशन निर्माण गरिएको इञ्जीनियर ज्ञवालीले बताए । बसपार्कमा दुईवटा फरक टेक्नोलोजी सिसीएच र जिबिटीका चार्जर स्टेशन निर्माण गरिएको चार्जिङ स्टेशन निर्माणको जिम्मा पाएको दिगोका प्रोजेक्ट म्यानेजर शिव अधिकारीले जानकारी दिए । उनका अनुसार यहाँ साना–ठूला सबै सवारीसाधनको चार्ज गर्न मिल्छ । नेपालमा उपलब्ध रहेका सवारीसाधनको क्षमताअनुसार एकदेखि डेढ घण्टासम्ममा चार्ज पूर्ण हुन्छ । चार्जिङ स्टेशनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएको छ । यसबाट ठूला बससहित तीनवटा सवारीसाधनले एकसाथ चार्ज गर्न सक्नेछन् । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । चार्जिङ स्टेशनमा पेट्रोलपम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन । चार्जिङ स्टेशनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारीधनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्छ । कति मिनेटसम्म वा कति रुपैयाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ । समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन । बिहान ५ देखि साँझ ५ बजेसम्म आठ रुपैयाँ २८ पैसा प्रतियुनिट, बेलुका ५ देखि राति ११ बजेसम्म १० रुपैयाँ ४४ पैसा प्रतियुनिट र राति ११ देखि बिहान ५ बजेसम्म नौ रुपैयाँ छ पैसा चार्ज शुल्क तोकिएको अधिकारीले जानकारी दिए । बसपार्कमा सञ्चालनमा आएका चार्जिङ स्टेशनमा दैनिक चारदेखि पाँचवटा सवारीसाधनले चार्जिङ गर्ने गरेको बसपार्क सञ्चालनको जिम्मा लिएको आरजन कन्स्ट्रक्शन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक असिम भट्टराईले जानकारी दिए । उनले धेरैलाई चार्जिङ स्टेशनका बारेमा जानकारी नभएको भन्दै क्रमशः सवारीसाधनको चाप बढ्दै जाने बताए । प्राधिकरणले देशभर ५१ चार्जिङ स्टेशन निर्माणको लक्ष्य राखेर काम गरिरहेको छ । जसमा १२ वटा सञ्चालनमा आइसकेका छन् भने ३२ वटा जडान सम्पन्न भइसकेका छन् । बाँकी चार्जिङ स्टेशन निर्माणको अन्तिम चरणमा पुगेको प्रधिकरणले जानकारी दिएको छ ।
प्रतितोला छ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० मा कारोबार भएको सुन ६ सय रुपैयाँले बढेर १ लाख ५०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार ४०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
साबुन–तेलको जोहो गर्न झोलामा ‘हजारे पसल’
बझाङ । अगाडितिर गाउँतर्फ धार फर्किएको जडारीगाड । आवतजावत गर्नेहरू गाउँ भएरै हिँड्थे । किनमेल गर्न जानेको लर्को । विश्रामस्थल खातीगाउँ । गाउँमा पसलको कमी । यस्तै कारणले प्रेमबहादुर खातीले सुरु गरे, ‘हजारे पसल’ । एक हजार रुपैयाँमा दैनिक प्रयोगमा आउने सलाई, साबुनदेखि चकलेट, बिस्कुट सुपारीसम्मको पसल । बर्खे भेलले सडक बगाएको मौकामा सुरु गरेको पसललाई अहिले पनि उनले निरन्तरता दिएका छन्। पहिले खोलाले फर्काएको धारमा अहिले सडक बनेको छ । आवतजावत गर्नेहरू सडकबाटै गए पनि उनको पसलका ग्राहक गाउलेहरू नै छन् । खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका उनी गत वर्ष आएको बाढीपछि