व्यावसायिक खेती प्रबर्धन गर्न वीरेन्द्रनगरका किसानलाई क्रेडिट कार्ड
वीरेन्द्रनगर । निर्वाहमुखी तरकारी खेती गर्दैआएका वीरेन्द्रनगर –१० रहलपुरका कृषक व्यावसायिक तरकारी उत्पादन गर्न लागिपरेका छन् । भारतबाट तरकारी आयात नियन्त्रण गर्दै स्थानीय उत्पादनलाई बढवा दिने उद्देश्यले व्यावसायिक तरकारी खेती गर्न अग्रसर भएका हुन् । निर्वाहमुखी तरकारी खेती गर्दैआएका कृषकलाई व्यावसायिक बनाउन युएसएड नेपालको सहयोगमा सञ्चालित सिसा परियोजनाले किसान कार्ड (क्रेडिट) कार्ड र कार्डबाट किसानले ५० हजार बराबरको तरकारीको बीउ र अन्य कृषि सामग्री किनमेल गर्न पाएपछि कृषक व्यावसायिक तरकारी खेतीमा आकर्षण बढ्दैगएको हो । वीरेन्द्रनगर –१० रहलपुरकी राधा चौधरीले १० कठ्ठा जमिनमा तरकारी खेती लगाएको बताइन् । उनले तरकारी खेतीबाट राम्रो आम्दानी भएपछि रोजगारीका लागि समेत बाहिर जानुपर्ने समस्या समधान भएको जानकारी दिइन् । ‘तरकारी खेती गर्ने सीप र आवश्यक पर्ने बीउबिजन किन्नका लागि क्रेडिट कार्ड पाएसँगै पाँच जनाको परिवार तरकारी खेतीमा लागेका छौं’, उनले भनिन् । उनले थपिन्, ‘परिवारका पाँच जना सदस्य बिहान सबेरैदेखि साँझ अबेरसम्म कृषि व्यवसायमै व्यस्त हुन्छौँ, आलु, काउली, टमाटर, धनिया, साग, मुलालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दैआएका छौँ । दैनिक ५० किलो तरकारी बेच्ने गरेका छौँ ।’ कार्ड पाएपछि आवश्यक बीउबिजन, विषादी, कृषि उपकारणलगायत सामग्री किन्न सजिलो भएको चौधरीले बताइन् । उनीजस्तै, वीरेन्द्रनगर –९ की शान्ति चौधरीले पनि सात कट्ठामा तरकारी खेती शुरु गरेकी छिन् । उनले दैनिक ५० किलोसम्म तरकारी बिक्री गरी मासिक एक लाखसम्म आम्दानी गर्नेगरेकी छिन् । ‘घरमा तरकारी लगाए पनि निर्वाहमुखी थियो, त्यति तरकारीले घरमा खान पुग्दैन थियो । तरकारी किन्न हामी आफैं बजार आउँथ्यौँ, अहिले आफैँ व्यावसायिक तरकारी खेती गरेर मनग्य आम्दानीसँगै परिवारका लागि खाने तरकारी प्रशस्त फलाउने गरेका छौँ’, उनले भनिन् । सिसा परियोजनाले मेगा बैंकसँग सहकार्य गरी चिप्ससहितको क्रेडिट कार्ड बनाएको छ । सुर्खेतमा पहिलो चरणमा ५० जनाले कार्ड पाएका छन् । जिल्लाभरि दुई सय जनालाई यो वर्ष परिचयपत्र वितरण गरिने सिसा परियोजनाका अधिकृत अष्ट प्रजापतिले बताए । परियोजनामार्फत किसानलाई खाताबुकसमेत दिएको र किसानले हरेक दिन बेच्ने तरकारी नाम, बिक्री भएको परिणाम, खर्च र जम्मा भएको रकम खातामा टिपेर राख्ने गरेको उनले बताए । उनले भने, ‘किसानले कति आम्दानी र खर्च भयो भन्नेबारे दैनिक लेखाजोखा गरेका छन् ।’ क्रेडिट कार्डसहितको परिचयपत्रले रहरपुर, गुस्रा र प्रसेनीका किसान अहिले कृषि पेसामा मोहित भएको परियोजना अधिकृत प्रजापतिले बताए । रोजगारीसँगै मासिक एक लाख रुपैयाँसम्म आम्दानी गर्न थालेपछि त्यस वरिपरिका किसानसमेत व्यावसायिक तरकारी खेतीतर्फ आकर्षण बढेको स्थानीयवासीले बताएका छन् । तरकारी खेती चलन नै थिएन, पछिल्लो समय बजारमा तरकारीको मूल्य राम्रो पाउने भएपछि किसान सबै तरकारी खेतीमा लागेको छन् एक स्थानीयवासीले बताए । रासस
