विकासन्युज

विश्वकपको अन्तिम रात करोडौंको खेल, दुई जना पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक निवासी सत्यराम लामाले फिफा विश्वकपको अन्तिम खेलको बाजीमा एक लाख रुपैयाँ गुमाए । गए राति भएको विश्वकपको विश्व विजेता अर्जेन्टिनाले उपाधि हात पार्दै विश्वकप जितिरहँदा नेपालमा भने करोडौँको बाजीमा हारजितको खेल भएको छ । दुई राष्ट्र अर्जेन्टिना र फ्रान्सको अन्तिम खेलमा फ्रान्सको पक्षमा बाजी थापेका लामाले एकै रात एक लाख रुपैयाँ हारेका हुन् । यो हार त लामाको फाइनल खेलमा भएको हो । यसअघि पनि उनले विश्वकप सुरु भएदेखि नै पटक पटक विभिन्न देशको पक्षमा राखेको बाजीमा तीन लाख रुपैयाँ हारेका हुन् । मध्यपुरथिमि नगरपालिका–५ राधेराधे बस्ने कमल खत्रीले विश्वकपको अन्तिम खेलमा ५० हजार बाजीमा हारे । राधेराधेको एक होटलमा विश्वकप हेर्दा आफ्नै सहकर्मीहरूसँग बाजी राखेका उनले विश्वकपको अवधिभर तीन लाख रुपैयाँ बाजीमै सिध्याए । यी त उदाहरण मात्रै हुन्, आइतबार राति सम्पन्न फिफा विश्वकपमा खेल भइरहँदा भक्तपुरमा मात्रै बाजीमा करोडौँको हारजितको खेल भएको छ । त्यतिमात्रै होइन विश्वकपकै बहानामा अनलाइनमार्फत सट्टाबाजी लगाएर जुवा खेल्ने/खेलाउने दुई जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र सूर्यविनायक नगरपालिका–८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेलेलाई आज पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले फिफा विश्वकप फुटबलका खेलहरूमा बेटिङ एप्लिकेसन वनएक्स बेट प्रयोग गरी अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको पाइएपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले पक्राउ परेका दुवै जनालाई मुलुकी अपराधसंहिता दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडि बढाएको परिसरका सूचना अधिकृतसमेत रहेका प्रनाउ पाण्डेले जानकारी दिए । उनीहरूले वनएक्स बेटमा सट्टाबाजी गराउन विगत एक वर्षदेखि सट्टाबाजी गर्ने एजेन्टका रूपमा कार्य गर्न थालेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पक्राउ परेका चौगुठीको विभिन्न २३ वटा बैंकमा रहेको २५ वटा खाताहरूको कारोबारको विवरण माग गरिएकामा हालसम्म सातवटा बैंक खाताबाट विगत एक वर्षमा दुई करोड ४५ लाख ७१ हजार ८९९ रुपैयाँको कारोबार भएको पाइएको छ । भेलेको विभिन्न १९ वटा बैंक खाताको कारोबार माग गरिएकामा हालसम्म पाँचवटा खाताको विवरण प्राप्त भएको र ती खातामा ६० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार भएको पाइएको छ । खेलमा बढी रकम हारेका व्यक्तिको पहिचान गरी प्रलोभन देखाएर सट्टेबाजीको एजेन्ट बनाउने र सट्टेबाजीमा प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत यसरी सट्टाबाजीको रकम सङ्कलन गर्ने कार्यमा चौगुठी र भेले सक्रिय रहेको पाइएको प्रहरीको भनाइ छ । रासस

महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ : ३० जिल्लामा सञ्चालन गरिने, तीन हजार बढीले रोजगार पाउने