बेसहारा बनेका हुन् । बाढीले सर्वस्व गुमाएसँगै उनको परिवारले आफन्तको छानोमा टाउको लुकायो । आफन्तहरूले लुगाकपडादेखि भाँडाकुँडा, खानेकुरा सबै सहयोग गरे । दाताले उपलब्ध गराएको खाद्यान्नले अहिलेसम्म गुजारा भएको छ । मध्यम वर्गीय खाती परिवारलाई गत वर्षेदेखि खाने गाँस न कमाउने जमिन भएको छ । ‘घर न घाटजस्तै भयो’, उनले भने, ‘वर्षभरि खाद्यान्न पुग्ने, सडकमै घर, उत्पादित वस्तु बेच्न सक्ने अवस्थामा थियौँ । गत वर्ष जडारीगाडले सम्पूर्ण जायजेथा लुट्यो ।’ अहिले उनको परिवारलाई न गाउँमा स्थापित हुने अवस्था छ, नत विस्थापित भएर अन्य ठाउँ जाने नै । त्यही अवस्थालाई भुलाउने काम उनको पसलले गरिरहेको छ । उनको त्यो पसल पनि कारूणिक छ । गाउँमा बाटो खन्ने योजना आएपछि उनी आफैँ काममा गए । गरिबी निवारणबाट आएको योजनामा बाटो काट्ने काम गरेका खातीले दुई–तीन दिन काम गरेको पैसा मागे । बिहानै तमैल बजार गएर एक हजार रुपैयाँँसम्मको सामान ल्याए । बाटो बनाउने कामदारलाई चकलेट, बिस्कुट, बिँडीलगायतका सामान चाहिने भएपछि उनले सामान ल्याएर काम गर्ने ठाउँमै लिए । पछि बाटोको काम सकिएपछि घरमै राखे । ‘गाउँदेखि बयलपाटासम्म २५–३० मिटरसम्म बाटो काट्यौँ’, खातीले भने, ‘बाटो काट्दा हामीले दैनिक सात सय रुपैयाँ ज्याला पायौँ । त्यसबाट आएको पैसाले पसलकै सामान थपेँ ।’ उनका अनुसार आठ दिनसम्म गरेको कामबाट पाँच हजार रुपैयाँँ मिल्यो । पसल थपेपछि आफूलाई साबुन सरप किन्न फाइदा भएको उनले बताए । ‘दैनिक दुई अढाइ सय बराबरको सामान बिक्री हुन्छ’, उनले भने, ‘त्यसबाट फाइदा त २०–२५ रुपैयाँ मात्रै हो । कहिलेकाहीँ एक सय रुपैयाँ जति पनि फाइदा हुन्छ । त्यसबाट साबुन सरप आउँछ ।’ घरमा रोजगारी कोही नभएको हुँदा नुनतेलका लागि भए पनि केही राहत हुने भन्दै पसल सुरू गरेको उनले बताए । ‘कमाउने मान्छे कोही छैन । आफू वृद्ध भइसकेँ । खेतबारी नि छैन । छोरोको अवस्था प्यारालाइसिसको बिरामी त्यस्तै छ ।’ उनले आफू वृद्धले केही गर्न सक्ने बताए । ‘अब म बूढो कसरी के गरिखाउँ ? दिन बिताउनै निकै आपत् परेको छ ।’ अहिले उनको परिवारमा छ जना सदस्य हुनुहुन्छ । नाति नातिनीसहित छोरा–बुहारी र उनको दम्पती सबै बेसहाराजस्तै बनेको उनले सुनाए । प्रेमबहादुरकी बुहारीले घरमा एक गाई पालेका छन् । उनको दैनिकी दिनभर त्यसको स्याहारमै बित्छ । ‘अलि–अलि भएको खानेकुरा पनि निल्न सकिँदैन, त्यसैले एउटा सानो गाई पालेका छौँ’, उनले भने । अहिले खातीको परिवार बसेको छिमेकीको घर पनि सुरक्षित छैन । ‘यता सुरक्षित खासै छैन । तलपट्टी पूरै खोलै छ । घरवाला तराई गएका हुनाले त्यसैले यहाँ बसेका हौँ’, उनले भने । खाती दिनभरि पसल बाहिर फिजाएर राख्छन् भने साँझ बोरामा हालेरभित्र लिन्छन् । ‘मेरो दैनिकी पनि यस्तै बितेको छ’, उनले भने । अहिले खातीका चार–छ वर्षका नाति–नातिनी बयलपाटा खातीगाउँकै विद्यालयमा पढ्छन् । उनीहरूलाई कापी–कलम पनि हुन्छ कि भनेर पसल सुरू गरेको उनले बताए । ‘काम केही छैन, कतै जाने ठाउँ पनि छैन’, उनले भने, ‘दिन काट्न पनि निकै गाह्रो हुन्छ । जग्गा–जमिन केही छैन । दिनभर म वृद्धसँग बस्ने कोही छैन । त्यसैले यो पसलमा भुलिरेहको छु ।’ प्रेमबहादुरका छोरा निकै अपाङ्ग छन् । केही वर्ष पहिले त खाना पनि अरूले नै खुवाउनुपथ्र्यो । अहिले पनि हातखुट्टा चल्दैन । ‘छोराको हात–खुट्टा चल्दैन । दायाँ हात, दायाँ खुट्टाको भाग पूरै नचल्ने छ । अहिले खाना खुवाउनु त पर्दैन । बायाँ हातले खान सिकिहाल्यो’, उनले भने । ‘छोराको समस्या भएको प्यारालाइसिस छ–सात वर्ष भइसक्यो । उपचारका लागि धेरै ठाउँमा लियौँ, कतै सम्भव नभएर अहिले घरमै थन्किनुपरेको छ’, उनले भने । अस्पतालदेखि गाउँघरतिर सबैलाई सहयोग मागेको उपचारीय सहयोग खर्चमात्रै भएको तर, निको नभएको उनले बताए । उनले भने, ‘के पो भयो खै ? कहाँ हड्डीमा रोगले समात्यो भन्ने छ । जडीबुटी पनि सबै गरेका हौँ तर केही भएन ।’ अहिले उनले परिवारको गुजारा कसैले दिए खाने नत्र भोकै बस्ने छ । ‘खोला नजिक भएको हुँदा कहिलेकाहीँ त माछा मारेर भए पनि छाक टार्छौँ । जालमा तीन–चार माछा परे पनि त्यसैमा पानी हालेर झोल बनाउँदै एक–एक रोटी खाएका छाक धेरै छन् ।’ खातीगाउँमा प्रेमबहादुरको जस्तै धेरै परिवारको समस्या छ । गाउँमा घरबाहेक केही नभएका सबै गाउँले अहिले कामको खोजीमा भौँतारिरहेका छन् । ‘दुई परिवारको घरसहित केही बाँकी रहेन’, स्थानीय सुरेन्द्र खातीले भने, ‘बाँकी गाउँलेको पाइला टेक्नलाई पनि जमिन रहेन । अहिले सबै रोजगार तथा अन्य ठाउँको खोजीमा छन् । सरकारी निकायबाट सधैँ बेवास्ता भइरह्यो ।’ रासस
ओपन उडानका लागि अमेरिकाको प्रस्ताव, के गर्दैछन् सरकारी निकाय ?
काठमाडौं । अमेरिकी सरकारले ओपन उडानका लागि नेपाल सरकारसँग प्रस्ताव पेश गरेको छ । पछिल्लो समय अमेरिकाले एशियाका अन्य देशमा ओपन उडान गर्दै आईरहेको छ । ओपन उडानलाई विस्तार गर्न केही समय अगाडि अमेरिकी सरकारले नेपाल सरकार समक्ष ओपन उडानको प्रस्ताव समेत पेश गरेको छ । अमेरिकी सरकारले गरेको ओपन उडानको प्रस्ताव अहिले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले अध्ययन गरिरहेको जनाएको छ । हवाई सेवा सम्झौतामा कुन विमानस्थलबाट कति संख्यामा उडान गर्ने, कुन जहाजबाट कति उडान गर्ने, वार्षिक रुपमा कति यात्रु तथा कार्गाे सेवा बोक्ने भन्ने सम्झौता भएको हुन्छ तर ओपन उडानमा कुनै रोकतोक हुँदैन, वायुसेवा कम्पनीले आफ्नो आवश्यकता अनुसार जुनसुकै गन्तव्यमा कार्गाे तथा यात्रु उडान गर्न पाउँछन् । नेपालले हालसम्म ओपन उडानको अनुमति नदिएको र तत्काल अनुमति दिँदा विभिन्न खालका समस्याहरु आउन सक्ने अनुमान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका कर्मचारीहरु बताउँछन् । ‘नेपालले अहिलेसम्म ओपन उडानका लागि कसैलाई अनुमति दिएको छैन, नेपालमा सीमित मात्रामा विमानस्थल, पार्किङ, एयरपेसको सीमितता छ, हामीसँग ओपन उडानको समेत नीति छैन, नेपालको हवाई नीति २०६३ मा विस्तारै ओपन उडानको अनुमति दिन सकिन्ने भनिएको छ, तर हालसम्म कार्यान्वयनमा आइसकेको छैन् तर हाम्रा भौतिक संरचना र क्षमतामा भ्याउन नसक्ने देखिन्छ’, मन्त्रालयका