होमस्टे सञ्चालक भन्छन् : ‘अब स्थानीय परिकारलाई प्राथमिकता दिन्छौँ’
वालिङ। घरबास (होमस्टे) भन्नासाथै शहरिया परिवेशभन्दा छुट्टै गाउँले परिवेश भन्ने लाग्छ । बजारको कोलाहल तथा आयातित् खाद्यान्नको भरमा गाउँले परिवेशलाई बचाइ राख्नका लागि गाउँ–गाउँमा घरबास खोलिएका छन् । विशुद्ध गाउँले जनजीवन, अर्गानिक तथा स्थानीय खानाका परिकार, स्वागत सत्कार गर्ने तौर तरिका यहाँ फरक छन् । घरबासमा गएपछि त विशुद्ध स्थानीय परिकार, अर्गानिक परिकार हुन्छन् भन्ने पाहुनाको सोंच सबै ठाउँमा मिल्दैन । गाउँमा घरबास सञ्चालन हुन्छन् तर परिकार सबै गाउँभन्दा बाहिरबाट आयात हुन्छन् । स्थानीय उत्पादन, स्थानीय परिकार देखिँदैनन् । घरबासमा आउने पाहुनालाई सकेसम्म स्थानीय परिकारका स्वाद चखाउने र सामग्रीको प्रयोग गरेर स्वागत सत्कार गर्ने तथा स्थानीयस्तरमा निर्माण भएका सामग्री उपहारस्वरुप उपलब्ध गराउने वा बिक्री गर्ने लक्ष्यसहित स्याङ्जाको वालिङ नगरपालिका– ४ सुन्तलाबारी सामुदायिक होमस्टे सञ्चालकलाई प्रयोगात्मक प्रशिक्षण गरिएको छ । वालिङ नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र दियालो संस्थाको सहकार्यमा सुन्तलाबारीमा हरित पुनःउत्थान कोभिड १९ र उद्धार प्रतिकार्य पहल परियोजना अन्तर्गत ‘इको होमस्टे’ मा परिणत गर्न लागिएको हो । स्थानीयस्तरमा उत्पादन भएका खाद्यान्नको प्रयोग गर्ने, व्यक्ति, भान्छाकोठा तथा समुदायको सरसफाइमा ध्यान दिने, स्वागत सत्कार गर्ने तरिका, कुनैपनि खाद्यान्नलाई बालीदेखि थालीसम्म पुर्याउँदा ध्यान दिनुपर्ने विषयकाबारेमा सामूहिकरुपमा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको हाईगेट कलेज पोखराका प्रशिक्षक प्रिन्स गुरुङले बताए । ‘घरबासमा आउने पाहुनालाई उनिहरुले आ–आफ्नै तरिकाले स्वागत सत्कार गर्ने, खाना बनाएर खुवाउने लगायतका कार्य पहिलैदेखि गर्दै आएका थिए’, उनले भने, ‘जसरी जानेका थिए त्यसरी नै गर्थे, पाँच दिनको प्रयोगात्मक प्रशिक्षणपश्चात थप व्यवस्थित हुने भएको छ ।’ बजारकाभन्दा स्थानीय स्तरमा उत्पादन भएका खाद्यान्नको प्रयोगमा जोड दिने प्रतिबद्धता ब्यक्त भएकाले पनि अबका दिनमा स्थानीय परिकार धेरै पाउन सकिने उनको भनाइ थियो । आफ्नै खेतबारी, बन जङ्गलमा त्यसै खेर गईरहेका खाद्य वस्तुकाबारेमा ज्ञान नभएकाले पनि समस्या भएको सुन्तलाबारी सामुदायिक होमस्टेका अध्यक्ष डिलबिक्रम गुरुङ बताउछन् । ‘आफ्नै खेतबारी तथा वन जङ्गलमा भएका र खान हुने वस्तुको प्रयोग कसरी गर्ने भन्ने जानेकै रैनछौं’, उनले भने, ‘पाँचदिनसम्म सामूहिकरुपमा अभ्यास गर्यौं, सिक्यौं अब जान्यौं, जानेका कुरालाई कार्यान्वयनमा उतार्छौं ।’ बजारबाट गाउँमा खाद्यान्न आयात गर्दा गाउँको रकम बजारतिर पलायन हुने र गाउँ बजारमुखी हुने भएकाले स्थानीय स्तरमा उत्पादित खाद्यान्नको परिकार खुवाउने लक्ष्यसहित काम अगाडि बढाएको उनले दावी गरे । होमस्टेलाई फरक र नौलोपन दिनुपर्छ भन्ने मुख्य उद्देश्यसहित अगाडि बढ्नेक्रममा अन्योल भएपनि अब त्यो अन्योल हटेर गएको घरबासका उपाध्यक्ष खेमराज गुरुङले बताए । ‘हाम्रै वरिपरी विभिन्न खाद्यान्न छन्, जसको प्रयोग गर्न नजान्दा त्यसै खेर गईरहेका छन्’, उनले भने, ‘प्रयोग गर्न नजान्दा खेर त गए, गए अझ त्योभन्दा महत्वपूर्ण त भएका खाद्यान्नको पकाउने, खाने, उत्पादन गर्ने विधि, व्यक्तिगत वा समुदायको सरसफाई, पाहुनालाई गाउँमा स्वागत सत्कारलाई थप ब्यवस्थित गर्न सकिने भएको छ ।’ बजारबाट खाद्यान्न आयात गर्ने र त्यही खाद्यान्न पाहुनालाई खुवाउने गरिएकोमा अब त्यसलाई निरुत्साहित गरी स्थानीय स्तरमै उत्पादन गरिएका खाद्यान्नहरुलाई बढी प्राथमिकता दिईने स्थानीय चीनमाया गुरुङले बताइन् । ‘गाउँमै उत्पादन भएको खाद्यान्न पाहुनालाई खुवाउन पाए हुन्थ्यो भन्ने त लाग्थ्यो’, उनले भनिन्, ‘तर त्यसकाबारेमा पर्याप्त जानकारी नहुँदा सकिएको थिएन, अब धेरै सिक्यौं, फरक पन पक्कै पनि आउनेमा हामी विश्वस्त छौं ।’ कोदोको ढिंडो पहिला पनि पकाएको तर अझै राम्रो तरिका अर्को पनि रैछ । यस्ता उदाहरणहरु अरु पनि धेरै भएको उनले सुनाइन् । सो तालिममा कोदो, मकै, गहुँको रोटी, ढिंडो, आलु चिप्स, सुन्तलाको जाम, मेवाका परिकार, सलाद, टिमुर, सिस्नो, मरिच लगायतको छोप, गाजरको हलुवा, साँधेको मेवा, मुला, बन्दाका परिकार, गुन्द्रुक, भटमास लगायतका धेरै परिकारहरु बनाउन सिकाइएको थियो । रासस
संसदीय दलको नेतामा देउवासँग गगन थापा भिड्ने, शेखर प्रस्तावक बन्ने
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने भएका छन् । मंगलबार बिहान बसेको बैठकले कोइराला समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेता कोइराला थापाको प्रस्तावक बस्ने भएका छन् भने धनराज गुरुङ समर्थक बन्ने भएका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि संसदीय दल नेताको उम्मेदवारका लागि गगन थापालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । संस्थापन पक्षबाट भने सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दलको नेतामा उम्मेदवार बन्ने तयारीमा छन् ।अब संसदीय दल नेताका लागि देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका प्रतिनिधि सभामा रहेका ८९ जना सांसदले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान गरेर संसदीय दल नेता चयन गर्नेछन् ।
जनकपुरधाममा तरकारी व्यापारले फेरियो महिलाको जीवनस्तर, मासिक ३० हजार नाफा
जनकपुरधाम । केही वर्षअघिसम्म गाउँको साहुमहाजनमा बनिबुतो गरी परिवारको गुजारा गर्दै आएकी सप्तरी डाँक्नेश्वरी नगरपालिका–१ कबिलासाकी सुर्तीदेवी सदालाई आजभोलि बजारमा तरकारी पुर्याउन भ्याननभ्याइ छ । सामान्य लेखपढ गर्नसमेत नजानेकी सतिदेवीलाई अहिले बिहान हुने बित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र गाउँ नजिकैको सहरमा कतिबेला पुर्याउने भन्ने हतारो हुन्छ । दुई