व्यवसाय विस्तारसँगै बैंकहरुमा शंकास्पद कारोबार बढ्दो, रिपोर्टिङ गर्न राष्ट्र बैंकको निर्देशन

<p>काठमाडौं । पछिल्लो समय शंकास्पद कारोबार गर्ने संख्या बढ्दो रहेको तथ्याङ्कले देखाएको छ । ५ वर्षको तथ्याङ्क खोतल्ने हो भने शंकास्पद कारोबार झण्डै ४ गुणाले बढेको देखिन्छ । ५ वर्षअघि सयौंमा यस्ता कारोबार हुने गरेका थिए भने वर्षेनी बढ्दै गएर हजारौं पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय शंकास्पद कारोबार गर्ने संख्या बढ्दो रहेको तथ्याङ्कले देखाएको छ । ५ वर्षको तथ्याङ्क खोतल्ने हो भने शंकास्पद कारोबार झण्डै ४ गुणाले बढेको देखिन्छ । ५ वर्षअघि सयौंमा यस्ता कारोबार हुने गरेका थिए भने वर्षेनी बढ्दै गएर हजारौं पुगेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा शंकास्पद कारोबार २ हजार ७८० वटा भएका छन् । व्यापार व्यवसाय विस्तार भएसँगै शंकास्पद कारोबारको संख्या पनि बढेको बुझिन्छ ।

आर्थिक वर्ष २०७४/७५ मा ८८७ वटा शंकास्पद कारोबार भएका थिए । जसमा ८१६ वटा शंकास्पद कारोबार विश्लेषण गरिएको थियो । कानून कार्यान्वयन निकायमा कारवाहीका लागि ३१२ वटा शंकास्पद कारोवार पठाएको थियो । सोही वर्ष ५०४ वटा कारोबार तामेलीमा राखेको थियो । तर, उक्त संख्या बढ्दै गएको देखिन्छ ।

आर्थिक वर्ष २०७५/७६ मा १ हजार ३५१ वटा शंकास्पद कारोबार भएकोमा ६७७ वटाको विश्लेषण गरिएको थियो । जसमा २०७ वटाको अभिलेखीकरण र ४०७ वटा निष्कर्ष गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा १०९० वटा शंकास्पद कारोबार भएकोमा ७९० वटाको विश्लेषण गरी ३३३ वटा अभिलेखीकरण गरिएका छन् भने ४५७ वटाको निष्कर्ष निकालिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा १ हजार ५३३ शंकास्पद कारोबार भएकोमा ६४० वटा विश्लेषण गर्दा ४४८ वटाको अभिलेखीकरण गरिएको थियो भने १९२ वटाको निष्कर्ष निकालिएको थियो । गत आर्थिक वर्ष २०७८/७९ २ हजार ७८० वटा शंकास्पद कारोबार हुँदा १ हजार ६८ वटाको विश्लेषण गरिएको थियो । ४०९ वटा कारोबार अभिलेखीकरण गरिएको थियो भने ६५९ वटा कारोबारको निष्कर्ष प्रवाह गरेको थियो ।

सम्पत्ति सुद्धिकरण भएको छ की छैन भनेर शंका लागेको कारोबारलाई शंकास्पद कारोबारका रुपमा लिने गरिन्छ । कुनै व्यक्तिले विद्यालयको शिक्षक भनेर खाता खोलेको छ । उसले वार्षिक आम्दानी १५ लाख रुपैयाँ हुन्छ भनेर राखेको हुन्छ । तर, खातामा करोडौं रुपैयाँ बराबरको कारोबार भयो त्यो रकम कहाँबाट आयो ? भनेर प्रश्न उठ्छ । यदि उक्त कारोबारको श्रोत खुलाउन सकिएन भने शंकास्पद कारोबार भएको मानिन्छ ।

कुनै पनि खातामा १० लाख बढी रकमको कारोबार गर्दा श्रोत खुलाउनु पर्ने व्यवस्था छ । तर, श्रोत नै उल्लेख नगरिकन लाखौंको कारोबार हुन्छ भने शंकास्पद कारोबारका रुपमा बैंकले रिपोर्टिङ गर्छ । यदि कुनै खाता लामो समयदेखि निष्क्रिय छ । तर, एक्कासी ठूलाठूला कारोबार हुन थाल्यो भने त्यो पनि शंकास्पद हुनसक्छ । कुनै व्यक्तिको खातामा विदेशबाट ठूलो रकम जम्मा हुन सक्छ । विदेशबाट आएको रकमको श्रोत खुल्न सकेन भने त्यसलाई शंकास्पद कारोबारका रुपमा बैंकले रिपोर्ट गर्ने गरेका छन् ।

बैंकर बिएन घर्तीका अनुसार जसको खातामा धेरै रकम कारोबार भइरहेको छ भने बैंकहरुले शंकास्पद कारोबारका रुपमा लिने गरेको बताउँछन् । विगत ५ वर्षमा शंकास्पद कारोबार बढ्नुमा २ वटा कारणहरु रहेको उनको भनाइ छ ।