एक कर्मचारीले भने । ‘अमेरिकाले प्रस्ताव पठाएको छ, हामीले सुक्ष्म रुपमा अध्ययन गर्दैछौं, साउथ एसियाका विभिन्न देशमा अमेरिकाले ओपन उडान गर्दै आएको छ, हामी अध्ययनकै क्रममा छौं,’ ती कर्मचारीले भने । १५ लाख आम्दानी नेपालले अमेरिका लगायतका देशका वायुुसेवा कम्पनीलाई नेपाल उडान गर्न दिँदा प्रति उडान १५ लाख रुपैयाँभन्दा बढी रकम आम्दानी हुने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारी नेपालले विस्तारै ओपन उडानको तयारी थाल्नुपर्ने र यसले नेपाललाई फाइदा हुने बताउँछन् । ‘अन्य देशका वायुसेवा कम्पनीलाई ओपन उडानको अनुमति नदिँदा हाम्रा घरेलु विमानहरु प्रतिस्पर्धा गर्न सक्नुपर्छ, हामीले ओपन उडानको अनुमति नदिएर लगानी खुम्च्याएका छौँ’, उनले भने, ‘हामीले ओपन उडानको अनुमति नदिँदा चलायमान हुने अर्थतन्त्रलाई हामीले नै खुम्चायौँ, एउटा मात्र वाइडबडी जहाज काठमाडौं विमानस्थलमा ल्याण्ड गर्दा १५ लाख बढी रुपैयाँ देशलाई राजश्व आउँछ ।’ अमेरिका लगायतका देशका वायुसेवा कम्पनीलाई ओपन उडानको अनुमति दिदाँ नेपाली वायुसेवा कम्पनीको बिजनेश भने खोसिन सक्ने उनको भनाइ छ । ‘अन्य देशका वायुसेवा कम्पनीले काठमाडौंबाट कतारको दोहामा उडान गर्दा नेपाली वायुसेवा कम्पनीहरुको विजनेश खोसिन सक्छ, खरेलु कम्पनीको विकास र विस्तार नहुने, उनीहरु चुप लागेर बस्ने, उनले भने, ‘हाम्रा विमानहरुको विमान संख्या र गन्तव्य उही हुँदा हामीलाई नोक्सानी मात्र हुन्छ ।’ सरकारले पछिल्लो समय अमेरिकासँगै स्विट्जरल्यान्ड, रुवान्डा र इन्डिोनेसियासँग दुईपक्षीय हवाई सेवा सम्झौता गर्ने तयारी गरेको छ । नेपाल र अमेरिकाबीच सिधा हवाई सेवा नभएकाले अमेरिकाले हवाई सेवा सम्झौताको लागि चासो देखाएको र सोहीअनुसार मन्त्रालयले प्रक्रिया अगाडि बढाएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जाजनकारी दिए । हवाई सेवा सम्झौतापछि दुई देशबीच सिधा हवाई उडान गर्ने बाटो खुल्नेछ । अहिले भने नेपाल–अमेरिका–नेपाल सिधा हवाई सञ्जाल नहुँदा तेश्रो मुलुक हुँदै उडान भइरहेको छ । के हो ओपन उडान ? अमेरिका लगायत देशका वायुसेवा कम्पनीले बीना शर्त नेपाली आकाशमा उडान गर्न पाउनु नै ओपन उडान हो । यसअघि दुई देशबीच भएको सम्झौता अनुसार तोकिएको वायुसेवाले तोकिएको विमानस्थलमा तोकिएको समयमा उडान गर्नुपर्ने हुन्थ्यो । तर, नेपालले ओपन उडानको अनुमति दिए सम्बन्धीत वायुसेवा कम्पनीले आफ्नो आवश्यकता अनुसार उडान गर्न पाउँछन् ।
बाँकेमा भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु
बाँके । बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए । उनका अनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिएर भागेको भ्यानलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
मञ्जुश्री फाइनान्सले लाभांश नदिने घोषणा
काठमाडौं । मञ्जुश्री फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । फाइनान्सको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात् फाइनान्सले आगामी साधारण सभा बोलाउनेछ ।