वर्षअघिसम्म रकमको आभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी सदालाई अहिले भने तरकारी खरिद बिक्रीलाई आफ्नो आयआर्जनको राम्रो आधार बनाएका छन् । आयआर्जनको गतिलो आधारसँगै उनको जीवनमा परिवर्तन मात्र होइन् परिवारको पहिचानसमेत फेरिएको छ । आयआर्जनको ठोस् आधार नपाउँदा केही वर्षअघिसम्म गाउँकै साहुमहाजन कहाँ हरवा चरवाको रुपमा बनिबुतो गर्दै आएको विगतको अतित सम्झिँदै उनले भने,’पहिले ज्याला मजदूरीमा सधेँ काम गरेर जीविकोपार्जन गरिरहेको थिएँ, बालबच्चालाई पालनपोषण गर्न धौधौ हुन्थ्यो ।’ हरवाचरवाको रुपमा काम गर्दा मात्र तीन किलो धान मात्र ज्याला पाउथ्ये, त्यसकारण परिरवार चलाउन समस्या हुन्थ्यो । उनले भने,’तर अब मेरो त्यो दुःखको दिन हट्यो ।’ अहिले तरकारी व्यापार गरेरै पाँच जनाको उनको परिवार चलेको छ । दुई वर्षदेखि तरकारीको व्यवसाय सुरु गरेकी उनले परिवारको गुजारा चलाउनु मात्रै होइन्, छोराछोरीलाई नजिकै विद्यालयमा पढाउँदै आएकी छिन् । त्यति मात्रै होइन्, त्यही तरकारी व्यापारबाट १० धुर जग्गासमेत जोडेकी छिन् । सधैँ घरबाट निस्कन र बोल्न लजाउने स्वभावकी स्थानीय वसन्तीदेवी सदालाई पनि यतिबेला मौसम अनुसारको हरियो तरकारी खरिदबिक्री गर्न भ्याइनभ्याइ छ । श्रीमान्को मृत्युछि आर्थिक रुपमा कष्टपूर्णजीवन विताइरहेकी वसन्तीदेवीको तरकारी व्यापारबाट राम्रो आम्दानी हुन थालेसँगै जीवनयापन सहज बनेको छ । ‘पतिको मृत्युपछि कसरी गुजारा गर्ने भन्ने चिन्ता थियो’, वसन्तीदेवीले भनिन् ‘तर विगत दुई वर्षदेखि तरकारी व्यापार सुरु गरेपछि अहिले त्यो चिन्ता हटेको छ, राम्रो आम्दानी हुन थालेपछि आफ्नो दुःखको दिन टरेको महसुस भइरहेको छ ।’ समान्य घरायसी गर्जो टार्न समेत साहु महाजनसँग ऋण माग्न बाध्य सोही ठाउँकी कुशेश्वरी सदाको त्यो समस्या टरेको छ । सुर्तिदेवी र वसन्तीदेवी जस्तै कुशेश्वरी सदा पनि तरकारीको व्यापार थालेपछि परिवारको गर्जो टार्न साहुमहाजनसँग ऋण काट्नुपर्ने बाध्यता हटेको बताउँछिन् । अशिक्षा र अज्ञानताका कारण आर्थिक विपन्ता झेल्दै आएका सो दलित बस्तीका महिलाको जीवनमा उनीहरुकै अग्रसरताबाट गठन भएको समूहबाट आएको हो । ‘सुरु सुरुमा म धेरै लजाउँथे, के गरौँँ नगरौँ भन्ने थाहै थिएन्, सधैँ मजदूरी गरेर जेनतेन परिवार मात्रै पाल्थे’, कुशेश्वरीले भने,’तर, जब गाउँमा हरवाचरवा सशक्तीकरण कार्यक्रम अन्तर्गत यहाँका महिला समूह बनाएर बचत तथा ऋण गरे, तबदेखि मेरो जीवनमा परिवर्तन आयो ।’ ‘द’ फ्रिड्म फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा सञ्चालित हरवारचवा सशक्तीकरण कार्यक्रम अन्तर्गत गठित महादेव हरवाचरवा बचत तथा ऋण समूहमा आवद्ध भएकी कुशेश्वरीले पाँच हजार अनुदान सहयोगमा दुईबर्ष अघिबाट तरकारी व्यापार सुरु गरेकी छिन् । उनीहरु राजविराज, सिरहाको लहान, गोलबजार, धनगढीमाई लगायतको बजारबाट सस्तोमा तरकारी खरिद गरी स्थानीय पातो, तरही, मधुवनी , ब्रहमपुरलगायतको बजारमा तरकारी व्यापार गर्दै आएका छन् । ‘अहिले त्यही व्यापारबाट दैनिक तीन सय देखि एक हजारसम्म नाफा भइरहेको छ’, कुशेश्वरीदेवीले भनिन्,‘तरकारी व्यापारबाट हुने कमाइले परिवारको गुजारा चलाउनेदेखि मासिक बचतसमेत गर्दै आएकी छु ।’ व्यापार फस्टाउँदै गएपछि ऋण चुक्ता गएर समूहमै बचत गर्दै आएको उनको भनाइ छ । ‘सुरु सुरुमा तरकारी व्यापार गर्न लाज लाग्दै थियो’, वसन्तीदेवीले भनिन्,’तर केन्द्रले सञ्चालन गरेको हरवाचरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत साना व्यापारसम्बन्धी प्रशिक्षण लिएपछि विस्तारै मलाई पनि हिम्मत आयो र लाज मानेरै भए पनि तरकारी किनबेचलाई निरन्तरता दिँदै आएकी छु ।’ अहिले पति बैधनाथहित परिवाकारका सदस्यबाटसमेत व्यापारमा राम्रो साथ पाइरहेको उनले सुनाइन् । तरकारी व्यापारका कारण अहिले साहुमहाजनको ऋणबाट मुक्तिबाट मात्र होइन् गरिबी जीवनबाटसमेत छुटकारा पाएको अनुभव हुँदै गएको सुर्तिदेवीको भनाइ छ । दलित बस्तीका महिलाको कामबाट आफुहरु उत्साहित भएको सुनाउँदै श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता नरेश सदाले भने, ‘मैथिलीमा एउटा भनाइ छ, जेने करे कपार, से करे व्यापार जे सम्भव छैन् भाग्यबाट त्यो सम्भव छ, व्यापारबाट हो रहेछ, त्यो मैले महसुस गरेँ ।’ महादेव हरवाचरवा ऋण तथा बचत समहूमा दलित हरवाचरवा परिवारका ४३ जना आवद्ध रहेको समूहका अध्यक्ष कैलु सदाले बताए । समूहमा आवद्ध महिला तथा पुरुष आफ्नो कमाइबाट भएको आम्दानीमध्ये मासिक ५ सय रुपैयाँका दरले बचत गर्छन् । आर्थिक समस्यामा परेका सदस्यलाई बैठकबाट ऋण दिने र लगानी गर्ने गरेको उनको भनाइ छ । गत २०७८ सालमा गठन भएको सो बचत तथा ऋण समूहमा हाल १६ हजार रुपैयाँ बचत भएको र त्यसमध्ये १४ हजार रुपैयाँ समूहमा लगानी रहेको सचिव चन्द्रकान्त सदाले बताइन् । निकट भविष्यमै सहकारीमा दर्ता गराउने तयारी गरेको छ ।
एनसेलले ३ लाख नगदसहित ‘वुमन आइकन आइसिटी अवार्ड’ दिँदै
काठमाडौं । महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्ने भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने नेपालकै प्रतिष्ठित आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो । ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ विजेतालाई ३ लाख नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ । एनसेलले विगत २ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूलाई सम्मान र उत्प्रेरित गर्न वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । गतवर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’बाट सम्मानित भएकी थिइन् । महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले आइसिटी अवार्डमा आवद्ध भई यो अवार्ड प्रदान गर्दै आएको छ । आउँदो पुस ८ गते द सोल्टी काठमाडौंमा सरकारी र निजी क्षेत्रका उच्च व्यक्तित्वहरूको सहभागीतामा आइसिटी अवार्डको ग्राण्ड फिनाले हुँदैछ । उक्त फिनालेमा वुमन आइकन सहित १२ बढी विधामा आइसिटी अवार्ड वितरण गरिँदैछ ।