‘व्यवसाय गर्न कर्जा लिँदा लेखापरीक्षण वित्तीय विवरण पेश गर्नुपर्छ, जसमा २ करोडको मात्रै कारोबार हुन्छ भनेर तोकिएको छ तर, कारोबार ४ करोडको भइरहेको छ भने शंकास्पद कारोबार हुन्छ, आम्दानीको तुलनामा अस्वभाविक कारोबार हुन्छ भने त्यस्तोलाई शंकास्पद कारोबार भनिन्छ,’ उनले भने, ‘व्यवसाय धेरै बढेपछि शंकास्पद क्रियाकलाप पनि बढ्छन्, सूचक संस्थाहरुको सम्पत्ति शुद्धिकरण व्यवस्थापन गर्ने क्षमता बढेको हुन सक्छ, यसअघि तालिमको अभाव, पूर्वाधारको विकास भएको थिएन, यसमा निरुत्साहित गर्न कर्मचारी सक्षम भएका पनि हुन सक्छन्, जसले गर्दा संख्या पनि बढेको हुन सक्छ ।’

सम्पत्ति सुद्धिकरण निवारण ऐन २०६४ को दफा ९ अनुसार वित्तीय जानकारी इकाई स्थापना भएको छ । वित्तीय जानकारी इकाईको व्यवस्थापनदेखि कार्यालय सञ्चालन र कर्मचारी राष्ट्र बैंक मातहत हुन्छन् । बैंक तथा वित्तीय संस्था, सहकारी, बीमा कम्पनी, क्यासिनो वा सुन व्यापार लगायतका संस्था सूचक संस्थाभित्र पर्छन् । यी सूचक संस्थाहरुले वित्तीय जानकारी इकाईमा आफ्नो प्रतिवेदन पठाउनु पर्छ ।

सूचक संस्थाहरुको वित्तीय प्रतिवेदन अध्ययन गर्दा शंका लाग्यो भने वित्तीय जानकारी इकाईले अनुसन्धान अधिकारीलाई जानकारी गराउँछ । कुनै अपराधिक केश छ भने नेपाल प्रहरीमा, राजश्व सम्बन्धी राजश्व अनुसन्धान विभागमा, सम्पत्ति सम्बन्धी हो भने सम्पत्ति शुद्धिकरण विभागमा र करसँग सम्बन्धित हो भने आन्तरिक राजश्व कार्यालयमा अनुसन्धान गर्नको लागि पठाउने गरेको छ । अनुसन्धान गर्दा शंकास्पद पुष्टि भयो भने अपराधिक क्रियाकलापको आरोपमा अदालतमा मुद्दा दायर फैसला गर्छ ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल पछिल्लो समय सिस्टमको विकासले गर्दा यस्ता कारोबारको संख्या बढेको बताउँछन् । शंकास्पद कारोबार फरक फरक प्रयोजनका लागि हुने गरेको उनको भनाइ छ ।

‘पहिलापहिला म्यानुअल्ली शंकास्पद कारोबार निकाल्ने गर्थ्यो, अहिले सिस्टमले अटोमेटिकल्ली निकाल्छ, कारोबारको सीमा निर्धारण गर्दा पनि बढेको हुन सक्छ, बैंकहरुले शंकास्पद कारोबार लागेपछि सम्बन्धित निकायलाई पठाउने हो, बैंकले यसलाई पुष्टि गर्ने वा नगर्ने बैंकको क्षेत्राधिकार भित्र पर्दैन,’ उनले भने, ‘शंकास्पद कारोबार फरकफरक प्रयोजनका लागि गर्न सक्छन्, कसैले गरेको कारोबार कर छलीको पनि हुन सक्छ, बैंकलाई शंका लाग्यो भने राष्ट्र बैंकको फाइनान्सियल इन्फरमेसन युनिटमा जानकारी गराउने हो, त्यसपछि बैंकको काम सकिन्छ ।’

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोख्रेल ठूलो भोलुममा कारोबार हुँदा शंका गर्नु स्वभाविक रहेको बताउँछन् । तर, सबै शंकास्पद कारोबार कालो धन हुन नसक्ने उनको भनाइ छ । शंकास्पद कारोबारको संख्या बढ्दैमा आत्तिनुपर्ने स्थिति नरहेको उनले बताए । बैंकहरुलाई शंकास्पद कारोबारको रिपोर्टिङ गर्न निर्देशन दिएकाले संख्या बढेको उनको भनाइ छ ।

‘राष्ट्र बैंकले शंका लागेको कारोबारको रिपोर्टिङ गर्न बैंकहरुलाई निर्देशन दिएको छ, शंका लाग्यो र रिपोर्टिङ भयो भन्दैमा पुष्टि भएको र कालो धन नै हो भन्ने हुँदैन, ठूलो भोलुममा कारोबार हुँदा शंका गर्नु स्वभाविक हो,’ उनले भने, ‘कतिपय केशहरु सम्पत्ति शुद्धिकरणका पनि फेला परेका छन्, यस्ता कारोबारको संख्या बढ्यो भन्दैमा आत्तिनु पर्दैन, ठूलो कारोबार हुँदा शंकास्पद कारोबारको रुपमा रिपोर्टिङ गरिन्छ, जसले संख्या बढेको देखाउँछ तर त्यो मनि लाउण्डिरिङमा नै जान्छ भन्ने हुँदैन ।’

जस्तैः कुनै व्यक्तिले बैंकमा एकदुई लाख रुपैयाँको मात्रै कारोबार गर्छ । विस्तारै उसको आम्दानीको श्रोत बढ्दै जान्छ । नयाँ बिजनेश गरेर कारोबार पनि बढाएको हुन सक्छ । विस्तारै १०/२० लाखको कारोबार गर्न थाल्यो । कारोबार बढ्दै गएपछि बैंकले पनि पुरानो कारोबार हेर्दा कम देखिन्छ । पुरानो र नयाँ कारोबारमा फरक देखिएपछि बैंकले शंका गर्ने भयो । शंका गर्दैमा त्यो बदमासी नहुने उनले बताए ।

Share News