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ । ‘युवासँग महालक्ष्मी लाईफ’ को सफलता पछि इन्स्योरेन्सले उक्त कार्यक्रम शुरु गरेको हो । उक्त कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते चितवनमा आयोजित एक समारोहमा गरेका हुन् । कार्यक्रममा देशभरीबाट शाखा र उपशाखा प्रमुख र अधिकृतहरु समेत गरी ७५ जनाको उपस्थिति रहेको थियो । आर्थिक वर्ष २०७९/८० भित्र परिक्षणको रुपमा संचालन हुने यो कार्यक्रम ३० जिल्लामा सञ्चालन गरिनेछ । यो कार्यक्रम मार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३ हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ । यो कार्यक्रममा सरकारी, गैर सरकारी निकायसंग समन्वय गरी महिलालहरुलाई तालिम दिने, रोजगारीको लागि बीमा लगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको छ । समारोहमा अध्यक्ष मनोरञ्जन रमण शर्माले आफ्नो उद्घाटन मन्तव्य दिँदै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताए । समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडी बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तिकरणमा कार्यक्रमले पार्ने प्रभावको बारेमा जानकारी गराए । देशमा महिलाको जनसंख्या पुरुषको दाँजोमा बढ्दै गइरहेकोले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सवल नबनाई देश अघि बढ्न नसक्ने उनको भनाई छ । महिलाहरुलाई तालिम दिई रोजगारी मार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने सीईओ भट्टराईले बताए । महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७८/७९ मा विद्यार्थी र युवाहरुमा जीवन बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने गरी ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम संचालन गरेको थियो । एक वर्ष भित्र कम्पनीका वरिष्ठ अधिकृतहरुले ३५ जिल्लाको ९९ वटा प्लस्टु र ब्याचलर कलेजमा ८ हजारभन्दा बढी युवालाई तालिम प्रदान गरेको थियो । उक्त कार्यक्रमले बीमा सम्बन्धी जनचेतना जगाउन प्रभावकारी भएको कम्पनीले जानकारी गराएको छ ।

काठमाडौंमा पासपोर्ट आवेदनका लागि साढे ३ बजेपछि मात्र ‘अपोइन्टमेन्ट डेट’ लिन पाइने

काठमाडौं । राहदानी बनाउन आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको छ । राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी गराएको हो । विभागले गत साउन १७ गतेदेखि दैनिक बिहान ११ बजे राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । तर अब पुस ५ गतेदेखि लागू हुनेगरी अपराह्न साढे ३ बजेदेखि मात्र अपोइन्टमेन्ट डेट खोल्ने विभागले जनाएको छ । अपोइन्टमेन्ट डेट लिनका लागि एकै समयमा धेरै सेवाग्राहीबाट माग भइआएको र यसले सर्भरमा चाप देखिएका कारण यस्तो समय परिवर्तन गरिएको पनि विभागले जनाएको छ । “प्रायःजसो जिल्ला र इलाका प्रशासन कार्यालयहरूले पनि सोही समयमा बुकिङ खोल्ने गरेको विभागमा जानकारी प्राप्त हुन आएको छ । जसकारण विभागको सर्भरमा अत्यधिक चाप पर्न गई वेबसाइटको पेज खुल्न समय लाग्ने र हाई ट्राफिक भोलुम भन्ने म्यासेज देखाउने गरेको छ”, विभागले सोमबार जारी गरेको सूचनामा भनिएको छ । राहदानी लिनका लागि फाराम भरी अनलाइनबाट मिति र समय बुक गर्नुपर्छ । बुकिङ गरेको मिति र समयभन्दा अगाडि आएर लाइन बसेकै आधारमा विभागले सेवा दिँदैन । त्यसकारण आफ्नो बुकिङको दिन तोकिएको समयमा मात्र आउनुपर्ने व्यवस्था रहेको छ । यसरी अपोइन्टमेन्ट बुक गर्नका लागि बिहान कार्यालय समयपछि विभागका सर्भरमा बढी चाप पर्ने गरेको थियो । अपराह्न साढे ३ बजेपछि अपोइन्टमेन्ट डेट लिने व्यवस्था कार्यान्वयन गर्दा सर्भरमा समस्या कम हुने विभागले जनाएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने २७० सवारी चालकमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान गरीएको विशेष चेकिङ्गको क्रममा २७० जना ट्राफिक नियम उल्लघंन गर्ने चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १० जना स्कुल बसका चालक कारवाहीमा परेका छन् । जस्मा सवारी चालक अनुमतिपत्र साथमा नलिई चलाउने ४ जना, नम्बर प्लेट स्पष्ट नभएको १ जना, लापरवाहीको साथ सवारी चलाउने १ जना र अन्य कसुरमा ४ जना स्कुल बसका चालकलाई कारवाही गरीएको हो। सोही चेकीङ्गकै क्रममा ट्राफिक नियम उल्लघंन गर्ने अन्य २५४ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारवाही गरीएको छ । सडकमा दुर्घटना न्युनिकरण गर्दै सुरक्षित यात्रा गराउन चेकजाँच गरी ट्राफिक नियम उल्लघंन गर्ने चालकलाई कारवाही गरीएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवंम् प्रहरी वरीष्ठ राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