अब देउवाजी संसदीय दलको प्रस्तावक बन्नुपर्छ : महामन्त्री शर्मा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकको रुपमा आफूले हेर्न चाहेको बताएका छन् । उनले देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा कामहरु गरेपनि पटकपटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामहरुको चर्चा हुन नसकेको बताए । ‘देउवाजी प्रधानमन्त्री हुँदा मुक्त कमैया, दलित, महिला, जनजाति लगायतका आयोगहरुको स्थापना हुन सम्भव भयो, आफ्ना राम्रा कामहरुलाई जनतामाझ चिनाउन अब उहाँले संसदीय दलको नेतामा अर्को सदस्यलाई प्रस्तावक बनेर अघि सार्नुपर्ने आवश्यक्ता छ,’ उनले भने । उनले पार्टीको संसदीय नेतामा अर्को सहकर्मीलाई प्रस्तावित गर्नु नै देउवाका लागि सम्मानजनक बहिर्गमन हुने बताए । ‘अहिले सबै प्रधानमन्त्री र राष्ट्रपतिका लागि लडिरहेका छन्, देशलाई अभिभावकको खाँचो रहेको छ, संसदीय दलको नेताका लागि देउवाजीले अर्को सहकर्मीलाई कुनै हिच्किचाहट छोड्नेमा म विश्वस्त छु,’ उनले भने । उनले संसदीय दलको नेताको रुपमा आफूले पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रस्तावित गर्नेमा विश्वस्त हुन आग्रह गरे ।
व्यवसाय विस्तारसँगै बैंकहरुमा शंकास्पद कारोबार बढ्दो, रिपोर्टिङ गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । पछिल्लो समय शंकास्पद कारोबार गर्ने संख्या बढ्दो रहेको तथ्याङ्कले देखाएको छ । ५ वर्षको तथ्याङ्क खोतल्ने हो भने शंकास्पद कारोबार झण्डै ४ गुणाले बढेको देखिन्छ । ५ वर्षअघि सयौंमा यस्ता कारोबार हुने गरेका थिए भने वर्षेनी बढ्दै गएर हजारौं पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा शंकास्पद कारोबार २ हजार ७८० वटा भएका छन् । व्यापार व्यवसाय विस्तार भएसँगै शंकास्पद कारोबारको संख्या पनि बढेको बुझिन्छ । आर्थिक वर्ष २०७४/७५ मा ८८७ वटा शंकास्पद कारोबार भएका थिए । जसमा ८१६ वटा शंकास्पद कारोबार विश्लेषण गरिएको थियो । कानून कार्यान्वयन निकायमा कारवाहीका लागि ३१२ वटा शंकास्पद कारोवार पठाएको थियो । सोही वर्ष ५०४ वटा कारोबार तामेलीमा राखेको थियो । तर, उक्त संख्या बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७५/७६ मा १ हजार ३५१ वटा शंकास्पद कारोबार भएकोमा ६७७ वटाको विश्लेषण गरिएको थियो । जसमा २०७ वटाको अभिलेखीकरण र ४०७ वटा निष्कर्ष गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा १०९० वटा शंकास्पद कारोबार भएकोमा ७९० वटाको विश्लेषण गरी ३३३ वटा अभिलेखीकरण गरिएका छन् भने ४५७ वटाको निष्कर्ष निकालिएको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा १ हजार ५३३ शंकास्पद कारोबार भएकोमा ६४० वटा विश्लेषण गर्दा ४४८ वटाको अभिलेखीकरण गरिएको थियो भने १९२ वटाको निष्कर्ष निकालिएको थियो । गत आर्थिक वर्ष २०७८/७९ २ हजार ७८० वटा शंकास्पद कारोबार हुँदा १ हजार ६८ वटाको विश्लेषण गरिएको थियो । ४०९ वटा कारोबार अभिलेखीकरण गरिएको थियो भने ६५९ वटा कारोबारको निष्कर्ष प्रवाह गरेको थियो । सम्पत्ति सुद्धिकरण भएको छ की छैन भनेर शंका लागेको कारोबारलाई शंकास्पद कारोबारका रुपमा लिने गरिन्छ । कुनै व्यक्तिले विद्यालयको शिक्षक भनेर खाता खोलेको छ । उसले वार्षिक आम्दानी १५ लाख रुपैयाँ हुन्छ भनेर राखेको हुन्छ । तर, खातामा करोडौं रुपैयाँ बराबरको कारोबार भयो त्यो रकम कहाँबाट आयो ? भनेर प्रश्न उठ्छ । यदि उक्त कारोबारको श्रोत खुलाउन सकिएन भने शंकास्पद कारोबार भएको मानिन्छ । कुनै पनि खातामा १० लाख बढी रकमको कारोबार गर्दा श्रोत खुलाउनु पर्ने व्यवस्था छ । तर, श्रोत नै उल्लेख नगरिकन लाखौंको कारोबार हुन्छ भने शंकास्पद कारोबारका रुपमा बैंकले रिपोर्टिङ गर्छ । यदि कुनै खाता लामो समयदेखि निष्क्रिय छ । तर, एक्कासी ठूलाठूला कारोबार हुन थाल्यो भने त्यो पनि शंकास्पद हुनसक्छ । कुनै व्यक्तिको खातामा विदेशबाट ठूलो रकम जम्मा हुन सक्छ । विदेशबाट आएको रकमको श्रोत खुल्न सकेन भने त्यसलाई शंकास्पद कारोबारका रुपमा बैंकले रिपोर्ट गर्ने गरेका छन् । बैंकर बिएन घर्तीका अनुसार जसको खातामा धेरै रकम कारोबार भइरहेको छ भने बैंकहरुले शंकास्पद कारोबारका रुपमा लिने गरेको बताउँछन् । विगत ५ वर्षमा शंकास्पद कारोबार बढ्नुमा २ वटा कारणहरु रहेको उनको भनाइ छ । ‘व्यवसाय गर्न कर्जा लिँदा लेखापरीक्षण वित्तीय विवरण पेश गर्नुपर्छ, जसमा २ करोडको मात्रै कारोबार हुन्छ भनेर तोकिएको छ तर, कारोबार ४ करोडको भइरहेको छ भने शंकास्पद कारोबार हुन्छ, आम्दानीको तुलनामा अस्वभाविक कारोबार हुन्छ भने त्यस्तोलाई शंकास्पद कारोबार भनिन्छ,’ उनले भने, ‘व्यवसाय धेरै बढेपछि शंकास्पद क्रियाकलाप पनि बढ्छन्, सूचक संस्थाहरुको सम्पत्ति शुद्धिकरण व्यवस्थापन गर्ने क्षमता बढेको हुन सक्छ, यसअघि तालिमको अभाव, पूर्वाधारको विकास भएको थिएन, यसमा निरुत्साहित गर्न कर्मचारी सक्षम भएका पनि हुन सक्छन्, जसले गर्दा संख्या पनि बढेको हुन सक्छ ।’ सम्पत्ति सुद्धिकरण निवारण ऐन २०६४ को दफा ९ अनुसार वित्तीय जानकारी इकाई स्थापना भएको छ । वित्तीय जानकारी इकाईको व्यवस्थापनदेखि कार्यालय सञ्चालन र कर्मचारी राष्ट्र बैंक मातहत हुन्छन् । बैंक तथा वित्तीय संस्था, सहकारी, बीमा कम्पनी, क्यासिनो वा सुन व्यापार लगायतका संस्था सूचक संस्थाभित्र पर्छन् । यी सूचक संस्थाहरुले वित्तीय जानकारी इकाईमा आफ्नो प्रतिवेदन पठाउनु पर्छ । सूचक संस्थाहरुको वित्तीय प्रतिवेदन अध्ययन गर्दा शंका लाग्यो भने वित्तीय जानकारी इकाईले अनुसन्धान अधिकारीलाई जानकारी गराउँछ । कुनै अपराधिक केश छ भने नेपाल प्रहरीमा, राजश्व सम्बन्धी राजश्व अनुसन्धान विभागमा, सम्पत्ति सम्बन्धी हो भने सम्पत्ति शुद्धिकरण विभागमा र करसँग सम्बन्धित हो भने आन्तरिक राजश्व कार्यालयमा अनुसन्धान गर्नको लागि पठाउने गरेको छ । अनुसन्धान गर्दा शंकास्पद पुष्टि भयो भने अपराधिक क्रियाकलापको आरोपमा अदालतमा मुद्दा दायर फैसला गर्छ । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल पछिल्लो समय सिस्टमको विकासले गर्दा यस्ता कारोबारको संख्या बढेको बताउँछन् । शंकास्पद कारोबार फरक फरक प्रयोजनका लागि हुने गरेको उनको भनाइ छ । ‘पहिलापहिला म्यानुअल्ली शंकास्पद कारोबार निकाल्ने गर्थ्यो, अहिले सिस्टमले अटोमेटिकल्ली निकाल्छ, कारोबारको सीमा निर्धारण गर्दा पनि बढेको हुन सक्छ, बैंकहरुले शंकास्पद कारोबार लागेपछि सम्बन्धित निकायलाई पठाउने हो, बैंकले यसलाई पुष्टि गर्ने वा नगर्ने बैंकको क्षेत्राधिकार भित्र पर्दैन,’ उनले भने, ‘शंकास्पद कारोबार फरकफरक प्रयोजनका लागि गर्न सक्छन्, कसैले गरेको कारोबार कर छलीको पनि हुन सक्छ, बैंकलाई शंका लाग्यो भने राष्ट्र बैंकको फाइनान्सियल इन्फरमेसन युनिटमा जानकारी गराउने हो, त्यसपछि बैंकको काम सकिन्छ ।’ नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोख्रेल ठूलो भोलुममा कारोबार हुँदा शंका गर्नु स्वभाविक रहेको बताउँछन् । तर, सबै शंकास्पद कारोबार कालो धन हुन नसक्ने उनको भनाइ छ । शंकास्पद कारोबारको संख्या बढ्दैमा आत्तिनुपर्ने स्थिति नरहेको उनले बताए । बैंकहरुलाई शंकास्पद कारोबारको रिपोर्टिङ गर्न निर्देशन दिएकाले संख्या बढेको उनको भनाइ छ । ‘राष्ट्र बैंकले शंका लागेको कारोबारको रिपोर्टिङ गर्न बैंकहरुलाई निर्देशन दिएको छ, शंका लाग्यो र रिपोर्टिङ भयो भन्दैमा पुष्टि भएको र कालो धन नै हो भन्ने हुँदैन, ठूलो भोलुममा कारोबार हुँदा शंका गर्नु स्वभाविक हो,’ उनले भने, ‘कतिपय केशहरु सम्पत्ति शुद्धिकरणका पनि फेला परेका छन्, यस्ता कारोबारको संख्या बढ्यो भन्दैमा आत्तिनु पर्दैन, ठूलो कारोबार हुँदा शंकास्पद कारोबारको रुपमा रिपोर्टिङ गरिन्छ, जसले संख्या बढेको देखाउँछ तर त्यो मनि लाउण्डिरिङमा नै जान्छ भन्ने हुँदैन ।’ जस्तैः कुनै व्यक्तिले बैंकमा एकदुई लाख रुपैयाँको मात्रै कारोबार गर्छ । विस्तारै उसको आम्दानीको श्रोत बढ्दै जान्छ । नयाँ बिजनेश गरेर कारोबार पनि बढाएको हुन सक्छ । विस्तारै १०/२० लाखको कारोबार गर्न थाल्यो । कारोबार बढ्दै गएपछि बैंकले पनि पुरानो कारोबार हेर्दा कम देखिन्छ । पुरानो र नयाँ कारोबारमा फरक देखिएपछि बैंकले शंका गर्ने भयो । शंका गर्दैमा त्यो बदमासी नहुने उनले बताए ।
शपथपछि मात्रै माओवादीले संसदीय दलको नेता चयन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिए । शपथपछि संसदीय दलको बैठक बस्ने उनको भनाइ छ । माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुने उनको दाबी छ । ‘दलको नेतालाई लिएर हाम्रो पार्टीमा विवाद छैन, शपथ मात्र कुरिएको हो’, उनले भने, ‘संसदीय दलको नेता प्रचण्ड नै हो ।’ सङ्घीय संसद् सचिवालयले यही पुस ७ गते प्रतिनिधिसभाका सदस्यलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । प्रतिनिधिसभामा माओवादीको १८ प्रत्यक्ष र १४ समानुपातिक गरी कूल ३२ सांसद् छन् । केही दिनअघि बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको थियो ।