नापतौल कार्यालयद्वारा ‘डोर टोली’ परिचालन, एक हजारदेखि पाँच हजारसम्म जरिवाना

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले ‘डोर टोली’ परिचालन गरेको छ । कार्यालयले टोल–टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौल यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो । कार्यालयका प्रमुख राकेशकुमार झाले नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच तथा पुनःजाँच गर्नका लागि टोल–टोलमा ‘डोर टोली’ परिचालन गरिएको जानकारी दिए । उक्त टोलीले नापतौलसम्बन्धी अनुगमन गर्नुका साथै नापतौलसम्बन्धी अनियमितता गर्नेलाई कानुन अनुसार कारबाही गर्नेछ । नौ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले निरीक्षक र सहायक निरीक्षकको संयोजकत्वमा टोली परिचालन गर्दै आएको छ । सो कार्यालयबाट काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखाको नापतौलसम्बन्धी काम हुँदै आएको छ । सो कार्यालयले पछिल्लो समय नुवाकोटको विदुर, काठमाडौँको चन्द्रागिरि, धुम्बाराही तरकारी बजार, कुलेश्वर खाद्य व्यवसाय, टुकुचा तरकारी बजार, ललितपुर सुन चाँदी व्यवसाय, भक्तपुर सुन चाँदी व्यवसायलगायतको क्षेत्रमा टोली परिचालन गरिसकेको छ । नापतौल कार्यालयले नापतौलसम्बन्धी उजुरी आएमा कार्यक्षेत्रमा गएर तत्काल कारबाही गर्नेसमेत गरेको छ । नापतौल अनुमति नलिने व्यवसायीलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्दै आइएको कार्यालय प्रमुख झाले बताए ।

युवकले आफ्नै घरमा आगो लगाउँदा १५ लाख भन्दा बढीको क्षति

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा १५ लाख रुपैयाँँ भन्दा बढीको क्षति भएको छ । जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए । इँट्टा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिए । आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको उनले बताए । आगलगीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताए । आगलागी स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता, शुल्क ५१ हजार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदैछ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्यतालिका सोमबार सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार सोमबार नै मतदाता नामावली प्रकाशन भइसकेको छ । यस निर्वाचनका मतदाता भनेका पार्टीका प्रतिनिधिसभाका सदस्य हुन् । यस निर्वाचनको मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ । समितिले उम्मेदवारको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क ५१ हजार तोकेको छ । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ । मतदान समाप्त भएपश्चात मतगणना र निर्वाचन परिणामको घोषणा हुनेछ । पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजकत्वको निर्वाचन समितिमा नेताहरू पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ । संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्नका लागि पहल गर्न सुरु गरिसकेको छ । कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्त्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।

१० लाखको लगानीमा तीन साथीभाई मिलेर सञ्चालनमा ल्याएको ‘पोर्टा कफी’

काठमाडौं । क्षितिज गुरुङ आज भन्दा एक दशक अगाडी रोजगारीको सिलसिलामा दुबई गए । क्षितिजलाई पनि नेपालमै हुँदा उनका बुबाले कफी बनाउन सिक्न भने । उनले बुबाको कुरा स्वीकारे । उनले हिमालयन जाभामा कफी बनाउने तालिम लिए । छोरालाई कफी बनाउने सीप सिकाएर दुबई बोलाउने योजना उनका बुबाको थियो । बुबाले भने अनुसार नै जाभामा क्षितिजले दिनको ३/४ घण्टा कफी बनाउने तालिम लिन थाले । करिब २ हप्ता कफी बनाउने तालिम सिकेपछि उनी कफी बनाउन सक्षम भए । बुबा पनि दुबईमा काम गर्नुहुन्थ्यो, मलाई पनि तालिम लिनु भनेपछि तालिम लिएँ, त्यसको केही समयपछि दुबई लागेँ,’ उनले एक दशक अगाडिको कुरा स्मरण गर्दै भने । तनहुँको भानु नगरपालिका वडा नं. १२ मा जन्मिएका क्षितिज सन् २०६० मा एसएलसी परीक्षा (हालको एसईई) उतिर्ण गरेर काठमाडौं आएका थिए । चञ्चले स्वभावका क्षितिज पढाइमा पनि अब्बल । उनले मनमोहन मेमोरियल कलेजबाट व्यवस्थापन संकायमा भर्ना गरे । प्लस टु पनि पास गरे । स्नातक तह पढ्न ट्रीट्रान इन्टरनेसल कलेजमा भर्ना भए । तर, उनका बुबाले दुबईमा कफी बनाउनेहरुको आकर्षक तलब भएको र क्षितिजलाई पनि सिक्ने भनेपछि उनी कफी सिक्न तर्फ लागेका हुन् । स्नातक तहको पढाइ बिचमै छोडेर उनी दुबईतर्फ लागे । कफी बनाउने तालिम लिएर दुबई होमिएका क्षितिज राम्रो कम्पनीको छनोटमा केही महिना भौतारीए । सुरुमा उनले काम नै पाएकफी बनाउने कम्पनीमा अन्तर्वार्ता दिँदै फर्किए । अर्काको देशमा भने जस्तो काम पाउन भने त्यति सहज भने पक्कै थिएन । दुबई गएको २ महिनापछि मात्र उनलाई जमइका ब्लु कफी सपमा काम गर्ने अवसर मिल्यो । उक्त कम्पनीमा उनले २ वर्ष काम गरे ।‘कुन कम्पनीमा काम गर्ने त्यसको ६ महिनादेखि २ वर्षको कनट्र्याक्ट हुन्छ, उक्त भिजाको कनट्र्याक्ट सकिएपछि अन्य कम्पनीमा जान पाइन्छ, मैले पनि सो कफी सपमा ३ वर्ष काम गरेँ,त्यसपछि छाडिदिएँ,’ क्षितिजले भने । त्यस पश्चात् उनले कफी बनाउने कम्पनी परिवर्तन गरे । उनले दुबईमा मात्रै विभिन्न ४ वटा कफीका कम्पनीमा काम गरे । क्षितिजले दुबईमा कफी बनाएर नै ८ वर्ष बिताए । ८ वर्ष बितेको उनलाई पत्तै भएन । ‘लगातार खाडी मुलुकमा बस्न समस्या हुन्छ, बीच बीचमा नेपाल आउँदै जाँदै गरेँ, २ महिना दुबईमा काम खोज्दै बिते, अन्य काम पाइन्थ्यो तर कफी बनाउने मेरो प्यासन थियो, आम्दानी पनि राम्रै गरेँ, नेपालमै कफी बनाउने मेरो सपना थियो,’ उनी भन्छन्,‘पछि नेपाल फर्किएँ ।’ क्षितिज सन् २०२१ मा नेपाल फर्किए । उनलाई करिब एक वर्ष भयो नेपाल फर्किएको । तनहुँमा जन्मिएका क्षितिज हाल रानीबनमा घर बनाएर बस्दै आएका छन् । लामो समय विदेशीको बसाइपछि अहिले दुई जना साथीहरूसँग मिलेर उनले पाटनको पिम्बाहलमा ‘पोर्टा कफी’ सप सञ्चालनमा ल्याएका छन् । ‘विदेशबाट फर्किएपछि कफी सप खोली आफ्नै व्यवसाय गर्ने सोच थियो, नेपाल आएको केही समयपछि कफीका कार्यक्रममा सहभागी हुने अवसर मिल्यो, यही नयाँ कफी सप खोल्न चाहने साथीसँग पनि भेट भयो, त्यसपछि सुरु भयो पोर्टा कफी,’ उनले कफी सप स्थापनाका दिन सम्झिँदै भने । सबैको मन मिल्यो नयाँ कफी सप खोल्ने निर्णयमा पुगेर ‘पोर्टा कफी’ सञ्चालनमा ल्याएको क्षितिज बताउँछन् । ‘तीनै जनाले बराबर लगानी गरेर पोर्टा कफी सञ्चालनमा ल्याएको उनी बताउँछन् । कफी सञ्चालनमा आएदेखि हालसम्म १० लाख रुपैयाँ लगानी भएको उनी बताउँछन् । हाल क्षितिज, आशिस श्रेष्ठ र ईश्वर प्रधानङले संयुक्त रुपमा लगानी गरेर कफी हाउस सञ्चालन गरिरहेका छन् ।  कफीसँगको नाता क्षितिजको गहिरो छ । कफीकै मातहतबाट साथी चिनेको क्षितिज पोर्टा कफीका शाखा भविष्यमा विभिन्न ठाउँमा विस्तार गर्ने योजनाको साथ तीन साथीभाइ अगाडि बढेको बताउँछन् । मासिक २ लाख आम्दानी ‘पोर्टा कफी’ सञ्चालनमा आएको धेरै समय भएको छैन । तर, छोटो समयमा उच्च लोकप्रियता भने पाएको छ । क्षितिजका अनुसार पोर्टा कफी सञ्चालनमा आएको ६/७ महिना भयो । सञ्चालनमा आएको केही महिना सोचे अनुरूप आम्दानी भएन । तर, अहिले भने मासिक लगभग २ लाख रुपैयाँसम्म आम्दानी हुन् थालको उनी बताउँछन् । ‘हामीले देश तथा विदेशमा पाउने कफीका सम्पूर्ण प्रकार बनाउँछौं, अहिले विभिन्न २५ प्रकारका सामान्य देखि चर्चित कफी बनाउँदै आएका छौं, हाम्रो लक्ष्य भनेको पोर्टा कफीलाई ब्राण्ड बनाउँनु हो, फास्ट फुडमा पनि वर्क आउट गर्दै छौं,’ उनले भने । उनका साथीहरू पहिला हस्पिटालिटी क्षेत्रमा काम गर्थे । अझ राम्रो आम्दानीको अपेक्षा अपेक्षा तीन साथीभाइले लिएका छन् । कफीको प्रोडकस्न र रोस्टिङ पनि गर्दै जाने उनीहरूको योजना छ । तालीम पनि सिकाइँदै पोर्टा कफीमा कफी मात्रै होइन, कफी बनाउने तालिम पनि दिइन्छ । कफी बनाउने तालिम लिन इच्छुकहरूलाई उचित शुल्कमा क्षितिजको टिमले सिकाइ रहेको छ । क्षितिजका अनुसार पोर्टा कफीमा कफी बनाउन इच्छुकहरू तालिम लिनको लागि आउन सक्ने छन् । क्षितिजको टिमले पोर्टा कफी सञ्चालनमा ल्याएसँगै कफी बनाउने तालिम पनि दिन सुरु गरेको हो । सञ्चालक टिमका अनुसार अहिले उक्त ठाउँमा ६/७ जनाले कफी बनाउने तालिम लिइरहेको छन् । तालिम सुरु गरेदेखि २१ दिनसम्म कफीका विभिन्न प्रकारहरू बनाउन सिकाउने पनि क्षितिजले बताए । कफी बनाउने तालिम लिँदा १५ हजार रुपैयाँ लाग्ने पनि उनले बताए । ‘अहिले जो कोहीलाई पनि सीप सिक्ने रहर हुन्छ तर त्यो फरक भने हुन् सक्छ, वैदेशिक रोजगारीको लागि जाने युवाहरू जमात सीप सिकेर गएर राम्रो आम्दानी गर्ने सोचले पनि कफी बनाउने तालिम लिई रहेको देखिन्छ,’ उनले भने । छोटाे समयमा पाेर्टा कफीले एक किसिमको सफलता पाएको छ । खुसी हुँदै क्षितिज भन्छन्, ‘हामीले नै कफी बनाउन सिकाएको विद्यार्थी आज आफ्नै क्याफे खोलेर बसेका छन् ।’